बेजोडा मान्छे

साहित्यीक पत्रकार एवं अन्वेषक शिव रेग्मी अचेल घरबाहिर खासै निस्किन्नन् । साहित्यीक खोजका यी अम्मली घरभरी जम्मा भएका साहित्यीक पुस्तक र पत्रिकामा कहिले भूमिका त कहिले तिथीमिती खोजेर बस्छन् ।
जनकराज सापकोटा

असोज पहिलो साताको दर्के झरीले सिंगो काठमाडौंलाई स-साना कुण्डहरुका बीच उभिएको टापुजस्तो बनाईदिएको थियो ।

बेजोडा मान्छे
विना मेसो, विना सुर छिन-छिनमा बर्सिरहेको दर्के झरीलाई झुक्काएर शान्तिनगरको एउटा गल्लीभीत्र छिरेपछि पो थाह भयो, लौ, झरीले त वित्यासै पारेछ । पानी न हो, ज्ञानी हुने कुरै भएन, भाग्ने ठाउ नपाएरै होला पानी कोठाभित्रै छिरेछ । भुईतलाको चारै कोठामा राखिएका साहित्यीक किताब र साहित्यक पत्रिकाहरु पनि पानीले भिजाएछ । तिनै भिजेका किताब र पत्रपत्रिकालाई घाममा सुकाउने र पानीबाट तर्काउने काममा व्यस्त थिए- शिव रेग्मी, वर्ष ७४ ।
किताबका चाङबीच रहेको सानो भुई टेबलमा पनि किताब नै थियो र त्यसको खातमाथी थियो, जगदम्बा श्री पुरस्कार प्रदान गरीएको व्यहोराको मदन पुरस्कार गुठीको पत्र । किताबको थाकले घेरिएको पुरानो सोफामा अडेस लागेका थिए, सरस्वतीका भक्त शिव । ३६ वर्ष सरकारी सेवामा बिताएका साहित्यिक किताब र पत्रपत्रिकाका अम्मली शिव खासमा नेपाली साहित्यका अन्वेषक हुन । तर 'अन्वेषक' शब्दसँग उनको उतिसाह्रो मोह छैन । उनले सुरुमै प्रस्ट पारे, कसैले अन्वेषक भनिहाल्यो भनेर म चित्त चाहिँ दुखाउँदिन । उनको बुझाई छ- 'यो शब्दको व्यापक दुरुपयोग गरियो । मान्छेहरु सामान्य छानविनलाई पनि अनुसन्धान भन्छन्, पुलिसले मुचुल्का उठाएको पनि अन्वेषण हुने, वकिलले अदालती वयानपूर्व संकलन गरेका टिपोट पनि अन्वेषण हुने ।' उनले भने, 'शब्दको उपयोग ठिक ढंगले भईरहेको छैन । त्यही भएर म आफुलाई साहित्यिक टिप्पणीकार मात्रै भन्न रुचाउछु ।'
दसैपछि उनको घर पुग्दा भिजेका धेरै किताब सुकिसकेका थिए र त्यसबाट अनौठो हरक आईरहेको थियो । सायद अक्षरको गन्ध होला । कोठाको भित्तामा टांगीएका दर्जनौं पुरस्कार, सम्मानपत्र, अभिनन्दनका बीच जगदम्बाश्रीको फ्रेम टलक्क टल्किएको थियो । दुनियाको चकाचौध, साहित्यिक बजारको गरमागरम, पुस्तक बजारका अनेकन किस्साहरु, दौडधुप र छेडखानी कसैसँग यिनको कुनै साईनो छैन । किनकी यिनी त्यो समयमै छैनन् । सार्वजनिक कार्यक्रममा यिनको उपस्थिती भनेको विरलाकोटी दर्शन मात्रै हो । झण्डै एक दसकयता यिनी आफ्नै घरको संसारबाट बाहिर निस्केकै छैनन् भन्दा पनि हुन्छ ।
३१ वर्षे पुरानो सुगरका रोगी रेग्मीले भने, 'बुढो, रोगी, असक्त भएर हैन, त्यस्त्ा कार्यक्रमको उपादेयता नदेखेर म जान्न ।' रेग्मीको बुझाईमा शहरमा हुने कार्यक्रममा ज्ञान र बुद्धीको आदानप्रदान भन्दा पनि मान र सम्मानको तिरो वा पैचो तिर्ने मेलो बढी गरिन्छ ।
