अञ्जलीको पाइलट सपना

घनश्याम खड्का

 संगत गुनाको फल भन्ने नेपाली उक्ति छ  । यसको अर्थ हो, जोसँग संगत गर्‍यो, आफू पनि त्यस्तै हुने प्रेरणा जागेर आउँछ  ।

सानीनानी अञ्जली शाहकै कुरा गरौं न । उनको घर दाङको तुलसीपुरमा छ । उनी कक्षा ७ मा पढ्दै छिन् । केही महिनाअघिसम्म उनलाई नृत्यमा ठूलो रुचि थियो र मोडल बन्ने इच्छा उनी राख्थिन् ।
अचेल भने अचानक उनको आनीबानी बदलिएको छ । उनी सपना देख्न थालेकी छन् पाइलट बन्ने । केही समयको अन्तरालमै उनको रुचिमा यस्तो फेरबदल कसरी हुनपुग्यो त ? कसरी भने, उनीले विमानचालकहरूको संगत गर्ने मौका पाइन् ।
जहाज चढ्नु त परको कुरा, त्यसलाई कहिल्यै नजिकबाट समेत नदेखेकी अञ्जलीको मनमा केही महिनाअघिसम्म यसलाई कुनै दिन उडाउने मान्छे बन्छु भन्ने कुनै विचार आएको थिएन । प्रहरीका जागिरे उनका बालाई भरथेग गर्न उनकी आमाले तुलसीपुर विमानस्थलभित्र केहीअघि चियापसल चलाउन थालिन् । आमालाई सघाउन अञ्जली पनि पसल जाने नै भइन् । त्यहाँ उनले जहाजहरू कहाँकहाँदेखि उड्दै आएको नजिकबाट देखिन् । र, मान्छेहरू बोकेर उडेको अनि क्षितिजमा बेपत्ता भएको पनि देखिन् । यति मात्रै होइन, यसरी जहाज उडाउने पाइलटहरूसँग मित्रता गाँस्ने मौका पाइन् । जहाज रोकेपछि पाइलटहरू सिधै अञ्जलीको पसलमा चियानास्ता गर्न आउँछन् । नयाँ कुरा जान्नबुझ्न मन गर्ने अञ्जलीले उनीहरूसँग जहाज कसरी उड्छ भन्ने जिज्ञासा राखिन् । अनौठो आकर्षणका साथ उनीहरूका कुरा सुनिन् । हवाइजहाजबारे सानी केटीको जिज्ञासा मेटाउन पाउँदा पाइलटहरू पनि खुसी भए । यसरी, छिट्टै नै अञ्जली विमानचालकहरूको मित्र हुन पुगिन् ।


‘हाम्रो पहिलाको घर सुर्खेत हो, एक जना पाइलट नानी पनि सुर्खेतकै हुनु हुँदो रहेछ,’ अञ्जलीकी आमा भन्छिन्, ‘उहाँसँग त अञ्जलीको झनै बढी दोस्ती छ ।’ पढाइले फुर्सद दिएका बेलामौका पर्दा अञ्जली पाइलटहरूलाई चियानास्ता बनाएर खुवाउँछिन् । पाइलटहरूचाहिँ जहाज उडाउँदाका रमाइला अनुभव उनलाई सुनाउँछन् । यो सब सुनिसकेपछि र पाइलटहरूसँग दिनहुँ भेटघाट गर्न पाएपछि अचेल अञ्जलीलाई आफू पनि पाइलट बनेरै छाड्छु भन्ने लाग्न थालेको छ ।
‘पाइलट हुनु भनेको साह्रै रमाइलो काम गर्न पाउनु हो,’ अञ्जली भन्छिन्, ‘पाइलट भएपछि आकाशमा चराझैं उडिरहन पाइन्छ, संसार देख्न पाइन्छ अनि मान्छेहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सबभन्दा छिटो पुर्‍याइदिन सकिन्छ ।’ उनलाई थाहा छ, पाइलट बन्न मिहिनेत गरेर पढ्नुपर्छ । त्यसैले अचेल उनी पढ्नमा पनि बढी ध्यान दिने भएकी छन् ।
सानो कुराले पनि अञ्जलीमा यतिका उत्साह आएको देखेर उनका शिक्षकहरू खुसी छन् । आमाबा पनि दङ्ग देखिन्छन् । ‘हेर्नुस् त, यति सानो कुराले पनि बच्चामा कस्तो प्रभाव पर्दो रहेछ,’ उनकी आमा भन्छिन्, ‘पाइलटहरूको संगतले छोरीले पनि पाइलटै बन्छु भन्ने अठोट लिएको देख्दा साह्रै खुसी लागिरहको छ ।’
वर्षौंसम्म बन्द भएर केही अघिदेखि चल्न थालेको तुलसीपुरको विमानस्थल निकै सानो र पुरानो छ । त्यहाँ नेपाल वायुसेवा निगमका दुई साना जहाज (ट्विनअटर) दिनहुँ अवतरण गर्छन् । अञ्जली जहाज उडेर गएको र उड्दै आएर बसेको धित मरुन्जेल हेरिबस्छिन् ।

