रंगमञ्चमा विद्यार्थी

माधव घिमिरे

 अघिल्लो शुक्रबार भदौ २० देखि धेरै विद्यालयका विद्यार्थी एकै मञ्चमा जम्मा भएर थुप्रै नाटक देखाइरहेका छन्  ।

विद्यार्थी उमेरमै रंगमञ्चप्रति रुचि जगाएर उनीहरूमा भएको प्रतिभालाई मौका दिन आरोहण गुरुकुलले १० दिने ‘विद्यालय नाटक महोत्सव’ गरेको हो । गुरुकुलको विराटनगरस्थित सुशीला कोइराला नाटकघरमा प्रस्तुत भइरहेका विभिन्न नाटकमा गरी सयभन्दा बढी विद्यार्थी कलाकारका रुपमा सहभागी छन् । केही नाटक विद्यार्थी आफैंले छलफल गरी विषयवस्तु छानेर तयार पारेका छन् । उनीहरूलाई शिक्षक र गुरुकुलका कलाकारले सघाएका छन् । त्यहाँ के कस्ता सन्देशमूलक नाटक देखाइए ? कुन नाटकमा को विद्यार्थी साथीहरू कलाकार छन् ? आऊ, यो पल्ट सुशीला कोइराला नाटकघर पुगौं :

समाजका कुरीतिविरुद्ध सचेतना, सकारात्मक सोचाइ राख्न प्रेरणा अनि अनुशासन र परिश्रमजस्ता पक्ष समेटेर रचिएका सन्देशमूलक कथालाई विद्यार्थीले रंगमञ्चमा प्रस्तुत गरिरहेका छन् । भदौ २० देखि सुरु आरोहण गुरुकुलको विराटनगरस्थित सुशीला कोइराला नाटकघरमा विद्यार्थीले तयार पारेका विभिन्न शीर्षकका नाटकहरू आजसम्म मञ्चन हुने छन् । महोत्सवको पहिलो प्रस्तुतिका रूपमा धीरज राईको लेखन तथा विकास पराजुली र राजेश ठाकुरको निर्देशनमा तयार पारिएको नाटक ‘म–नैतिक’ मञ्चन गरिएको थियो । भरत कार्की, दीपा पोखरेल, विजया नेपाल, राजेश ठाकुरलगायतले अभियन गरेको यो नाटकले नैतिकवान् हुन सिकाएको छ । लेखक राईले विद्यार्थीलाई नैतिक मूल्यमान्यता र समाजको वास्तविक चरित्रबीचको भिन्नतालाई नाटकमा प्रस्तुत गरिएको बताए । नाटकमा सहभागी विद्यार्थीले रंगमञ्चमा अभियन गर्दै सन्देश दिँदा कौतुहलसँगै रमाइलो लागेको बताए । महोत्सवमा विभिन्न ९ विद्यालयको सहभागिता छ । महोत्सव अवधिभर कलाकारका रूपमा सयभन्दा बढी विद्यार्थी सहभागी छन् । छात्राको संख्या उल्लेख्य रूपमा छ । प्रदर्शनका बेला आधाभन्दा बढी दर्शक पनि विद्यार्थी नै हुने गरेका छन् ।


महोत्सवमा सत्यनारायण स्कुलले अँध्यारो बाटो नामको नाटक प्रस्तुत गरेको छ । यसमा एउटा परिवारको छोरी आर्थिक समस्याबाट मुक्ति पाउन बेचिन पुगेको कथा छ । उनैको जीवनमा आधारित कथालाई अभिषा खड्का, मौनता कार्की, मल्लिका पराजुली, मानव बराल, एलिशा सुवेदीलगायत कलाकारले मार्मिक ढंगमा प्रस्तुत गरेका छन् । नाटकमा अभिनय गर्ने अभिषा र मौनताले आर्थिक समस्यामा परेको परिवारका छोरीले कस्तो समस्या भोग्नुपर्छ भन्ने देखाएर समाजमा त्यस्ता व्यक्तिलाई उपेक्षा गर्न नहुने सन्देश दिइएको बताए । ‘नाटकबाट राम्रा कुराहरू भन्न पाउनु धेरै रमाइलो हुने रहेछ,’ उनीहरूले भने । महोत्सवमा प्रदर्शित नाटकमा मौलिक नेपाली संस्कृति, सामाजिक पक्ष, नैतिक सन्देशमूलक कथाका साथै विभिन्न सामाजिक विकृतिमाथि व्यंग्य गरिने विषयवस्तुसमेत समेटिएका छन् । अधिकांश नाटकमा सकारात्मक सोचाइ लिन प्रेरित गर्ने खालका सन्देश छन् ।