रेग्मी हत्तपत्ती कसैलाई भेट्न कसैको दैलोमा पुग्दैनन । कसैले पुरानो साहित्यक किताब वा पत्रपत्रिका छ भनेर सुनायो भने चाहिँ कुदिहाल्छन् । यिनीको भुईतलामा कुन चाहिँ साहित्यिक किताब छैन ? ४८ वर्षयता निरन्तर प्रकाशित भईरहेको साहित्यिक पत्रिका 'मधुपर्क'का सबै अंक यो भुईंतलामा छ । हालैमात्रै बन्द भएको 'गरिमा'का पनि सबै अंक यिनले सुरक्षित राखेका छन् । विस १९९१ म्ा श्रृद्धीबहादुर मल्लको सम्पादनका प्रकाशित साहित्यिक पत्रिका 'शारदा'का १८० अंक यिनले नै जोगाएर राखेका छन् । विस २०१५/१६ देखि साहित्यिक पत्रिका संकलन, अध्ययन र अनुसन्धानमा लागेका रेग्मीका अनुसार उनको घरमा १५ दर्जन भन्दा धेरै साहित्यिक पत्रपत्रिकाको पहिलोदेखी अन्तिम अंकसम्म सुरक्षित छन् । धर्ती, प्रगती, ईन्द्रणी, रुपरेखा, रचना मुकुट आदी उनको संकलनमा रहेको पत्रिकाहरुको केही नाम हुन् ।
.........................
शिव रेग्मी साहित्यिक किताब र पत्रपत्रिकाका संग्रहकर्ता मात्रै होइनन्, अन्वेषक र लेखक पनि हुन । तीन पुस्तक र झण्डै डेढ दर्जन पुस्तकका सम्पादक रेग्मीको विछट्टको विशेषता छ । उनी धेरैजसो मिती र तिथीका पनि जानकार छन् । नेपाली साहित्यका ईन्साईक्लोेपेडिया रेग्मीले भने, तिथी, मिती र बार म हत्तपत्ती बिर्सन्न । 'तिथी र मितीको विवादले नेपाली साहित्यका पाठकलाई भ्रमित तुल्याएको छ,' रेग्मीले भने, 'भानुभक्तको मृत्यु १९२६ को कि १९२५ हो ? यही एउटा विवादको निप्ट्यारो पनि हामीले गर्न सक्या छैनौं ।' नेपाल सरकारले जारी गरेको हुलाक टिकटमा भानुभक्तको मृत्यु १९२६ लेखिएको छ, रानीपोखरीको छेउमा रहेको दरबार स्कूल अगाडीको सालिकमा त्यही मिती १९२५ लेखीएको छ । 'फेरि दार्जलिङे पृष्ठभूमिकाहरु भने  १९२६ नै मान्छन् । अब कसलाई पत्याउने ?' उनले भने ।  
लेखकदेखि पत्रकारसम्म, विद्यार्थीदेखी अनुसन्धानकर्तासम्म सबैका निम्ती रेग्मी टोल फ्रि नम्बर जस्ता हुन । जसको उपयोगमा पैसा लाग्दैन । कसैको मिती चाहियो, कसैको तिथी चाहियो, साहित्यसँग जोडिएको कुनै तथ्य तथ्यांक, सन्र्दभको प्रामाणीक जानकारी चाहियो भने रेग्मी निर्विकल्प स्रोत व्यक्ती हुन् । प्रश्न सोध्ने र जानकारी लिने सबैलाई उनी चिन्दैनन्, चिनेर साद्धे पनि चल्दैन । कण्ठस्थ भएको कुनै जानकारी रहेछ भने उनी तत्काल बताईदिन्छन, हैन भने यति दिनपछि फोन गर्नुस वा आउनुस भनिदिन्छन । 'खोजीदिन्छु भनेपछि त मान्छेलाई आश भयो नि,' उनले भने, 'त्यसपछि जसरी भएपनि धुईपाताल गरेर पत्ता लगाईदिन्छु ।'
लिनभन्दा दिन रुचाउने मान्छे हुन् रेग्मी । झण्डै दस वर्षअघि भृकुटीमण्डपमा रहेको सार्वजनिक पुस्तकालयलाई झण्डै एक हजार किताब दिए । कसैलाई चाहिएको प्रमाण, पुराना किताब वा पत्रपत्रिका यिनी विश्वासकै भरमा दिन्छन । यद्यपी त्यसरी फिर्ता गर्ने सर्तमा दिइएको सबै सामाग्री फर्किदैनन भन्ने यिनलाई थाह नभएको होईन ।
......................
