खेल सिक्दै

अमृता अनमोल

 भाइबहिनीहरू, गृहकार्य सकेपछि तिमीहरू के गर्छौ ? रुपन्देहीका केही साथीहरू भने खेल सिक्छन्  । यहाँ विभिन्न खेलका एकेडेमी छन्  ।

तिनमा खेल्ने तरिका सिकाइन्छ, जसले ती साथीहरूलाई खेल सिक्ने अवसर जुटेको हो । रुपन्देहीमा खेलकुद गतिविधि गर्ने ५० वटा क्लब छन् । २५ वटा खेलकुद संघ छन् । तीमध्ये १४ वटाले बालबालिकाका लागि खेल एकेडेमी खोलेका छन् । तिनले फुटबल, लनटेनिस, जुडो, कराते, क्रिकेट र ब्याडमिन्टन सिकाउँछन् । एकेडेमीमा बालबालिकाको समूह बनाइन्छ । दिनहुँ खेल्न मैदान दिइन्छ । साथीहरू बिहान–साँझ एकेडेमीमा जम्मा हुन्छन् । प्रशिक्षकले खेलको नीति र विधि सिकाउँछन । यसपछि उनीहरू मज्जाले खेल्छन् ।


खेल्न पाउँदा उनीहरू धेरै खुसी छन् । केहीले भविष्यमा खेलाडी बन्ने सपनासमेत बनाएका छन् । त्यसमध्येका हुन्– बुटवलका रितेश ज्ञवाली । उनी कक्षा ६ मा पढ्छन् । दिनभर स्कुल जान्छन् । साँझमा लेख्ने र पढ्ने सबै गृहकार्य सक्छन् । बिहान भने लनटेनिस खेल्न जान्छन् । ‘बिहान साढे ५ बजेदेखि ७ बजेसम्म खेल्छौं र सिक्छौं,’ उनले भने, ‘खेल्दा निकै रमाइलो लाग्छ, शरीर पनि फूर्तिलो हुन्छ ।’ नियमित खेल्न पाएकै कारण रितेशले विभिन्न प्रतियोगितामा भाग लिएका छन् । १० वर्षमुनिको राष्ट्रिय लनटेनिस प्रतियोगितामा जिल्लास्तरीय विभिन्न खेल जितेका छन् । उनी तृतीय भएका थिए । गतवर्ष भएको ८ वर्षमुनिको राष्ट्रिय लनटेनिसमा उनका साथी ब्रिजेस अर्याल च्याम्पियन भएका थिए । यमन राना सेकेन्ड र योगेश ज्ञवाली तृतीय भएका थिए । बुटवलको देवीनगरमा लनटेनिस एकेडेमी छ । त्यसलाई लनटेनिस क्लब बुटवलले सञ्चालन गर्छ । अध्यक्ष गोपाल ज्ञवालीले नयाँ खेलाडी उत्पादन गर्न ३ वर्षयता बालबालिकालाई खेल सिकाउन थालेको बताए । ७ देखि १४ वर्ष उमेरका ५० जनाले लनटेनिस सिकिरहेका छन् ।देवीनगरमै एन्फा एकेडेमी छ । रुपन्देही फुटबल संघले यसको सञ्चालन गर्छ । त्यसमा २४ बालबालिकालाई फुलबल खेल्न सिकाइन्छ । उनीहरू दिउँसो पढ्न जान्छन् । अरूजस्तै उनीहरू घर जाँदैनन् । बिहान–साँझ एकेडेमीमै बस्छन् । दिनमा २ घण्टा एकेडेमीमै बसेर फुटबल खेल्न सिक्छन् ।


