कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हीराको हार

कथा
क्रान्ति पाण्डे

गोदावरीको जंगलमा अग्लो सिमलको रूख थियो  । रूखको टुप्पामा कौवाका जोडीले बचेरा हुर्काउँदै थिए  ।

हीराको हार

उनीहरूको गुँडको मुन्तिर, सिमलको अग्लो रूखको किनारमा बाह्रमासे खोला बग्थ्यो ।
स्थानीय मानिस र उनीहरूका बच्चाहरू शनिबारको दिन नुवाईधुवाई गर्न खोलामा आउँदा त्यहाँ निकै होहल्ला पनि हुन्थ्यो ।
त्यस दिन आइतबार थियो । खोला सुनसान नै थियो । बुबा कालु कौवाले बचेराहरूलाई गड्यौला र कीराफट्यांग्राको बन्दोबस्त गर्न खोलातिर उड्यो ।
निकै बेर खोज्दा पनि उसले गड्यौला र कीराफट्यांग्रा भेट्टाएन ।
‘ओहो अब त कीरा–फट्यांग्रा भेट्न पनि मुस्किल पो हुन थाल्यो,’ चिन्तित हुँदै कालु कौवाले भन्यो । मानिसले खोला किनारामा नुवाईधुवाई गर्दा साबुन र सरफ अत्यधिक प्रयोग गर्थे । यसो हुँदा त्यहाँका कीराफट्यांग्रा घट्दै गएका थिए ।
खानेकुरा खोज्दै गर्दा कालु कौवाले खोला किनारामा रहेको ढुंगाबाट आँखै खाने चमक आएको देख्यो । नजिक पुगेर हेर्दा त्यो चम्किलो वस्तु मालाजस्तै थियो । खासमा त्यो हीराको हार थियो । नुहाउन आएकी महिलाले ढुंगामा राखेको हीराको हार बिर्सेर छोडेकी थिइन् । कालु कौवाले खानेकुरा नभेटेपछि त्यहीँ हार चुच्चोमा लियो र गुँडतिर उड्यो ।
कालु कौवा उडेर गुँडमा पुग्यो । बचेराहरूले कालु कौवाले खानेकुरा ल्यायो भनेर मुख ‘आँ आँ’ गर्न थाले । उनीहरूले खानेकुरा ठान्दै हारलाई ठुँग्न थाले । हार साह्रो न साह्रो थियो । बचेराहरू ठोँड दुखेर रुन थाले ।
‘बाबुहरू यो खानेकुरा हैन,’ आमा काली कौवाले भनी । ‘बूढी, तिमी यो हार लगाई हेर त । महिलाहरू बजार जाँदा टिलिक्क टल्कने यस्तै हार लगाएर हिँडेका हुन्छन्,’ कालु कौवाले भन्यो ।
काली कौवाले हीराको हार लगाई । अब बचेराहरू रुँघ्ने पालो कालु कौवाको थियो । काली कौवा हीराको हार लगाएर हावा खाँदै कौवाहरूको समूहमा पुगी । ओथारो बस्दा ऊ बाहिर नगएको पनि धेरै दिन भएको थियो ।
काली कौवालाई देखेर छिमेकी कौवाहरू ‘काँ काँ काँ को हौ तिमी ?’ पो भन्न थाले । उनीहरूलाई काली कौवाको घाँटीमा भएको हारको चमक सिधैं आँखामा परेको थियो ।
‘म सिम्ला रूखे काली हुँ,’ काली कौवाले भनी ।
‘ओहो काली पो तिमीलाई हामीले कस्तो नचिनेको,’ फुर्सी कौवाले अचम्म मान्दै भनी ।
‘अनि तिम्रो घाँटीमा रहेको त्यो चम्कने चिज के हो ?’ सबै कौवाले काली कौवालाई एकैसाथ सोधे ।
‘यो हीराको हार हो । मेरा बूढाले खोलामा भेट्टाएका । हीराको हार निकै नै महँगो हुन्छ र मानिस यसलाई लगाउँदा सानदार देखिन्छन् । उनीहरू हीराको हार पाउँदा निकै खुसी हुन्छन् अनि यसलाई शोभा दिने वस्तुका रूपमा लगाउँछन्,’ काली कौवाले फुर्किँदै थपि, ‘साँच्चै हीराको हार मलाई कस्तो देखिएको छ ?’
