खेल मेला

ध्रुव तुलाधर

भाइबहिनीहरू, तिमीहरूमध्ये प्रायःले कुनै न कुनै खेल सिकिरहेको/खेलिरहेको हुनुपर्छ  । नखेले पनि कुनै न कुनै खेलप्रति रुचि त पक्कै होला  ।

खेल मेला

कोही त खेलाडी पनि होलाउ । कोपिलाको यो अंकमा हामी खेलकुदबारे चर्चा गर्दै छौं ।
धेरैले थाहा पाइसकेको हुनुपर्छ– यो सातादेखि नेपालमा ठूलो खेल मेला ‘दक्षिण एसियाली खेलकुद’ (साग) १३औं संस्करण सुरु हुँदै छ । यसमा २८ खेलका विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ । ३ सय २४ स्वर्ण पदकका लागि ७ देशका करिब साढे तीन हजार खेलाडीले भाग लिँदै छन् ।
दक्षिण एसियाली खेलकुदको परिकल्पनाकार नेपाल हो र सन् १९८४ मा नेपालबाटै यो खेल मेला सुरु भएको हो । यसपालि नेपालले तेस्रोपल्ट साग खेलकुद आयोजना गरेको हो । २० वर्षअघि आठौं संस्करण सन् १९९९ मा नेपालमै भएको थियो ।

नेपालको पहलमा सुरु :
रोचक कुरा के छ भने, नेपालकै पहलमा दक्षिण एसियाली खेलकुदको सुरुवात भएको हो । त्यतिबेला ओलम्पिक, एसियाली खेलकुद, दक्षिण–पूर्वमा सी गेम्सजस्ता ठूला प्रतियोगिता आयोजना हुन्थे । दक्षिण एसियाली राष्ट्रबीच त्यस्ता ठूला प्रतियोगिता थिएनन् । तिनै प्रतियोगितामा भाग लिन जाँदा राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव तथा यस खेलकुदका परिकल्पनाकार शरदचन्द्र शाहलाई सार्क राष्ट्रबीच पनि एउटा त्यस्तै खेलकुद हुनुपर्छ भन्ने सोच आयो । सबै सार्क राष्ट्रका प्रतिनिधिलाई त्यस्तै ठूला खेल मेलामा भेला गराएर दक्षिण एसियाली खेलकुदको अवधारणालाई उनले मूर्त रूप दिएका हुन् ।दक्षिण एसियाली राष्ट्रबीचको आपसी सम्बन्ध, भाइचारा र सांस्कृतिक सभ्यता आदानप्रदान गर्नका लागि यो खेलकुदको सुरुवात गरिएको हो । साथै ओलम्पिक र एसियाडजस्ता ठूलो खेलकुद प्रतियोगिताको तयारी गर्न आयोजना गरिने ठूलो खेलमेला पनि हो । ओलम्पिक र एसियाली खेलकुद हरेक ४ वर्षमा आयोजना हुने गर्छ । साग गेम्स सुरुमा १/१ वर्षको अन्तरमा गरिने भनिएको थियो । तेस्रो संस्करणपछि त्यसलाई परिवर्तन गरी २/२ वर्षको अन्तर हुने बनाइयो । नियम त्यो रहे पनि विविध कारणले नियमित हुन सकेको छैन ।सार्क देशले पालैपालो आयोजना गर्नुपर्ने अवधारणा भए पनि भुटान र माल्दिभ्सले अहिलेसम्म यो खेलकुद महोत्सव आयोजना गरेका छैनन् । संस्थापक नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले मात्र पालैपालो गरिरहेका छन् ।

‘साफ’ हुँदै ‘साग’ :
पहिला यसलाई साफ गेम्स भनिन्थ्यो । साउथ एसियन फेडेरेसन (एसएएफ) ले आयोजना गर्ने भएकाले यो एसएएफ (साफ) गेम्सका रूपमा नवौं संस्करणसम्म चल्यो । पछि ओलम्पिककै संरचनामा अनुसार साउथ एसियन ओलम्पिक काउन्सिल गठन भएपछि साउथ एसियन गेम्स (एसएजी) रूपमा हुँदै आएको छ । सार्क सम्मेलनमा जसरी अफगानिस्तानलाई आमन्त्रित राष्ट्रका रूपमा प्रवेश गराइएसँगै यस खेलकुद मेलामा पनि समावेश गरिएको थियो । सन् २००४ मा इस्लामाबादमा सम्पन्न नवौं संस्करणदेखि भारतको गुवाहाटी/सिलोङमा भएको १२ औं संस्करणसम्म अफगानिस्तानले भाग लिएको थियो । यसपल्ट अफगानिस्तान हुने छैन । मध्यपूर्व क्षेत्रबाट खेल्ने भनेर उसले सार्क क्षेत्र छाडेको हो ।

