ठूलो पान्डा

हिमेश

 ठूलो पान्डा धेरैले मन पराउने जनावर हो  ।

यसको सबैभन्दा ठूलो कारण पान्डाले देखाउने चकचकी अर्थात् केटाकेटीपन हो । यो निकै आकर्षक हुने गर्छ । त्यसैले पान्डा भनेपछि धेरै मानिस हेर्न लोभिने गर्छन् । पान्डाको यही लोकप्रियताका कारण ‘स्टार’ जनावर पनि भन्ने गरिन्छ । हाम्रो छिमेकी देश चीनले ठूलो पान्डालाई धेरै महत्त्व दिएको छ । यसलाई देशकै परिचयजस्तो बनाएको छ । चीनले आफ्नो साथी देशलाई ठूलो पान्डा उपहार पनि दिने गर्छ । त्यसैले चिनियाँ कूटनीतिको एउटा मुख्य विशेषता नै पान्डा रहेको छ । सन् २००८ मा चीनको राजधानी बेइजिङले गृष्मकालीन ओलम्पिक्स आयोजना गरेको थियो । त्यति बेला प्रतियोगिताको मस्कटका रूपमा पान्डालाई प्रयोग गरिएको थियो । चिनियाँ भाषामा यसलाई ‘ता स्योङ माओ’ भनिन्छ । यसलाई अंग्रेजीमा जायन्ट पान्डा र पान्डा बियर दुवै भनिन्छ । ठूलो पान्डा र रेड पान्डामा फरक छ । दुवैको गुण, प्रवृत्ति र स्वभावमा धेरै अन्तर छ । ठूलो पान्डको मुख्य विशेषता हो– यसको आँखा र कानमा ठुल्ठूला गोलाकार कालो रंग । यसको शरीरको अरू भागमा पनि यस्ता काला धब्बा पाइन्छन् । यसैले पनि ठूलो पान्डा र रातो पान्डा ठ्याक्कै छुटिन्छन् । रेड पान्डा नेपालमै पनि पाइन्छ । ठूलो पान्डाको मुख्य आहारा भनेको बाँस हो । पान्डा बाँसलाई खुबै मन पराएर खोजीखोजी खाने गर्छ । जंगलतिर बस्ने पान्डाले घाँस पनि खाने गर्छ । अझ केहीले त मासु पनि खाने गरेको पाइएको छ । चिडियाखानामा राखिएका पान्डालाई अन्डा, माछा, मासुसँगै सुन्तला र केरा दिने गरिन्छ ।


चीनमा ठूलो पान्डाको सबैभन्दा मुख्य बसोबास सिचुवान प्रान्तमा छ । सिचुवान प्रान्तको राजधानी छेन्डु हो र यहाँ ठूलो क्षेत्र ओगटेको ‘छेन्डु पान्डा बेस’ स्थापना गरिएको छ । यसको मुख्य उद्देश्य ठूलो पान्डाबारे लगातार अनुसन्धान गर्नु हो । यहाँ पान्डाको प्रजनन् प्रक्रिया पनि गरिन्छ । यो पान्डा बेसको स्थापना सन् १९८७ मा गरिएको थियो । अहिले यो सर्वसाधारणका लागि खुला छ । यहाँ दिनहुँ हजारौंले भ्रमण गर्छन् । पयर्टकका लागि पनि यो निकै आकर्षकस्थल बनेको छ । विशेषतः यहाँ विद्यार्थीले धेरै भ्रमण गर्छन् । प्रायः शैक्षिक भ्रमण हुने गर्छन् । विद्यार्थीले पान्डाबारे जति पनि जानकारी लिन चाहन्छन्, ती सबै यस पान्डा बेसमा उपलब्ध छ । त्यस क्रममा पान्डालाई प्रत्यक्ष हेर्न पाउने त भयो नै । स्थापनाका बेला यहाँ जंगलबाट उद्धार गरिएका ६ ठूला पान्डा थिए । अहिले संख्या बढेर ८३ पुगेको छ । यसमध्ये धेरै यहाँ नै जन्मेका र हुर्केका हुन् । यो दुर्लभ जनावरमा पनि हो । चीनका विभिन्न चिडियाखानामा अहिले २ सय ४० को हाराहारीमा मात्र ठूला पान्डा रहेको अनुमान छ । चीन बाहिर २७ देशमा ठूला पान्डा छन् । ती चीनले उपहार दिएका हुन्, जसको संख्या ४९ पुग्छ । यी चिडियाखानमै छन् । जंगलतिर भने अझै १ हजार ६ सय जति पान्डा रहेको अनुमान छ । विश्वभर दुईदेखि तीन हजार संख्यामा ठूलो पान्डा रहेको अनुमान छ ।
(चीनस्थित छेन्डु पान्डा बेसको भ्रमणपछि)

प्रकाशित : भाद्र ८, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्

गोहीको आँसु

गोविन्द पोखरेल

सप्तरीमा चरिरहेका बाख्रालाई दिनहुँजसो गोहीले मारेर खान थाल्यो  । ८/१० वटा बाख्रा गोहीको सिकार बनेपछि आतंक फैलियो । कोसी नदीको पूर्वी तटबन्धन नजिकैको माछापोखरीमा अचानक दुइटा गोही आएर बसेका रहेछन् । र, ती गोहीले जमिनमै आएर बाख्रा आक्रमण गर्न थालेका थिए ।

कोसी टप्पुका कर्मचारी र प्रशासनको सहयोगमा एउटा गोहीलाई केही दिनअघि नियन्त्रणमा लिइएको छ । अर्को गोही अचेल पोखरीमा छैन, कहाँ गयो, पत्तो छैन ।

वास्तवमा गोही कस्तो जीव हो ? यसले किन आक्रमण गर्छ ? कस्ता हुन्छन् यसका आनीबानी ? नेपालमा कस्ता–कस्ता गोही छन् ? विश्वभर कति प्रजातिका छन् ? गोहीका विशेषता के हुन् ? किन भनिन्छ ‘गोहीको आँसु’ ? यस्तै जिज्ञासाहरू मेट्न कोपिलाको यो अंकमा गोहीबारे चर्चा गर्दै छौं ।

गोही महाप्रलयबाट बाँचेको जीव हो । उक्त महाप्रलयमा डाइनोसोरको अस्तित्व सकिएको थियो । यिनीहरू डाइनोसोरभन्दा अघिदेखि नै पृथ्वीमा उत्पत्ति भएका जीव हुन् ।

वैज्ञानिकहरूका अनुसार २५० मिलियन वर्षअघि गोही देखा परेका थिए । परापूर्व कालका गोही अहिलेका भन्दै धेरै ठूला थिए ।
गोहीको पेटमा अम्लीयपन अत्यधिक हुन्छ । सग्लै खाएका जीवलाई पचाउन अम्लले मद्दत गर्छ । जनावरका हड्डी र सिङहरू पेटमा भएको अम्लले गलाइदिन्छ ।

गोहीले राति देख्न सक्छ । यिनीहरूको रक्तसञ्चार प्रणाली विशिष्ट प्रकृतिको हुन्छ । अवाश्यकताअनुसार मुटुले रक्तसञ्चार हुने बाटोलाई परिवर्तन गर्न सक्छ । गोही सास नफेरीकन एक घण्टासम्म पानीभित्रै बस्न सक्छ । मुटुमा चार खण्ड हुने, अन्डालाई गुँडमा राख्ने र बच्चालाई धेरै नै स्याहार गर्नेजस्ता गुणका कारण वैज्ञानिकले गोहीका केही विशेषता चरासँग मिल्ने भनेर तुलना गरेका छन् ।

गोही एक सरिसृप जीव हो । यो ‘क्रोकोडिलिया अर्डर’ मा वर्गीकरण गरेर राखिएको मांसाहारी जीव हो । मुख्यतः नुनिलो पानीमा पाइने गोही (क्रोकोडाइलस पोरोसेस), मगर गोही (क्रोकोडाइलस पालुस्ट्रिस) र घडियाल (गाभियालिस गांगटिक्स) गरी तीन वर्गमा वर्गीकरण गरिएको छ । यी तीन वर्गअन्तर्गत पनि २३ विभिन्न उपप्रजाति छन् ।

विश्वका ९१ मुलुकमा मात्र गोही छन् । पृथ्वीको गर्मी क्षेत्रमा पाइने यो जीव धेरै चिसो हावापानीमा बाँच्न सक्दैन । यसको शरीरको औसत तापक्रम ३० देखि ३३ डिग्री हुन्छ । यिनको पसिना ग्रन्थी हुँदैन । शरीरको तापक्रम औसत बनाउन मुख खुला राख्छन् ।यिनीहरू उभयचरजस्तो भए पनि जीवनको अधिकांश समय पानीमै बिताउँछन् । भाले र पोथीबीचको प्रजनन् प्रक्रिया पनि पानीभित्रै हुन्छ । भाले गोही पोथीभन्दा केही ठूला हुन्छन् । पूर्वी भारतमा पाइने ‘साल्ट वाटर’ गोही विश्वकै ठूला हुन् भने अफ्रिकामा पाइनेहरू साना गोही हुन् ।