‘हामीले त तिमीलाई चिनेनौं भनेपछि तिमी आफैं विचार गर काली,’ सबै कौवाले एकैसाथ भने । आफ्नो भएको राम्रो रूपमा हीरा लगाउँदा छिमेकीहरूले नचिन्दा आपत् परेको कुरा सम्झँदै काली कौवा त्यहाँबाट उडेर तुरुन्त गुँडमा गई ।
गुँडमा पुगेर काली कौवाले छिमेकी कौवासँग भएका सबै घटना कालु कौवालाई बताई । उसले भनी, ‘यो त कस्तो अनावश्यक चिज रहेछ । हार लगाएपछि सान बढ्ला भनेको त मेरा छिमेकीहरूले समेत मलाई चिनेनन् । बूढा म त यस्तो हार लगाउँदिनँ ।’ यति भनिसकेपछि काली कौवाले हीराको हार घाँटीबाट निकाली र कालु कौवालाई दिई ।
आफूले भेटाएको हार बिनाकामको भएपछि कालु कौवाले हीराको हारलाई गुँडको छेउमा रहेको हाँगामा भुन्डाइदियो ।
केही दिनपछिको कुरा हो । बिहानीपख उनीहरूको गुँड मुन्तिर निकै हल्लीखल्ली भयो । तल पाँचजना मानिस रूखको माथि हेर्दै कुरा गर्दै थिए । उनीहरू भन्दै थिए, ‘हेर त माथि हीराको हार टलक्क टल्केको । त्यसलाई भेट्टाउन पाए त ।’
केहीबेरमा उनीहरू नजिकैको घरबाट आरा र बन्चरो लिएर आए र फेरि पहिलेजस्तै माथिमाथि हेर्दै केके कुरा गर्न थाले ।
एकजना मोटे मान्छेले आरा लिएर मोटो र अग्लो सिमलको रूख काट्न थाल्यो । उसले बल गरीगरी रूख रेट्न थाल्यो । रूखमा आरा चलाउँदा रूख हल्लिन थाल्यो । मानिसको यस्तो चाला देखेर काली कौवा आत्तिई र भुइँतिर हेर्दै भनी, ‘लौन बाबा केही गर्नुपर्‍यो ।’ कालु कौवाले छिटोछिटो ठोँडले हीराको हार टिप्यो र भुइँमा खसालिदियो । मानिस रूख काट्न छाडेर हीराको हारका लागि तँछाडमछाड गर्न थाले ।
‘मैले पहिले देखेको हो, हार मेरो हो,’ पाँच जनामध्येको सबैभन्दा मरन्च्याँसे मानिसले भन्यो ।
‘हैन मैले हो,’ अर्को लम्बुले भन्यो ।
‘हैन मैले...’ सबैभन्दा होचो मानिस पनि उस्तै गरी चिच्याउन थाल्यो ।
यत्तिकैमा अर्कोले भन्यो, ‘यो हामी सबैको हो, अब यसलाई टुक्राटुक्रा पारी भाग लगाउनुपर्छ ।’
अन्तिममा आरा लिएर रूख काट्न तम्सने मोटे मान्छेले भन्यो, ‘धन्न कौवाले हीराको हार खसालिदियो । कौवाले नखसालिदिएको भए हामीलाई यत्रो मोटो र अग्लो सिमलको रूख काट्न दिनभर लाग्थ्यो होला ।’
उता गुँडमा रहेको कालु कौवाले भन्यो, ‘धन्न उनीहरूले हाम्रो रूख काटेनन् । नत्र हाम्रा बचेराहरू बाँच्ने पनि थिएनन् होला ।’ कालु कौवाले यति भन्दै आफ्ना बचेराहरूलाई अँगालोमा बाँध्यो ।
काली कौवा गहभरि आँसु पार्दै सुँकसुँक गर्न थाली ।

प्रकाशित : मंसिर २९, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?