कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जाडोका कुरा

क्रान्ति पाण्डे

अहिले जाडोयाम हो  । तर यतिखेर जाडो पृथ्वीको उत्तरी गोलार्द्धमा मात्र हो  ।

जाडोका कुरा

दक्षिणी गोलार्द्धमा भने जुन, जुलाई र अगस्ट महिनामा मात्र जाडो हुनेछ । यस्तो किन हुन्छ ? कोपिलाको यो अंकमा हामी चर्चा गर्नेछौं ।
जाडोसँग सम्बन्धित थुप्रै रोचक कुरा छन् । जाडोका बेला केही चरा र जनावर बसाइँ सर्छन् । आर्कटिक क्षेत्रका स्याल र खरायोजस्ता केही जनावरले त आफ्नो रङ नै बदल्छन् । केही जनावर लामो निद्रा (शीतनिद्रा) मा पुग्छन् । उत्तरी अमेरिकाको मोनार्क पुतली जाडो छल्न मेक्सिको पुग्छ । जाडोमा रूखबिरुवा उजाड हुन्छन्, पात छाड्छन् । तर ‘चिनियाँ प्लम’ जस्ता फूल अपवादका रूपमा जाडोमै फुल्छन् । आऊ, जाडोसँग सम्बन्धित यस्तै–यस्तै रोचक कुराहरू जानौं :

उजाड रूखबिरुवा
जाडोयाममा रूखबिरुवा उजाड भएर नांगै हुनेबारे हामी जानकार छौं । सदाबहार खालका रूखबिरुवाबाहेक अन्य रूखबिरुवाले चिसोबाट बच्न नसकेर पात छोड्छन् । जाडोयाममा रूखबिरुवा हुर्कन नसक्ने वैज्ञानिक दाबी छ । काँडेदार रूखहरू जस्तै, धुपी र सल्लाका पात तिखा हुन्छन् । यिनका पातमा पानी, शीत र हिउँ जम्ने सम्भावना कम हुन्छ । यी रूखले भने जाडोयाममा पात छोड्दैनन् ।जाडोयाममै अपवादका रूपमा केही फूल फुल्ने गर्छन् । चीनमा ‘चिनियाँ प्लम’ वसन्त ऋतुदेखि कोपिला हाल्न थाल्छ । यसो हुँदा यो जाडोमा फुल्न पुग्छ । यसलाई चिनियाँहरू आशा र दृढताको प्रतीकका रूपमा लिन्छन् । यो फूल चीनको राष्ट्रिय फूल पनि हो ।

चाडबाड
अंग्रेजी नयाँ वर्षदेखि क्रिसमस डे र भ्यालेन्टाइन्स डेसम्मका चाडपर्व जाडोयाममै पर्छन् । योबाहेक चिनियाँले दोङ्जी (जाडो आयो) को स्वागत पर्व मनाएर गर्छन् । उनीहरू चामलबाट बनेका परिकार र मासुका परिकार खान्छन् । न्यु मेक्सिकोका जुनी इन्डियनहरू जाडोयामलाई नयाँ वर्षको सुरुवातका रूपमा लिन्छन् । उनीहरूले परम्परागत नाच ‘शालाको’ नाच्छन् । जाडोको स्वागत गर्दै जाडो छल्न जापानीहरू परम्परागत शैलीमा तातो पानीमा नुहाउँछन् । उनीहरू अमिला फलफूलको सेवन गर्न मन पराउँछन् । उनीहरूले यस परम्परालाई ‘युजु’ नाम दिएका छन् ।

जाडोमा होसियार
जाडोमा मौसम सुक्खा हुन्छ । यसबेला हिमपात, असिना पानी पर्छ । चिसो वायुका कारण बिमारी हुने सम्भावना प्रबल रहन्छ । चिसोको सम्पर्कमा आउँदा हाम्रो शरीरको तापक्रम घट्न पुग्छ । यसो हुँदा रुघाखोकी, निमोनियाका साथै झाडापखालासमेत हुन सक्छ । हातगोडा अनि ओठ फुट्ने समस्या निकै हुन्छ । जाडोमा तातो र झोल खानेकुरा सेवन गर्नुपर्छ । न्याना लुगा स्वेटर, टोपी र पन्जा लगाउन भुल्नु हुन्न ।

जाडो किन हुन्छ ?

