क्वाँटीको कमाल

अतुल मिश्र

 यो साता जनैपूर्णिमा अर्थात् क्वाँटी खाने चाड  । किन खाइन्छ क्वाँटी ? के फाइदा छ यो खाएर ? यो साता हामी क्वाँटीबारे चर्चा गर्ने छौं  ।

ZenTravel

भिजाइएका गेडागुडीलाई टुसा उम्रेपछि क्वाँटी भनिन्छ । क्वाँटीमा मुख्य रूपले केराउ, चना, भटमास, मुग, बोडी, राजमा, सिमी, मस्याङ, मुसुरोलगायत हुन्छन् ।वरिष्ठ बालरोग विशेषज्ञ एवं कान्ति बाल अस्पतालका पूर्व निर्देशक प्राडा.चन्देश्वर महासेठका अनुसार पौष्टिकताका हिसाबले टुसाएको गेडागुडी ‘सुपर फुड’ हो । ‘अंकुरित गेडागुडी सबै उमेर समूहका लागि फाइदाजनक भए पनि बालबालिकाका लागि थप उपयोगी छ, यसले कुषोषण हुनबाट जोगाउँछ, रोगप्रतिरोधक क्षमता बढाउँछ,’ डा. महासेठ भन्छन्, ‘हेर्नोस्, हाम्रा पुर्खा कति वैज्ञानिक सोच राख्थे, अंकुरित गेडागुडी खाने चलन हाम्रो संस्कृतिकै अंग बनेको छ ।’
परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.झलक गौतम भन्छन्, ‘टुसाएको गेडागुडी अर्थात् क्वाँटीमा सामान्य गेडागुडीभन्दा ३० प्रतिशत बढी भिटामिन ‘सी’, भिटामिन ‘के’ र प्रोटिन पाइन्छ ।’ क्वाँटीमा प्रोटिनसँगै आइरन, म्याग्निज, फोस्फोरस, पोटेसियम, म्याग्नेसियम, जिंक, कपर, सेलिनियमलगायतका पोषकतत्त्व पाइन्छ ।


यो खनिज पदार्थको समेत राम्रो स्रोत हो । भिटामिन–फोलेट, थाइमिन, राइवोफलेविन, नियासिन, भिटामिन बी–६, प्यान्थोथेमिक एसिड, चिल्लो, कार्बोहाइड्रेट, रेसा (फाइबर) समेत हुन्छ । राजमा र सिमीमा पोलिफेनोल पाइने हुनाले यसले एन्टिअक्सिडेन्ट (बुढ्यौली हुनबाट रोक्ने) को काम गर्छ । क्वाँटीले शरीरमा भएको कोलेस्ट्रोल र ब्लड ग्लुकोज घटाउन मद्दत गर्छ । एन्टिइन्फलामेट्री (संक्रमण रोक्ने मूलतः आन्द्राको) काम पनि गरेको देखिन्छ । तथ्यपत्रअनुसार गेडागुडीमा बोसो कम हुन्छ भने कोलेस्ट्रोल नहुनुका साथै उच्च मात्रामा फोलेट, पोटेसियम, आइरन र म्याग्नेसियम हुन्छ । यसमा फाइदाजन्य बोसो र घुलनशील एवं अघुलनशील रेसा हुन्छ । गेडागुडी प्रोटिनका राम्रो स्रोत हुनुका साथै धेरै बोसो अर्थात् कोलेस्ट्रोल भएको मासुको स्वस्थकर विकल्पसमेत हो ।

Meroghar


अमेरिकन हर्ट एसोसिएसनका अनुसार गेडागुडीमा मासुको दाँजोमा सन्तृप्त बोसोबिनाको मिनरल र फाइबर (रेसा) उच्च मात्रामा हुन्छ । यसैले गेडागुडीमा केही यस्तो फाइदा हुन्छ जुन मासुबाट प्राप्त हुँदैन । गेडागुडी सेवन गर्नाले मुटु रोगको प्रमुख कारण रगतको कोलेस्ट्रोलमा सुधार गर्छ । टुसाएको गेडागुडीमा ‘आमेगा–थ्री’ एसिडको मात्रा बढी पाइन्छ । यसले नराम्रो कोलेस्ट्रोलको वृद्घिलाई रोक्छ । धमनीमा अवरोध (ब्लकेज) को समस्या नहुन सघाउने भएकाले मुटु रोग (जस्तो हर्ट अट्याक र स्ट्रोक) बाट समेत जोगाउँछ । विज्ञहरूका अनुसार टुसाएको गेडागुडी भिटामिन ‘बी ६’ को राम्रो स्रोत हो । भिटामिन ‘बी ६’ हार्मोन उत्पादन र न्युरो ट्रान्समिटरको निर्माणमा उपयोगी हुन्छ । टुसाएको गेडागुडीमा धेरै बढी मात्रामा एन्टिअक्सिडेन्ट हुने भएकाले यसले ‘डीएनए’ लाई नष्ट हुनुबाट जोगाउनुका साथै हाम्रो शरीरमा बुढ्यौली प्रक्रियालाई समेत मत्थर पार्छ । हाडको घनत्व बढाउने भएकाले हाड कमजोर हुने समस्या (अस्टियोस्पोरोसिस) हुने जोखिम कम हुन्छ । यसमा भएको फाइटो केमिकल्सले थुप्रै रोगबाट हामीलाई जोगाउँछ । टुसाएको गेडागुडीमा ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले यो मधुमेहका रोगीका लागि ऊर्जाको राम्रो स्रोत ठानिएको छ ।


