कवाडीका सामानले ड्रोन र साइकल

मानिस प्रायः आफूलाई काम नलाग्ने/थोत्रा सामान फाल्छन्/बेचेर पठाउँछन्, जसलाई कवाडी सामग्री भनिन्छ  । यही कवाडी सामान बटुलेर वैज्ञानिक चेत भएका प्रतिभा निश्चल पौडलले ड्रोन बनाएका छन्  ।

कवाडीका सामानले ड्रोन र साइकल

सर्लाहीको जुटपानीस्थित नवजीवन मावि कक्षा १० का विद्यार्थी निश्चलले ड्रोन मात्र बनाएका छैनन् । ‘मैले अहिलेसम्म कवाडीमा फालिएका सामान बटुलेर पाँच वटा ड्रोन, ब्याट्रीबाट चल्ने साइकल र मौसमको अवस्था जानकारी दिने उपकरणहरू बनाएको छु,’ उनले भने, ‘जिज्ञासाले नै मलाई थप सिक्ने प्रेरणा मिलेको छ । युट्युब हेरेर, वैज्ञानिक सम्मेलनमा भाग लिएर र अग्रज वैज्ञानिकसँग भेटेर कुराकानी गरी उहाँहरूबाट प्रेरणा लिएर आफ्नो क्षमता बढाइरहेको छु ।’ क्रिएटिभ निश्चल नामको आफ्नै युट्युब च्यानल पनि उनले चलाइरहेका छन् ।


गाउँमै रहेको कवाडी पसलबाट विभिन्न पाटपुर्जा जम्मा पारेर आफूले बनाएको ब्याट्रीबाट चल्ने साइकल चढेर उनी ५ किमि टाढा रहेको स्कुलमा पढ्न जान्छन् । उनै निश्चललाई कार्तिकेय ट्रस्टले प्रदान गरेको कार्तिकेय बालप्रतिभा पुरस्कार गएको आइतबार काठमाडौंमा भएको एक समारोहमा शताब्दी पुरुष सत्यमोहन जोशीले वितरण गरे । कार्यक्रममा अन्य बालप्रतिभाहरू प्रोसेस पाण्डे (गायन), विजयसिंह वाइबा (चित्रकला), पुष्पा लोहनी (लेखन) र बालसाहित्य लेखकहरू विजय चालिसे, प्रमोद प्रधान, रेवती राजभण्डारी र कविता पराजुलीलाई पनि पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा अग्रज र अतिथिहरूबाट स्याबासी पाएका निश्चलले दुई दिन काठमाडौं बसाइका क्रममा ब्राइट फ्युचर उच्च मावि नैकाप, क्यामेलिया स्कुल कालिमाटी, बाल व्यवसायी मावि र सिफल बालमन्दिरका विद्यार्थीमाझ ड्रोन उडाएर देखाउनुका साथै अन्तरक्रियासमेत गरे ।

प्रकाशित : भाद्र २९, २०७६ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?