प्रकाशित : कार्तिक १७, २०७६ १२:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सताउला है जाडोले

अतुल मिश्र

 यो वर्षको जाडोयाम सुरु भएको छ  । यो मौसममा सचेत नरहे, सुरक्षाका उपाय नअपनाए विशेषगरी बुढापाका र बालबालिका बढी स्वास्थ्य समस्याको जोखिममा रहन्छन्  ।

जाडोबाट बच्न लवाइ–खुवाइ र आनीबानीमा विशेष चनाखो हुनु जरुरी छ । अभिभावक, शिक्षक र स्वयं बालबालिकाले जाडोबाट जोगिने उपायहरू अवलम्बन गर्नुपर्छ ।


जाडोले रुघाखोकी, निमोनिया, श्वास–प्रश्वासमालगायतका स्वास्थ्यसम्वन्धी समस्या बढाउँछ । चिसोले छालामा पनि समस्या ल्याउन सक्छ ।
बदलिँदो मौसमसँगै हाम्रो शरीरको आवश्यकतामा समेत विशेष ध्यान दिनुपर्छ । उचित सुरक्षाका उपाय नअपनाए जाडोमा छिट्टै बालबालिका बिरामी पर्ने र शारीरिक समस्या देखिने हुन्छ । विशेषज्ञहरूका अनुसार जाडोयाम स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिन्छ । केही सतर्कता र उचित लुगाफाटोको उपयोगले यो मौसममा समेत बालबालिकाले आफ्नो स्वास्थ्य सन्तुलित राख्न सक्छन् ।


पर्याप्त पानी पिऔँ


गर्मीयामको दाँजोमा जाडोयाममा बालबालिकाले उचित मात्रामा पानी नपिउने समस्याले अभिभावक हैरान हुन्छन् । यो अत्यन्त शुष्क मौसम हो । यसैले बालबालिकामा मात्र नभएर वयस्कहरूको शरीरमा समेत पानीको कमी हुनु हुँदैन । खानासँगै पोसिलो झोल पदार्थसमेत सेवन गर्नु फाइदाजनक हुन्छ ।
हाम्रो शरीरको तौलको करिब दुई तिहाइ भाग पानी हुन्छ । यसको माध्यमले पोषकतत्त्व पाइन्छ भने पानीले हाम्रो शरीरबाट फोहोर पदार्थ बाहिर निकाल्नसमेत सघाउँछ । यति मात्र नभई तापक्रम नियन्त्रणलगायत शरीरमा भएको जोर्नीहरूलाई मुलायम राख्न र शरीरमा हुने थुप्रै रासायनिक प्रतिक्रियाका लागि पनि पर्याप्त मात्रामा पानी आवश्यक छ ।
शरीरलाई पानी आवश्यक हुनासाथ हाम्रो मस्तिष्कले स्वचालित रूपमा थाहा पाउँछ । यसपछि तिर्खा लागेको संकेत दिन्छ र हामी पानी पिउँछौं । यसैले अलिकति मात्रै इच्छा भए पनि तुरुन्त पानी पिउनुपर्छ ।