विद्यार्थी बेलैदेखि रंगमञ्चमा रुचि जगाएर उनीहरूमा भएको प्रतिभालाई अवसर दिन आरोहणले १० दिने विद्यालय नाटक महोत्सव सञ्चालन गरेको अध्यक्ष भैरव क्षेत्रीले बताए । नाटकप्रति आकर्षित गर्न विद्यार्थीलाई मञ्चनको अवसर दिएको उल्लेख गर्दै उनले सहभागी विद्यार्थीमध्येबाटै भविष्यमा नयाँ प्रतिभावान् रंगकर्मी जन्मने विश्वास व्यक्त गरे । विद्यार्थी आफैंले छलफल गरी विषयवस्तु छानेर नाटक तयार पारेका थिए । उनीहरूलाई शिक्षकहरूले सघाएका छन् । आरोहणका कलाकारले पनि नाटक प्रस्तुतिका सन्दर्भमा नाटक तयारीकै क्रममा विभिन्न पक्षबारे जानकारी गराएका थिए । ‘महोत्सवमार्फत् हामीले विद्यालयतहमै नाटकको संस्कार विकास गर्न खोजेका हौं,’ आरोहण अध्यक्ष क्षेत्रीले भने, ‘यसले विद्यार्थीलाई सिर्जनात्मक बन्न प्रेरित गर्ने छ ।’


विराटनगर महानगरपालिकाभित्रका ८ र रंगेली नगरपालिकाको १ विद्यालयले नाटक मञ्चन गरेका थिए । अन्नपूर्ण एकेडेमीले ‘मिहिनेत र परिश्रमको फल,’ पारागन एकेडेमी माविले ‘दसैं’ र सेन्ट जोसेफ स्कुलले ‘लक्ष्मीपूजा’ नाटक प्रदर्शन गरे । यसैगरी सप्तकोसी बोर्डिङ स्कुलले ‘छाउपडी’, बूढानीलकण्ठ स्कुलले ‘नासो’, लिलिपुटले ‘प्रधानमन्त्री’, श्रीश्री रविशंकर विद्या मन्दिरले ‘चण्डालिका एक अनन्त प्रेम कहानी’ र रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिक स्कुलले ‘परिवेश’ नाटक प्रदर्शन गरे । महोत्सवले विद्यार्थीमा रंगमञ्चप्रति उत्सुकता बढाएको शिक्षकले बताए । अब विद्यालयमा पनि अतिरिक्त क्रियाकलापमा नाटकलाई प्राथमिकतामा राखेर अभ्यास गरिने महोत्सवमा सहभागी विद्यालयका शिक्षकले बताएका छन् ।

प्रकाशित : भाद्र २९, २०७६ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्

झगडाको ओखती

कान्तिपुर संवाददाता

झगडा पर्‍यो भने मुखमा पानी राख्नु रे  । ’ पहिले नै नितिनले हजुरआमाको मुखबाट यो कथा सुनेको हो  ।

तर उसले आफ्ना बाबाआमाले मुखमा पानी राखेको कहिल्यै देखेको छैन । मुखमा पानी नराख्दै उहाँहरू दुवै जना प्रायः चुपचाप हुनुहुन्छ । त्यही भएर पानी नचाहिएको होला ।


बाबाआमा हाँसीखुसी गफ गर्नुहोस् । दुवै जना आफूसँगै खेल्नुहोस् । अनि सँगसँगै घुमाउन लैजानुहोस् । यस्तो इच्छा कति हुन्छ नितिनलाई । तर अहँ कहिले त्यस्तो भएन । घुमाउनको त कुरै छोडौं । उहाँहरू एकअर्का साग राम्ररी बोल्दा नि बोल्नुहुन्न ।


बाबा अफिसबाट आउनुहुन्छ । चुपचाप, निराश । आमाले खाजा बनाएर राख्देको चुपचाप खानुहुन्छ । दुवै जना एकअर्कासँग राम्ररी बोल्नुहुन्न । केही भन्नु छ भने नितिनकै सहारा लिनुहुन्छ । बाबा भन्नुहुन्छ, ‘बाबु त्यहाँ झोलामा फलफूल छ । आमालाई झिकेर राख्नू भन ।’ अनि आमा भन्नुहुन्छ, ‘नितिन टेबुलमा खाजा राख्देको छु, बाबालाई भन है ।’ जब कि दुवै जना सँगै कुराहरू सुनिरहनुभएको हुन्छ । नितिनलाई बाबाआमाको यस्तो चालाले साह्रै दिक्क लाग्यो । बाबाआमा दुवैबाट माया पाए पनि यो छुट्टाछुट्टै मायाबाट ऊ खुसी हुन सकेको छैन । ‘आमा भोलि त स्कुलमा प्यारेन्ट्स मिटिङ छ । हजुरहरू दुवैजना स्कुल जानुपर्छ है १’ नितिनले अनुरोध गर्‍यो । ‘खोई म त जाउँला बाबा के गर्नुहुन्छ ?’ आमाले भन्नुभयो । आमाको यस्तो कुराले नितिनलाई साह्रै खिन्न बनायो । ‘प्लिज आमा बाबालाई हजुरले भन्नुस् न ।’


