धेरै बाठो बन्दा के हुन्छ ?

कान्तिपुर संवाददाता

बाबु नानीहरूमध्ये धेरैले आफैं चित्र कोर्ने गरेका छौ  । चित्र कोरेर त्यसमा रंग पनि भर्छौ  ।

तर चित्रअनुसार कथा भने कमैले लेख्छौ होला । चित्रअनुसार कसरी कथा लेख्न सकिन्छ ? कथाअनुसार कसरी चित्र दुरुस्तै कोर्न सकिन्छ ? चित्र र कथा मन पराउनेहरूका लागि रत्न पुस्तक भण्डारले बजारमा ल्याएको छ– दुइटा चित्रसहितका पुस्तक ‘चराहरूका राजा’ र ‘ऋषि र मुसा’ । कथामा काग र मुसा बाठो र शक्तिशाली बन्न खोज्दा भोग्नुपरेको अवस्थाबारे चित्रण गरिएको छ । चित्रअनुसार कथा नेपाली र अंग्रेजी शब्दमा लेखिएको छ । कथा छोटा मीठा छन् । शोभनले सम्पादन र सिमोनाले अनुवाद गरेका यी दुई किताबका आकर्षक चित्र सूर्यनारायण श्रेष्ठले बनाएका छन् ।


‘चराहरूका राजा’ किताबमा चराहरूको राजा नभएपछि ब्रह्माजीले जंगलका सबै चरालाई बोलाएर राजा छान्न खोज्छन् । कागलाई राजा बन्न मन लाग्छ । आफू नराम्रो र कालो भएकाले ब्रह्माजीले राजा नबनाउलान् भनेर डराउँछ । राजा बन्न वनमा बस्ने सबै चराका रंगीचंगी प्वाँख जम्मा गरेर शरीरमा लगाउँछ । कागको उत्साह देखेर ब्रह्माजीले उसैलाई राजा बनाउँछन् । तर अन्य चराले उसलाई राजा मान्दैनन् । सबै मिलेर कागको नक्कली प्वाँख निकालिदिन्छन् । काग पहिलाकै जस्तो देखिन्छ । उसलाई आफूले गरेको गल्तीको पश्चताप हुन्छ । त्यसैले ठग्नु हुँदैन । ठग्दा सबैले थाहा पाउँछन् । जे सत्य हो, त्यही बोल्नुपर्छ भन्ने सन्देश कथाले दिन्छ ।


अर्को पुस्तक हो ‘ऋषि र मुसा’ । यो कथामा मुसा अलि छट्टु हुन्छ । ऋषिले मुसालाई निकै माया गर्छन् । मुसाले जेजे भन्छ, ऋषिले त्यही पूरा गरिदिँदै जान्छन् । मुसालाई सबै कुराबाट जोगाउन बिरालो, कुकुर हुँदै बाघसम्म बनाइदिन्छन् । बाघ बनेको मुसाले उल्टै ऋषिलाई झम्टिएपछि फेरि मुसा नै बनाइदिन्छन् । कथाले गुण गर्दा बैगुनी बन्नेले पाउने सजाय बताएको छ । आफ्नो हैसियत बिर्सन नहुने सन्देश दिएको छ ।
विमल खतिवडा

प्रकाशित : भाद्र २२, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्

सामाजिक काम

कान्तिपुर संवाददाता

भाइबहिनीहरू, शनिबार वा स्कुल बिदाका दिन के गर्छौ ? तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित शान्ति टोलका बालबालिकाले भने बिदाका दिन सामाजिक काम गर्ने अभियान थालेका छन्  । उनीहरूले चेतना जागरण बाल क्लब स्थापना गरेका छन्  ।

क्लबमा ६ देखि १३ वर्षका बालबालिका संलग्न छन् । बिदाका दिन भेला भएर गोलो घेरामा बसी नियमित बैठक गर्छन् । झोलाबाट माइन्युट र कलम निकाल्छन् । उपस्थिति उतार्दै बैठकको एजेन्डा तयार पार्छन् । आज के गर्ने ?, अघिल्लो बैठकको निर्णय के कसरी कार्यान्वयन भयो/भएन भन्नेबारे छलफल गर्छन् । पालैपालो आफ्ना कुरा राख्छन् । निर्णय गर्छन् । क्लबका अध्यक्ष शाश्वत खनालले सबैलाई पढेर निर्णय सुनाउँछन् । त्यसपछि काममा खटिन्छन् । सरसफाइ, बाटो निर्माण, खाल्डाखुल्डी पुर्ने, फोहोर मैलाको उचित व्यवस्थापन गर्ने काममा जुट्छन् ।


‘गाउँमा युवा छैनन् । विद्यालय जाने र आउने बाटो भत्किएको छ । हिलो र झाडी छन् । आफैंले सास्ती खेप्नुपरेकाले बाटो निर्माण, सरसफाइजस्ता कार्यक्रममा क्लबका सदस्यहरू सक्रिय बन्ने गरेका छौं,’ अध्यक्ष खनालले भने । सचिव रोशन खनालका अनुसार फोहोर जम्मा गर्न कुहिने र नकुहिने प्रकृतिका दुई छुट्टाछुट्टै खाल्डो खनिएका छन् । टोल विकास संस्थाले बाल क्लबलाई डस्टबिन उपलब्ध गराएको छ । डस्टबिनमा फोहोर राख्न स्थानीय सबैलाई सचेत गराउने काम क्लबले गर्दै आएको छ ।हरेक साता प्रत्येक सदस्यबाट १० रुपैयाँ उठाइन्छ । संकलित पैसाबाट आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्छन् ।
सम्झना रसाइली

प्रकाशित : भाद्र २२, २०७६ ११:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्