पृथ्वीको उत्तरी गोलार्द्धमा अंग्रेजी महिना डिसेम्बर, जनवरी र फेब्रुअरीमा जाडो हुन्छ । दक्षिणी गोलार्द्धमा भने जुन, जुलाई र अगस्ट महिनामा जाडो हुन्छ । उत्तरी गोलार्द्धमा डिसेम्बर २१/२२ का दिन अत्यधिक चिसो हुन्छ । दक्षिणी गोलार्द्धमा जुन महिनाको २१/२२ का दिन ।पृथ्वीको दक्षिणी गोलार्द्धमा जाडो हुँदा उत्तरी गोलार्द्धमा गर्मी हुन्छ किनभने दक्षिणी गोलार्द्धमा पृथ्वी सूर्यभन्दा टाढा ढल्किएको हुन्छ । उत्तरी गोलार्द्धमा पृथ्वी सूर्यसँग सिधा रहेको हुन्छ ।जाडोयाम हुन पृथ्वीको अक्षको ठूलो भूमिका हुन्छ । पृथ्वीले सूर्यलाई एक फन्का लगाउन ३६५ दिनको समय लगाउँछ । पृथ्वी आफ्नै अक्षमा निरन्तर घुमिरहँदा यो याममा पृथ्वी र सूर्यको दूरी बढ्छ । सूर्यका किरण पृथ्वीसम्म पुग्न निकै समय लाग्छ । चिसो मौसम र दिनको उज्यालो समय छोटो हुँदा सूर्यको ताप पृथ्वीसम्म सहजै पुग्न पाउँदैन र जाडो हुन्छ ।

जनावरको बसाइँसराइ र शीतनिद्रा
जाडोयाममा केही चरा र जनावरले बसाइँ सर्छन् । यति मात्र कहाँ हो र ? केहीले रंग नै बदल्छन् । केही जनावर लामो निद्रा (शीतनिद्रा) मा पुग्छन् । आर्कटिक क्षेत्रका स्याल र खरायो यसका उदाहरण हुन् । जाडोयाममा यिनीहरूको शरीरका रौं सेता हुन्छन् । हिउँ क्षेत्रका यी जनावरको रंग हिउँजस्तै हुने हुँदा शत्रुले हत्तपत्त चिन्न सक्दैनन् । यसैगरी उत्तरी अमेरिकाको मोनार्क पुतली जाडो छल्नकै लागि नोभेम्बर महिनामा लामो यात्रामा मेक्सिकोलगायत न्यानो हुने क्षेत्रतिर पुग्छन् । जाडो सकिनेबित्तिकै यिनीहरू पुनः अमेरिका फर्कन्छन् ।कालो भालु, मुसा, चमेरा, सर्प, भ्यागुतालगायत विभिन्न किसिमका उभयचर शीतनिद्रामा जान्छन् । शीतनिद्रामा छँदा यी जनावर लामो समयसम्म खानेकुरा नखाई सुतेरै आराम गर्छन् । जाडो कम भएका बेला फाट्टफुट्ट मात्रै खानेकुराको जोहो गर्न निस्कन्छन् ।यस्तै, जाडोयामलाई केही जनावरले खानेकुराको भण्डारण गरेका हुन्छन् । लोखर्के, रकुन, बिभर्स आदि यसका उदाहरण हुन् ।

चिसा देश

रूस अझ विशेष गरी सर्बिया, क्यानडा, आइसल्यान्ड, फिनल्यान्ड र मंगोलिया अत्यधिक चिसो हुने देश हुन् ।

र, यो पनि

  • मौसम माइनस ४० डिग्री सेल्सियसमा पुगेको अवस्थामा हामीले फेर्ने सास नै जम्छ ।
  • सन् १९८३ मा अन्टार्टिकाको भोस्तोक स्टेसनमा माइनस १२३ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।
  • हिउँ पर्दा मानिस हिउँका आकृति बनाएर रमाइलो गर्छन् । स्नो–म्यान धेरैको रोजाइ हो । स्नो म्यान सुरुमा कसले बनायो होला ? इतिहासकार बब इकस्टेइनले ‘द हिस्ट्री अफ द स्नो म्यान’ नामक पुस्तक सन् २००७ मा प्रकाशन गरेका थिए । पुस्तकमा बबले मध्ययुगदेखि नै मानिसले हिउँका आकृति बनाउन थालेको तथ्य उजागर गरेका छन् ।
  • हिउँदेखि डराउने रोगलाई सिनोफोबिया भनिन्छ ।

प्रकाशित : पुस १३, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?