फरर चिनियाँ भाषा

गणेश राई

‘सी एए हाओ । ज्यान दाउ निन् जन गाउ सिङ् ।’
(सी हजुरबुवा नमस्ते । हजुरसँग भेट्न पाउँदा धेरै खुसी लाग्यो ।)
ओमन आई निन् ।
(हामी तपाईंलाई माया गर्छौं ।)
सेसे निन् लाय निबोआर ।
(धन्यवाद छ, नेपाल आउनुभएकोमा ।)

फरर चिनियाँ भाषा

मीठो बोली सुनेर चिनियाँ राष्ट्रपति सी चिनपिङ टक्क अडिए र बालबालिकातर्फ फर्किएर दायाँ हात हल्लाए । अनि चिनियाँ भाषामै भने, ‘तिमीहरूलाई भेटेर खुसी लाग्यो ।’
रातो कार्पेट ओछ्याइएको बाटोको बायाँतर्फ लहरै बालबालिका उभिएका थिए । नेपालको राष्ट्रिय पोसाक पहिरिएका उनीहरूले नेपाली र चिनियाँ राष्ट्रिय झन्डा फहराइरहेका थिए । नेपालको दुईदिने भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी फर्कंदा अघिल्लो आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा चिनियाँ भाषा बोल्न सक्ने ६९ जना बालबालिका पनि सहभागी थिए । अघिल्लो दिन पनि यी बालबालिकाले उसैगरी चिनियाँ भाषामा राष्ट्रपति सीलाई स्वागत गरेका थिए । त्यस क्रममा पनि निकै प्रफुल्लित देखिएका राष्ट्रपति सीले बालबालिकातर्फ हेरेर हाँस्दै हात हल्लाएका थिए ।
चिनियाँ राष्ट्रपतिको स्वागत र बिदाइमा काठमाडौं उपत्यकाका धेरै विद्यालयका हजारौं विद्यार्थी सहभागी भएका थिए । विमानस्थलदेखि सोल्टी होटलसम्म सडक दायाँ–बायाँ उभिएर झन्डा फहराएका थिए । नाचेका थिए, गाएका थिए । विमानस्थलको विशिष्ट कक्ष बाहिरचाहिँ चिनियाँ भाषा बोल्न सक्ने केही विद्यार्थीले नजिकबाट स्वागत र बिदाइ गर्ने मौका पाएका थिए, जो एलआरआई एजुकेसन फाउन्डेसनका विद्यार्थी थिए । पछिल्ला दिनमा एलआरआईलगायत विभिन्न विद्यालयले चिनियाँ भाषा पढाइरहेका छन् । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार नेपालका करिब ५० वटा निजी विद्यालयले चिनियाँ भाषा ऐच्छिक विषयका रूपमा पढाइरहेका छन् । चिनियाँ दूतावासमार्फत् ८६ जनालाई चिनियाँ भाषा पढाउन परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।


‘चीनका राष्ट्रपतिको स्वागत र बिदाइ समारोह सहभागी हुन पाउँदाको क्षण अविस्मरणीय रह्यो,’ एलआरआई कक्षा ५ का कृशभ पन्तले भने, ‘हामी साना बालबालिका भएर पनि त्यत्ति ठूलो देशको प्रमुख मान्छेलाई उहाँकै भाषामा तपार्इंलाई हामी सधैं सम्झिरहन्छौं भन्न पायौं ।’ उनीजस्तै कक्षा ६ की आश्ना भण्डारी, कक्षा ८ का कौस्तुभ पन्त, कक्षा ११ की रेनुका ढकालले पनि राष्ट्रपति सीलाई छेउमै पुगेर स्वागत र बिदाइ गर्ने अवसर पाएकामा खुसी लागेको बताए । एलआरआई एजुकेसन फाउन्डेसनका अध्यक्ष शिवराज पन्तका अनुसार शिक्षा मन्त्रालयले नै चिनियाँ भाषा सिकेका विद्यार्थी खटाउन अनुरोध गरेको थियो । ‘हामीले अवसर चुकाएनौं, ६९ विद्यार्थीलाई पठायौं,’ उनले भने ।
पछिल्ला दिनमा चिनियाँ भाषा सिक्न चाहने विद्यार्थी संख्या पनि बढ्दै गएको छ । एपेक्स लाइफ स्कुल कक्षा २ मा पढिरहेका स्तुत्य ढुंगेल, प्रियांशी पौड्याल, मिगिन राना मगर, जेचन तामाङलगायतले चिनियाँ भाषा सिक्न थालेको भर्खर पाँच महिना पुग्दै छ । तर उनीहरू सहजै भन्न सक्छन्– ‘निहाउ (नमस्कार) १ सेसे (धन्यवाद) १ बुकेकी (तपाईंलाई स्वागत छ) १’ छोटो अवधिमा नै यी कलिला बालबालिकाले यस्ता झन्डै सयवटा जति औपचारिक शब्द जानिसकेका छन् । चिनियाँ जनजीवन र संस्कृति परम्पराका भिडियो हेरेका छन् । चिनियाँले नयाँ वर्षमा नाच्ने ड्रागन नाच नाचेका छन् ।
कक्षाकोठामा पुग्दा चिनियाँ शिक्षिकाद्वय ली र मेई मेई भेटिए, जो बालबालिकालाई आलोपालो अभ्यास गराइरहेका थिए । उनीहरू दुई वर्षदेखि नेपालमा छन् । ‘दुई कक्षाका बालबालिका ६ वर्ष उमेरका हुन्छन्,’ लीले भनिन्, ‘दैनिक व्यवहारमा प्रयोग हुने शब्द सिक्छन् । चिनियाँ सभ्यतामा अभिवादन गर्न सिक्छन् । चिनियाँ संस्कृतिबारे पनि जानकारी लिइरहेका छन् ।’ यहाँ कक्षा २ देखि ७ कक्षासम्मका बालकालिकालाई चिनियाँ भाषा पढाइँदै आएको छ । सात कक्षाका बालबालिका फरर बोल्छन् । ‘मैले तीन वर्षदेखि चाइनिज भाषा पढ्दै आएकी छु,’ कक्षा ७ की कनिष्का खतिवडा भन्छिन्, ‘घरमा नेपाली, स्कुलमा इंग्लिस, चाइनिज र संस्कृत भाषा सिकिरहेका छौं । चाइनिज बोल्न सजिलो, लेख्न गाह्रो छ । सिक्नेको चासोमा भर पर्छ ।’