त्यसका लागि दुई जना प्रशिक्षक छन् । १० वर्षदेखि यो एकेडेमी सञ्चालनमा छ । फुटबल सिक्नेहरूमा १२ देखि १६ वर्षसम्मका छन् । राष्ट्रिय चर्चित फुटबल खेलाडी विमल घर्ती यहींका उत्पादन हुन् । उनले यही एकेडेमीमा खेल सिकेका थिए । यहाँ खेल सिकेका अरू १२ जना पनि राष्ट्रिय खेलाडी बनेका छन् । भर्खरै यहींका विद्यार्थी निराजन खत्री अन्डर–१६ का लागि राष्ट्रिय खेलाडीमा छनोट भएका छन् । ‘सानैदेखि फुटबल खेल्न र सिक्न मन लाग्थ्यो,’ उनले भने, ‘त्यसैले बाबाआमाले एन्फा एकेडेमीमा राखिदिनुभएको हो ।’ निराजनको अन्तर्राष्ट्रिय खेलाडी बन्ने धोको छ । खेलबाटै देशको नाम उचो बनाउने इच्छा छ । सुरुवातमा अगस्ट २३ देखि भारतमा भएको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उनले भाग लिएका छन् ।


खेल्ने विद्यार्थी पढाइमा कमजोर हुन्छन्, धेरै अभिभावक यस्तै सोच्छन् । यसैले कोहीकोही अभिभावक छोराछोरीलाई खेल्न दिँदैनन । तर यो गलत हो । रुपन्देहीको स्मृति बोर्डिङ स्कुलका प्रिन्सिपल हरि ज्ञवाली गृहकार्य सकेर खेल्ने विद्यार्थी पढाइमा कमजोर नहुने दाबी गर्छन् । उनले पाँच वर्षयता एन्फा एकेडेमीका विद्यार्थीलाई पढाइरहेका छन् । ‘खेल्ने र पढ्ने समयबीच तालमेल मिलाउनुपर्छ,’ उनले भने, ‘यसो गरे पढाइमा अझ तेज हुन्छन् ।’जानाकारहरूका अनुसार खेलकुद एकेडेमी खेलाडी उत्पादनका जग हुन् । यिनमा खेलको विधि र कला सिकाइन्छ । एन्फा एकेडेमीका व्यवस्थापक तथा प्रशिक्षक बुद्धि गुरुङ बालबालिकालाई यसरी सिकाउँदा नयाँ र राम्रो खेलाडी उत्पादन हुने बताउँछन् । उनका अनुसार खेल बालबालिकालाई अनुशासन सिकाउने माध्ययम पनि हो । यसले नियममा रहेर काम गर्न सिकाउँछ । खेलले शरीर फूर्तिलो बनाउँछ । मनोरञ्जन दिन्छ । कुलतबाट बचाउँछ । मन चञ्चल हुनेका लागि एकाग्र हुन पनि सहयोग गर्छ । तर सबै ठाउँमा रुपन्देहीमा जस्तो एकेडेमीमै गएर खेल्ने अवसर छैन ।

प्रकाशित : भाद्र १५, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्

बिहेले खोसेका सपना

बिहेको २२ वर्षपछि सुनीताले घरपरिवार छोडेकोमा पटक्कै विस्मात भएन । ३८ वर्षेले जसोतसो नर्स पढोस्, आफ्नो चाहना पूरा गरोस् ।
अमृता अनमोल

मैले घर छोडें नि,’ एक साँझ साथी सुनीताले फोनमा भनी, ‘फुपूको घरमा छु  । ’ ‘ए हो र ? छोडीचाहिँ नहालेको भए हुनी !’ मैले यत्ति भनें  ।

फोन राखेपछि पनि मेरो मनमा तर्कना भने चलिरहे ।सुनीता मेरी बाल्यकालकी साथी । १ देखि १० कक्षासम्म हामीले सँगै पढेका । १० मा पढ्दै थियौं । एक दिन स्कुलबाट घर आउँदा सुनीताको घरमा ५–६ जना ठाँटिएका मान्छे देखिए । उसको हात माग्न आएका रे ! बुटवलबाट खानदानी परिवार माग्न आए भन्ने हल्ला सुनियो । त्यसको ५ दिनमा उसको बिहे भयो । एसएलसी नजिकिएको थियो । बिहेपछि एसएलसी दिँदासम्म ऊ गाउँमै बसी । त्यसपछि बुटवल झरी । पढाइमा निकै तेज थिई । तैपनि बिहेसँगै पढाइ रोकियो । ऊ वर्षमा एकपटक झुल्किन्थी । त्यो पनि दसैंमा पतिसँगै एक दिनका लागि । अनि फर्किहाल्थी । धेरै समय हामीले भेट्नै पाएनौं । लगालगी २ छोरा जन्माई । खरिदार पति अधिकृत बने रे भन्ने सुनियो ।

बिहेको करिब २० वर्षपछि अर्थात् २ वर्षअघि बुटवल चौराहमा सुनीतासित जम्काभेट भएको थियो । त्यतिबेला म पत्रकार बनेकी थिएँ । बुटवलका गन्यमान्यलाई चिन्ने भएकी थिएँ । शिर ठाडो पारेर बोल्ने भएकी थिएँ । ऊ भने पूरापूर गृहिणी । आफ्नो घरपरिवारमा मात्रै सीमित । उसको हक्की स्वभाव निरीह बनेको थियो । चर्को स्वर दबेको थियो । ठाडो शिर निहुरिएको थियो । अनुहारको चमक गुमेको थियो । आँखाबाट आशा गुमेका थिए । तथापि यसले हाम्रो मित्रतालाई केही फरक पारेन । बरु त्यो भेटले फेरि हामीलाई नजिकायो । बाल्यकालमा जस्तै सुखदुःख साट्ने साथी बन्यौं । ऊ किन निराश छ ? असन्तोष छ ? मैले खोतल्न थालें । उसले बताउन थाली ।

हामी स्कुल पढ्दा सपनाका कुरा गर्थ्यौं । ती सपना बिहे र पतिसित जोडिएका हुँदैनथे । आफैं स्वावलम्बी र आत्मविश्वासी बन्ने खालका हुन्थे । सुनीता नर्स बन्न चाहन्थी । लगालगी १० सन्तान जन्माउँदा लागेको बाबुको ऋण तिर्न चाहन्थी । उसका यी सबै चाहना बिहेसँगै मरेका थिए ।

सुनीताले एसएलसीमा दोस्रो डिभिजन ल्याएकी थिई । नतिजा आएपछि उसले घरमा आफ्नो नर्स बन्ने चाहना सुनाई । पढ्न पठाउन बारबार अनुरोध गरी । परिवार राजी भएन । उसलाई माग्ने फुपूसित घरपरिवारलाई मनाउन बिन्ती गरी । फुपूको कुरा पनि उनीहरूले खाएनन् । घरपरिवार राम्रोसित स्याहार–सुसार गरे नर्स बन्ने चाहना पूरा हुन्छ । घरपरिवार यसै भन्थे रे । आमा नबन्दासम्म सुनीताले पढ्ने इच्छा जाहेर गरिराखी । घरपरिवारले टारिराखे । पतिलाई मनाउन हरकोसिस गरी । तर, सकिनँ । यसले उसको मन टुट्न थाल्यो । एक्लै एक्लै रुन र टोलाउन थाली । सपनामा ऐठन हुन थाल्यो । कोही चिच्याउँदा आत्तिन थाली । पतिले यो सबै पढ्न नपाउँदा भएको हो भन्ने बुझेका थिए । तैपनि उनले कहिल्यै बुझेर बुझेजस्तो गरेनन् । धरधरी रुँदा नरोऊसमेत भनेनन् । न त पढ्ने अनुमति नै दिए । उसले जिन्दगीमा हारेको महसुस गर्न थाली ।

बिहेअघि हरेक छोरीलाई आमा, दिदी र भाउजूले लोभ्याएका हुन्छन्– बिहेपछि रानी हुन पाइन्छ । पतिको घरमा राज गर्न पाइन्छ । हामीले पनि आमाहरूका तिनै चिप्ला कुरा सुनेका थियौं । कहिलेकाहीं यस्तै कल्पना गर्थौं । सुनीताको बिहेपछि रानी हुने सपना पूरापूर नोकरानीमा बदलिएको थियो । संयुक्त परिवारकी बुहारी थिई । घरभित्रै पनि यति काम हुन्थ्यो कि बिहान ५ बजेदेखि राति १० बजेसम्म मुस्किलले काम सकिन्थ्यो । यद्यपि कसैले उसको काम देख्दैनथे । सघाउन कोही अघि सर्दैनथे ।

