छठ

कान्तिपुर संवाददाता

कात्तिकको शुक्लपक्षअनि षष्ठी तिथि,हेर्दाहेर्दै छठपूजाकोआइपुगेछ मिति  ।

व्रतालुले भरिएछन्
नदी, पोखरी अनि कुवा,
छठीमाईको पूजा गरी
खान्छन् भुसुवा र ठेकुवा ।

निराहार व्रत बसी
सूर्य पूजा गर्छन्,
पूजास्थल वरिपरि
अनेक शृंगारले भर्छन् ।

छठपूजामा उखु, मेवा
नरिवल र केरा चाहिन्छ,
विधिपूर्वक पूजा गरे
राम्रो आशिष नि पाइन्छ ।

रन्धीर साह, कक्षा–८
कान्जिरोवा नेसनल मावि, काठमाडौं

प्रकाशित : कार्तिक १७, २०७६ १२:०३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अञ्जलीको पाइलट सपना

घनश्याम खड्का

 संगत गुनाको फल भन्ने नेपाली उक्ति छ  । यसको अर्थ हो, जोसँग संगत गर्‍यो, आफू पनि त्यस्तै हुने प्रेरणा जागेर आउँछ  ।

सानीनानी अञ्जली शाहकै कुरा गरौं न । उनको घर दाङको तुलसीपुरमा छ । उनी कक्षा ७ मा पढ्दै छिन् । केही महिनाअघिसम्म उनलाई नृत्यमा ठूलो रुचि थियो र मोडल बन्ने इच्छा उनी राख्थिन् ।
अचेल भने अचानक उनको आनीबानी बदलिएको छ । उनी सपना देख्न थालेकी छन् पाइलट बन्ने । केही समयको अन्तरालमै उनको रुचिमा यस्तो फेरबदल कसरी हुनपुग्यो त ? कसरी भने, उनीले विमानचालकहरूको संगत गर्ने मौका पाइन् ।
जहाज चढ्नु त परको कुरा, त्यसलाई कहिल्यै नजिकबाट समेत नदेखेकी अञ्जलीको मनमा केही महिनाअघिसम्म यसलाई कुनै दिन उडाउने मान्छे बन्छु भन्ने कुनै विचार आएको थिएन । प्रहरीका जागिरे उनका बालाई भरथेग गर्न उनकी आमाले तुलसीपुर विमानस्थलभित्र केहीअघि चियापसल चलाउन थालिन् । आमालाई सघाउन अञ्जली पनि पसल जाने नै भइन् । त्यहाँ उनले जहाजहरू कहाँकहाँदेखि उड्दै आएको नजिकबाट देखिन् । र, मान्छेहरू बोकेर उडेको अनि क्षितिजमा बेपत्ता भएको पनि देखिन् । यति मात्रै होइन, यसरी जहाज उडाउने पाइलटहरूसँग मित्रता गाँस्ने मौका पाइन् । जहाज रोकेपछि पाइलटहरू सिधै अञ्जलीको पसलमा चियानास्ता गर्न आउँछन् । नयाँ कुरा जान्नबुझ्न मन गर्ने अञ्जलीले उनीहरूसँग जहाज कसरी उड्छ भन्ने जिज्ञासा राखिन् । अनौठो आकर्षणका साथ उनीहरूका कुरा सुनिन् । हवाइजहाजबारे सानी केटीको जिज्ञासा मेटाउन पाउँदा पाइलटहरू पनि खुसी भए । यसरी, छिट्टै नै अञ्जली विमानचालकहरूको मित्र हुन पुगिन् ।


‘हाम्रो पहिलाको घर सुर्खेत हो, एक जना पाइलट नानी पनि सुर्खेतकै हुनु हुँदो रहेछ,’ अञ्जलीकी आमा भन्छिन्, ‘उहाँसँग त अञ्जलीको झनै बढी दोस्ती छ ।’ पढाइले फुर्सद दिएका बेलामौका पर्दा अञ्जली पाइलटहरूलाई चियानास्ता बनाएर खुवाउँछिन् । पाइलटहरूचाहिँ जहाज उडाउँदाका रमाइला अनुभव उनलाई सुनाउँछन् । यो सब सुनिसकेपछि र पाइलटहरूसँग दिनहुँ भेटघाट गर्न पाएपछि अचेल अञ्जलीलाई आफू पनि पाइलट बनेरै छाड्छु भन्ने लाग्न थालेको छ ।
‘पाइलट हुनु भनेको साह्रै रमाइलो काम गर्न पाउनु हो,’ अञ्जली भन्छिन्, ‘पाइलट भएपछि आकाशमा चराझैं उडिरहन पाइन्छ, संसार देख्न पाइन्छ अनि मान्छेहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सबभन्दा छिटो पुर्‍याइदिन सकिन्छ ।’ उनलाई थाहा छ, पाइलट बन्न मिहिनेत गरेर पढ्नुपर्छ । त्यसैले अचेल उनी पढ्नमा पनि बढी ध्यान दिने भएकी छन् ।
सानो कुराले पनि अञ्जलीमा यतिका उत्साह आएको देखेर उनका शिक्षकहरू खुसी छन् । आमाबा पनि दङ्ग देखिन्छन् । ‘हेर्नुस् त, यति सानो कुराले पनि बच्चामा कस्तो प्रभाव पर्दो रहेछ,’ उनकी आमा भन्छिन्, ‘पाइलटहरूको संगतले छोरीले पनि पाइलटै बन्छु भन्ने अठोट लिएको देख्दा साह्रै खुसी लागिरहको छ ।’
वर्षौंसम्म बन्द भएर केही अघिदेखि चल्न थालेको तुलसीपुरको विमानस्थल निकै सानो र पुरानो छ । त्यहाँ नेपाल वायुसेवा निगमका दुई साना जहाज (ट्विनअटर) दिनहुँ अवतरण गर्छन् । अञ्जली जहाज उडेर गएको र उड्दै आएर बसेको धित मरुन्जेल हेरिबस्छिन् ।

प्रकाशित : कार्तिक १७, २०७६ १२:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT