कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

किन पृथ्वीतर्फ आउँछ पिण्ड ?

अतुल मिश्र

 
एउटा ठूलो आकाशीय पिण्ड अघिल्लो शनिबार झन्डै पृथ्वीमा ठोक्किन आएन  । ‘२००६ क्यूक्यू २३’ नामक पिण्ड पृथ्वीदेखि ४.६ मिलियन माइल नजिकको दूरीसम्म आएर गयो  ।

किन पृथ्वीतर्फ आउँछ पिण्ड ?

१० हजार ४ सय माइल प्रतिघण्टा गतिमा अन्तरिक्षमा घुमिरहेको पिण्ड पृश्वीको यति नजिक आएर अन्तै मोडिनुलाई ठूलो दुर्घटनाबाट जोगिएको भन्छन् वैज्ञानिकहरू । आकाश अर्थात् अन्तरिक्षमा यस्ता अनगिन्ती पिण्डहरू हुन्छन् । ठूलाखाले पिण्ड पृश्वी वा कुनै ग्रहमा ठोक्किए त्यहाँ महाप्रलयसम्म हुन सक्छ । यो अंकमा हामी गतसाता पृथ्वीको नजिक आइपुगेको ‘२००६ क्यूक्यू २३’ नामक पिण्ड र अन्तरिक्षमा रहेका अन्य पिण्डहरूबारे जानकारी लिएर आएका छौं ।


िअमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार ‘२००६ क्यूक्यू २३’ पिण्ड सय तला अर्थात् पेरिसको आइफल टावरभन्दा ठूलो हो । भिडियो फुटेजमा १ हजार ८ सय ६० फिट व्यास भएको उक्त आकशीय पीण्ड पृथ्वीको नजिक हुँदै गएको देखिन्छ । पृथ्वीको आसपासमा धेरै समयअघिदेखि घुमिरहे पनि यसको पहिचान सन् २००६ को अगस्टमा भएको हो । ‘२००६ क्यूक्यू २३’ निकै खतरानक भएको बताएका वैज्ञानिकले ‘पृथ्वी धेरै ठूलो दुर्घटनाबाट जोगिएको’ दाबी गरेका छन् । नासाका अनुसार ‘यदि उक्त आकाशीय पिण्ड पृथ्वीमा ठोक्किएको भए कुनै परमाणु बमभन्दा ५ सय गुणा बढी विध्वंश हुने’ थियो । कम्तीमा एक सहर ध्वस्त हुन्थ्यो र १३ लाखभन्दा बढी मानिसको ज्यान जान सक्थ्यो ।

िनासाका निर्देशकसमेत रहेका जिम ब्रिडेन्साटाइनले यस्ता आकाशीय पिण्ड पृथ्वीमा खस्न सक्ने खतराबारे यसअघि नै सचेत गराएका थिए ।
िआकाशीय पिण्डहरू पृथ्वीमा ठोक्किँदा प्रलय भएको इतिहास छ । ६६ मिलियन वर्ष अगाडि आकाशीय पिण्ड खसेकै कारण पृथ्वीमा महाप्रलय भएको थियो । त्यसकै कारण डाइनोसरजस्ता जीवहरू हराएको वैज्ञानिकले बताएका छन् ।

