दृष्टिविहीनलाई ब्रेल पुस्तकहरु

कान्तिपुर संवाददाता

बालसाहित्य प्रतिष्ठान नेपालले दृष्टिविहीन बालबालिकाका लागि विभिन्न लेखकका ९ कृतिको ३ सय ३३ थान ब्रेल लिपिमा लेखिएको पुस्तक प्रदान गरेको छ  ।

ZenTravel

दृष्टिविहीन युवा संगठन नेपालमार्फत् प्रदान गरिएका पुस्तकमा रामकाजी कोनेको ‘मुक्तक मोह’, जलेश्वरी श्रेष्ठको ‘पिंकी र पुतलीहरू’ र सोही पुस्तकको अंग्रेजी संस्करण ‘पिंकी एन्ड द बटरफ्लाइज’, ‘नेपाली बालकथा’, भारतीय बालसाहित्यकार मनोरमा जफाद्वारा लिखित ‘हाँस्ने सुगा’ कथा संग्रह, बालसाहित्यकार गंगा पौडेलको ‘को ठूलो ?’ कथा संग्रह, बालसाहित्यकार कार्तिकेयका तीन कथाकृतिहरू ‘वाह १ दुनोट पसलेकी छोरी’, ‘साँच्चैकैको हिरो हो कृष्णबहादुर’ र ‘म चोर होइन’ रहेका छन् ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले विद्यार्थीका लागि पाठ्यक्रमबाहेकका बालसाहित्यको पनि महत्त्वपूर्ण भूमिका रहने बताए । नेत्रहीन युवा संघका सभापति कलाधर भण्डारीले आभार व्यक्त गरेका थिए ।

