२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अनौठा मानिस

क्रान्ति पाण्डे

कोपिलाको यो अंकमा हामी अनौठा मानिसबारे चर्चा गर्ने छौं  ।

अनौठा मानिस

सबैभन्दा अग्ला रोबर्ट वाड्लो, सबैभन्दा होचा नेपालका स्व. चन्दबहादुर डाागी, पाका बडीबिल्डर जिम एरिङ्टन, ठूलो मुख भएका व्यक्ति फ्रान्सिस्को डोमिंगो जोकिम र सबैभन्दा धेरै बााच्ने जापानकी केन तनाका कस्ता व्यक्ति हुन् ?
आऊ जानौं :


रोबर्ट वाड्लो
जेन्टल जाइन्टका नामले संसारभर चर्चित रोबर्ट पर्सिङ वाड्लो इतिहासकै सबैभन्दा अग्ला मानिस हुन् । वाड्लो सन् १९१८ फेब्रुअरी २२ मा अमेरिकाको इलिनोइसमा जन्मेका थिए । अन्तिमपटक सन् १९४० जुन २७ मा उनको शरीरको नाप लिँदा ८ फिट ११.१ इन्च थियो । पाँच वर्षको उमेरमै उनी ५ फिट ४ इन्च अग्ला थिए । त्यसबेला उनका निमित्त किशोरहरूलाई मिल्ने ठूला लुगा ठीक हुन्थे । १२ औं जन्मदिनमा पहिलो पटक अस्पतालमा जाँच गर्दा पिटुअटरी ग्ल्याड निकै सक्रिय भएका कारण उनी बढिरहेको डाक्टरले पत्ता लगाएका थिए । १९ वर्षको उमेरमा ८ फिट ४ इन्चका उनलाई संसारको सबैभन्दा अग्लो मानिस घोषणा गरिएको थियो ।

२०० किलोग्राम तौल भएका उनको खुट्टाको घाउको संक्रमणका कारण २२ वर्षको उमेरमा मृत्यु भएको थियो । उनको शवको कफिन बोक्न १२ मानिस सहभागी थिए । उनको निधनको ४६ वर्षपछि सन् १९८६ मा एल्टोनमा उनको प्रतिमा प्रतिस्थापन गरिएको थियो । रोचक कुरा के छ भने, उनका जुत्ता ४७ सेन्टिमिटरका हुन्थे । एल्टन म्युजियम अफ हिस्ट्री एन्ड आर्टमा उनका केही जुत्ताहरू अझै प्रदर्शनमा राखिँदै आइएको छ ।
जीवित मानिसमा सबैभन्दा अग्ला टर्कीका सुल्तान कोसेन हुन् । उनी ८ फिट २.८२ इन्च अग्ला छन् ।

चन्द्रबहादुर डाँगी


नेपालको दाङको रिमखोलीका चन्द्रबहादुर डाँगी संसारकै सबैभन्दा होचो मानिस हुन् । ७२ वर्षको उमेरसमेत उनको उचाइ ५४.६ सेन्टिमिटर(२१.५ इन्च) मात्र थियो । बुढेसकाल लाग्दासमेत डाक्टरकोमा कहिल्यै जान र औषधि खान नपरेको उनले बताएका थिए । गिनिज वर्ल्ड रेकर्डका अधिकारीहरू उनको शरीरको नाप लिन आएका बेला उनी पहिलोपटक राजधानी काठमाडौं पुगेका थिए । सन् २०१२ फेब्रुअरी २६ मा उनलाई संसारकै सबैभन्दा सानो कदको मानिस घोषणा गरिएको थियो । जीवित मानिसमध्ये सबैभन्दा होचो मानिस फिलिपिन्सका जुन्रे बालाविङ (५९.९ सेन्टिमिटर) भन्दा चन्द्रबहादुर ५ सेन्टिमिटर होचा थिए । साढे चौध किलोका चन्द्रबहादुर आजसम्म नापिएका मानिसमध्ये सबैभन्दा सानो कदका मानिस हुन् । साढे चौध किलोका चन्द्रबहादुरको निमोनियाका कारण ७५ वर्षको उमेरमा सन् २०१५ सेप्टेम्बर ३ मा निधन भएको थियो ।

जिम एरिङ्टन


जिम अरिङ्टन संसारकै सबैभन्दा पाका बडी बिल्डर हुन् । सन् २०१५ मा भएको एक व्यावसायिक बडी बिल्डिङ प्रतियोगिताको विजेता बनेपछि उनलाई सबैभन्दा पाको बडी बिल्डरको उपाधि दिइएको हो । त्यस बेला उनी ८३ वर्ष ६ दिनका थिए । एरिङ्टन सन् १९३२ मा अमेरिकाको क्यालिफोर्नियामा जन्मेका थिए । उनलाई सन् २०१८ मा गिनिज बुक अफ द वर्ल्ड रेकर्डसले सबैभन्दा पाको उमेरको व्यावसायिक बडी बिल्डर घोषणा गरेको थियो । १३ वर्षको उमेरका एउटा म्यागाजिनमा बडी बिल्डरका फोटोहरू देखेपछि आफू बडी बिल्डिङप्रति आकर्षित भएको उनी बताउँछन् । ६० भन्दा धेरै बडी बिल्डङ प्रतियोगितामा भाग लिएका उनले १६ वटाका विजेता भइसकेका छन् । गिनज बुकले सन् २०१८ मा ८४ वर्षको उमेरका उनलाई पुनः एकपटक सबैभन्दा पाको बडी बिल्डरका रूपमा समावेश गरेको थियो । हाल उनी ८७ वर्षका भए । उनी फिटनेसप्रति निकै सचेत छन् ।


फ्रान्सिस्को डोमिंगो जोकिम


फ्रान्सिस्को डोमिंगो जोकिम सबैभन्दा ठूलो मुख भएका मानिस हुन् । इटालीको रोमका डोमिंगोलाई सन् २०१० मार्च १८ मा संसारकै सबैभन्दा ठूलो मुख भएको मानिस घोषित गरिएको थियो । उनको मुखको फैलावट १७ सेन्टिमिटर (६.६९ इन्च) छ । उनले मुखभित्र कोकाकोलाको क्यान अटाउन सक्छन् । रोममा भएका बिग माउथ कम्पिटिसनमा उनले अरू प्रतियोगीलाई उछिन्दै प्रथम भएका थिए । गिनिज बुकका अधिकारीहरूले उनलाई पहिलो पटक युट्युबमा फेला पारेका थिए । दुई वर्षको खोजपछि गिनिज बुकले रोमको अंगोला सहरको प्रतियोगितामा उनलाई निमन्त्रणा गरेको थियो ।

केन तनाका


जापानकी केन तनाका जीवित मानिसमध्ये सबैभन्दा धेरै वर्ष बाँच्ने मानिस हुन् । गत मार्च ९ गते ११६ वर्ष ६६ दिनका दिन केनलाई गिनिज बुकले सबैभन्दा धेरै समय बाँच्ने जीवित व्यक्ति घोषणा गरेको थियो । केन हाल जापानको फुकुओकामा बस्दै आएकी छन् । उनी सन् १९०३ जनवरी २ मा जन्मेकी थिइन् । उनी परिवारका आठ सन्तानमध्ये सातौं हुन् । केन बेलुका ९ बजे सुत्छिन् र बिहान ६ बजे उठिसक्छिन् । उनलाई गणित अध्ययन गर्न र नाटक हेर्न मन पर्छ । इतिहासमै सबैभन्दा धेरै वर्ष बाँच्ने मानिस फ्रान्सका जिन लुइस काल्मेन्ट हुन् । उनी १ सय २२ वर्ष र १६४ दिन बाँचेका थिए ।
–एजेन्सीको सहयोगमा

प्रकाशित : भाद्र २२, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?