कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

थरीथरीका सभासद्

राजेन्द्र फुयाल

काठमाडौ — फरक पृष्ठभूमिबाट फरक एजेन्डा लिएर आएका सभासद्हरूको प्रस्तुति पनि फरक देखियो ।

संविधानसभामा प्रत्यक्ष निर्वाचित, समानुपातिक र मन्त्रिपरिषद्द्वारा मनोनीत गरी ६ सय १ सभासद् थिए । ग्यासचुलो दुर्घटनामा माओवादी सभासद रामकुमारी यादव -धनुषा-६), सडक दुर्घटनामा एमाले सभासद् डम्बर खड्का -संखुवासभा-२) र क्यान्सर रोगका कारण माओवादी सभासद् गौरीशंकर खड्का -झापा-२) को निधन भएको छ । उनीहरूको निधनका कारण रिक्त स्थानमा अर्को निर्वाचन भएको छैन । संविधानसभाको कार्यकाल ६ महिनाभन्दा बढी रहेको अवस्थामा मात्र नयाँ निर्वाचन गर्ने प्रावधान छ । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनपछि संविधानसभामा उनको सिटमा कांग्रेसले मनमोहन भट्टराईलाई पठाएको थियो । उनले गत वर्ष जेठ १४ गते शपथ लिएका थिए ।
यस अवधिमा मोहन वैद्य -माओवादी उपाध्यक्ष), सुशीलचन्द्र अमात्य -एमाले), रामकुमार शर्मा -माओवादी) ले पदबाट राजीनामा गरेका छन् । माओवादीकै तत्कालीन सभासद् मातृकाप्रसाद यादव र सद्भावना -आनन्दीदेवी) का श्यामसुन्दर गुप्ताले पद गुमाएका छन् । भन्दा ६०१ भनिए पनि सभामा अहिले ५ सय ९८ सभासद् बहाल छन् ।
कुटपिटमा सभासद्
संविधानसभाको पहिलो बैठककै दिन एमाले सभासद् कमला शर्मा -सुर्खेत-१) ले पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस सभासद् पूर्णबहादुर खड्कालाई चप्पलले हिर्काइन् । त्यस क्षेत्रबाट उम्मेदवार भएका ऋषि शर्माको चुनावी अभियाकै बेला गोली हानी हत्या भएको थियो । पतिको हत्या भएपछि त्यही क्षेत्रमा उम्मेदवार बनेर कमला निर्वाचित भएकी थिइन् ।
पर्सा-१ बाट निर्वाचित सभासद् करिमा बेगमले कृषि राज्यमन्त्री भएका बेला आफ्नो गृहजिल्लाका प्रमुख जिल्ला अधिकारीलाई थप्पड हानेर विवादमा आइन् । त्यसको केहीअघि वनमन्त्री भएका बेला मातृका यादवले पनि कर्मचारीलाई शौचालयमा थुनेका थिए ।
बजेट भाषणका लागि संसद्को रोस्ट्रममा जाँदै गरेका तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई गत मंसिर ६ गते माओवादी सभासद्ले झम्टे । बजेट भाषणको बि्रफकेस च्यात्ने, माइक भाँच्ने र पाण्डेलाई बचाउन गएका ऊर्जामन्त्री प्रकाशशरण महतलाई मुक्का हान्ने काम पनि माओवादीका 'युवा' सभासद्ले गरे । सभामुखले संसद् सचिवालयमार्फत् घटनाको छानबिन गराए तर कसैलाई कारबाही भएन ।
सभासद् विश्वेन्द्र पासवानले संसद् सचिवालयको चार तलामाथि संवैधानिक समितिको बैठक चलिरहेका बेला गत चैत १८ गते आफू बसेको कुर्सी झ्यालबाट बाहिर फ्याँके । संवैधानिक समितिका सभापतिको हातबाट निर्णय पुस्तिका खोसे । आफूविरुद्ध मार्सल लगाउन खोजिएको भन्दै उनले आफ्नो सर्ट च्यातेर छातीमा मुड्की बजारे ।

कण्डैकाण्डमा सभासद्
भ्रष्टाचार र कूटनीतिक राहदानी दुरुपयोगको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि एमाले सभासद् डीबी कार्की, फोरम -गणतान्त्रिक) का बीपी यादव र नेपाली जनता दलकी सभासद् गायत्री साह निलम्बनमा छन् । उनीहरू तीनैजना पार्टीको समानुपातिक कोटामा सभासद् भएका हुन् । उनीहरू सबैलाई विशेष अदालतले धरौटीमा रिहा गरेको छ ।
जनता दलका अध्यक्षसमेत रहेका सभासद् साहका बाबु हरिचरण साह पनि रातो पासपोर्ट बिक्री प्रकरणमा तानिएका छन् । उनले आफ्नो दलका तर्फबाट समानुपातिक कोटामा सभासद् भएका विश्वनाथ अग्रवालमाथि सिंहदरबार परिसरमै हातपात गरेका थिए । विवादको विषय थियो- सभासद् हुनुअघि प्रतिबद्धता जनाएअनुरूपको रकम दिन इक्कार गर्नु ।
कार्की प्रहरीमा जागिर दिलाइदिने भन्दै एक लाख रुपैयाँ घूस लिँदालिँदै पक्राउ परेका थिए । यादव र साहले आफ्नो रातो पासपोर्ट दुरुपयोग गरेको प्रमाणसहित प्रहरीको विशेष अनुसन्धान ब्युरो र अख्तियारले कारबाही अघि बढाएको हो । त्यसैगरी फोरम सभासद्हरू शिवपूजन राय, रम्भादेवी, फोरम -लोकतान्त्रिक) का करिमा वेगम, सञ्जय साह, एमालेका नारदमुनि राना, प्रकाश पाखि्रन पनि सन्देहको घेरामा छन् । राहदानी दुरुपयोग भएको आशंकामा अनुसन्धान गरिरहेको अख्तियारले उनीहरूको राहदानी उपलब्ध गराउन संसद् सचिवालयलाई पत्रचार गरेको छ ।
त्यसो त विद्युत् चोरीको आरोपमा पक्राउ परेकी माओवादी सभासद् इन्द्रमती यादव -समानुपातिक, कपिलवस्तु) तीन हजार रुपैयाँ जरिवाना तिरेर उम्किएकी छन् । जुवाको खालबाट पक्राउ परेका कांग्रेस सभासद् अच्युत पाण्डेलाई प्रमाण नपाइएको भन्दै प्रहरीले तुरुन्तै रिहा गर्‍यो । अर्की सभासद् कल्याणी रिजालले दसैंताका बागबजारका एक कपडा पसलेलाई आफूले भनेजस्तो कुर्ता-सलवार नदेखाएको झोंकमा प्रहरी लगाएर पक्राइन् । एमालेकी सभासद् किरणदेवी यादवले एसएलसी परीक्षामा आप\mनो जाँच दिन छोरीलाई पठाएर बद्नामी कमाइन् ।
त्यसो त सबै सभासद् खराब र बद्नाम मात्रै छैनन् । 'समाजमा असल र खराब सबै छन्, संविधानसभा पनि त्यसैको प्रतिविम्ब हो,' सभासद् रवीन्द्र अधिकारी भन्छन्- 'जुन औंलामा बिष लाग्यो, त्यही झर्नुपर्छ । जसले गल्ती गरेको छ, उसलाई कारबाही गर्नुपर्छ ।'

प्रकाशित : जेष्ठ १४, २०६८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?