उपयुक्त लुगाफाटो लगाऔं


जाडोयाममा हाम्रो पुर्खाहरूले बालबालिका मात्र नभई वयस्क र बूढापाकालाई समेत टाउको टोपीले छोप्ने सल्लाह दिन्छन् । यो अत्यन्त वैज्ञानिक सल्लाह हो । किनभने जाडो याममा शरीरको धेरैजसो न्यानोपना टाउकोकै माध्यमले बाहिर निस्किन्छ । अझ जाडोमा कानसमेत छोप्ने गरी टोपी वा लुगाफाटो लगाउनु उपयुक्त मानिन्छ ।
यो मौसममा एउटा बाक्लो लुगा लगाउनुको सट्टा दुई/तीनवटा लुगा लगाउँदा शरीर चिसोबाट बढी जोगिन्छ । ‘एउटा बाक्लो लुगाको सट्टा तीनवटा पातलो लुगा लगाउँदा शरीरलाई बढी न्यानो राख्न सकिन्छ,’ वरिष्ठ बालरोग विशेषज्ञ प्रा.डा.चन्देश्वर महासेठ भन्छन्, ‘बच्चालाई धेरै बढी ऊनीका लुगा लगाउनु राम्रो मानिँदैन । आवश्यकभन्दा बढी लुगा लगाए पसिना आएर उल्टै चिसो लाग्ने सम्भावनासमेत हुन्छ ।’ स्कुल जाने बालबालिकाले बिहान धेरै न्यून तापक्रममा बाहिर निस्कनुपर्दा उनीहरूलाई चिसोले बढी सताउने गर्छ । यसैले बिहान स्कुल जाँदा र बेलुका घरबाहिर खेल्न लाग्दा लुगाफाटामा विशेष ध्यान राख्नुपर्छ । मुलुकको उत्तरी भागमा हिउँसमेत पर्ने गरेकाले यो मौसममा हिउँ वा वर्षाबाट भिजेको लुगाफाटो वा जुत्तालाई तुरुन्त फुकाल्नुपर्छ ।
बालबालिकाका लागि १०० प्रतिशत प्राकृतिक हावा ओहोरदोहोर गर्ने रेसा (फाइबर) भएको कपासले बनेको लुगा उपयुक्त हुन्छ । ऊन र सिन्थेटिक तन्तुजस्तै एक्रेलिन, पोलिस्टरले छालामा जलन उत्पन्न गर्न सक्छ ।

नरम साबुन प्रयोग गरौं


धेरैजसो घरमा एउटै साबुन बूढापाकादेखि बालबालिकासम्मले प्रयोग गरिन्छ । जाडोमा बालबालिकाले लगाउने साबुन नरम खालको हुनुपर्छ । यस्तो साबुनमा रसायनको मात्रा बढी हँॅदैन ।
विज्ञहरूका अनुसार बालबालिकाले लगाउन मिल्ने कम रसायन हालिएका साबुन पनि पाइन्छन् । यो मौसममा साबुनको अत्यधिक नभएर समुचित मात्र प्रयोग गर्नु राम्रो हुन्छ । साबुनले बालबालिकाको छालालाई झन सुक्खा बनाउँछ ।
अमेरिकन एकेडेमी अफ डर्मेटोलजी (एएडी) का अनुसार जाडो याममा हुने सुक्खा हावा, कम तापक्रम, हिटर आदिले घर/कोठा तताउनुले पनि बालबालिको छालामा समस्या उत्पन्न गर्न सक्छ । छालाको एक प्रकारको समस्या ‘एक्जिमा’ समेत बढ्न सक्छ । यसैले हरेक पटक मनतातो पानीले नुहाएपछि छालामा तेल, मोइस्चराइजर आदि लगाउनुपर्छ ।


जीउमा तेल लगाऔं


बूढापाका, बयस्कको दाँजोमा बालबालिकाको छाला धेरै संवेदनशील हुन्छ । चिसोले बालबालिकाको छालामा नकारात्मक असर गर्छ । यसैले यो मौसममा बालबालिकाले आफ्नो छालामा मोइस्चराइजर वा नरिबललगायतका स्थानीय रूपमा उपलब्ध जीउमा लगाउन सकिने वनस्पतीबाट बनेको तेल लगाउनुपर्छ । परम्परागत रूपमा जाडोयाममा तेल लगाएर नुहाउने र नुहाएपछि समेत जीउमा तेल लगाउने चलन गाउँघरमा अझै छ । यो अत्यन्त वैज्ञानिक चलन हो । नुहाएपछि जीउमा तेल लगाउन बिर्सनुहुन्न ।