नेपालले कति पदक जित्यो ?
अब खेलको चर्चा गरौं । पहिलोपल्ट दक्षिण एसियाली खेलकुदमा ५ खेल (पौडी, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन र फुटबल) मा मात्र प्रतिस्पर्धा भएको थियो । यसपटक २७ खेलका विभिन्न विधामा भीडन्त भइरहेको छ ।
पहिलो संस्करणमा ६२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा नेपाल ४ स्वर्णसहित २४ पदक जितेर पदक तालिकामा चौथो स्थानमा थियो । ४४ स्वर्ण जितेको भारत कुल ८८ पदकसहित पहिलो स्थानमा थियो । श्रीलंकाले ७, पाकिस्तानले ५, बंगलादेशले २ स्वर्ण पदक जितेका थिए । नेपालका लागि वैकुण्ठ मानन्धरले एथलेटिक्सको म्याराथन दौड, दलबहादुर राना र पुष्करध्वज शाहीले बक्सिङबाट स्वर्ण दिलाएका थिए । अर्को स्वर्ण फुटबलबाट प्राप्त भएको थियो । रूपकराज शर्माको कप्तानीमा फुटबल टिम थियो । अहिले दलबहादुर, पुष्करध्वज, रूपकराजको निधन भइसकेको छ ।
हरेक संस्करणमा नयाँ खेल थपिँदै आएका छन् । सन् १९८५ को ढाका (बंगलादेश) मा सम्पन्न दोस्रो संस्करणमा कबड्डी र कुस्ती पनि थपियो । त्यतिबेला ९४ स्वर्णका लागि प्रतिस्पर्धा हुँदा नेपालले एक मात्र जितेको थियो । त्यो म्याराथन धावक वैकुण्ठ मानन्धरको नाममा थियो । उनले तेस्रो संस्करण (१९८७, कोलकाता) पनि स्वर्ण जितेका थिए । उनको स्वर्णमा ह्याटिक नै भयो । त्यतिखेर उनको म्याराथन टाइमिङ २ घन्टा १५ मिनेट ०३ सेकेन्डको थियो । तीन दशकबढी भइसक्दा पनि त्यो कीर्तिमान अहिलेसम्म तोडिएको छैन । वैकुण्ठले सन् १९८९ मा पाकिस्तानको इस्लामाबादमा सम्पन्न चौथो साफमा कास्य जितेसँगै खेलाडी जीवनबाट विश्राम लिएका थिए ।

