कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

विकास पत्रकारिताको इतिहास

दीपक अधिकारी

काठमाडौ — अधिकारीले विकास पत्रकारिताका गुरु भनिने कोइरालाबारे पुस्तक लेखेर त्यो समयलाई उजिल्याइदिएका मात्र छैनन्, नेपाली सञ्चारको चार दशकको इतिहासलाई केलाएका पनि छन् ।

२०५३-५४ सालतिर म 'दृष्टि' साप्ताहिकमा काम गर्थें । मेरो जिम्मेवारी संवाददाताको साथै कपी एडिटरको पनि थियो । यस्तैमा त्यस अखबारका सम्पादक/प्रकाशक शम्भु श्रेष्ठले एउटा नियमित स्तम्भ सुरु गर्ने निर्णय गरे, गाउँघर । राजधानी केन्दि्रत समाचारका बीचमा गाउँका खबर ओझेलमा परिरहेका बेला उक्त स्तम्भ सुरु गरिएको थियो । देशका प्रमुख सहर र २०-२५ जिल्लामा दृष्टि प्रतिनिधि थिए, जसबाट उक्त स्तम्भका लागि सामग्री जुटाइन्थ्यो । मलाई सम्झना भएसम्म पाल्पा प्रतिनिधि गोविन्द भट्टराईले त्यस स्तम्भका लागि बढीजसो फिचर लेख पठाउँथे । मैले पनि दसैंमा घर जाँदा पाँचथरको सदरमुकाम फिदिमबारे उक्त स्तम्भमा फिचर लेखेको थिएँ ।
हालैको दसैं बिदामा 'अ कम्प्यासनेट जर्नालिस्ट' पढ्नेक्रममा मैले झट्ट माथिको सन्दर्भ सम्भिmएँ । पत्रकार धर्मानन्द अधिकारीले लेखेको अर्का पत्रकार भारतदत्त कोइरालाको जीवनी उक्त पुस्तकमा नेपालमा विकास पत्रकारिता कसरी भित्रियो भन्ने कुरा खोतलिएको छ । थाहा छैन, त्यतिबेलाको त्यो हाम्रो सानो प्रयास कोइरालाको आँखामा विकास पत्रकारिता वा ग्रामीण पत्रकारितामा पर्छ/पर्दैन । तर यति भन्न सकिन्छ, सन् ७० को दशकमा कोइरालाले अभ्यास गरेको विकास पत्रकारिताकै 'लिगेसी' थियो त्यो ।
विकास पत्रकारिता दोस्रो विश्वयुद्धपछि विकासशील मुलुकमा विकासमा सञ्चारमाध्यमको भूमिका बारेको बहसबाट सिर्जित एउटा 'टे्रन्ड' थियो । सन् १९६० को मध्यतिर चल्तीमा आएको यो शब्द अहिले लोप भइसकेको छ । तर अधिकारीले विकास पत्रकारिताका गुरु भनिने कोइरालाबारे पुस्तक लेखेर त्यो समयलाई उजिल्याइदिएका मात्र छैनन्, नेपाली सञ्चारजगत्को चार दशकको इतिहासलाई केलाएका पनि छन् ।
यो पुस्तक लेखिनुको आफंैमा एउटा रोचक सन्दर्भ रहेछ । फुलब्राइट छात्रवृत्तिमा पत्रकारिता अध्ययन गर्न अमेरिका गएका अधिकारीलाई उनका प्रोफेसर एडमन्ड लाम्बेथले आफ्नो विद्यावारिधिको थेसिस सन् २००२ मा रामोन म्यागसासे पुरस्कार पाएका कोइरालामाथि लेख्न सुझाए । त्यसो त लेखक कोइरालाबारे अनभिज्ञ थिएनन्, उनको छात्रवृत्तिका लागि कोइरालाले नै सिफारिस लेखिदिएका थिए । नेपाल प्रेस इन्स्िटच्युट पढ्दादेखि नै उनले कोइरालालाई चिनिसकेका थिए ।
