कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

लेखन पनि कूटनीतिक !

विनोद सिजापती

कभरमै ‘रमेशनाथ पाण्डे’ लेखिएको पुस्तक देखेपछि पढ्ने हतारो हुनु स्वाभाविक हो। किनकि, रमेशनाथ पाण्डे नेपाली राजनीतिमा सन्ताउन्न वर्षदेखि कुनै न कुनै रूपले दृश्यमा देखापरिरहने पात्र हुन्। यिनले मुलुकको प्रथम निर्वाचित र हालसम्मकै सबैभन्दा लोकप्रिय पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) सँग १५ र १६ वर्षको उमेरमा सान्निध्यता गाँसेका थिए।

लेखन पनि कूटनीतिक !

पछिल्लो समयमा एकीकृत माओवादी पार्टी अध्यक्ष कमरेड प्रचण्डसमेतलाई मोहित तुल्याउन सफल भए। एसएलसी परीक्षा सकेर नतिजा कुर्दै गर्दा १४ वर्षको उमेरमा पत्रकारिता जगत्मा प्रवेश गरेका पाण्डे १६ वर्ष पुग्दा नेपाली दैनिकको सम्पादक भएर नेपालको मात्र नभएर (सायद) विश्व पत्रकारिता इतिहासमा सबभन्दा कान्छो सम्पादक हुन सफल भएका थिए।
पत्रकारिताबाट उदाएका पाण्डे राजतन्त्र रहुन्जेलसम्म राजदरबारका अति नै नजिकका पात्र कहलिएका थिए। त्यहीकारण पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्य र मन्त्री बन्ने अवसर पाए भने बहुदलीय कालखण्डमा दरबारकै कोटामा राष्ट्रियसभा सदस्य र मन्त्री बने। लेखकले पुस्तकमा आफूले झन्डै छ दशक लामो अवधिमा कूटनीतिक र राजनीतिक क्षेत्रहरू निर्वाह गरेको भूमिकालाई प्रस्तुत गरेका छन्। सायद यी दुई क्षेत्रहरूलाई तिनले जीवनको अभिन्न अंग सम्झेका हुनाले पुस्तकको शीर्षक ‘कूटनीति र राजनीति’ चुनेका हुन सक्छन्। यो लेखक आफैंले लेखेको
आफ्नो जीवनी हो। कुनै प्रख्यात लेखकले लेखिदिएको ‘आत्मकथा’ होइन।पुस्तकको प्रथम परिच्छेदको शीर्षक ‘सत्र सालको सेरोफेरो’ देखेपछि जो कोही पनि आधा शताब्दीदेखि रमेशनाथले काठमाडौंमा स्थापित गरेको छविसँग आलिकति पनि परिचित छ, त्यसले सोच्ने भनेको पुस १ गतेको सत्यतथ्य प्रकासमा आउला भन्ने हो। यो मुलुकमा त्यो कालो दिन किन र कसरी आयो? त्यस दिन मञ्चन गरिएको षड्यन्त्रमा मतियारहरू को को थिए? सत्ता हत्याउनुपूर्व तिनले के कस्तो तयारी गरेका थिए? यो कदम उठाउँदा को–कोसँग परामर्श गरेका थिए? आदि जस्ता विषय अझै इतिहासको गर्भमा लुकेका छन्। त्यसो हुनाले रमेशनाथले षड्यन्त्रको तुनाबुना चिरफार गरेर जनसमक्ष प्रस्तुत गरेका होलान् भन्ने आशा पाठकमा हुनु अन्यथा होइन। तर पाना पल्टाउँदै जाँदा थाहा हुन्छ, पुस्तकले हालसम्म चलेको हल्लालाई मात्र समेट्न सकेको छ। थप केही हल्लामा आधारित आशंकालाई सतही विश्लेषण गरेर प्रस्तुत गरिएको छ।
त्यसो त लेखकले बडो चलाखीपूर्ण तरिकाले थुप्रै प्रकाशमा ल्याउँछन् कि भन्ने अपेक्षा राखिएको विषयहरूलाई ओझेलमा छाडिएको छ। जस्तो बीपीसँगको आफ्नो सामीप्यलाई बढाइ–चढाइ गरेर वर्णन गरे पनि तिनको बीपीसँग कसरी भेट भयो र ज्यादै छोटो अवधिमा नै उनी कसरीप्रधानमन्त्रीको त्यस्तो घनिष्ठ पात्र बन्न पुगे? त्यस विषयले प्रवेशसमेत पाएको छैन।त्यसैगरी राजा महेन्द्रले आफ्नो छोरा युवराज वीरेन्द्रसँग परिचय गरिदिएको बयान त तिनले गरेका छन्, तर स्वयं महेन्द्रसँग कसले परिचय गरायो वा कसरी तिनी सामीप्य हुन पुगे, त्यस्ता विषयलाई पनि तिनले पुस्तकमा स्थान दिएका छैनन्। महेन्द्रले देशको पश्चिम भ्रमणमा सामेल व्यक्ति थिए र पछि गए तर राजा महेन्द्रको विश्वासिलो दूत भएर बीपीलाई गोप्य तरिकाले भेट्न पुगेका युवा पत्रकारलाई चार वर्षको अवधिमा बिनाकुनै ठूलो कसुर तीनपटक गरेर साढे तीन महिना जेलमा रही कष्टकर जीवन बिताउनुपरेको तिक्त गाथाको वर्णन तिनले गरेका छन्।
