पहिलो उडान

सारससँग महिना
मनोज पौडेल

ओथारो बस्न गुँड बनाउँदै गरेका सारसको जोडी लुम्बिनीको ‘भियतनाम बिहार’ नजिकै भेटिए । सारस विश्वमै दुर्लभ पक्षीमा सूचीकृत चरा हो । उडन सक्नेमध्ये सबैभन्दा अग्लो चरा पनि हो । लुम्बिनी र आसपास क्षेत्रमा सारस देख्न सकिन्छ । तर यसले अण्डा पारेको, ओथारो बसेको र बच्चा हुर्काएको देख्न/हेर्न पाउनु दुर्लभ नै हो ।


लुम्बिनीमा सारसको त्यो जोडीले कसरी गुँड बनाए ? पोथी सारसले कति दिनमा अण्डा पार्‍यो ? त्यो अण्डाबाट बच्चा कोरल्न कति अवधि लाग्यो  ? अनि माउहरू मिलेर कसरी बचेरा हुर्काए ? त्यो बचेराले जीवनको पहिलो उडान भर्न कति दिन लाग्यो ? सारसले थाहा नपाउने गरी लुकीलुकी यी रोचक क्षणहरू क्यामेरामा कैद गर्न चार महिना लाग्यो । कोपिलाको यो अंकमा हामी यिनै रोचक क्षण र त्यसका तस्बिर लिएर आएका छौं ।

विश्व सम्पदास्थल लुम्बिनीका मनमोहक र चित्ताकर्षक विहार–गुम्बाहरू घुम्दै जाँदा भियतनाम विहारछेउ पुगेँ । विहारको बीचमा सानो पोखरी थियो । त्यसको छेउमै जोडी सारस विचरण गर्दै थिए । उडन सक्ने चरामध्ये सबैभन्दा अग्लो मानिने सारस विश्वमै दुर्लभ पक्षीमा सूचीकृत छ । ती सारसका गतिविधिले मेरो ध्यान तान्यो । तिनीहरू नजिकैका झिजाझिजी बटुल्दै थिए । भालेपोथी मिलेर परपरबाट पनि पातपतिङ्गर ओसारिरहेका थिए । त्यसलाई पोखरीबीचमा रहेको अग्लो ठाउँमा थुपारिरहेका थिए, जुन निकै सुरक्षित स्थल पनि थियो । झिजाझिजी अग्लो बनाएको देख्दा लाग्यो– पक्कै नयाँ बचेराका लागि तयारी हुँदै छ । अर्थात्, त्यो ओथारो बस्नका लागि गुँड बन्दै थियो ।

ती सारस उडलान् र भाग्लान् भनेर सावधानीपूर्वक नजिकै पुगेँ । क्यामेरा झिकेँ । १५०–६०० एमएमको जुम लेन्स लगाएर हतारहतार तिनका गतिविधिलाई क्यामेरामा कैद गरिहालेँ । तस्बिर राम्रा आए । मनमा हुटहुटी जाग्यो– अब सारसले ओथारो बसेदेखि बच्चा हुर्काएकोसम्म फोटो फिचर गर्ने । आफ्नो योजना सुनाएर सहयोगका लागि विहारका कामदारसँग समन्वय गरेँ ।

गुँड बनाएर पोथी बस्न थालेको दृश्य खिचेँ । अण्डा पारेको खिच्ने रहर मन उर्लिरहेको थियो । अब कति दिनमा अण्डा पार्ला ? त्यसबारे अध्ययन पनि गरेँ । मलाई आफ्नो घर कपिलवस्तुको तौलिहवाबाट त्यहाँ पुग्न बाइकमा आधा धण्टा लाग्थ्यो । म हरेक साता पुग्न थालेँ । आवश्यक पर्दा सातामा दुई पटक पनि पुगेँ । कहिले अण्डा पार्छ र अण्डासँग सारसको फोटो खिच्न पाइन्छ भनेर लामो प्रतीक्षा गरेँ । तीन सातापछि बल्ल अण्डा पार्‍यो, तर एउटा मात्र । अण्डा स्याहार गरेको तस्बिरहरू पनि गजबले खिचेँ । अण्डालाई छोपेर ओथारो बसेको तस्बिर पनि क्यामेरामा कैद गरेँ । त्यसपछि निरन्तर फलो गर्दै गएँ ।

