नसकिने के छ ?

क्रान्ति पाण्डे

उखानै छ– जहाँ इच्छा त्यहाँ उपाय । यसो त्यसै भनिएको होइन ।

इच्छाशक्ति छ भने मानिसले अवश्य लक्ष्य पूरा गर्न सक्छ । पत्याउनै मुस्किल पर्ने गरी केही व्यक्तिले यसलाई चरितार्थ गरेकै छन् । पर्सि मंगलबार अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस हो । यही छेकोमा कोपिलाको यो अंकमा हामी फरक क्षमता (शारीरिक रूपमा कमजोर) भएका संसारका केही अब्बल व्यक्तिबारे जानकारी लिएर आएका छौं ।

स्टेफेन हकिङ, बेलायत


स्टेफेन हकिङ प्रख्यात बेलायती वैज्ञानिक थिए । सन् १९४२ जनवरी ८ मा बेलायतको अक्सफोर्डमा उनको जन्म भएको थियो । ब्रह्माण्डको उत्पत्ति र ब्ल्याक होलबारे उनको विश्लेषण संसारभर लोकप्रिय छ । किशोर उमेर छँदै हकिङले साथीहरूसँग मिलेर पुराना घडी, टेलिफोनका स्विचबोर्डलगायत सामग्रीबाट कम्प्युटर बनाएका थिए । उनको काम देखेर साथीहरूले ‘आइन्स्टाइन’ उपनाम राखिदिएका थिए । मानिस हकिङलाई पछिल्लो समयका आइन्स्टाइनका रूपमा समेत लिन्छन् ।


उनले विश्वविद्यालय अध्ययनका क्रममा भौतिकशास्त्र, रसायनशास्त्र हुँदै खगोलशास्त्र अध्ययन गर्न लागेका थिए । २१ वर्षको उमेरका हकिङमा मोटर न्युरन डिजिज (स्यानु प्रणालीसम्बन्धीको रोग) देखियो । शरीरको मांसपेसीसँग मस्तिष्कले सञ्चार गर्न छाड्यो । उनलाई हिँडडुल गर्न, बोल्न र खानेकुरा निल्नसमेत समस्या हुन थाल्यो । सहयोगीबिना काम गर्न सकेनन् । हरक्षण बैशाखीको सहारा चाहिने भयो । रोगले निकै गाँज्न थालेपछि उनी विद्युतीय कुर्सीमा हिँडडुल गर्न थाले । सन् १९८५ मा उनलाई फेरि संक्रमण भयो । आकस्मिक रूपमा शल्यक्रिया गर्नुपर्‍यो । त्यसपछि त झनै बोल्नसमेत नसक्ने भए । गालाको मांसपेसीको चालले नियन्त्रण गर्ने विशेष कम्प्युटरको सहारामा हकिङले प्रवचन दिने र विश्लेषणहरू प्रस्तुत गर्न काम थाले ।


युवा उमेरमा शारीरिक रूपमा अशक्त भए पनि हकिङ असाधारण मस्तिष्क भएका र दृढ विश्वासी थिए । संसारको उत्पत्ति, ब्ल्याक होल, तारापुञ्ज र ब्रह्माण्डबारेका खोजमा उनको वैज्ञानिक क्षमता अतुलनीय छ । उनले छोरीसँग मिलेर विज्ञानका केही बाल पुस्तकसमेत लेखेका छन् । वैज्ञानिकहरू मात्र नभई सर्वसाधारणले पनि विज्ञान बुझून् भनेर उनले लेखेको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ लाखौं प्रति बिकेको विज्ञान किताब हो । सन् २०१८ मार्च १४ मा उनको निधन भयो ।

हेलेन केलर, अमेरिका


हेलेन केलर चर्चित अमेरिकी लेखिकाका साथै राजनीतिक अभियन्ता थिइन् । उनी सन् १८८० जुन २७ मा अलाबामाको टस्कम्बियामा जन्मेकी थिइन् । १९ महिनाकी हुँदा बिरामी परिन् । बिरामी भएकी उनले आँखाको ज्योति र श्रवणशक्ति गुमाइन् । हेलेन सुन्न र देख्न नसक्ने भइन् । बिरामी हुँदा उनलाई केही डाक्टरले पेट र मस्तिष्कको बिरामी भएको बताएका थिए भने केहीले मेनेनजाइटिस भएको दाबी गरेका थिए । सात वर्षको उमेरमा हेलेनलाई अभिभावकले शिक्षक ल्याएर घरमै पढाउने निधो गरे । यही क्रममा एनी सुल्लीभान उनकी शिक्षिका भएर घरमै आएर पढाउन थालिन् । एनीले उनलाई मानिससँग सञ्चार गर्न सिकाइन् । एनीले सुरुसुरुमा स–साना कुरा सिकाउँदै उनलाई ज्ञानको विशाल संसारमा पुर्‍याइन् । एनीले हेलनका लागि छुट्टै भाषा नै बनाइदिएको बताइन्छ । उनले शिक्षिका एनीको अथक प्रयासबारे ‘द टिचर’ नामको किताब लेखेकी छन् । उनको आत्मकथा ‘द स्टोरी अफ माई लाइफ’ सबैभन्दा चर्चित किताब हो । यही किताबबाट ‘द मिराकल वर्कर’ नामको फिल्मसमेत बनेको थियो । हेलेनले एक दर्जन किताब लेखेकी छन् । महिला अधिकार र श्रमिक अधिकारका लागि उनका अभिव्यक्ति र लेखहरूको चर्चा अहिले पनि भइरहन्छ । हेलेन सन् १९६८ जुन १ मा यो संसारबाट बिदा भइन् ।

