नाच्यो खरायो...

कान्तिपुर संवाददाता

गीत मन नपर्ने को होला ? पक्कै सबैलाई मन पर्छ  । बालबालिकाका लागि भनेर एपीसी नेपालले ‘हाम्रो आवाज’ गीति संग्रह ल्याएको छ  ।

नाच्यो खरायो...

एल्बमका १० गीतमध्ये केहीमा तिमीहरूजस्तै बालबालिकाले पनि गाएका छन् । मुकुन्द पथिकले लेखेका र जुगल डंगोलले संगीत भरेका गीतहरू सन्देशमूलक छन् । एपीसी नेपालले बालबालिकालाई सडकमा जान रोक्छ र गएकालाई उद्धार गर्छ । स्वास्थ्य, शिक्षा र गाँसबास व्यवस्था गरी स्याहार र संरक्षण गर्छ । कानुनी सहयोग गरी परिवारसँग मिलन गराउँछ । एल्बममा संस्थाबारे पनि गीत छ ।
यसमा ‘बालअधिकार..’ ,‘बोल्न पनि जान्दिनँ...’ , ‘सुन्नुहोस्..’, ‘नाच्यो खरायो..’, ‘बाजा..’, ‘केटाकेटी..’, ‘हाम्रो घरको छानामा..’ , ‘खुत्रुकेमा..’, ‘हामीलाई बाआमाको..’ बोलका गीत छन् ।
गीतमार्फत् बालअधिकार, बाल मनोविज्ञान, साना भाइबैनीलाई कसरी नैतिक ज्ञान सिकाउने भन्ने सन्देश दिन खोजिएको छ । संगीतकार डंगोलको बालबालिकाकै लागि भनेर तयार पारेको यो छैटौं एल्बम हो । एल्बमका १० गीतमध्ये ८ वटा सुन्न मात्र सकिने छ भने दुइवटा ‘एपीसी नेपाल’ र ‘बालअधिकार’ बोलका गीतको भिडियो हेर्न पाइने छ । ती गीतमा बालबालिकाले नै नृत्य गरेका छन् ।
‘साना भाइबैनीले बुझ्ने सरल शब्द गीतमा छन्,’ डंगोल भन्छन, ‘अप्ठयारा र नबुझिने शब्द छैनन्, भाइबैनीले सुनिरहेकै, देखिरहेकै र बोलिरहेकै कुरालाई शब्दमा उतारेर गीत बनाइएको छ ।’ साना कक्षामा पढ्नेले गीत सुनेपछि नाच्न सक्ने छन् । गीतको नक्कल गर्दै गाउन सक्ने छन् । आफूहरूको अधिकारबारे थाहा पाउने छन् ।

विमल खतिवडा

प्रकाशित : आश्विन २६, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?