आगो ताप्दा कोठा बन्द नराखौं


झ्याल ढोका बन्द राखी जाडोमा आगो ताप्नाले बालबालिकासँगै उनीहरूका अभिभावकसहितको परिवार निस्सासिएर मृत्यु भएका थुप्रै घटना छन् । यसैले कोठामा रुम हिटर, मकल भए सबै झ्याल, ढोका लगाउनु हँॅदैन, हावा ओहोरदोहोर गर्ने राम्रो व्यवस्था हुनुपर्छ ।
‘कहिलेकाहीं यस्तो धुवाँले स्वस्थ बालबालिकाको समेत मृत्यु हुने गरेको छ,’ डा. महासेठ भन्छन्, ‘किरोसिन हिटर राम्रो होइन । ग्यास र बिजुलीको हिटर ठीक छ । तर कोठामा हावाको प्रवाह राम्रो हुनुपर्छ ।’
कोठामा निरन्तर हिटर चलाउनु भने हुँदैन । रुम हिटरलाई बीचबीचमा केही समयका लागि बन्द गर्दै रहनुपर्छ । रुम हिटर भएको ठाउँमा पानीले भरेको एउटा भाँडो राख्नु फाइदाजनक हुन्छ । यसले कोठामा अक्सिजन र आद्रताको स्तर सन्तुलित रहन्छ । घरभित्रको हावा सुक्खा लागे आजकाल बजारमा पाइने ‘ह्युमिडिफायर’ समेत उपयोग गर्न सकिन्छ ।
घरभित्र आगो ताप्दा बालबालिकाले यसको धेरै नजिकसमेत बस्नु हुँदैन । यसले छालामा समेत असर गर्न सक्छ ।


भाइरल संक्रमण र रुघाखोकीबाट बचौं


प्रा.डा. चन्देश्वर महासेठका अनुसार जाडोयाममा बालबालिकामा भाइरल संक्रमण र रुघाखोकीको समस्या सबैभन्दा बढी देखिन्छ । रुघाखोकी, ज्वरोको किटाणु एकबाट अर्कोमा सर्ने भए पनि रुघाखोकी लागेका बालबालिकाले घर बस्नभन्दा स्कुल नै जान रुचाउँछन् । यस्तो अवस्थामा आफूलाई छिटो निको हुन र अरूलाई समेत संक्रमण हुन नदिन थप सकर्तता अपनाउनुपर्छ । खोक्दा, हाच्छिउँ गर्दा मुखमा रुमाल राख्नुपर्छ । रुमाल नराखे मुखबाट निस्किने स–साना पानीका छिटासँगै किटाणु छेउछाउमा फैलिन्छ । त्यो किटाणु फैलिएको वातावरणमा सास लिने अन्य व्यक्तिसमेत रुघाखोकीबाट संक्रमित हुने सम्भावना बढ्छ । यसैले विशेषज्ञहरू रुघाखोकीको संक्रमण भएका बेला स्कुल नगई घरमै स्याहार गरेर स्वास्थ्य लाभ लिनु राम्रो मान्छन् ।
अमेरिकास्थित सेन्ट्रर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को रिपोर्टअनुसार रुघाखोकीकै कारण बर्सेनि विश्वका बालबालिकाको स्कुलका २ करोड २० लाख दिन खेर जाने गरेको छ । चिकित्सकीय तथ्यांकहरूअनुसार स्कुल जाने र प्राथमिक कक्षामा पढ्ने बालबालिका एक वर्षमा तीनदेखि १२ पटकसम्म रुघाखोकीबाट पीडित हुन्छन् ।
जाडोमा आद्रतामा कमी हुन्छ । रुघाखोकी फैलाउने भाइरस आद्रता कम हुने समयमा बढी बाँच्छ । जाडोमा नाकसमेत सुक्खा रहने भएकाले भाइरसजन्य संक्रमणको सम्भावना बढ्छ । सामान्य रुघाखोकी चार–पाँच दिनमा आफैं निको हुने भए पनि बालबालिकालाई उच्च खोकी, ज्वरोमा वृद्घि, सास फेर्न गाह्रो भए तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।
कहिलेकाहीं रुघाखोकी कुनै गम्भीर रोगको लक्षणसमेत हुन सक्छ । रुघाखोकी हँॅदा सान फेर्न गाह्रो हुनु वा छिटो–छिटो सास फेर्नु निमोनियाको लक्षण हुन सक्छ । निमोनिया फोक्सोको संक्रमण हो । यो प्राणघातक हुने भएकाले तुरुन्त स्वास्थ्य केन्द्रमा उपचार गराउनु आवश्यक पर्छ ।

प्रकाशित : कार्तिक १७, २०७६ ११:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT