ह्यान्डबलको आकर्षण

कान्तिपुर संवाददाता

पोखराका १२ वर्षमुनिका बालबालिकामा ह्यान्डबल खेलप्रतिको रुचि बढ्दै गएको छ  । ह्यान्डबलका लागि चाहिने पूर्वाधारसमेत निर्माण भइरहेका छन्  ।

ह्यान्डबलको आकर्षण

यहाँका झन्डै ७० स्कुलमा ह्यान्डबल खेल खेलाउने/सिकाउने भइरहेको दक्षिण एसियाली ह्यान्डबल महासंघका उपाध्यक्ष एवं नेपाल ह्यान्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए । ‘संघको उद्देश्यअनुसार स्कुलतहबाट ग्रास रुटमै ह्यान्डबल खेलाडी उत्पादन गर्ने र उनीहरूको वृत्ति विकासका लागि तालिम र प्रतियोगिता आयोजना गर्ने कार्यक्रमले सकारात्मक परिणाम देखाउन थालेको छ,’ उनले भने, ‘पोखरामा विद्यालयस्तरका २ सय टिम सहभागी रहने गरी महोत्सव आयोजना गर्ने तयारी भइरहेको छ ।’
प्रतियोगिताका कारण फरक–फरक विद्यालयमा अध्ययनरत बालबालिकाबीच भेट हुने गरेको छ । नयाँ–नयाँ साथीसँग खेल्न त पाइन्छ नै, अन्य स्कुलका विद्यार्थीको खेल्ने कला हेर्न पाउँदा
आफ्ना गल्ती कमजोरी सुधार्ने अवसरसमेत उनीहरूले पाउँछन् ।
ह्यान्डबल खेल्दै गरेको अवस्थामा भेटिएका बीएमजी स्कुलमा कक्षा ५ मा अध्ययनरत विनिसा गुरुङ र सिर्जना आवासीय माविमा कक्षा ५ का डेबिट क्षेत्रीले नयाँ–नयाँ साथीसँग भेटेर खेल्ने कला सिक्न पाएको बताए । जीबीएसमा अध्ययनरत प्रज्ज्वला पण्डितले ह्यान्डबल खेलले उत्साहित बनाएको बताइन् । खेलको नियम पालना गर्दै, अनुशासित बन्दै आफ्नो खेल कौशल देखाउन पाउँदा बालबालिका उत्साहित हुन्छन्् । ह्यान्डबल खेलप्रति बालबालिकाको रुचि बढ्नुका साथै उनीहरूमा मित्रताको भावनाको विकाससमेत हुन्छ । खेल्दा रमाइलो हुने, हौसला बढ्ने भएकाले नियमित पढाइका अलावा यस्ता अतिरिक्त क्रियाकलापले बालबालिकालाई फाइदा पुग्छ ।


बालबालिकामा मात्र नभएर विभिन्न तहगत प्रतियोगिता आयोजनाले नेपालमा ह्यान्डबल खेल लोकप्रिय भइरहेको छ । नेपालमा यो खेल भित्रिएको २०३८ सालदेखि हो । अहिले पोखरा, उदयपुर, सुर्खेत, कैलाली, काठमाडौंका साथै नेपाली सेना र प्रहरीमा यो खेलप्रति रुचि राख्नेको संख्या बढ्दै गएको देखिन्छ । ह्यान्डबल समूहमा खेल्ने खेल भएकाले यसले बालबालिकालाई एक–अर्कामा सहयोग गर्दै लक्ष्यमा पुग्न सिकाउँछ । ह्यान्डबल १९ औं शताब्दीमा जर्मनीबाट सुरु भएको खेल हो ।
राजाराम पौडेल

प्रकाशित : कार्तिक ३, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?