कालेश्वरका ती काला दिन

काठमाडौ — ती युद्धका दिन थिए । राजधानी नजिकैका बस्तीका लागि निकै दुःख बोकेर आएका दिनको सम्झनामा अहिले पनि गाउँलेहरु तर्सिन्छन् ।
२०५९ साल कात्तिकको एक साँझ । दसैं सकिए पनि कालेश्वरमा रौनक निखि्रएको थिएन । प्रायः घर नबस्ने ऋषेश्वर अधिकारी कुहिरो र सिरेटोमा लुटपुटिएको घरबाट वरपर निस्कने प्रयासमा थिए । ठीक त्यति नै बेला रातो तारा निधारमा पर्ने गरी फौजी रुमाल बाँधेको र लडाकुको भेषभूषा धारण गरेको टोली 'हाम्रा कम्रेड साथीहरू कहाँ छन् ?' भन्दै घरघर चहार्न थाले । खासमा यो एउटा छल थियो । तर, सोझा गाउँलेहरूले ऋषेश्वरको घरतिर संकेत गरे । लम्किएर आएको टुकडीका सदस्यहरूको पाइला अझै छिटोछिटो चल्यो ।'हामी रोल्पाबाट साथीलाई भेटन आएको' भनेर कुराकानी सुरु गरेपछि परिवारका सदस्यले छुट्टीमा घर आएका माओवादी पूर्णकालीन कार्यकर्ता ऋषेश्वरलाई बोलाइदिए । 'कम्रेड' भन्दै छापामार लडाकुको शैलीमा हात मिलाएका उनीहरूले ऋषेश्वरको हात फुत्कन दिएनन्, त्यही दिनदेखि ज्ञानेन्द्रको काखबाट माहिला छोरा ऋषेश्वर र मुहारबाट खुसी एकसाथ हरायो ।
'बरु मैलाई मार्दिएको भए हुने,' गहभरि आँसु गर्दै उनी भन्छन्, 'साथी हुँ भनेर हात समातेर लगेका फौजी मान्छेले गोली ठोकेर मारे ।' माओवादी लडाकुको भेषमा गाउँ छिरेको त्यो टोली ललितपुरको बिमिरे ब्यारेकबाट गएको सेनाको टोली थियो । माओवादीका स्थानीय नेता राजकुमार सिंंतानलाई खोज्दै हिँडेको त्यो टोलीले ऋषेश्वरलाई भेटायो र छाडेन । ज्ञानेन्द्रको दिलमा कहिल्यै निको नहुने घाउ छ । 'मेरो छोरालाई पार्टीमा जाम भन्नेले समेत के छ बुबा भन्दै आएनन्,' उनको चित्त दुःखाइ छ ।
गाउँको पीडाको यत्तिमै टुंगिएन । घटनासँग जोडिएका संयोग र शंकाले अरू थप निर्दोषका जिन्दरीको डोरी बीचमै छिनियो । त्यस्तै संयोगमा जबर्जस्ती हुलिएका पात्र हुन्, स्थानीय बाघभैरव उच्चमाविका शिक्षक माणिकलाल वाइवा । घटनाको दुई दिनअघि मात्रै उनी काम विशेषले सहरतिर हान्निएका थिए । घटनापछि उनी गाउँ फर्किए । गाउँको बुद्धिजीवी र शिक्षक भएको नाताले घटनाबारे बुझ्न गाउँ गएका कृष्ण पहाडीलगायतका अधिकारकर्मीलाई उनले घटनास्थल र शव गाडिएको ठाउँमा घुमाइदिए । त्यसपछि त के चाहियो, तत्कालीन विद्रोहीले 'यसले सहरमा गएर सुराकी गर्यो र सबै थाहा पाएकाले गाडेको ठाउँ पनि देखाउँदै छ' भन्ने आरोप लगायो । आरोपलाई माणिकलालले जनवादी शैलीमा खण्डन गर्न सकेनन्, उनको जिन्दगी चुँडियो । 'सोधपुछ गर्न लैजान्छम्, केही हँुदैन भनेर लगेका थिए,' श्रीमती हरिमाया वाइवा त्यो घटना सम्भ“mदै भन्छिन्, 'मारेछन्, भोलिपल्ट लास देखेर थाहा भयो ।'
हरिमायालाई परिवार पाल्नै गाह्रो हुन थाल्यो । पुख्र्यौली पाखोबारीको आम्दानीले चार महिना पुग्ने थिएन । छोराछोरी पढाउने, मुखमा माड लगाउने र चुहिने भए घरको पाखोमा प्लास्टिकसमेत ओछ्याउने काममा सघाउने दरिला हात थिएनन् । सरकारले द्वन्द्वपीडितका नाममा दिएको एक लाख ऋण तिर्दै सकियो ।