सन् २०१३ को १५ फेब्रुअरीमा चेलायाबिन्सक पिण्ड पृथ्वीसँग ठक्कर खाँदा थुप्रै नोक्सान भएको घटना आलै छ । यो ठक्करले करिब १२ सय जना घाइते हुनुका साथै थुप्रै घरमा नोक्सान पुगेको थियो । यो अन्तरिक्षय पिण्ड करिब १९ मिटरको मात्र थियो र यो २० किलोमिटर उचाइमै फुटेको थियो । वैज्ञानिकहरूका अनुसार यसबाट निस्केको ऊर्जा ५ सय किलो टन अर्थात् सन् १९४५ को परमाणु बमभन्दा २५ गुणा बढी थियो ।
यति मात्र नभई सन् २०१८ मा एउटा सानो पिण्ड (क्षुद्र ग्रह) पृथ्वीको वायुमण्डलमा आएर ठक्कर खानुभन्दा अघि नै टुक्रिएको थियो ।
अन्तरिक्षीय पिण्डको उद्गम स्थलबारे अझैसम्म पूर्ण थाहा हुन सकेको छैन । तर एस्टेरोइड वेल्टमा धेरैजसो अन्तरिक्षीय पिण्डहरू रहेका छन् ।
सोही वेल्टमा रहेको एउटा ‘अपोफिस’ नामक ४ सय मिटर चौडाइको पिण्ड सन् २०१३ मा पृथ्वीको छेउबाटै निस्कियो । तर यो पृथ्वीनजिकबाट गुज्रिने समयबारे वैज्ञानिकहरूको अनुमान गलत सावित भयो । यसको सन् २०३६ मा पृथ्वीसँग टक्कर हुन सक्ने अनुमान गरिएको थियो । यसले एटम बमभन्दा एक लाख गुणा बढी ऊर्जा उत्पन्न गर्ने भनिएको थियो । यतिको ऊर्जा पृथ्वीको जीवन नष्ट गर्न पर्याप्त मानिन्छ ।
एस्टेरोइड वेल्टमा घुमिरहेका सबैभन्दा ठूलो पिण्डको व्यास ५२५ किमि छ । यतिसम्म भनिन्छ कि, २० देखि ८० किमि मात्र व्यास भएको पिण्ड पृथ्वीसँग ठोक्किएमा यहाँको सबै जीवन नष्ट हुने छ ।

पृथ्वीको वातावरणमा बर्सेनि ५ करोड केजी अन्तरिक्षीय पदार्थ
ठूला अन्तरिक्ष पिण्डलाई एस्ट्रोरोइडस र सानोलाई उल्का अर्थात् मेटर भनिन्छ । पिण्ड दिनहुँजसो पृथ्वीमा झरिरहेको हुन्छ । राति आकाशमा बलिरहेको वस्तु झरिरहेको हामी देख्छौं, जसलाई टुटिरहेको तारासमेत भनिन्छ । यदि यो वातावरणको घर्षणले डढेर नष्ट नभई पृथ्वीको सतहसम्म पुग्यो भने यसलाई ‘मिटियोराइटस’ अर्थात् उल्का पिण्ड भनिन्छ ।
भौतिक शास्त्री प्राडा. उदयराज खनाल भन्छन्– ‘आकाशीय पिण्ड नियमित रूपले झर्ने गरेकाले पृथ्वीको तौलसमेत बढिरहेको छ । तर धेरै साना आकारको पिण्ड पृथ्वीमा झर्दा खासै खतरा भएन । कुनै बेला ठूलो पिण्ड झरेमा जीवन र सभ्यता नै नष्ट हुन सक्छ ।’
पृथ्वी निर्माण भएको ४ अर्ब ५० करोड वर्षअघिदेखि नै अन्तरिक्षबाट पृथ्वीमा पिण्ड अर्थात् ढुंगाको वर्षा जारी छ ।
बर्सेनि करिब ५ करोड किलोग्राम अन्तरिक्षीय पदार्थ पृथ्वीको वातावरणमा प्रवेश गर्छ । यसमध्ये धेरैजसो बीचमै घर्षणका कारणले डढ्छन् ।

डाइनोसर नष्टपछि मानव शक्तिशाली
साना पिण्ड समुद्रमा परेको खासै थाहा हुँदैन । ठूलोले सुनामी उत्पन्न गर्न सक्छ । यस्तै पृथ्वीसँग ठोक्किने अन्य अन्तरिक्षीय चट्टानले सतहमा क्रेटर (खाडल) बनाउन सक्छ । हाल यस्ता ठक्करले उत्पन्न थुप्रै खाडल पृथ्वीको सतहमा छ । डा.खनाल भन्छन्, ‘कुनै यस्तै आकाशीय पिण्डको ठक्करले डायनोसार नष्ट भयो । आकाशीय पिण्ड खसेर पृथ्वीबाट डाइनोसर नष्ट नभएको भए मानव जाति शक्तिशाली हुँदैनथ्यो ।’ करिब साढे ६ करोड वर्षअघि एस्ट्रोरोइडस पृथ्वीमा खस्नाले विशाल जीवन डाइनोसरको अन्त भएको थियो । कतिपय सिद्घान्तहरूले पानी धुमकेतु (कमेट) ले पृथ्वीमा ल्याएको हो भन्नेसमेत छ । कतिले पृथ्वीमा जीवनको प्रादूर्भावसमेत उल्का पिण्डबाट मानेका छन् । ‘अन्तरिक्षबाट उल्का पिण्डले जीवन नै बोकेर ल्याएपछि पृथ्वीमा जीवनको सुरुवात भएको भन्नेहरूसमेत छन्,’ डा. खनाल भन्छन् ।