सुनीताका पति जब अफिसबाट आउँथे बाहिरैबाट बोलाउँदै कोठाभित्र छिर्थे । उनको कोट खोलिदिनेदेखि कोठामै सर्वत–पानी पिलाउन पुग्थी । कामले थाकेर लखतरान भएको बताउँथे । उसले कहिले टाउको त कहिले खुट्टा मिचिदिन्थी । त्यसमा उसले कहिल्यै अप्ठ्यारो मान्दिनथी । तर शरीर दुखेर थिलोथिलो हुँदा पनि पतिले सुनीताको ख्याल कहिल्यै गर्दैनथे । छोराछोरी नजन्मँदासम्म सुनीताका पति ठीकै थिए । यौनमा अलि लिप्त । सुनीता चुपचाप उनको इच्छा पूरा गरिदिन्थी । उनकै चाहना र भावनाअनुसारका क्रियाकलाप गराउँथे । ऊ आज्ञाकारी विद्यार्थीझैं खुरुखुरु मान्थी । त्यो मानेमा सुनीतालाई माया गर्थे । खाए नखाएको ख्याल गर्थे । पढ्न जिद्दी गर्दा घर गरेर पढ्न दुःख हुन्छ भनेर सम्झाउँथे ।

गर्भवती बनेपछि भने यो सम्बन्ध टाढिन थाल्यो । आमा बन्दासम्म उनको चालढाल अर्कै भैसकेको थियो । राति घरमा ढिलो आउँथे । त्यो पनि रक्सीले मात्तिएर । कहाँ गएको भनेर सोधे मनको इच्छा पूरा गर्न भनेर ठाडो जवाफ दिन्थे । दिनदिनै अन्याय हुँदा पनि सिधै औंला उठाउन सकिन । किनकि उमेरमा पतिभन्दा १० वर्ष कान्छी थिई । पढाइमा पति स्नाकोत्तर हुँदा ऊ एसएलसी मात्रै । यसैमाथि गाउँले र गँवारका उपमा त छँदै थिए । आमा बन्दा बिग्रेको र कमजोर बनेको शरीर पतिका लागि प्रिय थिएन । उनी ससानो कुरामा झोक्किन्थे । बिस्तारै सुनीताका पतिले मदिराको लत बढाए । उनी पूरापूर जँड्याहा बनेका थिए । बिहान साविक अवस्थामा अफिस गएका साँझ कति बेला फर्कन्थे टुंगो थिएन । कसरी फर्कन्छन् आँकलन थिएन । आधा रातमा रक्सीको नशामा आउँथे । खान मन लागे खान्थे । नत्र त्यसै सुत्थे । सुनीताले प्रतिवाद गर्न खोज्यो कि कुट्न थाल्थे । पति आधा रातमा आउनु र कुटाइ खानु उसको दैनिकी बन्न थाल्यो । कुट्दा कुट्दा उसको शरीर नीलै हुन्थो । ऊ हारगुहार माग्थी । तर परिवार कसैले गुहार दिँदैनथे । पतिको चित्त बुझाउन नसक्ने भनेर उल्टै उसलाई दोष लगाउँथे । त्यसको असर छोराहरूमा पनि पर्‍यो । नाबालक छँदा आमापट्टि लाग्ने छोराहरू क्रमशः टाढिन थाले । यसले सुनीताको मन कुँडिन र चुँडिन थाल्यो । घरभित्रको अन्याय कहाँ पोख्ने ऊ अलमलमा थिई । मानौं ऊ पखेटा चुँडिएको पन्छी हो उड्न सक्दिन । इज्जतको खोल ओढेर अन्यायमा जिउँदै थिई ।

हो यस्तै बेलामा सुनीतासित भेट भएको थियो । म बेलाबेलामा उसको घरमा जान्थें । पति र घरपरिवारलाई सुनीता निराश हुनाका कारण सोध्थें । उनीहरू उसको बानी नै असन्तोषी भएको बताउँथे । मैले नर्स बन्ने उसको धोको पूरा गराइदिन आग्रह गर्थें । कहिले कुटेका डाम देखाएर किन यस्तो हुन्छ भनेर सोध्थें । म पत्रकार र उसकी साथी पनि । घरपरिवारले सहेनन् । एक दिन पतिले मुखै खोले– ‘बिन्ती म्याडम तपाईंको बाटोमा मेरी श्रीमती नलगाइदिनुस् । मलाई सोझी र साधारण पत्नी नै मन पर्छ ।’ म जवाफ दिन चाहन्थें तर हाँसेर टारें । अर्को दिन सुनीताले सुनाई त्यो रात पतिले घरका कुरा लगाएको भन्दै बेस्मारी कुटे रे । भाइबरमा फोटो हेरें । नीलडाम शरीरमा मात्रै होइन मुखमा पनि थिए ।