प्रकाशित : मंसिर १५, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

इन्टु–मिन्टु

कथा
कान्तिपुर संवाददाता

त्यो दिन इन्टु मिन्टुको जन्मदिन थियो  । उनीहरू जुम्ल्याहा दाजुभाइ हुन्  ।

दस वर्ष पूरा भएर ठ्याक्कै त्यही दिनबाट उनीहरू ११ वर्ष लाग्दै थिए । प्रत्येक वर्ष आमाले उनीहरूलाई बिहानै मन्दिर लिएर जानुहुन्थ्यो । तर त्यो दिन केही कामले आमा मन्दिर जान नभ्याउने हुनुभयो र भन्नुभयो ‘इन्टु–मिन्टु अब तिमीहरू ठूला भयौ, मन्दिर दर्शन गरेर आओ । म मन्दिर जान नभ्याउने भएँ । लु यो फूल र भेटी ।’ इन्टुको हातमा एउटा टोकरी थमाइदिनुभयो ।
मन्दिर घरबाट सारै टाढा थिएन । बिहानै नुहाइधुवाइ गरेर नयाँ लुगा लगाइर चिटिक्क परिसकेका थिए उनीहरू ।
‘हस् आमा,’ यति भनेर उनीहरू गुरुरु मन्दिरतिर कुदे ।
‘ए बिस्तारै १’ आमाले हात हल्लाउँदै कराउनुभयो ।
दुवै मन्दिर पुगे । आमाले गरेजस्तै गरेर उनीहरूले पहिले गणेशजीेलाई फूल र भेटी चढाए । अनि क्रमशः अरू देवीदेउतालाई ढोगे । पुजारी बाले पनि टीका लगाएर आशीर्वाद दिनुभयो ।
बाटामा केही साथी भेटिए । उनीहरूले इन्टु मिन्टुलाई जन्मदिनको शुभकामना दिए । उफ्रिँदै खेल्दै हिँडिरहेका थिए बाटो छेउको पर्खालमा जोडी ढुकुर भुर्र उडेर आएर बसे । मिन्टुले यति छिटो ढुंगा टिपेर हान्यो कि इन्टुले केही बोल्नै पाएन । त्यो ढुक्कुर त्यही पुर्लुक्कै लडेर छटपटाउन थाल्यो । इन्टु कुदेर घाइते ढुकुरलाई लिएर घरतिर लाग्यो । ढुकुरको खुट्टामा ढुंगाले लागेर टेक्न नसक्ने भएर भुइँमा पछारिएको रहेछ । मिन्टु पनि छेउमा आएर उभियो । उसको अनुहार मलीन देखिन्थ्यो ।
‘किन यस्तो गरिस् ?’ मिन्टुलाई कुटौँलाझैं गरेर ऊ करायो । ‘मैले त उडाउन मात्र खोजेको थिएँ, त्यस्तो बेस्सरी लाग्लाजस्तो लागेको थिएन,’ मिन्टु पिलपिल गर्न थाल्यो ।
आमा पनि आत्तिँदै बाहिर निस्कनुभयो । ‘किन कराका ? के भयो ?’ इन्टुले सबै बेलिबिस्तार लगायो । मिन्टुले पनि आफ्नो बचाउमा बोल्यो ।
आमाले सबै कुरा सुनेर भन्नुभयो ‘गल्तीले यस्तो भएछ । तर कसैलाई पनि त्यसरी जिस्काउने सताउने गर्नु हुँदैन । ल भैगो अबदेखि यस्तो नगरेस् । जाउ पानी ल्याएर
यसलाई खुवाऊ ।’
मिन्टुले कुदेर कचौरामा पानी लिएर आयो । तर ढुकुर ऊ आएको देखेर घिस्रिँदै इन्टु भएतिर पो घुस्रियो ।
यो देखेर आमाले भन्नुभयो, ‘देख्यौ पशुपक्षीले पनि आफूलाई कुभलो गर्नेलाई र भलो गर्नेलाई कसरी चिन्दा रैछन् ? अब बुझ्यौ नि कसैको कुभलो गर्दा के हुने रैछ ?’
‘बुझें आमा अब यस्तो गल्तीले पनि गर्दिनँ म,’ मिन्टु घाइते ढुकुर देखेर धेरै पिरलिएको थियो । उसको आँखामा पश्चाताप देख्न सकिन्थ्यो ।
इन्टु र मिन्टु मिलेर ढुकुरको घाउ सफा गरिदिए । पानी पिलाए । आमाले पकाइराखेको तातो भातका सीता खान दिए । घाउमा पट्टी लगाइदिए । अब ढुकुर खोच्याङ खोच्याङ गरेर पाइला सार्न थाल्यो । तर उड्न सकेन । मिन्टुले पनि माया गरेको बुझेछ क्यारे ढुकुरले ऊ छेउमा जाँदा पनि भाग्न छोड्यो । दिनभरि त्यो ढुकुर त्यहीँ बस्यो उसको जोडी भुर्भॅर्र गर्दै आँगन छेउ आइरहन्थ्यो । उसलाई पनि इन्टु–मिन्टुले चारो दिए ।
बेलुकीपख घाम पहेलो हुँदै थियो । आफ्नो जोडीसँगै त्यो ढुकुर बिस्तारै गरेर उड्न खोज्यो । इन्टु–मिन्टु ढुकुर उडेको देखेर खुसी भए । बिस्तारै ढुकुरले भुइँ छोड्यो । पखेटा फड्फडाउँदै नजिकैको खोल्सातिर लाग्यो जोडीसहित । पखेटा फर्फराको इन्टुमिन्टुलाई बाइबाई गरेझैं लाग्यो । उनीहरूले पनि ढुकुरलाई बाइबाई गरे ।
अचेल पनि त्यो ढुकुरको जोडी उनीहरूको करेसाबारीमा आइरहन्छ, चरिरहेका देखिन्छन् । त्यो देख्ना साथ इन्टुमिन्टु केही चारो बोकेर त्यतातिर दौडिहाल्छन् ।

- यमुना पराजुली अधिकारी

प्रकाशित : मंसिर ८, २०७६ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×