राजा त्रिभुवनका पुजा कोठाका पुजारी केदारनाथका छोरा शिवको सम्पादन, संकलनमा जती धेरै किताब निस्केको छ, करिब त्यसको आधाको संख्यामा उनीसँग पाण्डुलिपी तयार छ । तर कसले छाप्ने ? एउटा ठूलो प्रश्नको तरबार उनको अघि छ । बजारमा भरमार किताब बिक्न थालेको, एकै हप्तामा तेस्रो संस्करण निस्किएको, लेखेरै बाच्ने वातावरण बनेको जस्ता अनेकन समाचारहरु उनको कानसम्म पनि आईपुग्छ । तर यी सबै समाचारको अन्र्तयसँग उनको संशय छ । आफुले लेखेका किताब बिक्री नभएर वा आफुकहाँ कुनै प्रकाशक नआएर उनले यसो भनेका हैनन । 'मेरो किताब यति हजार प्रति बिक्री भयो भन्न म पनि सक्छु तर सत्य कुरा त्यो हुँदैन । उनले नढाँटी भने, ०५९ सालमा मेरो अनुसन्धानमा आधारित कृती 'खोजीनिती' छापियो । दस वर्ष कटीसक्दा पनि एक सय प्रति पनि बिक्री नभएपछि त्यो प्रकाशक कायल भयो ।' उनको एउटा किताब रत्न पुस्तक भण्डारले पनि छाप्यो । रेग्मीले भने, '५ सय प्रति छापिएको थियो, अहिलेसम्म बिक्री हुँदैछ रे !'
विस १९५० देखि विस ००७ सम्मका साहित्यकारको खोज गरेर उनले 'हिजोका गहना आजका सम्झना' पुस्तकको पाण्डुलिपी तयार पारेर राखेका छन् । मोती मण्डली, नेपाल साहित्य परिषद् जस्ता पुराना साहित्यिक संस्थाका बारेमा खोजीनिती गरेर उनले अर्को पाण्डुलिपी तयार गरीसकेका छन् । समिक्षा, समालोचना र विवेचना सम्बन्धी अर्को किताबको पाण्डुलिपी पनि उनको सिरानमै छ । एउटा निजी प्रकाशन गृहले छाप्छु छाप्छु भन्दै आठ वर्षदेखि झुलाएर राखिरहेको एउटा पाण्डुलिपीको कहानी पनि उनले सुनाए । तैपनी भन्छन्, 'छापिदिनुस् भन्दै म कतै जान्न, छाप्छु भन्दै कोही म कहाँ आउदैन,' नेपाली साहित्यका अन्वेषक रेग्मीले भने, 'मेरा किताब कसले छाप्ने, किन छाप्ने ? अनुसन्धानात्मक किताब हवारह्वार्ती बिक्दैनन् । नबिक्ने र सेलीब्रेटी नहुने किताबमा प्रकाशकको ध्यान जादैन ।'
यति भएर पनि रेग्मीको जाँगरमा कत्ती कमी आएको छैन । साहित्यमाथि उनको अनुसन्धान जारी छ । विस १९४० देखी १९७५ सम्म प्रकाशित किताबहरुको भूमिका संकलन गर्ने काममा उनी वैशाखयता खटिएको छन् । यही चैतसम्ममा भ्याउने उनको योजना छ । किताबी संकलनमा नपरेका र फुटकर रुपमा छापिएका लक्ष्मीप्रसाद देवकोटाका अप्राप्य ११ कथाहरु उनले संकलन गरेको वर्षौ भईसक्यो । विस २००४ सालमा युगवाणी साप्ताहिकमा छापिएको 'डायमण्ड कुकुर' शिर्षकको देवकोटाको कथा नभेटेर वर्षौदेखि यो किताब अड्किएको छ । किताबी किरो रेग्मीले भने, 'मेरो एउटै काम भनेकै घर बस्नु, किताब पढ्नु, संकलन गर्नु, दुई चार अक्षर लेख्नु । बस यत्ती हो,' उनले सन्तुष्टीको भावमा भने ।