चार छोराछोरी हुर्काउन र पढाउन कम हम्मे परेको छैन । तर पनि उनको चित्त अर्कै कुराले दुख्छ । लुकेर हिँड्नेले समाजमा नमस्कार र इज्जत पाउन थाले, तर हरिमायाको घरमा अहिलेसम्म कोही गल्ती भयो भन्दै आएको छैन । आफ्नो आधा जीवन खोस्नेलाई हरिमायाले दिन सक्ने त्यही माफी थियो, त्यो पनि कसैले माग्ने हिम्मत नगर्दा उनको मनको घाउ बल्भिmरहन्छ । 'त्यस्तो निर्मम ढंगले रेटेपछि अहिलेसम्म त पछुताउनुपर्ने हो,' उनी भन्छिन्, 'गल्ती भयो भन्ने हिम्मतसमेत गर्न सकेनन् ।' हरिमायाको आँसुबाट पुराना दिनहरूको वियोग आँसु बनेर प्रशस्तै पोखिएको छ ।
ऋषेश्वर र माणिकलालको हत्यापछि गाउँमा भित्रभित्रै सल्किएको द्वन्द्वको आगो सबैलाई सेक्ने गरी फैलियो । अनि सुरु भयो गस्ती, सेल्ट्री र खोजतलासी । घरी घरघरमा २०/३० जनाको डफ्फालाई मेजमानीसहित खुवाउनुपर्ने, घरी स्कुलमा बस्ने सेनाको टुकडीलाई गाउँको सबै सूचना बेलिविस्तार लगाउनुपर्ने । स्थानीय ज्ञाननाथ दाहालले भने, 'कहिले माओवादी, कहिले सरकारी फौज आएर बस्दा आज हो कि भोलि मरिएलाजस्तो हुन्थ्यो ।'
त्यसपछि गाउँमा के भएन ? दूध बोकेर सहरतिर हिँडेकाहरू बीचबाटै र्फकन थाले, हँसिया र नाम्लो बोकेकाहरू हतारहतार आमसभा र भेलामा पुर्याइन्थे र आकाशमा हेलिकप्टर घुमे स्कुले विद्यार्थीको भागाभाग हुन्थ्यो । 'त्यतिबेला हामी गाउँलेहरू अचानोजस्ता' कालेश्वर खानीडाँडाका विश्वनाथ दाहालले भने, 'सहरतिर जाँदा घर कालेश्वर भनेपछि समातेर केरकार गर्ने ।'
सुरक्षाकर्मीको उपस्थिति नभएको र सबैतिर भाग्न मिल्ने नाका रहेको महाभारत पर्वतछेवैको कालेश्वरको त्यो डाँडो ती दुई घटनापछि युुद्धमैदान नै बन्यो । प्रहरी, सशस्त्र र सेनाको टोली बारम्बार गाउँ जान थाल्यो, उनीहरूसँग बोल्ने माओवादीको नजरमा तारो भए । त्यसलगत्तै २०/३०
जनाको माओवादी टोली पाहुना बनेर घरघर छिर्थे । द्वन्द्वकालमा कालेश्वर गाविसमा ८ जनाको ज्यान गयो । मारिनेजति सबै निशस्त्र थिए । सेनाले माओवादीका निशस्त्र कार्यकर्तालाई मारेको थियो, त्यसको झोंकमा विद्रोहीले सुराकीको आरोपमा वाइवासहित अर्का स्थानीय देवीप्रसाद दाहालको पनि ज्यान लियो । दाहालको परिवार अहिले
पनि गाउँमै छन् ।
कालेश्वर डाँडाको पारिपट्ट िगोटिखेलका हरि कुँवर क्षतविक्षत सम्झना बोकेर जिन्दगी चलाइरहेका छन् । २०६९ पुसको एक रात घरमा बास माग्न एक टोली आयो । बुझ्दै जाँदा थाहा भयो, व्यवस्था परिवर्तनको लक्ष्यसहित हिँडेको त्यो टोलीमा अखिल क्रान्तिकारीका अध्यक्ष भइसकेका लेखनाथ न्यौपाने पनि रहेछन् । हरिको परिवारले सक्दो स्वागत र खानपिन पछि पुसको जाडोमा अगेना छेवैमा बासको व्यवस्था पनि गरिदिए ।
चुल्होछेवैमा एक लडाकु पनि सुतेछन्, कम्मरमा
बोकेको बम नबिसाई । हरिको जिन्दगीको बाटो बदल्ने
त्यो बम अगेनाको तातोले पड्कियो । 'बोकेको मान्छे त्यही मर्यो, आमा र म जिन्दगीभर त्यसले दिएको दुःख बोकेर हिँड्नुपर्ने भयो,' दिनहुँ दूध बोकेर गोटिखेल बजारमा र्झनसम्म सक्ने हरिले भने । दस काल्ना छिचोलेर विकटमा बास बस्नेहरू अहिले कस्तो छ भन्दै हरिको घरसम्म गएका छैनन् । केही महिनाअघिसम्म टेलिभिजनको पर्दामा बारम्बार झुल्काउने लेखनाथलाई समेत उनले प्रत्यक्ष देख्न
पाएका छैनन् ।
गाउँलेहरूको अनुभवमा सास फेर्नसमेत सोच्नुपर्ने त्यो अवस्थामा बाँच्नमात्रै पाउनु जीवनको ठूलो कुरो थियो । विश्वनाथले भने, 'यो पछिल्लो पाँच वर्षमा केही नभए पनि गाउँमा शान्ति त छ ।'
प्रकाशित : असार १६, २०६९ ०९:२२