झमक घिमिरे, नेपाल


झमक घिमिरे फरक क्षमता भएकी अब्बल नेपाली स्रष्टा हुन् । सन् २०३७ असार २१ मा धनकुटाको कचिडेमा जन्मिएकी उनलाई सेरेब्रल पल्सी (प्रतिमस्तिष्क रोग) थियो । उनका हातगोडा चल्दैनथे । हिँडडुल गर्न, बोल्न र उभिनसमेत सक्दिन थिइन् । बाल्यकालमा उनले निकै हन्डर खानुपर्‍यो । अन्धविश्वासकै कारण उनलाई श्राप लिएर जन्मिएकी भन्दै मानिस छिःछिः र दुरदुरसमेत गर्थे । औपचारिक शिक्षा नलिए पनि झमकले भाइबहिनीले पढेको देखेर र सुनेर ज्ञानगुनका कुरा सिकिन् । खुट्टाले लेख्ने उनले नेपाली समाजमा महिलाका समस्यालाई साहित्यिक एवं वैचारिक लेखमार्फत् पस्किन्छन् । उनका कविता संग्रह, निबन्ध र कथाका साथै वैचारिक लेख प्रकाशित छन् । अखबारका पानामा समेत उनका लेखहरू छापिइरहन्छन् । उनले लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ ले २०६८ सालको मदन पुरस्कार पाएको थियो । यही किताबमै आधारित ‘जीवन काँडाकि फूल’ फिल्म केही समयअघि मात्रै प्रदर्शनमा आइसकेको छ ।

फ्रिदा काह्लो, मेक्सिको


फ्रिदा काह्लो २० औं शताब्दीकी निकै प्रख्यात कलाकार थिइन् । काह्लो सन् १९०७ जुलाई ६ मा मेक्सिकोको कोयोयाकानमा जन्मेकी थिइन् । स्वैरकाल्पनिक र व्यक्तिगत चित्रकारिताका लागि उनी प्रख्यात छिन् । ६ वर्षको उमेरमै उनलाई पोलियो भएको थियो । केही मानिस उनलाई जन्मँदै मेरुदण्डको समस्या भएको समेत बताउँछन् । उनले डाक्टर बन्ने लक्ष्यले औषधि विज्ञान पढेकी थिइन् । २१ वर्षको उमेरमा एक सवारी दुर्घटनामा परिन् । दुर्घटनापछि उनले औषधि विज्ञानको पढाइलाई निरन्तरता दिन पाइनन् । केही महिनासम्म ओछ्यानमै बस्न बाध्य भएकी काह्लोले चित्रकारिता गर्न थालिन् । उनले कुचीमार्फत् आफ्ना अनुभूतिलाई रंग थप्ने काम गरिन् । उनका केही पेन्टिङले मानिसलाई झस्काएका समेत छन् । उनले महिलाका पीडा, असमानतालगायतका विषयलाई मेक्सिकन संस्कृतिसँग मिलाएर चम्किला रंगहरूमार्फत् चित्रकलाका विम्बका रूपमा प्रस्तुत गरेकी छन् । उनले बनाएका १ सय ४३ पेन्टिङमध्ये ५५ ओटा उनका आफ्नै सेल्फ पोट्रेट छन् । काह्लोको सन् १९५४ जुलाई १३ मा निधन भयो ।