त्यस समय काठमाडौं सानो थियो। राजाका जासुस सर्वत्र छरिएका हुन्थें। राजाकै चाहनामा (पश्चिम नेपाल भ्रमण) दरबारको प्रमुख सैनिक सचिवले आफैंले पकाएको मासुभात बोकेर खुवाएको घटना के त्यस बखतको सुरक्षाकर्मीहरूबीच चर्चाको विषय भएन होला? राजा महेन्द्रका अति प्रिय रविश्वासिलो पात्र हुन् रमेशनाथ भन्ने वास्तविकता के त्यस समयका नेपाली प्रशासकलाई थाहा थिएन होला? नेपाली कांग्रेसको पूर्व कार्यकर्ता काठमाडौंको मेजिस्ट्रेट बलराम प्याकुर्‍याललाई राजाको मन परेको र मन नपरेको व्यक्तिको पहिचान थिएन होला? अरू त अरू राजा महेन्द्रका अति नै प्रिय पत्र कहलिएका भ्याली कमिसनर विष्णुमणिले रमेशनाथलाई थुनामा राख्ने छुट आफूअन्तर्गतको कर्मचारी (मेजिस्ट्रेट) लाई दिएका थिए होलान्? आफ्नो मन परेको र विश्वासिलो पात्रलाई डेढ वर्षसम्म थुनामा रहेको र तिनले छुट्नका निमित्त १६ दिनसम्म आमरण अनशन गर्न परेको घटना राजामहेन्द्र अनभिज्ञ थिए होलान्? हुन त रमेशनाथले राजा वीरेन्द्रको सक्रिय नेतृत्वकालमा अधिराजकुमार ज्ञानेन्द्रसँगको घनिष्ठ सम्बन्धका विषयलाई पनि पुस्तकमा स्थान दिएका छैनन्।यसै प्रसंगमा जोड्नुपर्ने आत्मकथामा उल्लेख नगरिएको वास्तविकता के पनि हो भने जुन समय रमेशनाथले ‘नयाँ सन्देस’ साप्ताहिक निकाल्ने गरेका थिए, त्यही समय काठमाडौंबाट तीन साप्ताहिकहरू जस्तै मदनमणि दीक्षितद्वारा ‘समीक्षा’ गोविन्द वियोगीद्वारा ‘मातृभूमि’ निकाल्ने गर्थे। यी तीनसाप्ताहिकहरूको राजनीतिक लगाव तीन खेमामा थियो। शुक्रबार प्रकाशित हुने समीक्षा र मंगलबार प्रकाशित हुने मातृभूमि साम्यवादी विचारबाट प्रभावित थिए। त्यसमा पनि समीक्षाले रुस र मातृभूमि चिनियाँ समर्थक कम्युनिस्ट साप्ताहिक पत्रिका भन्ने परिचय स्थापित थियो। नयाँ सन्देशले भने कट्टर अमेरिका समर्थित पत्रिकाको पहिचान राख्ने गथ्र्यो। पाण्डेले पुस्तकमा ब्यक्त गरेको काठमाडौंस्थित अमेरिकी राजदूत केरोलसी लेस र तिनका पति दक्षिण भियतनामका अमेरिकी राजदूत बंकरसँगको निकट सामीप्य हुनुमा नयाँ सन्देश सप्ताहिकको प्रकाशनले ठूलो भूमिका खेलेको थियो।
राजा ज्ञानेन्द्रको प्रियपात्र परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सगौरव आफ्नो कमजोरी भनेको पुस्तक हो भनेको यो पुस्तक समीक्षकले पनि सुनेको थियो।यस आत्माकथा पढ्दा थाहा हुन्छ तिनी साँच्चिकै पुस्तकप्रेमी हुन्। तिनले १० वर्षको उमेरमा नै पुस्तकालय निर्माण र सञ्चालन गरेका रहेछन्। फिल्डमार्सल केशरशमशेरको पुस्तकालयमा पहुँच स्थापित गरेका उनी अमेरिकी र ब्रिटिसलाइब्रेरीको नियमित ‘भिजिटर’ थिए। त्यसकारण यदि तिनले राष्ट्रिय पुस्तकालयमा पदार्पण पनि गर्ने गरेको भए, उक्त पुस्तकालयले आजको नियति सायदै भोग्ने थियो होला।