लघु महाचिललाई ट्रान्समिटर

कान्तिपुर संवाददाता

 
लुम्बिनीमा केही दिनअघि सिकारी चरा मानिने लघु महाचिलको शरीरमा ट्रान्समिटर जोडिएको छ  । अंग्रेजीमा ‘इन्डियन स्पोटेड इगल’ भनिने लघु महाचिलको रहनसहन र बासस्थान अध्ययन गर्न सोलार ट्रान्समिटर राखिएको हो  ।

लघु महाचिललाई ट्रान्समिटर

यो प्रजातिको महाचिलको अहिलेसम्म अध्ययन भएको छैन । लुम्बिनी क्षेत्रको विश्व शान्ति स्तूप आसपास दुई महाचिललाई नियन्त्रणमा लिएर सिकारी चरामा विद्यावारिधि गरेका डा. तुल्सी सुवेदी र चराविद् सन्देश गुरुङले तिनको शरीरमा ट्रान्समिटर राखेका हुन् । यी चरा समातेपछि उनीहरूले सुरुमा खुट्टाको नाप लिए । औंला र नग्रांको लम्बाइ हेरे । मुखको ग्याप (चौडाइ) नापे । पखेटाको लम्बाइ–चौडाइ लिए । शरीरको शिरदेखि पुच्छरसम्मका सबै भागको जानकारी टिपे । पुच्छरको पखेटाको लम्बाइ नापे ।



जुम्रा, सुलसुले र प्यारासाइट भए/नभएको हेरे । अन्त्यमा तौल लिए । करिब आधा घन्टा यी दुई चराको शरीरका भागहरूको अध्ययनमा बिताए । त्यसपछि १५ मिनेट लगाएर सोलार ट्रान्समिटर जडान गरेका हुन् । छातीमा ‘विक लिंक’ राखेर हार्नेस फित्ताले स्याट्लाइट ट्रान्समिटर ढाडमा बाँधिएको चराविद् डा. सुवेदीले बताए । ‘यसरी राखेका छौं कि, महाचिललाई कुनै अप्ठ्यारो हुँदैन,’ उनले भने । सोलार शक्तिले चल्ने ट्रान्समिटरमा जडान गरिएको जीपीएस सिस्टमले चिलको गति, पुगेको स्थान र गतिविधिबारे जानकारी गराउने छ । ‘४० ग्राम तौलको ट्रान्समिटरको सहयोगले त्यसका गतिविधि सबै थाहा हुन्छ,’ उनले भने, ‘आनीबानी, रहनसहन र बासस्थनबारे विश्वको जुनसुकै ठाउँमा पुगे पनि जानकारी प्राप्त हुने छ ।’ मोबाइल टावरको सिग्नल देखिने ठाउँ संसारभरि जहाँ पुगे पनि काठमाडौंमा बसेर तिनको गतिविधि नियाल्न सकिने चराविद् गुरुङले बताए । लुम्बिनीमा ट्रान्समिटर जडान गरिएका महाचिलमध्ये एउटाको नाम बुद्ध र अर्कोको राहुल राखिएको छ । बुद्ध १४ सय ४० ग्राम र राहुल १४ सय १० ग्राम तौलका छन् । बुद्धस्थलमा समातिएकाले तिनको नाम बुद्ध र राहुल यस्तो राखिएको हो । यसैगरी, एउटा ओथारो बसेको महाचिललाई क्यामेरा ट्र्यापिङ गरिएको छ । ओथरो बेलाका सबै व्यवहार र गतिविधि थाहा पाउन त्यस्तो गरिएको हो । रूखमै गुडँनजिकै ट्र्यापिङ गरिएको हो ।

कस्ता छन् लघु महाचिल ?

- चिलका २२ प्रजाति छन् । नेपालमा महाचिल प्रजातिअन्तर्गत जीवाहार, गोमायु, राज, रणमत्त, सुपर्ण र लघु महाचिल गरी ६ प्रजाति छन् । जसमध्ये लघु महाचिल सबैभन्दा सानो हो ।
- वरिष्ठ चराविद् डा. हेमसागर बरालका अनुसार ६ प्रकारका महाचिलमध्ये लघु महाचिलको अहिलेसम्म अध्ययन भएको छैन । लघु महाचिल तराईको रैथाने चरा हो । ६ प्रकारका महाचिलमध्ये यसले मात्र तराईमा बच्चा कोरल्छ ।
- महाचिलमध्ये यो सबैभन्दा सुन्दर मानिन्छ । तौल १ देखि ५ किलोसम्म हुन्छ । शरीर मनमोहक र आकर्षक देखिन्छ । त्यसैले धेरैले मन पराउँछन् ।
- लघु महाचिल लोपोन्मुख संकटापन्न चराको सूचीमा छ । यो महाचिल भारत, पाकिस्तान, भियतनाम, बंगलादेश र नेपालमा मात्र पाइएको रेकर्ड छ ।


- आहारा विनाशका कारण लघु महाचिलको दिनानुदिन संकटमा पर्दै गएको हो । जमिन खण्डीकरण, वन विनाश र बढ्दो विषादी प्रयोगका कारण लघु महाचिलको बासस्थान नै हराउँदै गएको बताइन्छ ।
- लघु महाचिलको सिकारमा ७० प्रतिशत बढी मुसा पर्छन् । सुगा, भँगेरा, पानीचरा लगायत छन् । यी सबै जीवले खाद्यान्नबाली नोक्सान गर्ने/खाने भएकाले लघुमहाचिललाई किसानको साथी पनि भनिन्छ ।
- सन् २०१६ प्रकाशित तथ्यांकअनुसार नेपालमा लघु महाचिल ३० देखि ७० को संख्यामा छन् ।
- नेपालमा सबैभन्दा कम राज महाचिल छन् । त्यसको संख्या करिब १० मात्र रहेको अनुमान छ । रणमत्त महाचिल १० देखि ३५ र जीवाहार महाचिल २० देखि सय संख्यामा छन् । सुपर्ण महाचिल सय देखि दुई सय र गोमायु महाचिल १० हजारदेखि २० हजार वटा रहेको अनुमान छ ।

यसरी समातियो

चरा समात्नु राम्रो मानिँदैन । कुनै पनि चरा मार्न पाइँदैन । मारे दण्ड सजायको भागिदार बन्नुपर्छ । पक्रनुसमेत हुँदैन भन्ने मान्यता छ । तर अध्ययनका लागि भने पक्राउ गर्नैपर्छ । समात्न वाल च्याट्री (पासो) थापिएको थियो । पातला फलामले सानो घरजस्तो बनाइएको थियो । त्यसमा कुखुराका चल्ला लगेर राखिएको थियो । चल्लाको लोभमा चिल आउँथे । पासोमा पर्थे । पहिलो पटक ५/७ दिनसम्म पनि परेनन् । दोस्रो पटकमा भने परेका हुन् । धनुषाको धनुषाधाम सामुदायिक वन र कोसीको भागलपुर क्षेत्रमा पनि अध्ययन थालिएको थियो । तर त्यहाँ महाचिल पक्राउ नपर्दा अध्ययन अघि बढ्न सकेन ।

प्रकाशित : आश्विन २६, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?