गुप्सी पाखाको सपना
काठमाडौं — भूकम्पको इपीसेन्टर बारपाकदेखि लाप्राक पुग्न हामीलाई हिँडेर ५ घन्टा लाग्यो । उकालो चढ्दाको सबै थकान ढकमक्क डाँडाभरि फुलेका गुराँसहरूले मेटाइदियो । उकालो चढिसकेलगत्तै डाँडामै मनै हर्ने फाँट देखियो । लालीगुराँसबारे निकै चर्चा सुनेका हामी डाँडामा सेतो गुराँस देख्दा दंग पर्यौं ।
यस्तो गुराँस यसअघि न मैले देखेको थिएँ, न सहयात्री मेरो साथीले । डाँडामा फूलेका गुराँस र फाँटमा चर्दै गरेका गाईबस्तु हेरेर रमाउँदै हाम्रो यात्रा अघि बढ्यो ।
भूकम्पबाट गोरखामा बारपाकपछिको धेरै क्षति लाप्राकमा भयो । लाप्राक अहिले जोखिमपूर्ण क्षेत्रहरूमध्ये पर्छ । गाउँमा बस्ने कि नबस्ने दोधारमा स्थानीय बासिन्दामध्ये आधी गुप्सी पाखामा बसाइ सरेका छन् । केही घरपरिवार पुरानो लाप्राक गाउँमै छन् । उनीहरू पनि बालीनाली स्याहार्न र पुर्खाको ठाउँ छोड्न नसकेकाले उनीहरू गाउँमै बसेका हुन् । पानी पर्दा पहिरो जाने डरका कारण गाउँमा बस्नेहरू पनि गुप्सी पाखा आउँछन् । पानी नपर्दा भने गाउँमै व्यस्त हुन्छन् ।
गुप्सी पाखामा अस्थायी शिविर बनाएर जीवन गुजारा गरिरहेकाहरूको सरकारप्रति ठूलो गुनासो छ । आफूहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण नगरेको उनीहरूको भनाइ छ । गुरुङहरूको बस्ती रहेको गुप्सी पाखा समुद्र सतहदेखि साढे २७ सय मिटर उचाइमा छ । हिउँदमा हिउँ झर्ने यस पाखामा बालबालिकाहरू बारम्बार परिरहन्छन् ।
लाप्राकमा भूकम्पमा २५ जनाको मृत्यु तथा ६० जना घाइते भएका थिए । ३ हजार जनसंख्या भएको गाउँमा ६ सय २४ घर पूर्ण रूपमा भत्किएका थिए ।
तल्लो मनास्लु पदमार्गमा पर्ने यो बस्तीमा भूकम्पअघि दुईतिरबाट विदेशी पर्यटक आउने गर्थे । बारपाक हुँदै लाप्राक र गुम्दा जाने एउटा अनि आरुघाट हुँदै बुढीगण्डकी तीरैतीर माछीबजारबाट पश्चिममार्ग हुँदै लाप्राक पुग्ने
अर्को । तर अहिले यहाँ त्यसरी पर्यटक आउँदैनन् । तैपनि, गाउँलेहरू आशावादी छन्, पुन:स्थापित हुने सपना सजाउँदै ।