बीपीका निमित्त पहिले आफूले पुस्तकहरू पढेर छनोट गर्ने र त्यसपछि मात्र उहाँको रुचिअनुसारको पुस्तक सुन्दरीजल पठाउने कार्य सहज थिएन होला।त्यस अवधिमा तिनले अत्यधिक पुस्तकहरू पढेका हुनुपर्दछ। हुन त तिनले बीपीलाई पुस्तक पढेर पठाउने कार्य स्थगन गरेर राजा महेन्द्रका निमित्त राजाका रुचिअनुरूपका पुस्तक पढ्ने मात्र नभएर समीक्षासमेत गर्ने गरेको उल्लेख गरेका छन्। दरबारले तिनको रोजाइबमोजिमको पुस्तकहरू मगाउने र तिनले आफूले पढेपछि समीक्षासहित राजाका चाहनाका पुस्तक तिनलाई पठाउने कार्य गर्न थालेको खुलाएका छन्।२० वर्षको कलिलो उमेरमै ‘देशलाई राजनीतिक भुमरीबाट झिकेर राजा र जनताको संयुक्त बल नेपालको उन्नतिमा लगाउने अवस्थाको रचनामा तल्लीन भएर लाग्ने’ बचन राजा महेन्द्रलाई दिएका पाण्डेका निमित्त इतिहास निर्माण गर्ने उद्देश्य राख्नु स्वाभाविक थियो। आफ्नो व्यक्तित्वको चुम्बकीय आकर्षण, कूटनीतिक सीप र बौद्धिक क्षमताजस्ता गुणको तिनले भरपूर फाइदा बीपी, राजा महेन्द्र, वीरेन्द्र हँुदै ज्ञानेन्द्रसम्मबाट उठाएको गाथा पुस्तकमा छरपस्ट पारिएको छ। तीनै गुणहरूका कारणले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूदेखि बाजपेयीसम्मलाई आफूले प्रभाव पारेर देश हितका निमित्त पुर्‍याएको योगदानहरू विस्तृत चर्चा पुस्तकमा गरेका छन्। त्यसो त, चिनियाँ र दक्षिण एसियाली मुलुकका मात्र नभएर तिनले मलेसिया,पश्चिमा राष्ट्रहरूका प्रभावशाली व्यक्तित्वको र सरकारप्रमुखहरूलाई समेत आफूले प्रभाव पारेको थुप्रै गाथाहरूको वर्णनहरूले पुस्तकको ठूलो भाग ओगटेको छ।
प्रभाव पर्न सफल नभएको व्यक्ति केवल मोराजी देसाई मात्रै भएको उल्लेख गरेका छन्। तिनले कटुता र आत्मग्लानि पोखेको विषयहरूचाहिँ उच्च शिक्षा हासिल नगरेको र राजदूतको पद प्राप्त नभएको मात्र उल्लेख गरेका छन्। जोगीदेखि मनमोहन अधिकारी हँुदै जयप्रकाश नारायणसम्मले तिनलाई उच्च शिक्षा हासिल गर्न प्रेरित गरेको उल्लेख गरेका छन्। तिनीजस्तो प्रतिभाशाली व्यक्तिले उच्च शिक्षा हासिल गर्न आवश्यक नभएको भनाइको खुलासा बीपीले पठाएको पत्रबाट तिनले गरेका छन्। त्यसैगरी यदि ‘करियर’ को विषयलाई राजा वीरेन्द्रले ‘तिम्रो मलाई यही जरुरत छ’ भनेको कारण तिनले देखाएका छन्। विडम्बना के हो भने पिताले विशेष दूत बनाएर विभिन्न मुलुक पठाइसकेको र मुलुकभित्र पनि शक्ति राष्ट्रहरूसँग पनि प्रत्यक्ष सम्पर्कका निमित्त विश्वासिलो व्यक्ति भनेर स्थापित गरेका रमेशनाथ पाण्डेलाई राजा वीरेन्द्रले पटकपटक मन्त्री नियुक्त गरे तर परराष्ट्र मन्त्रालयको जिम्मेवारी भने सुम्पिएनन्। त्यो सौभाग्य पाउन तिनलाई ज्ञानेन्द्रको प्रत्यक्ष नेतृत्व कालसम्म कुर्नुपर्‍यो।
नारायणहिटी दरबारलाई आफ्नो वर्चस्वको ‘कन्स्टिचुयन्सी’ बनाएका पाण्डे राजा महेन्द्रका निमित्त कीर्तिनिधि बिष्टभन्दा बढी विश्वासिला पात्र भएको उल्लेख गर्न चुक्दैनन्। राजा वीरेन्द्रको राज्यारोहणपछि तिनले राष्ट्रिय पञ्चायतमा प्रवेश मात्र पाएनन् लामो अवधिसम्म मन्त्री बन्ने अवसरहरू पाए।

