१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

लामखुट्टे निषेधित क्षेत्र

कान्तिपुर संवाददाता

अँध्यारो भइसकेको थियो । मानिस सुत्न लागेका थिए । तर लामखुट्टे जागिरहेका थिए । प्रवेश होमवर्क गरिरहेको थियो । उसलाई लामखुट्टेले दुःख दिन थालेपछि दुई हातले लामखुट्टे मार्न थाल्यो ।

लामखुट्टे निषेधित क्षेत्र

उसले दुवै हात उचालेर प्याट्ट हिर्कायो । तर लामखुट्टे भाग्यो । फेरि हिर्कायो, लामखुट्टे भाग्यो । प्रवेश र लामखुट्टेबीच लुकामारी चल्यो । प्रवेशले एउटै लामखुट्टे मार्न सकेन । ‘आ, अब भोलि बिहान गर्छु ।’ यति भनी उसले कापी–किताब बन्द गर्‍यो । कलम राख्यो । अनि झुलभित्र छिर्‍यो र सुत्न थाल्यो ।


भोलिपल्ट बिहान उठेर प्रवेशले होमवर्क गर्‍यो । त्यसपछि खाना खाएर विद्यालय गयो । त्यो दिन विद्यालयमा उनीहरूलाई मिसले डेंगु संक्रमणबारे पढाउनुभयो । मिसले डेंगुको लक्षण, कारण, उपचार आदिबारे बताउनुभयो । मिसले डेंगुबाट जोगिने उपाय बताउँदै भन्नुभयो, ‘यसबाट बच्न घर वरपरको पानी जम्ने खाल्डो पुर्नुपर्छ । शरीर पूरै ढाक्ने लुगा लाउनुपर्छ । पानीको भाँडोमा अण्डा पार्ने भएकाले समय–समयमा सफा गर्नुपर्छ । टायर, गमला सफा गर्नुपर्छ । झाडी सफा गर्नुपर्छ ।’ ‘मिस, हाम्रो विद्यालयमा पनि खाल्डाखुल्डी छन् । टायर पनि छन् । नजिकै बाक्लो झाडी पनि छ । त्यसलाई पनि सफा गराौ न ’ प्रवेशले प्रस्ताव राख्यो ।


‘ओहो, तिमीले राम्रो कुरा गर्‍यौ । विद्यालय पनि हाम्रै घर हो । त्यसैले यसलाई पनि सफा राख्नुपर्छ । म प्रिन्सिपल सरलाई भनेर कुटो, हँसिया बन्दोबस्त गर्छु । फिनेल र मट्टितेल पनि मिलाउँछु । टिफिन खाएपछि विद्यालय सफा गर्नुपर्छ । सबै मञ्जुर ?’ ‘मञ्जुर मिस’ कक्षाका सबै विद्यार्थीले एकै स्वरमा जवाफ दिए । दिउँसोको टिफिन खाइसकेपछि सबै शिक्षकशिक्षिका र विद्यार्थी मिलेर विद्यालय सफा गर्न थाले । समूह समूहमा उनीहरूले कामको बाँडफाँड गरे । कसैले झाडी फाँडे । कसैले खाल्डाखुल्डीमा ढुंगा–माटो पुरे । कसैले पानीको भाँडा सफा गरे । कसैले पुराना गमला र टायर सफा गरे । कसैले फिनेल र मट्टितेल छर्के । सबै जना मिलेर सफाइ गरेकाले चाँडै काम सकियो । अन्तमा प्रिन्सिपल सरले सबैलाई धन्यवाद दिँदै भन्नुभयो, ‘आज हामीले विद्यालय सफा गरेका छौं । त्यसका लागि सबैलाई धन्यवाद छ । अब सबैले आ–आनो घरवरपर पनि सफा गर्नुहोला । यति गर्न सक्यौं भने डेंगुबाट बच्न सकिन्छ ।’ प्रिन्सिपल सरको मन्तव्य सकिएपछि सबै घर फर्के । फर्केर प्रवेशले आनो घरवरपर पनि सफा गर्न थाल्यो । उसले सफा गरेको देखेर बाबाले सोध्नुभयो, ‘बाबु, किन सफा गर्न थालेको नि ?’ ‘डेंगुबाट बच्न । लामखुट्टेलाई फोहोर मनपर्छ । त्यसैले सफा गरेर लामखुट्टेलाई यहाँ आउनबाट रोक्कन लागेको बुबा । फेरि आजकाल डेंगु फैलिरहेको छ । समयमै सचेत भयौं भने बच्न सकिन्छ नि,’ प्रवेशले जवाफ दियो ।


‘ओहो, तिमीले सार्‍है राम्रो काम गर्‍यौ, म पनि तिमीलाई सहयोग गर्छु,’ बुबाले पनि सफा गर्न थाल्नुभयो । एकछिनपछि आमा पनि आइपुग्नुभयो । उहाँले पनि सफाइमा सहयोग गर्नुभयो । परिवारै मिले झाडी फाँडे, खाल्डो पुरे, पानी राखेको भाँडो सफा गरे । सफाइको काम सकिन लागेको थियो । एउटा लामखुट्टे प्रवेशको कानमा कराउन थाल्यो । प्रवेश त्यसको पछि लाग्यो । अनि दुवै हात उठाएर लामखुट्टेलाई प्याट्ट हिर्कायो । तर लामखुट्टे भाग्यो । उसले फेरि हान्यो । अब भने दुई हत्केलाको बीचमा परी लामखुट्टे मर्‍यो । यो देखेर प्रवेश खुसी भयो र भन्यो, ‘अब यो ठाउँ लामखुट्टे निषेधित क्षेत्र हो भनेर टाँस्नुपर्छ ।’
उसको कुरा सुनेर बुबाले हाँस्दै भन्नुभयो, ‘अनि लामखुट्टेले पनि पढ्न जानेको हुन्छ र ?’

सबैजना गललल हाँसे ।
श्यामकृष्ण खुलिमुली

प्रकाशित : आश्विन १२, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?