कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलिला वाद्यवादक

पर्वत पोर्तेल

झापाको शिवसताक्षी नगरपालिका ५ का १३ वर्षीय विनोद दर्नाल स्कुल बिदा हुनेबित्तिकै बुबा यामबहादुरका साथ लागेर बाजा बजाउन हिँडिहाल्छन् । स्थानीय सूर्योदय आधारभूत स्कुलमा ६ कक्षामा पढ्ने विनोद मात्रै हैन, भाइहरू विवेक र विशाल पनि दाजुजस्तै लुखुरलुखुर बुबाको पछि लाग्छन् ।


दर्जी समुदायको पुरानो पेसा हो, नौमती बजाएर जीविकोपार्जन गर्ने । बुबालाई सघाउन उनीहरू उत्साहित छन् । विनोद ट्याम्को बजाउन माहिर छन् । विवेक दमाहा र मादल मज्जाले बजाउँछन् । विपिनचाहिँ नसिंहाको धुतुरु धुन निकाल्छन् ।
‘स्कुल बिदा हुनेबित्तिकै बुबासँगै बिहेहरूमा जान्छौं,’ विपिनले सुनाए । दर्जी समुदायलाई हिन्दु धार्मिक समुदायको बिहेलगायतका विभिन्न समारोहमा निम्तो हुन्छ । गत लक्ष्मीपूजाका दिन यी तीनै दाजुभाइ काँकाडभिट्टामा भेटिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औं जन्मजयन्तीका लागि स्थानीय देवकोटा पार्क निर्माण समितिले आयोजना गरेको प्रभातफेरीमा उनीहरूलाई निम्त्याइएको थियो । दौरा–सुरुवाल र ढाका टोपीमा सजिएका बाल वाद्यवादकहरूको बाजाको ताल देखेर सहभागी छक्क परे । ‘बाजा बजाउन साह्रै रहर लाग्छ,’ १० वर्षीय विवेकले सुनाए, ‘ठुल्ठूला मान्छेहरूसँग भेट हुन्छ, मज्जा आउँछ ।’
तीनै दाजु भाइले सानै उमेरदेखि बाजा बजाउन सिकेका हुन् । उनीहरूलाई बुबा यामबहादुरले तालमा ताल मिलाउन सिकाएका थिए । ‘घरभरि बाजागाजा हुन्थे, एक/दुई पटक सिकाउनेबित्तिकै जानिहाले,’ यामबहादुरले भने । यामबहादुरले उनका बुबाको पेसालाई निरन्तरता दिएका हुन् । उनका बुबाले हजुरबुबाको पेसालाई अनुसरण गरेका थिए । तर, छोराहरूले भविष्यमा यो पेसालाई निरन्तरता दिन्छन्/दिँदैनन् उनले भन्न सकेनन् । थपे, ‘सीप सिकाइदिएको छ, भविष्यमा भोकै चै बस्नु पर्दैन यिनीहरू ।’ तीनवटै छोराले भने बुबाको पेसालाई निरन्तरता दिने बताए ।
यामबहादुर नौमती बाजा बजाउन भारतको असमसम्म पुगे । काठमाडौं, पोखरा त धेरैपटक पुगे । बिहेहरूमा जहाज चढाएर पनि लगे । एउटा बिहे या अरू समारोहमा बाजा बजाएको उनी कम्तीमा २० हजार रुपैयाँ लिन्छन् । भन्छन्, ‘यही पेसाबाट गुजारा चलेको छ ।’

प्रकाशित : मंसिर २२, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्

बचत गरौं

यज्ञ बञ्जाडे

भाइबहिनीहरू, तिमीहरूमध्ये धेरैले कहिलेकाहीँ यस्तो पनि सोच्छौ होला– ‘म पनि ठूलो भएपछि पैसा कमाउँछु । सम्पत्ति जोड्छु । धनी बन्छु ।’