दलविहीन पञ्चायतकालमा दरबार शक्ति केन्द्र थियो। रमेशनाथ त्यस शक्ति केन्द्रसँग आबद्ध थिए। पञ्चायतको पतन अरू पञ्चहरूका निमित्त अभिशाप भए पनि तिनका निमित्त भने लाभदाही रह्यो। आन्दोलनपश्चात् उनी आफैं शक्ति केन्द्रमा परिणत भए। त्यही कारणले गर्दा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसादलगायतका नेताहरू घरमा आउने क्रम आकासियो। एमालेका नेताहरूले पनि तिनका घरको ढोका घच–घच्याउने क्रम बढ्न थाल्यो।पुस्तक पढ्दा आभास हुन्छ तिनको घरमा प्रत्येक दिन ड्रिंक्स र डिनरमा आउने नेताहरूको भीड नै हुने गथ्र्यो। आफ्नो पुराना मित्र गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा मात्र नभएर मदन भण्डारी, वामदेव गौतम हँुदै प्रचण्डसम्मलाई राजनीतिक परामर्श र सुझबुद्धिको स्रोत तिनी भएको वर्णन उनले गरेका छन्।
यस आत्माकथामा रमेशनाथ पाण्डेले आफू यस मुलुकको अति नै सफल सबल मध्यस्तकर्ता, वार्ताकार, कूटनीतिज्ञ, राजनीतिज्ञ, कुशल विश्लेषक र भिजनरी (दूरदर्शी) व्यक्ति भएको प्रमाणित गर्ने कोसिस गरेका छन्। पुस्तकको उद्देश्य नै विगत छ दशकको अवधिमा यो राष्ट्र रमेशनाथ पाण्डेको राय

