१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

साथी

कान्तिपुर संवाददाता

एउटा घना जंगलमा बाँदरहरूको समूह बस्थ्यो  । समूहमा एउटा बच्चा बाँदर थियो  ।

साथी

उसको नाम चङ्खे थियो । चङ्खे समूहकै एउटा मात्र बच्चा थियो । ऊसँग बोल्न र खेल्न कोही पनि साथी थिएनन् । ठूला बाँदरहरू कहिले सँगै बसेर घरव्यवहारका कुरा गर्थे त कहिले रूखका हाँगामा मच्चिएर पिङ खेल्थे । कहिले सबैजना मिलेर खाना खोज्न जान्थे । चङ्खे सानै छ भनेर उसलाई केही काम गर्न दिँदैनथे । छाडेर जान्थे । चङ्खे दिनभरि एक्लै हुन्थ्यो । उसलाई पनि आफूसँग मिल्ने एक साथी भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । साथी भए मनका कुरा सुनाउन हुन्थ्यो । रूखका हाँगा समातेर पिङ खेल्न हुन्थ्यो । चङ्खेले आफूसग मिल्ने एउटा साथी खोज्ने विचार गर्‍यो । एक दिन घरका सबै ठूला सदस्य खानाको खोजीमा निस्किएपछि ऊ पनि साथी खोज्न निस्कियो ।


हिँड्दै जाँदा चङ्खेले एउटा तलाउ देख्यो । तलाउमा अजङ्गको गोही थियो । उसले डिलमा रोकिएर बिस्तारै गोहीलाई सोध्यो, ‘तिमी मेरो साथी बन्छौ ?’ उसको कुरा सुनेर गोहीले आफ्नो लामो थुतुनो पानीबाट बाहिर निकाल्यो र हाई काढ्यो । हाई काढ्दा त्यसका तिखातिखा दाँत टलक्क टल्किए । त्यो बेलामा पो चङ्खेलाई आफ्ना हजुरबा र त्यो गोहीको कथा याद आयो । अङ्गुर दिएर साथी बनाएपछि एक दिन गोहीले उसका हजुरबालाई घुमाउन लान्छु भनेर नदीको बीचमा पुर्‍याएछ र तेरो मुटु–कलेजो खान्छु भनेछ । हजुरबा निकै चलाख थिए । उनले पनि आफ्नो मुटु–कलेजो रूखमै झुन्डाएको छ भनेर बचेछन् ।
‘बाफ रे बाफ १’ गोहीले केही बोल्न नपाउँदै चङ्खे त्यहाँबाट भाग्यो र अलि अगाडिको रूखमा गएर अडियो ।
‘तिमी मेरो साथी बन्छौ ?’ चङ्खेले रूखको हाँगामा छाती फर्काएर बसेको भँगेरोलाई सोध्यो ।
‘साथी बनेर के गर्नु, तिमी मजस्तो चिटिक्क परेको छैनौ र म जसरी माथिमाथि आकाशमा उड्न पनि सक्दैनौ ।’ भँगेरो यति भनेर आफ्नो गुँडतिर भुर्र उड्यो । यस्तो घमण्डीको त साथी बन्न पनि हुँदैन । चङ्खेले आफ्ना पातला औंलाले टाउको कन्याउँदै सोच्यो ।
चङ्खे अलि पर गयो । जंगलमा हिँड्दा हिँड्दा उसले एउटा सिंहको गुफा देख्यो ।
‘सिंहलाई त साथी बनाउन हुँदैन पालो बाधेर खान्छ ।’
ऊ फटाफट अगाडि बढ्यो । हिँड्दाहिँड्दै चङ्खे अल्झेर लड्यो । उसले के रहेछ भनेर टाउको उठाएर हेर्‍यो ।
कछुवा रहेछ ।
‘तिमी मेरो साथी बन्छौ ?’ चङ्खेले कछुवाको खपटा टक्टक् पार्दै सोध्यो ।
‘म तिम्रो साथी बन्न लायक छैन । तिमी छिटो हिँड्छौ, रूखमा चढ्छौ म त्यस्तो केही गर्न सक्दिनँ,’ कछुवाले भन्यो ।
‘ए हो त नि...’ भन्दै चङ्खे हिँड्न थाल्यो । हिँड्दाहिँड्दै उसले रूखको हाँगामा एउटा उल्लु देख्यो । ‘तिमी मेरो साथी बन्छौ ?’ चङ्खेले निदाइरहेको उल्लुलाई कोट्याएर सोध्यो ।
‘म तिम्रो साथी बन्न सक्दिनँ । तिमी दिनमा उठेर रातमा सुत्छौ, मचाहिँ दिनमा सुतेर रातमा उठ्छु । हामी साथी भयौँ भने त बोल्न पनि मुस्किल पर्छ ।’ यति भनेर उल्लु फेरि सुत्यो । चङ्खेले यताउति हेर्‍यो । अलि पर्तिर एउटा गधा चर्दै रहेछ ।
‘मेरो साथी बन न है,’ उसले गधालाई अनुरोध गर्‍यो ।
‘ढेँचु ....ढेँचु...’ गधाले टाउको उठाएर अनौठो आवाज निकाल्यो र फेरि चर्न थाल्यो । यस्ताको साथी बनेर के फाइदा ? चङ्खेले सोच्यो र आफ्नो बाटो लाग्यो । उसले बाटामा एउटा खोला देख्यो । खोलामा माछा पौडिँदै थिए ।
‘मेरो साथी बन न है १’ नदी किनारमा आइपुगेको एउटा माछालाई चङ्खेले सोध्यो ।
‘हुँदैन..., तिमी पानीमा बस्न सक्दैनौ अनि म जमिनमा बस्न सक्दिनँ ।’ यति भनेर माछा अर्कोतिर लाग्यो । चङ्खे पनि अँध्यारो अनुहार लगाएर त्यहाँबाट हिँड्यो ।
‘मेरो कोही साथी भएन, मसँग खेल्ने बोल्ने कोही छैन...’ चङ्खे नजिकैको रूखको फेदमा बसेर क्वाँक्वाँ रुन थाल्यो ।
‘तिमी नरोऊ म तिम्रो साथी बन्छु नि,’ कतैबाट आवाज आयो ।
‘को हौ तिमी ?’ चङ्खेले रुन बन्द गरेर यताउता हेर्‍यो ।
‘म...’ भन्दै एउटा लोखर्के चङ्खेका अगाडि आइपुग्यो ।
‘तिमी रूख चढ्न सक्छौ ?’ चङ्खेले सोध्यो ।
‘सक्छु नि, मेरो गुँड त उः त्यो रूखका टोड्कामा छ,’ लोखर्केले भन्यो, ‘आऊ, मेरो घर जाऊँ...।’
चङ्खे लोखर्केसँग उसको घर गयो । दुवैले केही बेर कुराकानी गरे । रूखका हाँगामा चढेर खेले । त्यो दिनदेखि चङ्खे र लोखर्के असल साथी भए ।

उपासना बराल
कक्षा ः ६
फिनिक्स स्कुल, ललितपुर

प्रकाशित : श्रावण २६, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?