ठूलो भएपछि मात्र होइन, तिमीहरूले अहिलेदेखि नै पैसा कमाउन सक्छौ । सम्पत्ति जोड्ने काम थाल्न सक्छौ । धनी बन्ने क्रम सुरु गर्न सक्छौ ।
र, त्यो भनेको बचत हो । पैसाको बचत ।
पैसाको बचत किन गर्ने ? कसरी गर्ने ? बचत गर्दा के फाइदा हुन्छ ? कोपिलाको यो अंकमा हामी भाइबहिनीहरूलाई ‘पैसा बचत गर्ने बानी बसालौं’ भन्न चाहन्छौं ।
आऊ, सुरुमा हामी पैसा आउने बाटो (स्रोत/आम्दानी) बारे छलफल गरौं । कुन– कुन ठाउँबाट तिमीहरूले पैसा पाउँछौ ? चाडबाड र विशेष अवसरमा मान्यजनले टीका लगाएर दिने दक्षिणा । पाहुना वा आफन्तले कहिलेकाहीँ घरमा आउँदा वा फर्कंदा माया गरेर ‘केही किनेर खाऊ है’ भन्दै दिने पैसा । खाजा खानका लागि अभिभावकले दिने पैसा । यस्तै–यस्तै ।
यसरी प्राप्त हुने पैसा थोरै नै हुन्छ । हाम्रा ठूला र सबै आवश्यकता पूरा गर्न सकिँदैन । धेरैभन्दा धेरै आवश्यकता पूरा गर्न पैसा पनि धेरै नै चाहियो । त्यसका लागि बचत गरेर पैसा बढाउँदै लैजानुपर्छ ।
भविष्यमा खर्च गर्नेगरी अहिले आम्दानीको केही अंश छुट्याएर राखिएको पैसा बचत हो । अर्थात् खर्च नगरी बचाएर राखिएको पैसालाई बचत भनिन्छ । हातमा नगद पैसा रहेमा खर्च हुने सम्भावना धेरै हुन्छ । नचाहिने वा आवश्यक नभएको सामानमा पनि खर्च हुन सक्छ । यसलाई नियन्त्रण गर्न सोचविचार गरेर मात्र खर्च गर्नुपर्छ । खर्च कम गर्न सबैभन्दा पहिले आवश्यकतालाई वर्गीकरण गर्नुपर्छ । आवश्यक, अनावश्यक, कम आवश्यक आदि । सबैभन्दा पहिले अत्यावश्यक कामका लागि पैसा खर्चनुपर्छ । त्यसपछि कम आवश्यक । अनावश्यक वस्तु तथा सामानहरू तत्काल नकिन्दा पनि हुन्छ । यस्ता वस्तु किन्ने पैसा बचत गर्न सकिन्छ ।
बचत गर्ने धेरै माध्यम छन् । खुत्रुके, थैली, सानो बाकसमा बचत गर्ने प्रचलन धेरै छ । यो घरमा गरिने बचत हो ।
त्यसबाहेक बैंक तथा वित्तीय संस्थामा पनि बचत गर्न सकिन्छ । घरमा बचत गर्दा ब्याज पाइँदैन । वा घरमा राखेको पैसा बढ्दैन । हराएमा, चोरी वा आगलागी अथवा कुनै कारणले पैसा नष्ट भएमा त्यसको क्षतिपूर्ति पाइँदैन । तर, बैंकमा गरेको बचत बढ्छ । किनकि पैसा राखिदिएबापत् बैंकले ब्याज दिन्छ । कुनै कारणले हराएमा पनि हाम्रो पैसा डुब्दैन । बैंकको खातामा रहेको पैसाको बिमा गरिएको हुन्छ । यसकारण पैसा फिर्ता नपाउने डर हुँदैन । उल्टो ब्याजसहित फिर्ता लिन पाइन्छ । यसैले त भनिएको हो– बचत एक किसिमको सम्पत्ति जोड्ने वा धेरै पैसा जम्मा गर्ने विधि हो ।
बचत गर्न सजिलो छैन । त्यसै पनि हामीसँग पैसा कम हुन्छ । अलि–अलि भएको पैसाले चाहेको कुरा किन्नु नै पर्‍यो । अनि कसरी हुन्छ त बचत ? चिन्ता नगर, बचत गर्न चाहेमा हामीले उपाय लगाउन सक्छौं । बचत गर्न सबैभन्दा पहिले खर्च कम गर्नुपर्छ । यसलाई एउटा उदाहरणमार्फत बुझौं । मानौं, अभिभावकले रामलाई हरेक दिन खाजा खान एक सय रुपैयाँ दिनुहुन्छ । रामको विद्यालयमा ७०/८० रुपैयाँमा एक दिनलाई पुग्ने खाजा पाइन्छ । अब उसले खाजा खाएर पनि हरेक दिन २० देखि ३० रुपैयाँ बचत गर्न सक्छ । तर, उसले खाजा खाएपछि बचेको पैसाले चकलेट, चाउचाउ, चुइगम यस्तै अन्य सामान किन्न खर्च गर्‍यो भने बचत हुँदैन । यसकारण हामीसँग भएको पैसा आवश्यकताअनुसार चाहिने ठाउँमा मात्र खर्च गर्ने हो भने सजिलै बचत गर्न सकिन्छ ।
‘भ्याकेसन’ वा बिदाको दिन हामी घरमै बस्छौं । यस्तो बेला हामीले बाहिर खाजा खाना खान जानुको सट्टा घरमै पनि बनाउन सकिन्छ । बाहिर गएर एक दुईजनालाई खाजा/खाना खान पुग्ने पैसाले घरमै बनाएर खाँदा सबै परिवारलाई पुग्छ ।
हामीलाई बचत गर्न सिकाउनकै लागि विभिन्न बैंक र अन्य पैसाका कारोबार गर्ने संस्थाहरू खुलेका छन् । तीमध्ये धेरै संस्थाले बालबालिका बचतका कार्यक्रम पनि चलाएका छन् । बचत गर्ने काममा सहयोग पुर्‍याउन ती संस्था हाम्रो घर वा विद्यालयसम्म पनि आउँछन् । बचतका लागि खुत्रुके, विभिन्न डिजाइनका आकर्षक स–साना बाकस पनि सित्तैमा दिन्छन् । केही संस्थाले त दैनिक, साप्ताहिक, अर्ध साप्तिाहिक र मासिक रूपमा हाम्रो घरमै आएर पनि बचत गरेको रकम संकलन गर्छन् । त्यो पैसा लगेर जम्मा गर्छन् । उल्टै पैसा राखिदिएबापत् हामीलाई ब्याज दिन्छन् ।
यसकारण घरमा भन्दा बैंकमा बचत गर्नु फाइदाजनक हुन्छ । बैंकमा बचत गर्दा अर्को फाइदा पनि छ । बचत गरेकै कारण बैंकले हाम्रो जन्मदिनमा शुभकामना सन्देश, जन्मदिनको केक, चकलेट आदि उपहार पनि दिन्छन् । पैसा पनि जोगिने । ब्याज पनि पाइने । चाहेको समयमा निकाल्न मिल्ने । अनि बेला–बेलामा विभिन्न उपचार पाइने । भएन त फाइदा !