३७ दिनमा सारसले बच्चा कोरलेछ । बचेरा जन्मेको खबर पाउनेबित्तिकै निकै उत्साहित बनेँ । सानो बचेरा र उसका माउसँगै भएको तस्बिर खिच्ने हुटहुटी चल्यो । जुम लेन्ससहित पुगिहालेँ । तर २ दिनसम्म तस्बिर खिच्नै सकिएन । घाँसमा बचेरा कता हराउँथ्यो कता । ३ दिनपछि यताउता हिँड्न थाल्यो । अनि बल्ल तस्बिर लिने मौका जुर्‍यो । तर चित्त बुझेन । बच्चा विस्तारै बढ्दै गयो । माउसँग चर्न हिँडेको तस्बिर लिएँ । आहारा खुवाएको दृश्य पनि क्यामेरामा कैद गर्न सफल भएँ । सानो बचेरा बडेमाका माउसँग हिँड्दा गजब देखिन्थ्यो ।

बच्चा जन्मेपछि निरन्तर २ महिनासम्म तिनीहरूको फलो गरेँ । मेरो फोटो खिच्ने हुटहुटी सकिएसँगै माउहरूले बचेरालाई उडाएर लिएर गए । करिब ४ महिनासम्म निरन्तर खटिएर सारसले गुँड बनाएको, अण्डा पारेको, ओथारो बसेको, बच्चा कोरलेको र हुर्काएको क्षणलाई क्यामेरामा कैद गरी फोटो फिचर पूरा गर्न सफल भएँ ।
निक्कै परबाट तस्बिर खिच्थेँ । तस्बिर लिँदा बचेरा र सारसलाई त्रास नहोस् भनेर पूरै सचेत थिएँ । जुम लेन्सहरू भएका कारण तिनीहरूको स्वतन्त्रतालाई बाधा पुगेन । निर्भीक र निडर भएर बचेरा हुर्काउन कुनै समस्या भएन ।
दुर्लभ पक्षीको प्रजनन् प्रक्रियाको फोटो फिचर गर्न पाउँदा मन निकै हर्षित भएको छ । नजिकबाट गतिविधि हेर्दैर् सरससँग बिताएका क्षणहरू रोमाञ्चित रहे । लुकामारी गरी विभिन्न एंगलमा फोटो खिच्न पाउँदाका क्षणलाई शब्दमा व्यक्त गर्न सकिन्न । फोटोग्राफीको छुट्टै मज्जा लिएँ मैले ।

उडन सक्ने चरामा सारस सबैभन्दा अग्लो हो । शरीरको वजन बढी हुनाले सारस धेरै माथि उडन सक्दैन । बढीमा ४०/५० फिटसम्म हो । उड्ने क्रममा बिजुलीको तारमा परेर पनि कैयौं सारस मर्ने गर्छन् ।
नेपालमा सारस सबैभन्दा धेरै लुम्बिनी आसपास पाइन्छन् । यिनीहरू १० किलोसम्म तौल र साढे ५ फिटसम्म अग्ला हुन्छन् । रोचक के छ भने, दुवैतिरका पखेटा फिँजायो भने १० फिटसम्म लामो हुन्छ । सबैभन्दा बढी पखेटा फिँजाउन सक्ने चरामा सारस र हिमाली गिद्ध हो ।
नेपालको वन्यजन्तु संरक्षण ऐन–०२९ ले संरक्षणको सूचीमा राखेको ९ पक्षी प्रजातिमध्ये सारस पनि एक हो । ‘सारसले सर्पहरू सजिलै मारेर खान्छ,’ चराविद् डा. हेमसागर बरालले भने, ‘त्यस कारण सारस बस्ने ठाउँवरिपरि सर्पको डर हुँदैन ।’ बालीलाई नोक्सान पुर्‍याउने शंखेलगायत कीराफट्यांग्रालाई पनि सारसले आहारा बनाउँछ । नजिकै चितुवा, बाघभालुलगायत जन्तु आउन लागे पहिले कराएर अग्रिम जानकारी दिन्छ । बढ्दो विषादी प्रयोग, मानवीय अतिक्रमण र खेतीयोग्य जग्गा घट्दै गएका कारण सारस अतिक्रमणको चपेटामा परेका छन् । नेपालमा करिब ५ सय सारस रहेको अनुमान गरिएकामा कपिलवस्तु र रुपन्देहीमा मात्र ४ सय जति छन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई नगर पक्षी घोषणा गरेको छ ।

