२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कलिला वाद्यवादक

पर्वत पोर्तेल

झापाको शिवसताक्षी नगरपालिका ५ का १३ वर्षीय विनोद दर्नाल स्कुल बिदा हुनेबित्तिकै बुबा यामबहादुरका साथ लागेर बाजा बजाउन हिँडिहाल्छन् । स्थानीय सूर्योदय आधारभूत स्कुलमा ६ कक्षामा पढ्ने विनोद मात्रै हैन, भाइहरू विवेक र विशाल पनि दाजुजस्तै लुखुरलुखुर बुबाको पछि लाग्छन् ।

कलिला वाद्यवादक


दर्जी समुदायको पुरानो पेसा हो, नौमती बजाएर जीविकोपार्जन गर्ने । बुबालाई सघाउन उनीहरू उत्साहित छन् । विनोद ट्याम्को बजाउन माहिर छन् । विवेक दमाहा र मादल मज्जाले बजाउँछन् । विपिनचाहिँ नसिंहाको धुतुरु धुन निकाल्छन् ।
‘स्कुल बिदा हुनेबित्तिकै बुबासँगै बिहेहरूमा जान्छौं,’ विपिनले सुनाए । दर्जी समुदायलाई हिन्दु धार्मिक समुदायको बिहेलगायतका विभिन्न समारोहमा निम्तो हुन्छ । गत लक्ष्मीपूजाका दिन यी तीनै दाजुभाइ काँकाडभिट्टामा भेटिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औं जन्मजयन्तीका लागि स्थानीय देवकोटा पार्क निर्माण समितिले आयोजना गरेको प्रभातफेरीमा उनीहरूलाई निम्त्याइएको थियो । दौरा–सुरुवाल र ढाका टोपीमा सजिएका बाल वाद्यवादकहरूको बाजाको ताल देखेर सहभागी छक्क परे । ‘बाजा बजाउन साह्रै रहर लाग्छ,’ १० वर्षीय विवेकले सुनाए, ‘ठुल्ठूला मान्छेहरूसँग भेट हुन्छ, मज्जा आउँछ ।’
तीनै दाजु भाइले सानै उमेरदेखि बाजा बजाउन सिकेका हुन् । उनीहरूलाई बुबा यामबहादुरले तालमा ताल मिलाउन सिकाएका थिए । ‘घरभरि बाजागाजा हुन्थे, एक/दुई पटक सिकाउनेबित्तिकै जानिहाले,’ यामबहादुरले भने । यामबहादुरले उनका बुबाको पेसालाई निरन्तरता दिएका हुन् । उनका बुबाले हजुरबुबाको पेसालाई अनुसरण गरेका थिए । तर, छोराहरूले भविष्यमा यो पेसालाई निरन्तरता दिन्छन्/दिँदैनन् उनले भन्न सकेनन् । थपे, ‘सीप सिकाइदिएको छ, भविष्यमा भोकै चै बस्नु पर्दैन यिनीहरू ।’ तीनवटै छोराले भने बुबाको पेसालाई निरन्तरता दिने बताए ।
यामबहादुर नौमती बाजा बजाउन भारतको असमसम्म पुगे । काठमाडौं, पोखरा त धेरैपटक पुगे । बिहेहरूमा जहाज चढाएर पनि लगे । एउटा बिहे या अरू समारोहमा बाजा बजाएको उनी कम्तीमा २० हजार रुपैयाँ लिन्छन् । भन्छन्, ‘यही पेसाबाट गुजारा चलेको छ ।’

प्रकाशित : मंसिर २२, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?