माछाको संसार

तिमीहरूलाई थाहा छ ? पृथ्वीमा मानिसभन्दा कैयौं वर्ष पहिला उत्पत्ति भएको जीव हो माछा  । पानीमा बस्ने अर्थात् जलचर प्राणी माछालाई पक्कै पनि हामी प्रायः सबैले देखेका छौं  ।

माछाको संसार

माछा धेरै प्रकारका हुन्छन् । तिनीहरूको स्वभाव र विशेषता पनि भिन्नभिन्न हुन्छन् ।
विश्वमा माछाका ३० हजारभन्दा बढी प्रजाति छन् । कतिपय एकैखाले माछाहरू पनि ठाउँ र देशअनुसार फरक–फरक नामले चिनिन्छन् । इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचर (आईयूसीएन) का अनुसार ११ सय ७३ प्रजातिका माछाहरू लोप हुने खतरामा छन् ।
प्रायः सबैजसो माछा सिधा अगाडि दिशामा मात्र तैरिएर अघि बढछन् । तर ‘ट्रिगर फिस’ पौडिएर दुवै दिशामा जान सक्छ । अगाडि र पछाडि दुबैतर्फ । माछामा पनि केही प्रजातिमा बिर्सने बानी हुन्छ । ‘गोल्डेन फिस’ ले सबै कुराहरू ३ सेकेन्डपछि बिर्सिसक्छ । त्योभन्दा बढी समय उसले याद राख्न सक्दैन । प्रजनन् अवधिका हिसाबले ‘फ्रिल्ड सार्क’ नामक समुद्री माछा धेरै समय गर्भ बोक्ने माछाका रूपमा चिनिन्छ । यी माछाको गर्भमा अन्डा बोक्ने अवधि ३ देखि ५ वर्षसम्म हुन्छ ।

सार्क माछाको ३० हजार दाँत हुन्छन् र कतिपय सार्कले आफ्नो जीवनकालमा सबै दाँत गुमाइसक्छन् । सार्क माछा निदाएका बेलामा समेत पौडिरहेका हुन्छन् । सार्क ४० करोड वर्षदेखि र जेली फिस करिब ६५ करोड वर्षदेखि पृथ्वीमा रहेको अनुमान छ । सेतो सार्क यस्तोखाले माछा हो, जसले चाहेअनुसार आफ्नो शरीरको तापक्रम आफैंले बढाउन सक्छ । त्यसैले धेरै चिसो पानी र माथिल्लो भाग जमेको समुद्रभित्र पनि यो जीवित रहन सक्छ । डल्फिनले सुतेका बेला आधा दिमाग मात्र चलाएका हुन्छन् र तिनको आधा दिमाग सुतेको हुन्छ ।
समुद्री घोडा भनेर चिनिने ‘सी हर्स’ नामक माछाले आफ्ना दुई आँखालाई आफूले चाहेअनुसार फरक–फरक दिशामा घुमाउन सक्छन् । त्यति मात्र होइन, यसले आवश्यक पर्दा आफ्नो रङ पनि परिवर्तन गर्न सक्छ । रोचक कुरा के पनि हो भने, सी हर्सको पोथीले जब अन्डा उत्पादन गर्नुपर्ने हुन्छ, उसले भालेको शरीरमा रहेको एक भागभित्र अन्डा उत्पादन गर्छे र भालेले पुच्छरको सहायताले ती अन्डालाई समुद्रमा खसाल्छ । सी हर्स सबैभन्दा कम गतिमा चल्ने माछाका रूपमा पनि चिनिन्छ । यसले कतिपय अवस्थामा ५ फिट दूरी पार गर्न २ घन्टासम्म पनि लगाउँछ ।



संसारकै सबैभन्दा ठूलो जीव मानिएको ह्वेल माछाको नीलो रङका प्रजातिहरू केही पनि नखाईकनै ६ महिनासम्म जीवित रहन सक्छन् । केही माछा यस्ता पनि हुन्छन्, जसले आफूले चाहेका बेला शरीरबाट करेन्ट प्रवाह गर्न सक्छन् । जसलाई वैज्ञानिकहरूले ‘इलेक्ट्रोनिकल इल’ नाम दिएका छन् । यो प्रजातिको माछा ब्राजिल, भेनेजुएला, पेरु र कोलम्बियामा पाइन्छन् । यस्तै सर्पजस्तै देखिने ‘इलेक्ट्रोनिकल स्नेक फिस’ ले यति धेरै करेन्ट प्रवाह गर्न सक्छ कि एकै झड्कामा घोडाको समेत मृत्यु हुन सक्छ । हिमनदी र एकदमै चिसो पानीमा बढी बस्ने ‘किलर क्याट फिस’ लाई नरभक्षी माछाका रूपमा चिनिन्छ । यसले मानिस आसपास देख्दा आक्रमण गर्छ । ‘स्टोन फिस’ अर्थात् ढुंगेमाछा नामक समुद्री जीव यति धेरै विषालु हुन्छ कि, मानिसले यो माछा खाएमा मृत्यु हुने दाबी वैज्ञानिकले गरेका छन् ।
‘सेल फिस’ पौडेर सबैभन्दा तेज गतिमा एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्ने माछा हो । मानिसले सबैभन्दा बढी मन पराउने माछा ‘गोल्डफिस’ हो । विश्वमा जेजति एक्वेरियममा माछा राखिएका छन् वा व्यक्तिले घरमा पाल्ने गरेका छन्, त्यसमा सबैभन्दा बढी संख्या गोल्डफिसकै छ ।


–एजेन्सीको सहयोगमा

प्रकाशित : मंसिर १, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?