प्रकाशित : माघ ५, २०७६ १२:०२

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मायालु सुगा

कान्तिपुर संवाददाता

भर्खरै उड्न मात्र सिकेको सानो सुगा रूखमा बसिरहेको थियो । उसको आँखा पासोमा परेर छटपटाइरहेको मृगमा पर्‍यो । ऊ हतारहतार उड्दै त्यहाँ पुग्यो ।


‘सुगा भाइ मलाई बचाऊ, म मर्न चाहन्नँ...,’ मृगले रुँदै भन्न थाल्यो । सुगा कुनै उपाय निकाल्छु भन्दै भुर्र उड्यो । ऊ आत्तिँदै यताउता मुसा खोज्न थाल्यो । अहँ पाएन । ऊ निराश भएर के गरौँ के नगरौँ भनेर सोचिरहेको थियो । उसले मुसा च्यापेर उडिरहेको कागलाई देख्यो । सकीनसकी उडेर काग नजिकै पुग्यो ।
मुसो चुइँचुइँ कराइरहेको थियो । सुगाले खुसी हुँदै भन्यो, ‘काग दाइ, बिन्ती मेरो कुरा सुन । त्यो मुसालाई नमार, कराएर मुसा नखसाल, उसको धेरै ठूलो काम छ । तिमी बिस्तारै भुइँमा बस दाइ, म पनि बस्छु ।’
काग रिसाउँदै भुइँमा बसेर मुसालाई खुट्टाले च्याप्दै भन्यो, ‘म धेरै भोको छु, म किन यसलाई नमारौँ ? मार्छु ।’
सुगाले नम्र भएर भन्यो, ‘तिम्रो पेट भराउने जिम्मा मेरो भयो । म तिमीले जे भन्छौँ त्यही खान दिन्छु । हेर त्यहाँ मृग छटपटाइरहेको छ । छिटो उसलाई छुटाऔं, नत्र पापी सिकारीले उसलाई मार्छन् ।’
कागले रिसाउँदै भन्यो, ‘ल ल ठीक छ । पासो काटेपछि मात्र... ।’
मुसाले आँसु झार्दै भन्यो, ‘म पनि कागको चुच्चाले च्याप्दा केही घाइते भएको छु, त्यत्रो जाल एक्लैले काट्न सक्दिनँ । हामीलाई पक्कै नमार्ने भए त्यहाँ दुलो रहेछ म अरू मुसासँग सहयोग माग्छु ।’
सुगाले खुसी हुँदै भन्यो, ‘तिमीले ठीक भन्यौ । विश्वास गर, तिमीहरूलाई केही हुँदैन । बरु चाँडै गर ।’
‘अजिंगरको आहारा दैवले पुर्‍याउँछ भनेको सही रहेछ । अहा १ अब अरू मुसा पनि खान पाइने भयो’, यस्तै सोचेर काग साह्रै खुसी भयो ।
मुसा नजिकै रहेको दुलामा पस्यो । छिनभरमै तीनवटा मुसा दुलोबाट निस्केर मृग भएतिर खुरुरु दौडिए । सुगा र काग पनि त्यतै उडे । मुसाहरूले ढिलो नगरी जाल काटिदिए ।
कस्तूरीले खुसी हुँदै भन्यो, ‘मलाई पीडाबाट मुक्त गरिदिएकोमा मुसालगायत सुगा र काग सबैलाई धेरैधेरै धन्यवाद । आफ्ना आमाबाबु र बथानबाट छुट्टाउने त्यही नाथे चितुवा हो । चितुवाले लखेटेपछि भाग्दैभाग्दै म यहाँ आएको त जालमा पो परेँ । अब कहाँ जाऊँ, के गरौँ ?’