कीर्तिमानी खेलाडी
सागका सफल थोरै खेलाडीमा पर्छन् वैकुण्ठ मानन्धर । उनीजस्तै लगातार स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्ट हुन् । दीपकले लगातार ४ स्वर्ण पदक जितेका थिए । उनी नेपालका लागि सागमा चार स्वर्ण जित्ने एक्लो खेलाडी हुन् । दीपकले काठमाडौंमा १९९९ मा भएको आठौं संस्करणमा स्वर्ण जितेका थिए । त्यो सफलतालाई उनले ११ औं साग (२०१०, ढाका) सम्म निरन्तरता दिए ।
तेक्वान्दो आठौं संस्करणदेखि मात्र समावेश खेल हो । त्यतिबेला तेक्वान्दो र करातेलाई नयाँ खेलका रूपमा आयोजक राष्ट्रको हैसियतमा नेपालले प्रवेश गराएको थियो । मार्सल आर्टस्मा बलियो नेपालका लागि त्यो साग फलदायी भयो । नेपालले ३१ स्वर्ण पदक जित्दा तेक्वान्दो र करातेले समान १४, बक्सिङले २ र पौडीले एक स्वर्ण पदक जितेको थियो । दक्षिण एसियाली खेलकुद इतिहासमै नेपाल पदक तालिकाको दोस्रो स्थानमा पुग्न सफल भएको साग नै त्यही हो । बक्सिङको आफ्नो पुरानो छवि कायम गर्ने क्रममा त्यतिबेला प्रकाश र रामचन्द्र थापामगर दाजुभाइले स्वर्ण जितेका थिए भने पौडीको स्वर्ण ऐतिहासिक थियो । महिला ४ गुणा १०० मिटर फ्रिस्टाइल रिलेमा जितेको त्यो नेपालको साग इतिहासमा पौडीको एक्लो स्वर्ण पदक हो । भारत र श्रीलंकाली टिम ‘अयोग्य’ भएपछि नेपालको भाग्यमा स्वर्ण आएको थियो ।
भुटानले पहिलोपल्ट स्वर्ण पदकको खुसी मनाएको आठौं साफ हो । माल्दिभ्सले सागमा अहिलेसम्म स्वर्ण जित्न सकेको छैन । १२ संस्करणसम्म पदक तालिकामा भारत पहिलो स्थानबाट तल झर्नुपरेको छैन ।
साग इतिहासमा वैकुण्ठ मानन्धर, दीपक विष्टपछि सफल खेलाडीमा फुटबलका राजुकाजी शाक्य पर्छन् । उनले खेलाडी भएर तीन पदक (दुई स्वर्ण र एक रजत) तथा प्रशिक्षक भएर एक स्वर्ण पदक जितेका छन् । उनकै प्रशिक्षणमा १२ औं सागमा नेपालले स्वर्ण जितेको थियो । त्यो छैटौं सागपछि फुटबलमा पहिलो स्वर्ण थियो । म्याराथनको समृद्ध इतिहासमा टीका बोगटीको एक स्वर्ण र दुई कास्य पदक पनि त्यत्तिकै महत्त्वपूर्ण छ । टीकाले मद्रास (सातौं) मा स्वर्ण जितेका थिए । त्यसअघि दुई कास्य उनको नाममा थियो ।
त्यस्तै, बक्सिङका दलबहादुर राना, तेक्वान्दोकी संगीना वैद्य, करातेका दीपक श्रेष्ठ २/२ स्वर्ण जितेका व्यक्तिगत तर्फका सफल खेलाडी हुन् । संगीनाले १० औं सागमा कास्य पनि जितेकी छन् । फुटबलले पहिलो र छैटौं संस्करणमा स्वर्ण जित्दा राजुकाजीजस्तै उमेश प्रधान पनि टिममा थिए । गणेश थापा पनि सागका सफल खेलाडी हुन् । पहिलोमा स्वर्ण र दोस्रोमा रजत जित्दाका उनी साफमा ह्याट्रिक गर्ने फुटबलर हुन् ।
सागमा अहिलेसम्म सुटिङ, भारोत्तोलन र टेबलटेनिस खेलले १/१ स्वर्ण जितेको छ । दुर्लभ स्वर्ण जित्नेमा सुटिङकी अनिता श्रेष्ठ, भारोत्तोलनका कमलबहादुर अधिकारी र टेबलटेनिसको महिला टिम (गीता क्षत्री, सिजरिन शाह, पूजा थापा र नीलम तुलाधर) हो । यो श्रीलंकाली भूमिमा भएको थियो । सन् १९९१ को कोलम्बो दुई स्वर्ण जित्नेमा त्यही सुटिङ र टेबलटेनिस खेल थियो । कमलबहादुरले २००६ कोलम्बो सागमै भारोत्तोलनका लागि पहिलो स्वर्ण जितेका थिए । उनी त्यसयता लगातार खेलिरहेका छन् । यसपल्ट पनि प्रतिस्पर्धामा उत्रने छन् । सागका लागि भारोत्तोलनमा सर्वाधिक पदक जित्ने भने सुनीललाल जोशी हुन् । उनले पहिलोदेखि सातौंसम्म ५ रजत र ९ कास्य पदक जितेका थिए । उनको दुई वर्षअघि निधन भइसकेको छ ।
एकै संस्करणमा व्यक्तिगततर्फ पुरानो पुस्तामा टेबलटेनिसकी सिजरिन शाह र वर्तमान पुस्तामा पौडीकी गौरिका सिंहले सर्वाधिक पदक जितेको इतिहास छ । दुवैले समान ४ पदक जितेका छन् । गौरिकाले सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२ औं सागमा एक रजत र तीन कास्य जितेकी थिइन् । पौडीमा नेपालले व्यक्तिगत इभेन्टमा गौरिकाले जितेको नै पहिलो पदक पनि हो । सन् १९८७ मा तेस्रो संस्करण कोलकातामा सिजरिनले मिक्स डबल्स र टिम इभेन्टमा रजत तथा वुमन्स सिंगल्स र डबल्समा कास्य गरी चार पदक जितेकी थिइन् । करातेमा दीपकपछि सागका सफल खेलाडीमा कुशल श्रेष्ठ हुन् । उनले एक स्वर्णसहित चार पदक जितेका छन् । नवौंमा रजत जितेका कुशलले कोलम्बो (२००६) मा स्वर्ण जितेका थिए । ढाकाको ११ औं संस्करणमा उनी फाइट र काता दुवैमा कास्य पदक जित्न सफल भएका थिए । दीपक, संगीना, कुशलजस्ता सफल खेलाडी अहिले प्रशिक्षक करिअरमा सागकै टोलीमा छन् । भारोत्तोलनका कमलबहादुर जसरी तेक्वान्दोकी आयशा शाक्य लगातार चौथो साग खेल्दै छन् । उनीहरू १० औंदेखि निरन्तर छन् । १ स्वर्ण र २ रजत जितेकी आयशा यसपल्ट चौथो पदकको खोजीमा हुनेछिन् ।
नेपालमा भइरहेको १३ औं संस्करणमा यसपालि काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा खेल हुँदै छ । जनकपुरमा कुस्ती मात्र हुनेछ भने पोखरामा ८ खेल आयोजना हुनेछन् । अन्य सबै उपत्यकामा हुनेछन् ।

प्रकाशित : मंसिर ८, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?