कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

८ देशका ८ नाटक

कान्तिपुर संवाददाता

विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन विद्यालयले खेलकुद, वादविवाद, वक्तृता, कवितावाचन तथा नाटक मञ्चन गर्छन्  । हाम्रो स्कुलले पनि १ सय ५० जना विद्यार्थी समेटेर ‘सिल्भर ओक’ गैह्रीधारामा नाटक मञ्चन गरेको थियो  ।

८ देशका ८ नाटक

दिपाशना आचार्यले निर्देशन गर्नुभएको नाटक प्रयोगवादी प्रस्तुतिका कारण दर्शकको माया पाउन सफल भयो । प्याट्रिक र जसोनद्वारा रचित ‘अराउन्ड द वर्ड इन एट प्लेज’ नामको त्यो नाटकको मञ्चनले चेक रिपब्लिक, साउथ अफ्रिका, रसिया, जापान, ब्राजिल, अमेरिका, इन्डिया र आयरल्यान्डका लोक कथा तथा परी कथाहरूको बेग्लाबेग्लै स्वाद एउटै थलोमा पस्केको थियो । आठ देशका आठ प्रकारका नाटक लगभग दुई घन्टामा दर्शकले भिन्नाभिन्नै मञ्चमा घुम्दै र हेर्दै मनोरञ्जन लिएका थिए ।
कक्षा ६ देखि कक्षा १० सम्मका छात्राछात्राले अभिनय गरेको ‘अराउन्ड द वर्ल्ड इन एट प्लेज’ मा म पनि सहभागी हुन पाउँदा एकदम खुसी थिएँ । मेरो नाटक आठौं अर्थात् अन्तिम भएका कारण ‘द स्टोरी टेलर एट फल्ट’ का कलाकार हामी ‘चेन्जिङ रूम’ बाट बाहिर पौडी पोखरीमा मञ्चन हुँदै गरेको ‘द लस्ट बिड्स’ र त्यसभन्दा अगाडिको ‘द स्टोरी अफ द यारा’ चिहाउन सक्दथ्यौं । दर्शकको उत्सुकता र कलाकार साथीहरूको जोसले हामी आफ्नो पालो अधैर्य भएर पर्खन्थ्यौं ।
‘सिल्भर ओक’ को मूल ढोका प्रवेश गरेपछि साथीहरूले चेकोस्लोभाकियाको लोककथामा आधारित ‘ग्रान्ड फादरस् आइज’ नाटक सुन्दर ढंगले प्रस्तुत गरेका थिए । दोस्रो नाटक साउथ अफ्रिकी लोककथामा आधारित थियो । यो नाटक पोखरीमा पौडँदै अभिनय गरेको देख्दा दर्शकले पनि शीतलता अनुभव गर्न पाए । तेस्रो सबैभन्दा लामो नाटक थियो । रसियन परीकथामा आधारित यस नाटकमा प्रिन्स आइभान कसरी बोक्सीबाट बचे र सूर्यकी सानी बहिनीसँग बादलको दरबारमा ताराहरू झिकेर बल खेल्दै रमाएर कसरी बसे भन्ने कथा थियो । अर्को नाटक ब्राजिलको थियो । यो प्रेमकथामा आधारित थियो । खराब लतलाई माया, सहयोग र सद्भावले कसरी छुटाउन सक्छ भन्ने कथा यस नाटकले प्रस्तुत गरेको थियो । भारतको लोककथा र अमेरिकी रेड इन्डियनको लोककथाका दुई नाटकमा द्वन्द्व र संयोगात्मक सुखद अन्त्यले दर्शक पुलकित भएका थिए ।
अन्तिम नाटकमा म कथावाचककी श्रीमतीको भूमिकामा थिएँ । प्रत्येक दिन नयाँ–नयाँ कथा राजालाई सुनाउने जागिर पाएका मेरा श्रीमान्को दिमागमा एक दिन कथा नफुर्दाको अवस्थाबाट सुरु भएको यस नाटक आयरल्यान्डको लोककथामा आधारित थियो । पिन माइक कानमा सिउरिँदा नै मुटु ढुकढुक भइरहेको थियो । जब दर्शक आए र दृश्यहरूमा साथीहरूले अभिनय गर्न थाले तब सबै सहज भयो । सोचेजस्तै मैले अभिनय गरेँ र स्यावासी पाएँ । दुई दिनमा दस पटक मञ्चन भएको नाटक हाम्रा अभिभावकले मात्र होइन, काठमाडौंका प्रमुख विद्यालयका विद्यार्थी साथीहरूले पनि हेरेर हाम्रो हौसला बढाएका थिए ।
शुभश्री भट्ट, कक्षा–१०
संस्कृति इन्टरनेसनल स्कुल, काठमाडौं

प्रकाशित : कार्तिक २४, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?