बचत किन ?
भविष्यका आवश्यकता पूरा गर्न वा सम्पत्ति जोगाउन बचत गरिन्छ । भविष्यमा विभिन्न आर्थिक व्यवहार गर्नुपर्ने हुन्छ । घर निर्माण, सम्पत्ति खरिद, लगानी, दैनिक उपभोगका खर्च, आपत्कालीन खर्च, पुरानो कर्जा तिर्न, पढाइ खर्च आदि । यसका लागि पनि बचत काम लाग्छ । सामाजिक व्यवहारजस्तै, विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, तीर्थ–यात्रा, भ्रमण, स्वास्थ उपचार आदि कार्यका लागि बचत उपयोगी हुन्छ ।

कसरी गर्ने बचत ?
बचत गर्ने सबैभन्दा उत्तम विकल्प उपाय भनेकै खर्च कम गरेर हो । अनावश्यक खालका खर्चमा कटौती गरेर । पैसाको सदुपयोग गरेर बचत गर्न सकिन्छ । यसका लागि दैनिक/साप्ताहिक/मासिक/वार्षिक रूपमा केही न केही रकम बचाउन सकिन्छ ।

कहाँ गर्ने ?
बचत जहाँ गरे पनि हुन्छ । त्यो बचत सुरक्षित हुनुपर्‍यो । माथि नै हामीले चर्चा गरिसकेका छौं, घरमा गरेको बचतभन्दा बैंकमा गरेको बचत सुरक्षित हुन्छ । समयमा निश्चित ब्याज पाइन्छ । बचतको सुरक्षण हुँदा रकम डुब्ने डर कम हुन्छ । बढी विश्वासिलो हुन्छ । जोखिम हुँदैन । घर, बैंक, सहकारी संस्था, आमा समूह, वन समूह, उपभोक्ता समूह आदिमा सदस्य भएर पनि बचत गर्न सकिन्छ । अनौपचारिक निकायमा साहू महाजन, ढुकुटी, साथीभाइ, इष्टमित्र, घरमै बाकस वा दराजमा राख्ने, सुनचाँदी र गरगहना आदिमा लगानी गरेर पनि बचत गर्न सकिन्छ । तर, यस्तो बचत फिर्ता हुने कानुनी आधार कम हुन्छ । जोखिम बढी हुन्छ ।
घरमै बचत गर्दा चोरी, डकैती, आगलागी, फजुल खर्च आदि हुन सक्छ । इष्टमित्रलाई पैसा दिदाँ समयमा फिर्ता दिएनन् भने झगडै हुन सक्छ । उनीहरूले बेइमानी गरे पैसा डुब्न सक्छ । आफूलाई चाहिएको बखत रकम उपलब्ध नहुन सक्छ । सुनचाँदी, घरजग्गा आदिमा लगानी गरी राख्दा अचानक भाउ घट्न गएमा घाटा हुने, चाहेको समयमा बिक्री नभएमा आफ्नो आवश्यकता टार्न कठिन हुन्छ ।
घरमा बचत गर्न सकिने खुत्रुके बचत, नजिकको सहकारीमा गरिने बचत, बैंकमा गर्न सकिने बचत तथा सम्भावित बचतको माध्यमबारे सबैले बालबालिकालाई जानकारी गराउनु आवश्यक छ । अभिभावकले आफ्ना नानीहरूलाई वचत गर्न सिकाउनुपर्छ । विद्यालयमा शिक्षकहरूले पनि यसबारे बालबालिकालाई उत्प्रेरित गर्नु आवश्यक छ ।

प्रकाशित : मंसिर २२, २०७६ ११:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×