पिल्गि्रम्स पब्लिसिङले प्रकाशित गरेको 'अ कम्प्यासनेट जर्नालिस्ट' त्यही थेसिसको परिमार्जित रूप हो । यसले नेपालका एक अगुवा पत्रकारको जीवनका नखुलेका पाटा बाहिर ल्याइदिएको छ । उनले बहाई धर्म -जसका नेपाली धर्मावलम्बी करिब १२ सय छन्) अंगालेका रहेछन् । वास्तवमा यो पुस्तक मञ्जुश्री थापा लिखित स्व. चन्द्र गुरुङको जीवनी 'अ ब्वाई प|mम सिक्लिस' सँग मिल्दोजुल्दो छ । दुवैमा आ-आफ्ना क्षेत्रमा नयाँ काम गरेर स्थापित भएका प्रोफेसनलको जीवनलाई छर्लंग पारिएको छ ।
अर्को संयोग, कोइरालाले समेत महेन्द्र प्रकृति संरक्षण कोष -जसको प्रमुख कुनै बेला चन्द्र थिए) को बोर्ड सदस्यमा चुनिएका रहेछन् । दुवै जीवनीबीच समानता के भने, दुवैमा कसरी आमरूपमा संघर्षशील परिवारमा जन्मिएका यी दुई व्यक्तित्वले आफ्नो क्षेत्रमा उचाइ लिए भन्ने प्रश्नको उत्तर भेटिन्छ ।
गोरखाबाट काठमाडांै आई एक थापाकाजीको सहयोगीका रूपमा कार्यरत रामदत्त कोइराला र हेरम्बकुमारीका सन्तानका रूपमा सन् १९४२ फेब्रुअरी २ मा काठमाडौँमा जन्म हुन्छ भारतदत्तको । रामदत्तले आफ्ना छोराको शिक्षामा कुनै कसर बाँकी राख्दैनन्, गोदावारीस्थित सेन्ट जेभियर्स स्कुलमा पढ्छन् जहाँको पश्चिमा शिक्षाले उनको करिअरमा जगको काम गर्छ ।
उनको पुस्ताका अधिकांश पत्रकारजस्तै कोइरालाले पनि पत्रकारिता गर्ने सोचेका हुन्नन् । तर ल क्याम्पस पढेर बेलायती दूतावासमा अनुवादकको काम गर्दै गरेका उनलाई त्यसबेला प्रकाशोन्मुख सरकारी अंग्रेजी दैनिक 'द राइजिङ नेपाल' को प्रमुख संवाददाता पदको प्रस्ताव आउँछ । त्यसले उनलाई यस्तो अवसर उपलब्ध गराइदिन्छ, जसबाट उनी आफ्नो ज्ञान र आफूले सिकेका कुराको प्रयोग गर्न सक्छन् । तत्कालीन राज्यले उक्त अखबारलाई विदेशी दूतावाससमक्ष आफ्ना मुद्दा -भारतको थिचोमिचो, असंलग्न आन्दोलन, पञ्चशील सिद्धान्त आदि) राख्ने र भारतीय अखबारका अफवाहको खण्डन गर्ने माध्यमका रूपमा अघि सारेको हुन्छ ।
प्रमुख संवाददाताको पदले उनलाई अमेरिका भ्रमण -सन् १९६८ अक्टोबर/नोभेम्बर), भारतको इन्डियन इन्स्िटच्युट अफ मास कम्युनिकेसनमा तालिम -सन् १९७२), असंलग्न राष्ट्रहरुको अल्जियर्स सम्मेलनबाट रिपोर्टिङजस्ता अवसर दिलाउँछ । समयक्रममा उनी खारिँदै जान्छन् र खासगरी राजा वीरेन्द्रको सुर्खेत भ्रमणताका उक्त भ्रमणको रिपोर्टिङ नगरी स्थानीय विषयमा रिपोर्ट पठाएपछि उनको चर्चा सुरु हुन्छ । विषवस्तुको छनाट र बुझाइका लागि पञ्चायतले प्रकाशित गरेको ७५ जिल्लाको प्रोफाइलको सम्पादकका रूपमा उनले प्राप्त गरेको अनुभव सहयोगी सिद्ध हुन्छ ।