दाँत ४ हजारवटा सम्म
गोही धेरै दाँत भएको जीवका रूपमा चिनिन्छ । औसतमा ८० देखि १०० वटासम्म दाँत हुन्छन् । यिनीहरूको दाँत झर्दै ५० पटकसम्म पलाउने गरेको अध्ययनले देखाएको छ । यिनीहरूको जीवनकालमा ४ हजारवटासम्म दाँत पलाएर झरेका हुन्छन् । एलिगेटरको दाँत बाहिर देखिँदैन । घडियाल र मगर गोहीको दाँत सजिलै देखिन्छ । तीखा र बलिया हुने भएकाले गोहीले कुनै जीवलाई टोकेपछि छाड्ने सम्भावना कम हुन्छ । केही प्रजातिका गोहीको दाँतमा अड्किएका खाना तथा मासु चराले खाइदिन्छन् । ‘इजिप्टियन प्लोभर’ चराहरू गोहीको मुखमा पसेर दाँतमा अड्किएका कुरा खाएर दाँत सफा गरिदिन्छन् । यी चरालाई ‘क्रोकोडाइलियन बर्डस्’ समेत भनिन्छ ।

७० वर्षसम्म बाँच्छन्
गोहीले आफ्नो आहारका लागि अन्य जीवलाई धरापमा पारेर/झुक्याएर आक्रमण गर्छ । आहार प्रजातिलाई ‘एम्बुस’ मा पार्ने भएकाले गोहीलाई ‘एम्बुस प्रिडेटर्स’ पनि भनिन्छ । सफा पानीमा पाइने घडियाल गोहीले माछा मात्र खान्छन् । नुनिलो पानीमा पाइने र नाइल नदीका गोहीले माछाबाहेक अन्य ठूला जीव पनि खान्छन् । गोहीमा धेरै समयसम्म केही नखाए पनि बाँच्न सक्ने अर्थात् भोक खप्ने क्षमता हुन्छ । एक घण्टामा १७ किमि हिँड्न सक्ने गोहीको औसत आयु ३० देखि ४० वर्ष भए पनि कतिपय गोही ७० वर्षसम्म बाँचेका तथ्य छन् । यिनीहरू १३ फिटसम्म लामो भएको रेकर्ड छ । तौल हजार केजीसम्म हुन्छ । आँखा र नाक शरीरको माथिल्लो भागमा हुन्छ । आँखा र नाक यसरी विकसित भएको हुन्छ कि पानीमा डुब्दा आँखा र नाक मात्र बाहिर निकाल्नसमेत मिल्छ ।
गोहीको जमिन र पानी दुवै स्थानमा सुन्ने सक्ने क्षमता हुन्छ । यिनीहरूमा सुँघ्ने क्षमता पनि उच्च हुन्छ । केही प्रजाति सुत्दा मुख खोलेर बस्छन् । कतिपय प्रजातिमा भने यस्तो हुँदैन ।

कहाँ कस्ता गोही ?
एलिगेटर्स गोही विशेष गरेर अमेरिका र चीनमा पाइन्छन् । यिनीहरूको थुतुनो ‘यु’ आकारको हुन्छ । यी सफा पानीमा बस्छन् । एलिगटर्सभित्र चिनियाँ र अमेरिकी गरेर दुई उपप्रजाति छन् । घडियाल नेपाल र भारतमा मात्र पाइन्छ । यिनीहरूको थुतुनो लामो र साँघुरो हुन्छ ।

साइमन उपप्रजातिको गोही मध्य र दक्षिण अमेरिकामा पाइन्छन् । यिनीहरू एमाजोन नदीको तटीय क्षेत्रमा देखिन्छन् । मगर गोहीलाई पौडीबाजका रूपमा लिइन्छ । यिनीहरू राम्रोसँग पौडन सक्छन् । यिनको लम्बाइ चार मिटरसम्मको हुन्छ । नुनिलो पानीमा बस्ने गोहीहरू भारत, श्रीलंका, थाइल्यान्ड, म्यान्मारलगायत देशमा पाइन्छन् ।अमेरिकन गोहीहरू क्यारेबियन र दक्षिण फ्लोरिडामा छन् । मध्य र पश्चिमी अफ्रिकामा स्लेन्डर गोही पाइन्छन् ।

कोलम्बिया र भेनेजुएलामा पाइने ओरिनोको गोही हुन् । यिनीहरू लोपन्मुख छन् । मेक्सिकोमा मोरलेटस् उपप्रजाति पाइन्छन् । क्युबाका द्वीपमा क्युबान गोही पाइन्छन् । यिनीहरू पनि लोपोन्मुख छन् । अफ्रिकाको साहारा क्षेत्र र आसपासमा नाइल गोही बस्छन् । यिनीहरू पनि सफा पानीमा बस्न रुचाउँछन् । इन्डोनेसियामा सियामेस छन् भने पश्चिमी अफ्रिकामा पुड्को गोही (ड्वार्फ) छन् । पपुवा न्यु गिनियामा गिनिया उपप्रजाति गोही पाइन्छन् ।