‘म स्वतन्त्र हुन चाहन्छु । बिहेसँगै मरेका मेरा सपना ब्युँताउन चाहन्छु,’ अन्ततः सुनीताले मुख खोली । मैले उसलाई सहयोग गर्ने वचन दिएँ । अर्को भेटमा उसले बिहे तोड्ने निश्चय गरेको बताई । माइती पक्ष यसमा सहमत हुँदैनथे । किनभने यसअघिका कैयौं कुटाइ र चुटाइबारे उसले माइतीलाई बताएकी थिई । तर इज्जत जान्छ नबोल भन्नेबाहेक अरू जवाफ पाइन ।

यसपालि सुनीता दरिएकी थिई । जस्तोसुकै काम गरेर पनि स्वतन्त्र जीवन जिउन सक्ने हिम्मत निकालेकी थिई । मैले अन्यायविरुद्ध स्थानीय न्यायिक समितिमा जान सुझाएँ । विडम्बना जानुअघि नै घरपरिवारले थाहा पाए । जानै दिएनन् । बरु हिंसाको सीमा बढाउँदै लगे । यसबाट आजित ऊ जसरी भए पनि छुट्कारा पाउन चाहन्थी । पतिको धनदौलत, इज्जत उसलाई केही आवश्यक थिएन । आवश्यक थियो त स्वतन्त्रता । उसको यौटै इच्छा थियो– निर्भय बाँच्नु । आफ्नो लक्ष्य र सपना पूरा गर्नु ।

‘छोरीलाई नपढाउने तर पढेको ज्वाइँ खोज्ने समाज गलत छ । छोरीलाई दाइजोसित तौलने संस्कार गलत छ । बिहे गर्दा छोरीभन्दा जेठो ज्वाइँ खोज्ने प्रवृत्ति गलत छ । गरिबले धनी केटो खोज्ने चलन गलत छ । यसले पतीपत्नीबीच सामीप्य ल्याउँदैन रैछ । उमेर, पढाइ, शिक्षा, संस्कार र वर्गमा भिन्नता आए । विवाह विवाह हुन्न रैछ । जीवनसाथी साथी होइन सबैभन्दा माथि मालिक हुँदोरैछ,’ सुनीताले लामो गन्थनपछि निष्कर्ष सुनाई, ‘हो यही कारण हामी छोरीले विवाहसँगै आफ्नो स्वतन्त्रता र सपना मार्नुपर्दोरैछ । परतन्त्र बन्नुपर्दोरहेछ । यो चक्र तोड्न चाहन्छु ।’

फगत म स्वतन्त्र बस्न चाहन्छु भन्ने चिठी लेखी र बिनासम्पत्ति घरबाट निस्की । फुपूको घरमा आश्रय लिएकी सुनीता अब कहाँ जाली ? के गर्ली मलाई पटक्कै चिन्ता लागेन । बिहेको २२ वर्षपछि घरपरिवार छोडी पटक्कै विस्मात भएन । ३८ वर्षेले जसोतसो नर्स पढोस् । आफ्नो चाहना पूरा गरोस् । बिहेसँगै मारिएका सपना पुनः पलाऊन् । उसको ओठमा हाँसो आओस् । आँखामा आशा र विश्वास पलाओस् । बूढा र सहाराबिहीन बनेका उसका बाबुआमाको सहारा बनोस् । उसको निर्भीक चाहनामा सहमत भए पति र छोराहरू आउलान् । नत्र ऊ एकल पनि जीवन बिताउन सक्नेछ । मैले मनमनै भावी जीवनको शुभकामना दिएँ र सहयोग गर्ने प्रतिबद्धता पनि ।

प्रकाशित : भाद्र १४, २०७६ ११:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्