बालमैत्री पुस्तकहरु

कान्तिपुर संवाददाता

बाबुनानीहरू १ नचिनेको मान्छेले तिमीहरूलाई मिठाई, गुडिया दिन खोज्यो भने याद गर्नु है  । शरीर छुन, गालामा म्वाइँ खान वा दाह्री दल्न खोज्यो भने नाइँ भन्नु नि  ।

आन्विका गिरीले यस्तै सुझाव लेख्नुभएको छ– आफ्नो कथा पुस्तक ‘सानीका ज्ञानी कुरा’ मा । यो कथामा बाल यौन दुर्व्यवहारबारे लेखिएको छ । कथाकार गिरीका चारवटा बाल पुस्तक बजारमा आएका छन् । यी किताबमा तिमीहरूलाई मन पर्ने रंगीन चित्र, कथा, नाटक र कविता छन् ।


अर्को सचित्र बालकथा हो– ‘हाम्रो कुरा पनि सुन्नुस्’ । यसमा सातवटा बालमैत्री कथा छन् । विवाह, ब्रतवन्ध, पूजा आदिमा बालबालिकालाई पनि खान मिल्ने चिल्लो पिरोरहित परिकार बनाउनुपर्नेमा आवाज उठाइएको छ । बालबालिकाको पनि कुरा सुन्नुपर्ने, कुनै पनि चिज बनाउँदा उनीहरूले भेट्छन् कि भेट्दैनन् सोचेर निर्माण गर्न लेखक कथामार्फत् आग्रह गर्छिन् । जस्तै ः किताब राख्ने दराज, डेस्क बेन्च, धाराको टुटी आदि ।


‘ठूलो मान्छे कसरी बन्ने?’ राम्राराम्रा चित्र समेटिएको बालनाटक हो । अनुशासित भएर बाँच्नु नै जिन्दगीको आधार हो । अरूका पनि कुरा सुन्दा, समस्या परेको बेला सहयोग गर्दा, सबैलाई माया गर्दा ठूलो मान्छे बन्न सकिने रहेछ । किताब पढेर तिमीहरू पनि यस्तै कुरा सिक है ।
‘आमाले सक्नुहुन्छ ?’ पुस्तकमा आमाको महत्त्वबारे लेखिएको छ । अवसर पाएमा आमाहरूले पनि काम गरेर छोराछोरीको पढाइका लागि आर्थिक जोहो गर्न सक्छन् भन्ने सन्देश यो किताबभित्रका कथाले दिने छन् । पारिवारिक मेलमिलापको महत्त्व पनि बुझाइएको छ । गिरीका यी चारै पुस्तक सांग्रिला बुक्सले प्रकाशित गरेको हो ।
बालिका थपलिया

प्रकाशित : भाद्र १५, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्

चीन पुगेर नाच्यौँ

कान्तिपुर संवाददाता

चीनमा हुने सातौं अन्तर्राष्ट्रिय संस्कृति र शिक्षा कला महोत्सवमा मसहित मेरा स्कुलका एघार जना साथी सहभागी बन्न पायौँ  । हाम्रो साथमा मुक्तिनारायण काफ्ले गुरु र भुवना प्रधानांग गुरुआमा हुनुहुन्थ्यो  ।

प्रधानाध्यापक नरेश्वर आचार्य सर विमानस्थलसम्म पुर्‍याउन आउनुभएको थियो । जहाजमा चढेर बेइजिङ पुग्यौँ । पहिलोपल्ट जहाज चढ्दाको अनुभव बटुल्ने मौका पाएँ । मध्यरातमा बेइजिङ पुगियो । होटलमा गएर बस्यौँ । बेइजिङ सहर घुम्दा ज्यादै रमाइलो लाग्यो । फर्विडन सिटी र त्यहाँका दरबारहरू घुम्यौँ । बेइजिङ संग्रहालयमा पनि गयौँ । त्यो चीनको सबैभन्दा ठूलो संग्रहालय रहेछ । त्यहाँ मानव उत्पत्ति, चीनको प्राचीन सभ्यता र आधुनिक कलाका अनेक रूपको अध्ययन गर्न पायौँ ।


ग्रेटवाल घुम्यौँ । विभिन्न मिडियामार्फत् देखेको ग्रेटवाल प्रत्यक्ष देख्ने मौका पाएँ । थुप्रै तस्बिर खिच्यौँ । ज्यादै रमायौँ । विभिन्न देशका साथीहरूसँग भेट भयो । न्युजिल्यान्डका साथीहरूसँग रमाइलो गर्दै समय बितायौँ । चीनका अनेक ऐतिहासिक र पुरातात्त्विक वस्तुको पनि अध्ययन गर्न पाइयो । पाँचौँ दिन हाम्रो यात्रा हेन्स्वे सहरतिर मोडियो । चेन्ङ्बो मेरिओट होटलमा बस्यौँ । भोलिपल्ट महोत्सवमा गयौँ । विभिन्न देशका साथीसँग परिचय गयौँ । कला र संस्कृतिबारे बुझ्ने मौका पायौँ । तीन/चार दिन महोत्सवका लागि तयारीमा जुट्यौँ । करिब ४० हजार मानिसका अगाडि हामीले ‘रेसम फिरिरि..’ र ‘मन मगन..’ गीतमा नृत्य प्रस्तुत गर्‍यौँ । त्यहाँ बस्दा चिनियाँ लिपि, संस्कृति, कलाको अवलोक गर्ने मौका पायौँ । गुरु र शिष्यको सुसम्बन्ध, बाजागाजा, भेषभूषा, खानपानबारे बुझ्न पायौँ । महोत्सवपछि पुनः बेइजिङ सहरमा आयौँ । त्यहाँबाट गुवान्जाओ हुँदै १२औं दिनमा काठमाडौं फर्कियौँ ।
शमशेर तामाङ
कक्षा–१०, एसओएस हर्मन माइनर विद्यालय, काभ्रे

प्रकाशित : भाद्र १५, २०७६ ११:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्