साझा जंगल

एउटा घनघोर जंगल थियो  । त्यस जंगलमा बाघ, भालु, गैंडा, सिंह, वन बिरालो, लोखर्के प्रशस्त थिए  ।

साझा जंगल

घोरल, स्याल, दुम्सी, बाँदरलगायतका जनावरको पनि बस्ती बढ्दै थियो । चराचुरुंगी र कीराफ्यांग्रा पनि त्यतिकै थिए । जंगल सबैको साझा थियो । जंगलका जनावर कहिले मिलेर बस्थे । कहिले ठुलो द्वन्द्व चल्थ्यो । एउटै जंगलमा बसेका जनावरबीच झैझगडा हुन थालेपछि सबै जनावरले एउटा ‘जंगल प्रमुख’ आवश्यक भएको ठाने । सबै जनावरले सभा गरेर एउटा प्रमुख छान्ने निर्णय गरे ।


आइतबार बिहान जंगलको छेउमा रहेको ठूलो पीपलको फेदमा सबै जनावर भेला भए । त्यस सभामा सिंहले निकै फूर्तिफार्ति देखाइरहको थियो । उसले नै गैंडालाई कार्यक्रम सञ्चालन गर्ने अनुमति दियो । गैंडाले सबै साथीहरूबीच भेलाको उद्देश्य बतायो र सिंहको सल्लाहअनुसार जंगलको प्रमुख चुन्नका लागि सबैलाई केहीबेर छलफल गर्ने समय पनि दियो । केहीबेरपछि हतारिँदै स्यालले हात उठाएर भन्यो, ‘हैन, हाम्रो जंगल र बस्ती धेरै ठूलो भइसक्यो । त्यसैले ठूलो जनावरले यस जंगल प्रमुखको जिम्मा लिन सक्लाजस्तो मलाई लाग्छ ।’


त्यसपछि सामूहिक छलफलबाट आएको कुरा म भन्छु भन्दै लोखर्केले हात उठायो, ‘जंगलमा प्रमुख अवश्य चाहिएको छ । यसका लागि अर्काको विनाशै गरिहालुँ भन्ने नठान्ने ठूलो जनावर हात्तीलाई सबै जनावरको प्रमुख बनायो भने पक्कै राम्रो हुन्थ्यो होलाजस्तो हामीलाई लाग्यो ।’ लोखर्केपछि कसैले भालु, कसैले बाघको नाम पनि लिए तर सिंहको नाम कसैले लिन चाहेनन् । सबै जनावरको तर्क सुनियो तर मृग र भालुचाहिँ बाँकी नै थिए ।
मृगको विचार सुन्न पाए हुन्थ्यो भन्ने सबैको अभिलासा थियो । सबैले ढिपी लगाएपछि मृगले भन्यो, ‘सानाको पनि दिन आउनुपर्छ अनि कुनै कार्यको सुरुवात आफैंबाट हुनुपर्छ र मात्र समाजलाई सुधार गर्न सकिन्छ । यसका लागि अहिलेसम्म आफ्नो बासस्थान पनि बलियो बनाउन नसक्ने, अर्काको घर पनि भत्काउँदै हिँड्ने जनावरमा मैले बाँदरलाई देखेको छु । यो जनावर अरूभन्दा सानो पनि छ त्यसैले यो साझा पृथ्वीमा उसलाई प्रमुख बन्ने अधिकार दियो भने राम्रो होला ।’


मृगको कुरा सुनेर सबै जनाले गड्गडाहट ताली बजाए । बाँदरले गोलो घेरा लगाएर बसेका सबै जनावरलाई एकपटक हेरेर नमन (नमस्कार) गर्‍यो । त्यसपछि भालुलाई सोधियो– ‘बाँदरलाई यस जंगलको प्रमुख बनाउने सम्बन्धमा तपाईंको विचार के छ ?’ भालुले पनि सबैले ठिकै ठान्नुहुन्छ भने कुरो मनासिफ नै हो भन्ने विचार राख्यो । सभालाई लम्याएर ढिला गर्नुभन्दा अलि चाँडै सक्ने सोचले गैंडाले भन्यो, ‘ल बाँदरको पक्षमा कति जनावर हुनुहुन्छ ? हात उठाउनुहोस् ।’ यति भन्न नपाउँदै सिंह, बाघ र चितुवाबाहेक सबैले हात उठाएर बाँदरको समर्थन गरे । सबै खासखुस गर्दै थिए, ‘बाँदर निकै फुर्तिलो छ । उसले चायो भने निकै राम्रा काम गर्न सक्छ । अग्ला रूख चढ्न र जंगलमा कुद्न उसलाई कसैले भेट्दैन । यहाँ ठूला जनावरको मात्र कुरा भएन, क्षमता भएको जनावरको कुरा आयो, त्यसका लागि बाँदर नै योग्य छ ।’


सबैले समर्थन गरिरहेको देखेर गैंडाले बाँदरलाई आफ्नो विचार राख्न भन्यो । बाँदरले पनि कपाल मिलाउँदै भन्यो, ‘जंगल सबैको साझा घर हो । यहाँ सबै जनावर मिलेर बस्नुपर्छ र बसिरहेका छन् पनि । प्रक्रियागत रूपमा एउटा प्रमुख भए राम्रो हुन्थ्यो भन्ने कुरा हो । यसका लागि प्रायः सबैले मलाई विश्वास गर्नुभयो । म विश्वासघात गर्न सक्दिनँ । बरु आफैंबाट परिवर्तनका लागि सकारात्मक कदम चाल्न तयार हुने छु र यस जंगलका सबै जनावरका लागि जतिसक्दो राम्रो योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ बाँदरका कुराले सबै जना स्तब्ध भए । सिंह र बाघ पनि मौन रहे । बहुमतको कदर हुने नै भयो । जनावरहरू सभा समापन भएको थाहा पाएर एकएक गर्दै बाहिरिन थाले । बाँकी भएका केही हस्तीले बाँदरलाई फूलमालाले स्वागत गर्दै बधाई दिए र सबै जनावर आ–आफ्नो बासस्थानतिर लागे ।
गीता सापकोटा

प्रकाशित : भाद्र १, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?