के हो एस्टेरोइड वेल्ट ?
पृथ्वी सौर्यमण्डलको तेस्रो र मात्र यस्तो ग्रह हो, जसमा जीवन सम्भव छ । क्षुद्र ग्रह अर्थात् पिण्डले पृथ्वीलाई ठूलो खतरा छ । यो यस्तो ढुंगा हो, जो ब्रहृमाण्डमा घुमिरहेको छ । यसले सौर्यमण्डलका ग्रहहरूजस्तै सूर्यको परिक्रमासमेत गर्छ । यस्ता क्षुद्र ग्रह सम्पूर्ण ब्रहृमाण्डमा भए पनि हाम्रो सौर्यमण्डलमा यो मंगल र बृहस्पति ग्रहको बीचमा रहेको ‘एस्टेरोइड बेल्ट’ मा पाइन्छ । यो ठाउँमा १० मिटरभन्दा ठूलो आकारका लघुग्रहहरू छन् ।
अन्तरिक्षमा सौर्यमण्डलको उत्पत्ति हुँदाताका बाँकी रहेको टुटेफुटेका चट्टान र ठूलो आकाशीय पिण्डबीचको ठक्करले बनेका पिण्डहरू छन् । मंगल र बृहस्पति ग्रहको गुरुत्वाकर्षणका प्रभावले थुप्रै लघुग्रह पृथ्वीको निकट कक्षमा आउँछन् । पृथ्वीतिर आउने अन्तरिक्षीय पिण्डहरू मंगलमा खस्ने गरेका छन् । अर्कोतर्फ जाने बृहस्पतिमा खस्ने गरेको छ । ‘बृहस्पति ग्रह ठूलो छ, गुरुत्वाकर्षणको शक्ति पनि अत्यधिक छ । पिण्डहरू हल्लिएर खस्न थाले उसले आफ्नोतर्फ तान्छ । पृथ्वीतिर आउन लागे मंगलले रोकिदिन्छ,’ भौतिकशास्त्री प्राडा. उदयराज खनाल भन्छन्, ‘यसैले पृथ्वीको निर्माण सुरक्षित रूपमै भएको भन्न सकिन्छ ।’

क्षुद्र ग्रह र उल्का पिण्ड
धेरैजसो क्षुद्र ग्रह (एस्ट्रोराइडस) र उल्का पिण्ड (मिटियोराइटस)हरू पृथ्वीमा भएका जस्तै ओलिविन, पिरोक्सिन आदि चट्टानले बनेका हुन्छन् । करिब १० प्रतिशत उल्का पिण्डलाई फलामसमेत भनिन्छ । यस्ता उल्का पिण्डमा निकेल वा फलामलगायत घातुको मिश्रण हुन्छ । म्युजियममा राखिएका धेरैजसो उल्का पिण्ड फलामका छन् । धातु वा मिश्रित धातुको भएकै कारण यस्ता उल्का पिण्ड झर्दै गर्दा वातावरणीय घर्षणका क्रममा डढ्नबाट जोगिएर पृथ्वीसम्म आइपुगेका हुन् ।


कसरी रोक्ने पिण्डको ठक्कर ?
पृथ्वीनजिक रहेका आकाशीय पिण्डहरूबारे अध्ययन गर्ने नासाको निकाय ‘सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिज’ ले पृथ्वीलाई हुन सक्ने ठक्करबारे नजिकबाट नियाल्दै छ । नासाले यस्तो खाले ठक्करबाट जोगिने उपायको समेत खोजी गर्दै छ । उक्त सेन्टरका वैज्ञानिक पाल चडसका अनुसार २० हजारभन्दा बढी विश्लेषणबाट प्राप्त जानकारी अगामी शताब्दीमा मानिस समाप्त हुने सम्भावना १० हजारमा १ प्रतिशत मात्र छ । नासाले पृथ्वीमा आउन थालेका यस्ता पिण्डलाई अन्तरिक्षमा नै विभिन्न प्रक्रियाद्वारा टुक्राटुक्रा पानेबारे समेत काम गर्दै छ । रकेटका माध्यमले घचेटेर अन्तै मोडनेबारे समेत अध्ययन अनुसन्धान जारी छ । (एजेन्सीको सहयोगमा)

प्रकाशित : भाद्र १, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?