सात कक्षाकै जागृति पन्थीले चाइनिज सिकेको सातै वर्ष भयो । ‘सुरुमा त्यति चासो हुन्नथ्यो,’ उनी सम्झिन्छिन्, ‘म्यामले पपकर्न दिएर अभ्यास गराउनुहुन्थ्यो, अब त ठूला मान्छेसँग पनि बोल्न सक्छु । थोरै लेख्न पनि आउँछ । तर अक्षर लेख्नचाहिँ निक्कै गाह्रो छ ।’ कक्षा ६ की प्रशन्न्या राई सानैमा हजुरबुवा र आमासँग चीन घुम्न गएकाले भाषा सिक्न बढी चासो लिएको बताउँछिन् । ‘संसारकै भाषाहरूमध्ये चाइनिज बोल्ने सबैभन्दा धेरै छन् रे,’ उनले भनिन्, ‘त्यसैले यो भाषा महत्त्वपूर्ण लागेको छ ।’ प्रशन्न्याकै साथी दीपिका खड्काको उस्तै भनाइ छ । ‘चाइनिज धेरैले बोल्छन्, त्यसैले सिक्नुपर्छ भनेर बाबा र ममीले हौसला दिनुहुन्छ,’ उनले भनिन् । प्रिन्सिपल सुवास न्यौपानेका अनुसार एपेक्स स्कुलमा सातामा दुई पिरियड चिनियाँ भाषा सिकाइन्छ ।
कलंकीस्थित एलआरआई स्कुलमा सबैभन्दा व्यवस्थित रूपमा चिनियाँ भाषा सिकाइन्छ । ‘कम्फुसियस क्लास रूम’ समेत छ । नेपालबाट चिनियाँ भाषाका अनलाइन परीक्षासमेत यही ‘कम्फुसियस क्लास रूम’ मा लिइने एलआरआई एजुकेसन फाउन्डेसनका अध्यक्ष पन्तले बताए ।
एउटा कक्षा ७० मिनेटको हुन्छ । त्यसैले पढ्ने बालबालिकाले प्रशस्त सिक्न पाउँछन् । अभ्यास गर्न सक्छन् । कक्षा ३ देखि चाइनिज अक्षर लेख्न सिकाइन्छ । अल्फाबेटहरू चिनाइन्छ । नयाँ विद्यार्थीलाई बानी पार्ने कोसिस गरिन्छ । विगतका कक्षा दोहोर्‍याइन्छ । कसैलाई किताब दिइँदैन । ह्वाइटबोर्डमा लेखेर देखाउने काम हुन्छ । ‘ए–फोर साइज’ को पेपरमा वर्कसिट गराइन्छ । दुई महिनाअघि चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्दा मन्त्री वाङ र नेपाल सरकारबीच ‘स्वयंसेवक भाषा (चिनियाँ) शिक्षक’ उपलब्ध गराउने समझदारी भएको छ । अब सरकारी विद्यालयमा समेत ऐच्छिक विषयका रूपमा चिनियाँ भाषा पढाइ हुनेछ । भर्खरै राष्ट्रपति सीको राजकीय भ्रमणका बेला चीनको ‘कन्फ्युसियस हेडक्वार्टर’ को समन्वयमा त्रिभुवन विश्वविद्यालयमा ‘कन्फ्युसियस इन्स्टिच्युट’ स्थापना गर्ने सम्झौता भएको छ ।


चीनको नियमअनुसार स्नातक हासिल गरेका युवाले तीन वर्ष स्वयंसेवक भएर खटिनुपर्छ । त्यसो हुँदा कुनै पनि क्षेत्रमा सेवा प्रवेश गर्न सजिलो हुन्छ । नेपालमा चिनियाँ भाषा पढाउनका निम्ति त्यस्ता युवालाई खटाइँदै आएको छ ।
नेपालस्थित चिनियाँ राजदूतावास मातहत रहेर उनीहरू स्वयंसेवक शिक्षकका रूपमा खटिने गरेका छन् ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?