पुस्तकको धेरै अंश दुईवटा संस्थाको विकासक्रम र आन्तरिक क्रियाकलपामा धेरै खर्चिइएको छ, गोरखापत्र संस्थान र नेपाल प्रेस इन्स्िटच्युट । यो स्वाभाविक पनि हो किनभने कोइरालाले आफ्नो व्यावसायिक जीवनका अधिकांश क्षण ती दुईमा व्यतीत गरेका छन् । तर कतिपय अवस्थामा धेरै मसिना कुरा झिँजो लाग्नेगरी आएका छन् । २०३६ सालको जनमत संग्रहताका कोइराला गोरखापत्रको महाप्रबन्धकमा नियुक्त हुन्छन् -त्यसअघि नै ३४ वर्षको उमेरमा उनी त्यस दैनिकको सम्पादक बन्छन्) । सरकारी मुखपत्रमा काम गर्दा अंग्रेजी भाषणलाई नेपाली हिज्जेमा लेखेर त्यो छापिनुपर्छ भन्ने मन्त्री -सुशीला थापा), देश दौडाहाका आफ्ना हरेक भाषण किन गोरखापत्रका समाचार बनेनन् भनेर सोध्ने मन्त्री -हीरालाल विश्वकर्मा) जस्ता रोचक किस्सा पुस्तकमा छन् ।
सन् १९८४ मा गोरखापत्रबाट राजीनामा दिएपछि निजी क्षेत्रतर्फ बढ्छन् कोइरालाका पाइला जसले नेपाली सञ्चार क्षेत्रलाई दिन्छन्, नेपाल प्रेस इन्स्िटच्युट, हिमाल एसोसिएसन, सगरमाथा रेडियोजस्ता अगुवा संस्था । तर यी संस्थाले गरेका कामको कोइराला एक्लैले मात्र जस लिँदैनन् भन्ने पुस्तकमा झल्काइएको छ । खासगरी सामुदायिक रेडियोका लागि उनको अग्रसरताका कारण नै आज ग्रामीण जनतालाई सुसूचित हुने मौका मिलेको हो ।
पुस्तकमार्फत् उनको यस्तो पोटेर््रट सामुन्ने आउँछ जसमा कोइराला पर्दा पछाडि बसेर योजना र नीति बनाउने, त्यसको कार्यान्वयन गर्ने, कार्यविभाजन गर्ने र दाताबाट सहयोग रकम जुटाउनमा पोख्त देखिन्छन् । कोइरालाको सफलता, नेतृत्व र सद्भावमा उनले अंगालेको धर्म -बहाई) को मुख्य भूमिका भएको खुलाइएको छ ।
'अ कम्प्यासनेट जर्नालिस्ट' हरेक मानवीय प्रयासजस्तै त्रुटिरहित हुन सकेको छैन । थेसिसमा आधारित भएर हो कि, धेरै सन्दर्भ आएका छन् । कतिपय तथ्य दोहोरिएका छन् भने ठाउँ-ठाउँमा पुस्तक बढी प्राज्ञिक लाग्छ । पूर्वराजा ज्ञानेन्द्रले 'कू' गरेको मितिसमेत गलत -नोभेम्बर २००५) छ । कोइरालाबारे दर्जनौं मानिससँग कुरा गरिसक्दा पनि उनको लेख-रचना पढेको पाठकसँगको कुराकानीलाई लेखकले समेटेका छैनन् । कतिपय ठाउँमा आफ्नो विषय -कोइराला) प्रति लेखक बढ्तै प्रतिरक्षात्मक र सहानुभूतिशील देखिएका छन् ।
कोइरालाको जीवनको लक्ष्य जनमुखी पत्रकारिता गर्नुरहेको देखिन्छ । कहिल्यै नथाक्ने उनी पछिल्लो समय शान्ति पत्रकारिता र द्वन्द्वोत्तर पत्रकारितासम्बन्धी काममा जुटेका छन् । उनकी दोस्री पत्नी -जो पहिलोझै बहाई धर्मावलम्बी छिन्) ले कोइरालालाई 'ग्लोबल सिटिजन' भनेकी छन् । धेरै अर्थमा उनी त्यस उपाधिका हकदार लाग्छन् । क्योटो जर्नलका स्टेवार्ट वाक्सको भनाइ उद्धृत गर्नु सान्दर्भिक हुन्छ, 'कोइराला एक्टेड लोकल्ली बाई थिंकिङ ग्लोबल्ली ।'

प्रकाशित : कार्तिक ६, २०६७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×