कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

उमंगको उडान

माधव घिमिरे

विराटनगरको आकाशमा दिनहुँ धेरै हवाईजहाज उडिरहन्छन्  । काठमाडौंबाट आउने–जाने, भोजपुर, संखुवासभा, ताप्लेजुङ आउने–जाने गरिरहन्छन्  ।

उमंगको उडान

ती जहाज उड्ने र अवतरण गर्ने बेलामा नजिकैबाट देखिन्छ । दिलाशा लावतीले पनि यसरी जहाज उडेको देख्दै आएकी थिइन् । चढ्न भने पाएकी थिइनन् ।
जहाजमा चढ्दा कस्तो हुँदो हो भन्ने उनी र उनका साथीलाई सधैं लागिरहन्थ्यो । पछि ठूलो भएपछि जहाज चढिन्छ होला भन्ने उनीहरूले सोचेका थिए । तर सानैमा चढ्न पाएर गत साता उनीहरूले एकदमै नौलो अनुभव बटुले ।
‘पहिलोपटक हवाईजहाज चढेको, धेरै रमाइलो भयो,’ दिलाशाले भनिन् । उनीसहित विराटनगर ८ हाटखोलामा रहेको सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयका ६ देखि ८ कक्षासम्मका ९ जना विद्यार्थीले यस्तो अवसर पाएका थिए । पढाइमा मिहिनेती र उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई यात्राका लागि छानिएको थियो । उनीहरू आर्थिक र सामाजिक रूपमा पिछडिएको समुदायका बालबालिका थिए । विद्यार्थीसँगै दुई शिक्षक पनि सहभागी थिए ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि आयोजक संस्थाका प्रतिनिधिले भव्य स्वागत गर्दा विद्यार्थी खुसीले गदगद भएका थिए । यात्राका सहभागीले काठमाडौंमा पिज्जाको स्वाद पनि लिएका थिए ।
विराटनगर राउन्ड टेबल ५ र काठमाडौं सेन्ट्रल राउन्ड टेबल १२ नामक संस्थाले उनीहरूलाई विराटनगर विमानस्थलबाट यती एयरको जहाजमा काठमाडौं पुर्‍याएको थियो । राउन्ड टेबल नेपाल संस्था ‘शिक्षाबाट स्वतन्त्रता’ नारा लिएर शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय संस्था हो ।
काठमाडौं पुगेर पशुपतिनाथ मन्दिर, ललितपुरको जावलाखेलस्थित चिडियाखानालगायत स्थान घुम्ने, हेर्ने र बुझ्ने मौका पनि उनीहरूले पाएका थिए । ‘चिडियाखानामा वन्यजन्तुहरू हेर्‍यौं,’ दिलाशाले भनिन्, ‘मन्दिरहरूमा गएर दर्शन पनि गर्‍यौं, धेरै रमाइलो भयो ।’ जहाजबाट काठमाडौं पुगेर केही महत्त्वपूर्ण ठाउँको घुमाइपछि एकै दिनमा विराटनगर फर्कन पाउँदा बालबालिका दंग थिए ।
दिलाशाका सहपाठी पार्थ दासलाई पनि पहिलोपटक हवाईजहाजको यात्राले निकै रोमाञ्चित बनायो । ‘जहाजमा चढेर यात्रा गर्दा कस्तो हुन्छ होला भन्ने लागेको थियो,’ उनले भने, ‘माथि–माथि जाँदै गर्दा हामीभन्दा तल–तल बादल देख्यौं, पहाडहरू पनि देख्यौं, अचम्मै लाग्यो ।’
यात्रा सुरु गर्ने बेलामा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, राउन्ड टेबल अन्तर्राष्ट्रिय संस्थाका सचिव अस्ट्रियाली नागरिक मार्क जर्मिसिउसनलगायतले फूलमाला लगाएर बिदाई गरेका थिए । मेयर पराजुलीले विद्यार्थीलाई यस्तो प्रकारको भ्रमणमा सहभागी गराएर मनोरञ्जन मात्र नभई अनुभवका साथै नयाँ स्थान र विषयबारे ज्ञान प्राप्त हुने बताए । विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नगरी स्थलगत भ्रमण गराएर व्यावहारिक ज्ञान दिने उद्देश्यले कार्यक्रम गरिएको राउन्ड टेबल ५ का अश्विनी वंशलले बताए । उनीहरूलाई नयाँ र रोमाञ्चक अनुभव गराउन ‘उमंगको उडान’ (फ्लाइट अफ फेन्टासी) नाम दिएर यात्रा गराइएको थियो । उक्त संस्थाले विद्यालय निर्माण, मर्मत, भूकम्प, बाढी, हावाहुन्डरीलगायत प्राकृतिक विपद्मा परेका बालबालिकालाई सहयोग पनि गर्दै आएको छ ।

प्रकाशित : मंसिर ८, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?