देवी मिस

कान्तिपुर संवाददाता

शमी गाउँबाट फर्किएको पनि सात दिन भएछ  । उनी गाउँको घर छोडेर आउन मानेकै थिइनन्  ।

माइजूले फकाएर ल्याउनुभएको थियो । सहरमा आउनेबित्तिकै अचानक उनलाई ज्वरो आयो । उनी आँखा चिम्लिएर बर्बराउन थालिन्, ‘गाउँको घर जान्छु । मेरो मनेपाठी खोई ? हजुरआमाले भनेको कथा सुन्छु । ठूलीआमासित जाँतो घुमाउँछु । ढिकीमा धान कुटेको हेर्छु । मेरो मयूरसँग मात्र नाच्छु । यस्तो पाकेटको दूध पिउन्नँ । मलाई गाउँकै गाईको दूध चाहिन्छ ।’
डाक्टरको उपचारले उनलाई छँॅदै छोएन । उनी औषधि खानै मान्दिनथिन् । उसले खाना पनि केही खान मानिनन् । गाउँकै मीठामीठा खाना खोज्न थालिन् ।
शमीकी आमा उनी सानैछँदा बित्नुभएको थियो । बुबाले अर्को बिहे गर्नुभयो । उनलाई सौतेनी आमाले गाली गर्ने, पिट्न थालिन् । हजुरआमाले आफ्नो गोठमा लगेर आफूसँगै राख्नुभयो । ऊ हजुरआमासित रमाएर बस्न थालिन् । स्कुल जान थालिन्, राम्ररी पढ्न थालिन् । उनी राम्राराम्रा चित्र पनि बनाउँथिइन् ।
एक दिनको कुरा हो । हजुरआमा बिरामी पर्नुभयो । उपचार गर्दा पनि निको हुनुभएन । उहाँ अचानक बित्नुभयो । माइजूले उनलाई फकाएर सहरमा ल्याउनुभएको थियो । सम्झाएर आफ्नै कोठामा राख्नुभएको थियो । उनी सहरमा बस्नै मानिनन् । गाउँकै हरियाली शान्त वातावरण खोज्न थालिन् । गाउँकै साथीहरू जुनेली, चाँदनी, विमली, देविकालाई सम्झिन थालिन् ।
एक दिन शमीलाई भेट्न देवी मिस आउनुभयो । उहाँले सबै कुरा थाहा पाएझैं गरी भन्न थाल्नुभयो, ‘शमी १ कहिले आयौ गाउँबाट ? ओहो १ तिमी त मोटाइछौ पनि । स्याउजस्तै राताराता भएछन् गाला त १ गाउँबाट के–के ल्याएकी छौ ?’ शमी बिस्तारै उठिन् । हर्केदाइले बुनिदिएको झोला झिकिन् । देवी मिसले खुसी हुँदै भन्नुभयो, ‘आहा १ निगालोले बुनेको कति राम्रो झोला । गिद्रोको ह्याट त झनै राम्रो रहेछ । ओहो १ चोयाको र्‍याक पनि ल्याएकी १ कति राम्रो रहेछ । चित्र पनि कति राम्राराम्रा बनाएकी १ चित्रमा हेर्दा त मलाई पनि तिम्रो गाउँ निकै सुन्दर लाग्यो । मलाई पनि लैजाऊ है तिम्रो गाउँमा ।’
देवी मिसले भान्साबाट जाउलो बनाएर ल्याउनुभयो । अनि शमीलाई फकाउँदै खुवाउन थाल्नुभयो । औषधि पनि उहाँले नै खुवाउनुहुन्थ्यो । देवी मिस सधैं आउनुहुन्थ्यो । राम्राराम्रा कथा सुनाउनुहुन्थ्यो । मीठामीठा खानुकुरा खुवाउनुहुन्थ्यो । उहाँले धेरै माया गर्नुहुन्थ्यो । शमीले मनमनै भनिन्, ‘साँच्चै देवी मिस कति जाती हुनुहुन्छ । कति राम्रा कथा सुनाउनुहुन्छ तर मलाई उहाँका कथा सुन्नै मन लाग्दैन । हजुरआमाका कथाहरू मात्र सुनूँ सुनूँ लाग्छ ।
शमीलाई देवी मिसले धेरैपटक सम्झाउनुभयो । उनी विस्तारै निको हुँदै गइन् । शमीकी माइजू पनि धेरै खुसी हुनुभयो । उहाँले देवी मिसलाई मुरीमुरी धन्यवाद दिनुभयो । एक दिन शमी राम्ररी निको भइन् । फेरि विद्यालय जाने भइन् । उनका चित्रहरू पनि विद्यालयमा राखिने भए ।
शमी कक्षा तीनमा पढ्न थालिन् । कक्षामा नयाँ साथीहरू मात्र थिए । सबै कुरा उनलाई अनौठा र नौला थिए तर पनि ऊ राम्ररी पढ्न थालिन् । देवी मिसको पढाउने तरिका उनलाई राम्रो लाग्यो । उहाँले राम्ररी बुझाएर पढाउनुहुन्थ्यो । राम्राराम्रा चित्र बनाउन सिकाउनुहुन्थ्यो ।
शमी पुस्तकालयमा थिइन् । पुस्तकालयका भित्तामा उनका चित्रहरू राखिएका थिए । उनी देवी मिसले लेखेका कथाहरू पढ्दै थिइन् । उनलाई देवी मिसले सुनाउनुभएको हेलेन र झमकको झलझली याद आयो । उनीभित्र नयाँ ऊर्जा थपिँदै गयो । हजुरआमालाई भुल्ने प्रयास विस्तारै गर्दै थिइन् । उसले देवी मिसमा हजुरआमाको अनुहार झलझली देख्न थालिन् । ‘अब मेरा आमा, बुबा र हजुरआमा देवी मिस नै हो’ भन्ने ठानिन् । पहिले पढाइ सक्ने अनि आफ्नै गाउँमा फर्किने अठोट पनि गरिन् ।
एक दिनको शमी चित्र बनाउँदै थिइन् । माइजू खाना पकाउँदै हुनुहुन्थ्यो । उनले मनमनै भन्न थालिन्, ‘अब म माइजूले भनेजस्तो कलाकार बन्दिनँ । देवी मिसजस्तै राम्रो मिस बन्छु । मेरै गाउँमा बस्छु । मेरै गाउँको स्कुलमा पढाउँछु । गाउँका सबै मानिसमा चेतना जगाउँछु । देवी मिसले भनेजस्तै मेरो गाउँलाई झनै सुन्दर बनाउँछु । आहा १ अनि त स्वर्ग मेरै गाउँ भइहाल्छ नि १ देवी मिसले भनेजस्तो माथि आकाशमा खोज्न जानै पर्दैन ।’
माइजूले खाना खान बोलाउनुभयो । उनी फटाफट भान्सामा गइन् । चकटीमा पलेँटी कसेर माइजूसँगै बसिन् । ‘क्या मीठो खाना’ भन्दै कपाकप खान थालिन् ।