सुधा चन्द्रन, भारत


सुधा चन्द्रन चर्चित बलिउड नृत्यांगना एवं टेलिभिजन कलाकार हुन् । भारतको महाराष्ट्रमा सन् १९६५ सेप्टेम्बर २७ मा जन्मिएकी चन्द्रन १६ वर्षको उमेरमा सवारी दुर्घटनामा परिन् । घाइते भएकी उनको संक्रमण बढेपछि दायाँ खुट्टा गुमाउनुपर्‍यो । चन्द्रनका अनुसार त्यो समय उनको जीवनको सबैभन्दा पीडादायी क्षण थियो । आफ्नो खुट्टा गुमे पनि उनले हिम्मत हारिनन् । कृत्रिम खुट्टा राखेर नाच्न थालिन् । उनको कुशल भरतनट्यम नृत्यले संसारभरकै तारिफ बटुलेको छ । दुर्घटना भएको दुई वर्षपछि उनी नृत्यकलामा सामेल हुन् थालेकी थिइन् । उनले साउदी अरब, अमेरिका, बेलायत, क्यानडालगायत देशमा आफ्नो नृत्यकला प्रस्तुत गरिसकेकी छन् । चन्द्रनले तेलगु फिल्म मयुरीबाट अभिनय क्षेत्रमा आफ्ना पाइला अघि बढाइन् । तामिल र मलायलम भाषामा समेत डब भएर आएको उक्त फिल्म पछि हिन्दीमा पनि आयो, जुन उनकै जीवनमा आधारित थियो । चन्द्रनले दर्जनौं फिल्म, टेलिभिजन सिरियल र रियालिटी सो गरिसकेकी छन् ।

–एजेन्सीको सहयोगमा

प्रकाशित : मंसिर १५, २०७६ १०:१७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आयामले देखेको बादल

कान्तिपुर संवाददाता

विद्यालय तहको अन्तिम दिनमा अध्यनरत नवोदित कवि प्रतिभा आयाम बस्नेत सानैदेखि स्वभावमा भावुक र अन्तरमुखी थिए ।


फुर्सदमा चित्र कोर्दै बस्थे । कथा–कविताका पुस्तक पढ्न वा गाउँघर डुल्न पनि रुचाउँथे । कलाकारितामा रुचि राख्ने बुबा सुन्दर बस्नेतसँग आउने कला–सर्जकहरूको संगत र उत्प्रेरणाले आयाम सृजनशील बन्दै गए । सुरुमा नेपाली भाषामा कथा–कविता लेखे पनि विद्यालयका साथीभाइको प्रेरणा र गुरुहरूको भरथेगमा उनले के बुझे भने, भावना र संवेदना व्यक्त गर्न जुन भाषा वा माध्यम प्रयोग गरे पनि हुने रहेछ । ‘मैले भने अंग्रेजी भाषाका माध्यमबाट आफ्ना भावना कवितामा उतारेको हुँ,’आयामले सुनाए ।
सुनसरी मूलघर भएका आयाम अहिले बूढानीलकण्ठ स्कुलमा कक्षा १२ मा अध्यनरत छन् । उनले लेखेका झन्डै ५ दर्जन छोटा कविताको संकलित संग्रह ‘क्लाउड्स’ हालै बूढानीकलकण्ठ स्कुलकै आफ्ना पुराना नेपाली गुरु रामबाबु सुवेदीबाट विमोचन गराएका छन् ।
बूढानीलकण्ठमैं २८ वर्ष नेपाली भाषा प्राध्यापन गरेर हालै अवकाश पाएका सुवेदीले आयामका कवितामा प्रकृतिप्रेम र सान्निध्यता स्पष्ट रूपमा देखिएको बताए । अंग्रेजी भाषामा रहेका कवितालाई नेपाली अनुवादमा समेत निकाल्ने योजना रहेको सांग्रिला प्रकाशन गृहले जनाएको छ ।
आयामको कविता लेखन शैलीमाथि समीक्षक डा.अभि सुवेदीले भनेका छन्, ‘साधारण विषयवस्तुमा पनि तर्क, कारणसहित आयाम कवितामा छाएका छन् । उनको कवितात्मक लयात्मकता र विम्ब–प्रतीकको प्रयोग पनि लोभलाग्दो छ ।’ आयामले कवितामा आफ्नो साथीसंगत, माहोल, जीवन र नबुझेको भविष्यका बारेमा कल्पनाशील बनेर लेखेका छन् । एक ठाउँमा आफ्ना पुराना साथीको सम्झनामा आयाम लेख्छन्—

‘ए मेरा पुराना साथीहरू
ठानेको छु— तिमीहरू आरामै छौ
आज म टाढा गइसकेको छु,
तर तिमीहरूको सुदिनको कामना गर्दर्र् ैछु
मलाई थाहा छ, मैले हिँड्नै पर्छ
तिमीहरूको सहयोगबिना नै
तर सधैं आश्वस्त होऊ साथी—
म तिमीलाई सम्झिरहनेछु ।’

प्रकाशित : मंसिर १५, २०७६ १०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×