बच्चालाई अत्यधिक माया
गोहीका भाले पोथीको समागम प्रक्रिया पानीमै हुन्छ । पोथीले वर्षमा एकपटक तर सय वटासम्म अन्डा पार्छ । गोहीले कोरलेका सबै बच्चा बाँच्न सक्दैनन् । यिनीहरूमा बाल मृत्युदर अत्यधिक हुन्छ । ३० प्रतिशत मात्र बच्न सक्छन् । अन्डाको तापक्रमबाट भाले र पोथी छुटिन्छ । २८ देखि ३१ डिग्रीमा कोरलिने अन्डाबाट १०० दिनमा पोथी निस्कन्छे भने ३२.५ डिग्रीमाथि कोरलिनेमा अन्डामा ६४ दिनमा भाले निस्कन्छ । यस्तो अवस्थाको लिंग निर्धारण प्रक्रियालाई टेम्पेचर डिपेन्डेट सेक्स फ्याक्टर (टीडीएस) भनिन्छ ।
बच्चा कोरलेपछि आमाले मुखभित्र ती बच्चालाई राखेर रेखदेख गर्छ ।

नेपालमा कस्ता गोही छन् ?
नेपालमा मगर र घडियाल गोही मात्र पाइन्छन् । मगर गोही विभिन्न खोलानदी, ताल र सीमसार क्षेत्रमा छन् भने घडियाल गोही नारायाणी, राप्ती र कर्णाली नदीमा पाइन्छन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत एवं कसरास्थित घडियाल गोही प्रजनन् केन्द्रका वेदकुमार खड्काका अनुसार कोसीमा छाडिएका घडियाल गोही देखिन छाडेका छन् । सन् २०१६ मा गणना गर्दा नेपालमा १९८ घडियाल र ६७७ मगर गोही भेटिएका थिए । गतवर्ष चितवनको नारायणी र राप्तीमा गणना गर्दा २१९ घडियाल गोही पाइएका थिए । गणना गर्दा पानीबाहिर देखिएका गोहीलाई मात्र गन्ने गरिन्छ ।

घट्दै छन् गोही
‘प्रिहिस्टोरिक जीव’ गोहीको संख्या पछिल्लो समय घट्दै गइरहेको छ । क्विन्सल्यान्ड विश्वविद्यालयका प्राध्यापक एवं बायोलोजी एन्ड इभोलुसन अफ क्रोकाडालिएन्स किताबका लेखक गोर्डोन ग्रिगका अनुसार भूउपयोगमा आएका परिवर्तन र प्रदूषणका कारण संसारबाट गोही हराउँदै गइरहेका छन् । प्राकृति बासस्थान प्रभावित, जाल हान्ने प्रवृत्ति, आहारको कमी आदि कारणले गोही संकटमा परेका हुन् । छालाबाट विभिन्न प्रकारका ब्याग, बेल्ट तथा अन्य सामान बनाउनका लागि समेत गोहीको चोरीसिकारी बढेको छ ।

कसरी आउँछ गोहीको आँसु?

बिनाकुनै मानवीय संवेदना र नाटकीय ढंगले निकालिने आँसुलाई गोहीको आँसु भन्दै आलोचना गरिन्छ । सर्वप्रथम गोहीको आँसुबारे १५औँ शताब्दीमा प्रकाशित भएको एउटा किताबमा उल्लेख थियो । ‘द भोएज एन्ड ट्राभल अफ सर जोन मेनडिभाइल’ नामक उक्त पुस्तकमा गोहीले रुँदै खाने गरेको उल्लेख थियो । त्यसपछि पनि विभिन्न अनुसन्धान भएका छन् । बोगोरार्ड नाम गरेका एक रूसी न्युरोप्याथालोजिस्टले गोहीको आँसु नक्कली रहेको तथ्य १९२६ मा विश्वसामु उजागर गरेका थिए । गोहीले खाने क्रममा सालिभा निस्कन्छ । जसका कारण सालिभा मिसडाइरेक्ट हुन्छ अनि आँसु ग्रन्थी सक्रिय हुन्छ र झर्छ । यो तथ्यलाई ‘बोगोरार्ड सिन्ड्रोम’ भन्ने गरिएको छ । गोहीका अनावश्यक लवण आँसु ग्रन्थी हुँदै आँखाबाट निस्कने गरेको तथ्य पनि अध्ययनहरू आएका छन् ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : भाद्र ८, २०७६ ११:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्