सल्लाहमा सञ्चालित हुँदा अनुकूल परिस्थितिमा रहने र त्यसबाट विचलित हुँदा अनिष्टमा पर्ने निष्कर्ष निकाल्न सकिन्छ। तिनले आफूलाई नेपालको कूटनीति र राजनीतिक क्षितिजको पूर्णिमाको चन्द्रकै रूपमा प्रस्तुत गर्न भ्याएका छन्। त्यसो गर्दा बरु तिनले चन्द्रमाको प्रकाश सूर्यबाट अर्थात् राजाबाट प्राप्त भएको भन्ने वास्तविकतालाई समेत कालो बादलभित्र छोपेर राखेका छन्।
नेपालका स्थापित र तिनका अग्रज कूटनीतिज्ञहरू विजयशमशेर राणा, नरप्रताप थापा, ह्षिकेश शाह, पदमबहादुर खत्री, यदुनाथ खनाल आदि नामहरूलाई पुस्तकमा स्थान दिन कन्जुसाइँ गरेका छन्। आफ्ना समकालीनहरूको विषयमा उनी त्यत्ति उदार छैनन्। तिनले आफूलाई बीपीभन्दा माथिल्लो दर्जामा राखेका छन्। तिनको सल्लाह मान्दा मुस्ताङमा चिनियाँ सेनाले नेपाली जवानको हत्या गरेर उठेको समस्या समाधान मात्र भएको नभएर बीपीको प्रतिष्ठा बढेको उल्लेख गरेका छन्। तर आफूले राजा महेन्द्रको निर्देशनमा गरेको राजा र बीपीबीचको मेलमिलापको प्रयत्नमा बीपी चुक्दा छ वर्षपछि जेलमा बस्न परेको र आफ्नो सम्मान गुमाएर निस्कनुपरेको भन्ने उल्लेख गर्न पनि तिनले भ्याएका छन्। त्यसो त राजतन्त्रको अन्त हुनामा आफूले गरेको कूटनीतिक र राजनीतिक पहलहरूको कार्यान्वयन नभएको हुनाले भन्ने निचोडसमेत तिनले निकालेका छन्। माओवादी समस्याको गहिराइ दुई प्रधानमन्त्रीहरू शेरबहादुर र गिरिजाप्रसादले बुझ्न नसकेको कारणले गर्दा नै यो समस्या दस वर्षसम्म कायम रहेको तिनको बुझाइ छ।पुस्तकमा तिनले कोइराला परिवार उनीप्रति अनुगृहित नभएकोमा तिक्तता पोखेका छन्। सुशील कोइराला आफ्नो आँखामा मात्र नभएर विदेशीहरूको नजरमा समेत निकम्मा भएको उदाहरण आफूले र जयप्रकाश नारायणसमेतले सुशीललाई जागिरे तुल्याउन गरेको असफल प्रयासहरूबाट पेस गरेका छन्। गिरिजाप्रसादलाई तिनले अदूरदर्शी, स्वार्थी, लोभी, भ्रष्ट र राष्ट्रियताप्रति संवेदनहीन नेताको रूपमा प्रस्तुत गरेका छन्। त्यसैगरी बाबुरामलाई भारतीय एजेन्ट भएको तिनको दाबी छ। अनि सात राजनीतिक पार्टीहरू र माओवादीबीचको १२ बुँदे समझदारीलाई भारतद्वारा गिरिजाप्रसाद र बाबुरामको सहयोगमा नेपाललाई अस्थिरताको भुमरीमा जाकिराख्ने चाल तिनले मानेका छन्। वास्तवमा तिनको नजरमा बीपी, मरिचमान र लोकेन्द्रबहादुर चन्दबाहेक सबै समकालीन प्रधानमन्त्रीहरू निकम्मा हुन्। साम्यवादी नेताहरूमध्ये मनमोहन अधिकारी, मदन भण्डारी, वामदेव गौतम र रामबहादुर थापाको प्रशंसा गरेका छन्। त्यसैगरी तिनले दरबारको पूर्वसैनिक सचिव विवेक शाह र पूर्वसेनापति प्याराजंगप्रति विष वमन नै गरेका छन्।
आत्मकथा भएको हुनाले पुस्तक रमेशनाथको ‘अर्बिट’ भित्र घुमेको छ। आफू र आफूले गरेको कामहरूको एकलौटी प्रशंसा गर्न तिनी कतै पनि चुकेका छैनन्। पुस्तकमा तिनले हालसम्म सीमित नै भए पनि केही नखुलेका वा प्रकाशमा नआएका ऐतिहासिक घटना र तिनका कारणहरूलाई बडो रोचक ढंगमा प्रस्तुत गरेका छन्। जस्तै सुवर्णशमशेरको नेतृत्वमा सञ्चालित राजा महेन्द्रविरुद्धको क्रान्ति तुहिनाको कारण भैसालोटनमा गण्डकी बाँधको उद्घाटन समाहरोमा भएको राजा र नेहरूबीचको वार्ता र त्यसपछि दुईबीच बढेको सामीप्य थियो भन्ने तिनले खुलासा गरेका छन्। स्थापित मान्यताअनुसार त्यसको प्रमुख कारण भारत–चीन युद्ध भन्ने थियो। पुस्तकको अन्तिमतिर तिनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा केही रोचक आफ्ना धारणाहरू समावेश गरेर नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका विषय इच्छुक प्रारम्भिक कक्षामा पढ्ने विद्यार्थीहरूका निमित्त खुराक
छोडेका छन्। आफूलाई उच्च कोटिको कूटनीतिज्ञ वा राजनीतिज्ञ भएको प्रमाण प्रस्तुत गर्न अरूलाई होचो साबित गर्ने प्रयासले उनले आफ्नो उचाइ छताछुल्ल पारेका छन्। बरु पुस्तक पढिसक्दा लेखकले आफू एउटा सफल कूटनीतिज्ञ तथा राजनीतिज्ञभन्दा बढी कुशल पत्रकार भएको छाप पुस्तकमा प्रयोग गरिएको भाषा तथा प्रस्तुत गरेको आफू केन्द्रित पात्र–पत्रिकाहरूमा प्रकाशित समाचार र टिका– टिप्पणीहरूको संकलन तथा प्रस्तुतीकरण शैलीबाट प्रमाणित गरेका छन्। ​

 

प्रकाशित : पुस ११, २०७२ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?