२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सिसाकलम

एक दिन कक्षामा सरले अनौठो प्रस्ताव राख्नुभयो  । उहाँले भन्नुभयो, ‘आज हामी नयाँ प्रयोग गरौँ है त ?’‘हुन्छ सर १,’ हामी सबैले एक स्वरमा भन्यौँ  ।

सिसाकलम

हाम्रो स्वरले कक्षा नै गुन्जायमान भयो ।
‘ल ल बस बस..’ हामी उभिरहेको देखेर उहाँले भन्नुभयो । हामी सबै बस्यौँ ।
हामी बस्नासाथ उहाँले झोलाबाट एक मुठा सिसाकलम निकाल्नुभयो । ती फरकफरक रङका थिए । तिनलाई टेबुलमा राख्नुभयो । हामीतिर हेरेर मुसुक्क मुस्कुराउनुभयो । उहाँको मुस्कान रहस्यमय थियो ।
उहाँ यस्तै हुनुहुन्छ । कहिलेकाहीँ कक्षामा अनौठो अनौठो कुरा गरेर कहिल्यै नबिर्सिने गरी पढाउनुहुन्छ । कहिले के अनौठो पढाउनुहुने हो, पत्तो हुँदैन । यसैले उहाँले पढाउनुहुने कक्षा सकेसम्म हामी कसैले छाड्दैनौँ । कसैगरी छुटिहाल्यो भने पनि साथीहरूको मुखबाट सुन्न छुटाउँदैनौँ । साथीहरूले मुख मिठ्याइमिठ्याई वर्णन गरेको सुन्दा बित्थामा छाडिएछजस्तो हुन्छ । थक्कथक्क लाग्छ ।
सिसाकलमको प्याकेट फुकाएर सबैलाई एउटा एउटा दिन थाल्नुभयो । हामीले लियौँ । के भन्नुहुने हो भनी पर्खिन थाल्यौँ । सबैलाई सिसाकलम दिइसकेर उहाँ आफ्नै ठाउँमा फर्किनुभयो । हामीतिर हेरेर सोध्नुभयो, ‘सबैले पायौ होइन त ?’
‘पायौँ सर..’ हामी सबैले भन्यौँ ।
‘ल अब सबैले कसैले नदेख्ने गरी सिसाकलम भाँचेर ल्याओ,’ सरले एक्कासि भन्नुभयो ।
‘हुन्छ सर’ भनेर हामी सबै हूल बाँधेर गुरुरु बाहिर निस्कियौँ । बाहिर निस्किँदा ठेलमठेलजस्तै भयो । हामी भने को पहिला हुने भन्ने होडबाजीमा थियौँ । बाहिर निस्केर कोही कता, कोही कता लाग्यौँ । सबैजना छेउकुना खोज्नतिर लाग्यौँ । यताउता पल्याकपुलुक हेरेर कोही नदेखिएपछि टुक्रुक्क बस्यौँ । त्यति गर्दा पनि कसैले देख्छ कि भनी झुकेर काखमा खोकिला बनायौँ । त्यहीँ राखेर पिटिक्क भाँच्यौँ ।
भाँच्नु के थियो, हामीमा युद्ध जितेकोजस्तो खुसियाली छायो । त्यसपछि को पहिला कक्षाकोठामा पुग्ने भन्ने प्रतियोगिताजस्तै चल्यो । कक्षाकोठामा पसेर आ–आफ्ना ठाउँमा बस्यौँ ।
‘सबैले कसैले नदेख्ने गरी सिसाकलम भाँच्यौँ होइन त ?’
‘भाँच्यौँ सर,’ हामी सबैले एक स्वरमा भन्यौँ ।
‘सबैजना आयौ होइन त ?’ उहाँले सोध्नुभयो ।
‘आयौँ सर,’ हामीमध्ये कोही आएका छैनौँ कि भनी सबैले आआफ्ना छेउमा हेर्‍यौँ ।
‘राहुल आएको रहेनछ सर १’ रोशनले उठेर भन्यो ।
‘ए १ त्यसो भए उसलाई एकछिन पर्खौं है त ?’
‘हुन्छ सर,’ हामी सबैले भन्यौँ ।
राहुल आएन । निकै बेर आएन । आउँदै आएन । त्यसपछि उहाँले हामीलाई खोज्न पठाउनुभयो । खोज्न थाल्यौँ । ऊ भेटिएन । हामी टाढा–टाढा खोज्न थाल्यौँ । त्यसपछि भेट्यौं । ऊ हातमा सिसाकलम लिएर यताउता कुद्दै रहेछ । उसलाई तान्दै कक्षाकोठामा ल्यायौँ । ऊ डराइरहेको थियो । हामी भने उसलाई खोजेर ल्याउन सकेकोमा गर्व गरिरहेका थियौँ । उसको हातमा नभाँचिएको सिसाकलम देखेर हाम्रो गर्व झन् बढिरहेको थियो । ऊ अपराधीझैँ गुरुको अगाडि उभियो । हामी सबैजना
आ–आफ्ना ठाउँमा बस्यौँ ।
‘तिमीले सिसाकलम भाँच्न सकेनौ ?’ सरले राहुलतिर
हेरेर सोध्नुभयो ।
‘सकिनँ सर,’ उसले मसिनो स्वरमा भन्यो । हामी
गलल्ल हाँस्यौँ ।
‘किन ?’ सर ले सोध्नुभयो ।
‘किनभने तपाईंले कसैले नदेख्ने गरी सिसाकलम भाँच्न भन्नुभएको थियो, त्यसैले...’ उसले डराएको स्वरमा भन्यो ।
‘अनि कसैले नदेख्ने ठाउँ भेटेनौँ त ?’ सरले फेरि सोध्नुभयो ।
‘भेटिनँ सर,’ उसले अलिकता साहसका साथ भन्यो ।
‘सबैले भेटे, तिमीले चाहिँ कसरी भेटेनौ त ?’
‘कसरी भने, म जहाँ जहाँ गएर कसैले देख्दैन भनी ठान्थेँ, त्यहाँ त्यहाँ कसै न कसैले केही न केहीले हेरिरहकै हुन्थे । कहीँ जनावर, कहीँ वृक्ष, कहीँ चराचुरुंगी, कहीँ झारपात, कहीँ दुबोले हेरिरहेका थिए । तिनले देख्दैनन् भन्न सकिन्न’ यसपटक राहुलले अलि लामै बोल्यो ।
‘किन ?’ सरले फेरि सोध्नुभयो ।
‘किनभने ती सबै सजीव थिए सर,’ उसले आँटका साथ भन्यो ।
‘स्याबास् १ ’ यति भनिसकेर उहाँले हामीतिर फर्केर सोध्नुभयो, ‘अब कुरो बुझ्यौ त तिमीहरूले ?’
‘बुझ्याँ सर,’ हामी सबैले एक स्वरमा भन्यौँ ।
धीरकुमार श्रेष्ठ

प्रकाशित : आश्विन ५, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?