चिकित्सकका अनुसार प्रोटिन निर्माणका लागि एमिनो एसिड चाहिन्छ, जुन २०/२२ थरीका हुन्छन् । तीमध्ये ९ वटा शरीरलाई नभई नहुने हुन् । प्रोटिन बनाउन, हर्मोन र न्युरो ट्रान्समिटर बनाउन एमिनो एसिड नभई हुँदैन । मासुबाट पाइने प्रोटिनलाई पूर्ण प्रोटिन भनिन्छ, जसमा ९ वटै अमिनो एसिड हुन्छन् । बोटबिरुवाबाट पाइने प्रोटिन मूलतः अपूर्ण प्रोटिन हो । जसमा ९ वटै अमिनो एसिड हुँदैन । ‘तर सिमी, राजमा र भटमासमा ९ वटै एमिनो एसिड पाइन्छ र यसलाई पूर्ण प्रोटिन भनिन्छ,’ डा.गौतम भन्छन्, ‘त्यसैले क्वाँटी पूर्ण प्रोटिन प्राप्तिका लागि धेरै महत्त्वपूर्ण र कम खर्चिलो खाद्य परिकार हो ।’

प्रकाशित : श्रावण २६, २०७६ १०:४१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नयन बल्ल खुसी भयो

कान्तिपुर संवाददाता

नयन रमाउँदै फुटबल खेल्न घरबाहिर निस्कँदै थियो  । तर मूल ढोका छेउमा पिँजडामा थुनेर राखेको सुगालाई देखेर उसको खुसी हरायो  ।

नयन रमाउँदै फुटबल खेल्न घरबाहिर निस्कँदै थियो । तर मूल ढोका छेउमा पिँजडामा थुनेर राखेको सुगालाई देखेर उसको खुसी हरायो । ऊ दुःखी भयो । नजिकै छिमेकीको घरमा उसले बाँधेर राखेको कुकुरलाई देख्यो । कुकुर भुकिरहेको थियो । बाटो छेउमा उसले गाईको बाच्छा र आमा गाईलाई देख्यो । बाच्छा आमालाई भेट्न जान दाम्लै चुडाउँलाझैं गरी कराइरहेको थियो ।


बाटोमा अलि अगाडि पाठोलाई लिएर एउटा मानिस गइरहेको थियो । पाठोलाई भेट्टाउन माउ बाख्री कराउँदै थियो । तर उसलाई डोरीले बाँधिएको थियो ।
अझै पर पुगेपछि नयनले देख्यो– एउटा भैंसीलाई किलामा बाँधेर राखिएको थियो । ऊ आफ्नो पाडी (बच्चा) भएको ठाउँमा जान कराइरहेको थियो ।त्योभन्दा अलि अगाडि कुखुरालाई खोरमा थुनेर राखिएको थियो । चल्ला र माउहरू टुलुटुलु नयनलाई हेरिरहेका थिए ।


ऊ झन् दुःखी भयो ।
बल्ल नयन फुटबल चौरमा पुग्यो । साथीसँग खेल्दै गर्दा उसले चौरको कुनामा हात्तीलाई खुट्टामा बाँधिरहेको देख्यो । हात्ती कराइरहेको थियो । अलि पर अर्को कुनामा हात्तीको बच्चा पनि कराइरहेको थियो ।
फुटबल खेलिसकेर फर्कंदै गर्दा उसले मुखबाट फिँज निकाल्दै गाडा तानिरहेको गोरुलाई देख्यो । अझ किसान गोरुलाई पिट्दै थियो।
बाटोमा फेरि उसले पाडाले गाडा तानिरहेको देख्यो । पाडाले मुखभरि फिँज निकाल्दै सकिनसकी गाडा तानिरहेको थियो ।
अलि पर उसले खेत जोत्दै गरेको गोरुलाई देख्यो । त्यहाँ पनि किसानको हातमा लौरो थियो । ऊ पिट्दै गोरुलाई काम लगाइरहेको थियो । नयन झन्झन् दुःखी भयो ।


घर जाने घुमाउरो बाटोमा नयनले गाईको बाच्छी बेचेर पैसा गन्दै गरेको मान्छेलाई देख्यो । माउ गाईले त्यो बाच्छीलाई चाटिरहेको थियो ।
घर पुग्नै लाग्दा नयनले कुकुरको छाउरो बेच्दै गरेको मानिस भेट्यो । सिक्रीमा बाँधिएको माउ कुकुर भुकिरहेको थियो ।
त्यही छेउमा उसले पिँजडा नै बोकेर चराहरू बेच्न बसेको मान्छेलाई देख्यो । चराहरू पिँजडाभित्र चिरबिरचिरबिर गर्दै कराइरहेका थिए । नयन झन् दुःखी भयो ।
घरनेरको मूल बाटोमा घोडामा चढेर सेनाहरू आइरहेका थिए । एउटा बग्गी घोडाले तानेर ल्याइरहेको थियो । बग्गीमा बेहुलाबेहुली थिए । नयन यो देखेर पनि ऊ खुसी हुन सकेन । त्यसपछि नयन घरतिर दौडियो । उसको आँखामा अघि अगाडि देखेका सबै कुराका दृश्य झलझली नाचे । तर, ती सबै दृश्यमा जनावरको ठाउँमा उसले आफैं भएको कल्पना गर्‍यो ।


नयन घर पुगेर टक्क अडियो । उसको मन पीडाले पोलिरहेको थियो । उसले एकछिन टोलाएर पिँजडामा थुनिएको सुगालाई हेर्‍यो । अनि उसले पिँजडा खोलिदियो । सुगा भुर्र उड्यो । आकाशमा उडिरहेको सुगालाई देखेर नयन बल्ल खुसी भयो । रमायो ।
-कार्तिकेय

प्रकाशित : श्रावण १९, २०७६ १०:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×