साहित्यको बजार र योसँग जोडीएको कैयन समाचारहरुको बारेमा रेग्मी पनि जानकार छन् । 'मिडियाम्यानहरु सेलीब्रेटीहरु लेखक भएका छन् । लेखनको धर्म भन्दा पनि पब्लिसिटी स्टन्टका भरमा किताब बिकेका छन्,' रेग्मीले भने, 'प्रकाशकहरु यस्तै किताब रुचाउँछन् । किनकी प्रकाशकहरु आफैं किताब पढदैनन्, तिनका मान्छेहरु जे भन्छन् त्यही छाप्छन ।'
'किताब विमोचनमा राजनीतिक भाषण हुन्छ,' उनले गुनासो राखे, 'सबै मान्छे सबै विषयका विज्ञ देखिन्छन । यस्तो संस्कार हुर्किदैछ ।'
पछिल्लो छिमलको साहित्यिक किताब रेग्मीले कुनै पढेका छैनन् । पढ्ने फुर्सद पनि उनीसँग छैन । त्यसो त उनले किताब नकिनेको पनि धेरै भईसक्यो । 'घरकै किताब पढेर भ्याएको छैन, नयाँ ल्याएर मात्रै के गर्नु भ्याईदैन,' उनले प्रस्ट्याए । उनी ठूला ठूला र मोटा मोटा किताब पढन उती रुचाउदैनन । 'उपन्यास त पढ्नै सक्दिनँ,' उनले भने, 'जती बुढो भयो त्यति अधैर्य भईदो रैछ ।'
आफ्ना असहमती, जिकिर वा दावीसँग उनको उतिसाह्रो लगाव पनि छैन । कसैले आफ्नो तर्क मानिदेला वा नमानिदेला अथवा कसले के भन्ला ? उनको चासोभीत्र यस्ता कुरा पर्दै पर्दैनन् । चश्माको सिसा जती बाक्लो हुदै गएको छ उनको शरिर त्यति नै पातलो बन्दै गएको छ । पछिल्लो पटक त उनको आंखाको डाक्टरले भनिदिएछ- अब तपाईको चश्मामा पावर थप्न सकिन्नँ, जति छ त्यत्ती हो । उनलाई यसमा पनि कुनै गुनासो छैन ।
आफु बुढो भएको उनलाई राम्ररी थाह छ । अहिलेसम्म उनले आफ्नो संग्रहमा कति हजार किताब र पत्रिका होलान त्यसको गन्ती गरेका छैनन । न त्यसलाई कुनै कुशल लाईब्रेरियनले झै मिलाएर नै राख्न भ्याएका छन् । आठ कक्षामा पढने नातीले कहिले एसएलसी सक्ला र त्यसलाई किताब मिलाउने जिम्मा दिउला भनेर उनी कुरेर बसेका छन् । अनुहार उज्यालो बनाएर उनले भने, 'त्यसको किताबप्रति गज्जपको मोह छ ।'
प्रेम गर्नु नै दुस्साहस मानिने २०२४ सालमा नेवार केटीसँग अन्तरजातिय बिहे गरेका र जवानीका दिन सरकारी सेवामा बिताएका रेग्मी आफुलाई असफल सरकारी सेवक र अम्मली साहित्यिक खोजकर्ता ठान्छन् । एक दशकभन्दा लामो समयेखि उनकी पत्नी अल्जाईमर्स रोगको शिकार छिन् । एक छोरीका पिता शिव बत्तिसपुतलीको घर भाडामा लगाएर छोरीको घरमा बस्छन् । दिनभर उनी कि साहित्यको सेवामा हुन्छन् कि पत्नीको । 'विहेपछि यतिका वर्ष उसले मेरो सेवा गरी, अहिले उ नसक्ने भएपछि मैले गर्नु पर्‍यो नि,' उनले आफ्नो कर्तव्य सम्झीए ।
'तपाई असल प्रेमी हो ?' यति सोधीसक्दा उनी मुसुक्क मुस्कुराए । उनको अनुहारमा उज्यालो पोतियो । उनी यत्ति हाँसे मात्रै । उनको हाँसोले नै उत्तर दियो ।

प्रकाशित : आश्विन २५, २०७१ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?