विदेहाको अनेक कला

उमेरले उनी ६ वर्षकी मात्र भइन्  । तर उनको अनेक प्रतिभाले सबैलाई अचम्म पर्छ  ।

विदेहाको अनेक कला

यो उमेरमै चित्रकला र संगीतमा पोख्त छिन् । पुस्तकसमेत प्रकाशित गरिसकेकी छन् । दोस्रो पुस्तकको पनि तयारी भइरहेको छ । र, उनी हुन्– ललितपुरकी विदेहा रञ्जन ।
उनै विदेहाले गत साताको शनिबार पाटन संग्रहालयको केशवनारायण चोकस्थित प्रदर्शनी कक्षमा आफ्नो प्रतिभा प्रस्तुत गरिन् । त्यहाँ उनले बनाएका चित्रहरू प्रदर्शनीमा राखिएको मात्र थिएन, उनले बजाएको बाँसुरी र पियानाको धुनले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । विदेहाले कार्यक्रमका अतिथिहरूसामु आफ्नो आगामी पुस्तक ‘आई लाइक माई लाइफ’ बारे जानकारी गराइन् ।
त्यस क्रममा प्रमुख अतिथि उपन्यासकार पद्मावती सिंहले विदेहाको बहुप्रतिभा प्रशंसनीय भएको बताइन् । कार्यक्रममा सहभागी शिक्षाविद्, चिकित्सक, अभिभावक, स्रष्टा र सञ्चाकर्मीसमक्ष विदेहाले पूर्वेली परम्परामा बाँसुरी र पाश्चात्य परम्परामा पियानो बजाएकी थिइन् ।
उनका बुवा पल्लब रञ्जनका अनुसार प्रकाशोन्मुख कृति ‘आई लाइक माई लाइफ’ विदेहाको दोस्रो पुस्तक हो । यसअघि तीन वर्षको जन्मदिन पारेर नेपाल कला परिषद् प्रदर्शनी कक्षमा उनको ‘अर्ली क्रिएसन्स्’ एकल कला प्रदर्शनी तथा कला पुस्तक विमोचन भएको थियो ।
विदेहाको कला न्युयोर्कको नाइन्टी सेकेन्ड वाइको जिनियस प्रदर्शनीमा परेको छ । इसिप्याक्ट लग्जेमबर्ग नेपालको वार्षिक प्रतिवेदन तथा मुक्ति आयोजनाको न्युजलेटरको आवरण, जर्मन दूतावासको नेपालमा ६०औं वार्षिकोत्सव प्रकाशनको आइकन र यूएन वुमन पर्चामा पनि उनको कला छापिएका छन् । ‘उनी अस्पताल पुगेर क्यान्सर पीडित बिरामीलाई संगीत सुनाएर रिफ्रेस गराउने प्रयास पनि गर्छिन्,’ आमा भगवती सापकोटाले भनिन्, ‘हरेक शुक्रबार पाटन कुमारीसँग स्वयंसेविका रूपमा पढलेख पनि गर्छिन् ।’

प्रकाशित : मंसिर २९, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?