कमला रिसाल ‘ज्योति’

प्रकाशित : कार्तिक १७, २०७६ १२:०५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भागेरी

कान्तिपुर संवाददाता

पर्खिबस्छु तिमीलाई नै आऊ न भँगेरी छरिदिन्छु चारा मैले खाऊ न भँगेरी, चुँचुँ गर्ने स्वरै मीठो तिमी सानो साथी गर्दैर्नौ कुनै बिगार कति छौ है जाती  ।

नआउँदा आँगनीमा खल्लो लाग्दछ
तिमीलाई हेरी बस्दा भोक नै भाग्दछ,
चुँचुँ गर्दै मीठो गीत गाऊ न भँगेरी
तिम्रै माया लाग्छ मलाई आऊ न भँगेरी ।

चुच्चाभरि चारा टिपी भुर्र उड्छौ
थाहा पाएँ बचेराको माया गर्दछौ,
मलाई पनि माया गरी आऊ न भँगेरी
टपटप चारा टिपी खाऊ न भँगेरी ।

हेर्दाखेरि सानोसानो तर सबको प्यारो
सधैंभरि फूर्तिलो छौ हुँदैन कि गाह्रो ?
तिमीजस्तो जाँगरिलो बन्न पाए साथी,
पुगिन्छ रे भन्छन् सबै धेरै माथि–माथि ।

ललिता ‘दोषी’
बुद्धनगर काठमाडौं

प्रकाशित : कार्तिक १७, २०७६ १२:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT