लट्टे खाने है !
‘यसपालिको तीजमा लट्टे खाने है,
बज्यै ! लट्टे खाने है !!’
बज्यै : हुन्छ नानी, बोराको डोरा फुकाउँछु
मान्द्रो झिक्छु अनदीको धान सुकाउँछु
‘यसपालिको तीजमा लट्टे खाने है,
आमा ! लट्टे खाने है !!’
आमा : हुन्छ नानी, बिहान चाँडै उठेर
मिलमा जान्छु, आउँछु धान कुटेर
‘यसपालिको तीजमा लट्टे खाने है,
काकी ! लट्टे खाने है !!’
काकी : हुन्छ नानी, नाङ्लामा चामल खन्याउँछु
निफन्छु र भिजाउँछु मीठो बनाउँछु
‘यसपालिको तीजमा लट्टे खाने है,
फुपू ! लट्टे खाने है !!’
फुपू : हुन्छ नानी, पकाउँछु सबलाई पुर्याउँछु
घ्यू तताउँछु, अदुवा र मेथी फुर्याउँछु
‘यसपालिको तीजमा लट्टे खाने है,
माइजू ! लट्टे खाने है !!’
माइजू : हुन्छ नानी, कसौंडीमा चामल हाल्छु म
पानी छम्की पनियाले भुट्न थाल्छु म
‘यसपालिको तीजमा लट्टे खाने है,
दिज्यै ! लट्टे खाने है !!’
दिदी : हुन्छ नानी, बेसार र चिनी राख्छु है
मीठो भयो भएन थोरै चाख्छु है !
‘यसपालिको तीजमा लट्टे खाने है,
हामी ! लट्टे खाने है !!’
रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