नभन्दै भोलिपल्ट आमा एक्लै स्कुल पुग्नुभयो । ‘सधैं यस्तै त हो । नितिनलाई साह्रै नरमाइलो लाग्यो । उसले मनमनै सोच्यो– ‘सबै साथीहरू जहिल्यै बाबाआमा सँगै आउँछन् । आफ्नो भने कहिले बाबा मात्र, कहिले आमा मात्र ।’ स्कुलको त्यो कार्यक्रममा उसले डान्स गर्नुपर्ने थियो । के नाच्यो, कस्तो नाच्यो, ऊ आफैंलाई केही थाहा पाएन । पछिल्ला दिनमा स्कुलबाट दिनदिनैजस्तो फोन आउन थाल्यो– ‘नितिन टोलाएर बस्छ ...। पढाइमा पनि पहिलेजस्तो ध्यान दिँदैन...। होमवर्क पनि राम्रो सँग गरेको हुँदैन.. । केही सोध्यो वा सम्झायो भने रुन थाल्छ ...।’
घरमा उसले गर्ने व्यवहार पनि पहिलेजस्तो छैन । फरक व्यवहारले बुबाआमा दिक्क हुनुभयो । तर किन यस्तो भयो भन्नेचाहिँ उहाँहरूले कहिल्यै बुझ्न सक्नुभएन ।


एक दिन नितिनले सारै जिद्दी गर्‍यो– बाबा नआई खाना नखाने । बारम्बार यही कुरा गरेर चुपचाप बसिरह्यो । बाबा आउन जहिल्यै रातिको १०/११ बज्थ्यो । आमाले सम्झाउनुभयो, ‘बाबा आउन ढिला हुन्छ खाऊ ।’ तर उसले मान्दै मानेन । दस बजेतिर बाबा आउनुभयो । तीनै जनासँगै बसेर खाना खाए । नितिनलाई आज धेरै खुसी लाग्यो । आज बाबाआमाले पनि कुरा गर्दै खाना खानुभयो । केही दिनदेखिको अँध्यारो नितिनको अनुहार उज्यालो देखियो । राति बेडमा पल्टेपछि नितिनको दिमागमा एउटा जुक्ति फुर्‍यो– ‘बाबाआमाको मौन झगडाको ओखती हुन सक्छु म ।’ यो सम्झेर ऊ मुसुक्क हाँस्यो अनि घुप्लुक्क निदायो । ‘बाबा’ नितिन जुरुक्क उठेर कराउँदै बाबा भएको ठाउँमा पुग्यो । बाबा त्यति चाँडै अफिसका लागि तयार भइसक्नुभएको थियो । ‘बाबा खाना खाएर मात्र हजुर अफिस जानुस्, हस ? नत्र म खाना नि खान्नँ, स्कुल नि जान्नँ ।’ कहिल्यै केही नभन्ने छोराले आज अचानक यस्तो भनेपछि उहाँले टार्न सक्नुभएन ।


आज बाबासँगै बसेर होमवर्क गर्‍यो नितिनले । अब दिनदिनै नितिनले झगडाको ओखती दिन थाल्यो बाबाआमालाई । कहिले खाना नखाने, कहिले स्कुल नजाने त कहिले होमवर्क नगर्ने बाहना बनाएर । ओखतीले बिस्तारै काम गर्न थाल्यो । अचेल बाबा सधैँ खाना खाएर अफिस जानुहुन्छ । बेलुका पनि चाँडै फर्किनुहुन्छ । बिहान–बेलुका बाबासँग खेल्न पाएर मक्ख छ ऊ । आमाको अनुहारमा खुसी देखेको छ नितिनले । सायद आमाले पनि बाबाको टाइम चाहनुभएको थियो । यही कुरालाई लिएर आमा बाबासँग रिसाउनुहुन्थ्यो होला । नितिनलाई त्यस्तो लाग्यो । आमाको फूर्तिफार्ती देखेर बाबाको अनुहारमा छाएको खुसी अनुभव गरेको छ उसले ।


नितिन पनि अचेल समयमै स्कुल पुग्छ । स्कुलमा हुने हरेक कार्यक्रममा सहभागी हुन्छ र होमवर्क पनि राम्ररी गर्छ । अचानक उसमा आएको परिवर्तन देखेर शिक्षक पनि खुसी हुनुहुन्छ । अब आउने लामो बिदामा नितिन बाबाआमासँगै पोखरा घुम्न जाने भएको छ । यो योजना बाबाले बनाउनुभएको हो किनभने अचेल बाबाआमा दुवै खुसी हुनुहुन्छ । नितिन पनि मक्ख छ ।
यमुना पराजुली अधिकारी

प्रकाशित : भाद्र २२, २०७६ ११:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्