सुगाले नम्र स्वरमा भन्यो, ‘पीर नगर दाइ १ हामी तिम्रो आमालाई खोज्न मद्दत गर्छौँ ।’
कागले मुसातिर हेर्दै भन्यो, ‘कति आमा–सामाको कुरा गरेका ? काम सक्की नै हाल्यो । धेरै होइन दुइटा मुसा त म खान्छु नै ।’
सुगाले सम्झाउँदै भन्यो, ‘काग दाइ, तिम्रो गुन हामी कहिल्यै भुल्नेछैनौँ । यस्तो ज्ञानी मुसालाई नखाऊ । मैले तिम्रो आहारा जुटाउन सकिनँ भने बरु मलाई नै खाउला नि हुन्न ?’
‘यस्ताको के कुरा सुन्नु,’ भन्दै काग ठूलो मुसा च्यापेर उड्न खोज्दै थियो, नजिकैको जालमा उसको खुट्टा अड्कियो । दुखेर ‘काँ...’ गरी कराउँदा मुखबाट मुसा फुत्कियो ।
मुसा बचेकोमा खुसी हुँदै सबैले कागतिर हेरे । काग लाजले निहुरियो । खुट्टाको जाल निकाल्न धेरै कोसिस गर्‍यो तर सकेन ।
मृगले सम्झाउँदै भन्यो, ‘हेर काग, दुःख–सुख भनेको सबैलाई पर्छ । दुःख अरूलाई मात्र पर्छ भनेर सम्झनु गलत हो ।’
सुगाले सम्झायो, ‘हेर मलाई देखेपछि बूढादेखि बच्चासम्मले जे खान माग्यो त्यही दिन्छन् । म त्यही तिमीलाई खान दिउँला । धन्न तिम्रो खट्टा अड्कियो र मुसाको ज्यान बच्यो नत्र... ।’
त्यही मुसाले डराउँदै जाल काटिदियो । कागले आँसु झार्दै भन्यो, ‘अबदेखि म सोचविचार नगरी कुनै गलत काम गर्दिनँ । मलाई माफ गर साथी हो ।’
मुसाले नम्र स्वरमा भन्यो, ‘भोकले गर्दा नै हामीले पाप गर्छौँ, काग दाइको कुनै दोष छैन ।’’
मुसातिर हेर्दै सुगाले भन्यो, ‘तिम्रो कुरा त ठीकै हो मुसा भाइ, तर मैले खान दिने कुरा गरेकै थिएँ नि १ लाग्छ तिमीहरू पनि भोका छौ ।’
मुसाले मुन्टो हल्लाएर ‘हो’ भन्ने संकेत गर्‍यो । सुगाले सबैतिर हेर्दै भन्यो, ‘ल मुसा र कागको भोक मेटाउने जिम्मा र मृगको आमा भेटाउने जिम्मा मेरो भयो ।’
सुगाको सुन्दर शरीर, मीठो बोली, सहयोगी भावना देखेर सबै खुसी भए । सबैलाई सुगाको साह्रै माया लाग्यो । मृगले हाँस्दै भन्यो, ‘तिमी सधैँ सबैको प्यारो बन है भाइ १’
मुसा र कागले पनि त्यसै भने । सुगाले खुसी हुँदै भन्यो, ‘तिमीहरूलाई धेरै धन्यवाद छ । ल उडौँ काग १ मैले धेरै काम गर्नु छ ।’
काग र सुगासँगै उडे । मुसा र मृगले खुसी हुँदै मायालु सुगा र काग उडेतिर हेरिरहे ।

प्रकाशित : पुस २७, २०७६ ०९:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×