बगिआयो खोला

कान्तिपुर संवाददाता

पहाडबाट छङछङ गर्दै बगिआयो खोला,बग्दाबग्दै सानो खोलाकहाँ पुग्छ होला ?

कतै छङछङ कतै सल्ल
बग्छ सानो खोला,
दिनरात बग्दा पनि
कति नथाकेको होला ?

बग्दै जाँदा अलि तल
मिल्छ उस्तै खोला,
धेरै तल पुग्दा यो त
कति ठूलो हुन्छ होला ?

हिउँदमा सानो हुन्छ
उर्लन्छ यो वर्षायाममा,
खोलाको यो पानी त झन्
प्रयोग हुन्छ कति काममा ?

-किस्मत वाग्ले, कक्षा–६
सैनिक आवासीय महाविद्यालय, पोखरा

प्रकाशित : श्रावण १९, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्

बुद्धका पञ्चशील

अमृता अनमोल

 भाइबहिनीहरू, तिमीहरूलाई सिद्धार्थ गौतमबारे थाहा छ होला  । उनी शान्तिका अग्रदूत हुन्  ।

२५६२ वर्षअघि वैशाख पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भएको थियो । उनी कपिलवस्तुका राजा शुद्धोदन र मायादेवीका छोरा हुन् । राजकुमारका रूपमा जन्मेर पनि उनी शान्तिको खोजीमा हिँडे । २९ वर्षको उमेरमा दरबार छोडे । ४५ वर्षको उमेरमा भारतको बोधगयामा शान्तिको ज्ञान प्राप्त गरे । त्यसपछि गौतमबुद्धका नामले प्रख्यात बने । बुद्धले ज्ञानी र असल मान्छे बन्न सिकाएका छन् । हो, यहीं ज्ञानलाई रुपन्देहीको देवदह नगरपालिकाका सबै विद्यालयमा पढाउन थालिएको छ । देवदह बुद्धमावली क्षेत्र हो । यहाँका कक्षा ६ देखि ८ सम्म बुद्ध शिक्षा पढाइन्छ । विद्यार्थीलाई अनुशासित र नैतिकवान् बनाउन भन्दै यस्तो शिक्षा सुरु गरिएको हो ।

यहाँ कक्षा ६ देखि ८ सम्म ‘बौद्ध शिक्षा र देवदह परिचय’ पाठ्यपुस्तक पढाउन थालिएको छ, नैतिकता र असल कर्म सिकाउन । त्यसमा नैतिक शिक्षा र परोपकारसम्बन्धी ज्ञान छ । बुद्धका पञ्चशीलबारे पाठ छ । पुस्तकमा कथा, निबन्ध र सूत्रका माध्ययमबाट बौद्ध शिक्षा बुझाउन खोजिएको छ । तिनलाई योग र अभ्यासका माध्ययमबाट प्रयोग गर्न सक्नेसमेत बनाइएको छ । लुम्बिनीमा जन्मेका बुद्ध र आफू जन्मेको नगरका बारेमा पढ्न पाउँदा विद्यार्थी निकै खुसी छन् । नियमित ध्यान र योग अभ्यास गर्न पाउँदा फूर्तिला भएका छन् ।
उषा कुँवर केरवानी माविकी कक्षा ८ की छात्रा हुन् । उनले बुद्धशिक्षा पढ्न थालेको ३ वर्ष भयो । पञ्चशील (बुद्धका ५ महत्त्वपूर्ण शिक्षा) सिकेकी छन् । प्राणी हिंसा नगर्नु, झूटो नबोल्नु, चोरी नगर्नु, सदाचारी रहनु र जाँडरक्सी नखानु भन्ने बुद्धका पञ्चशील उपदेश हुन् । यसले उषा निकै प्रभावित छिन् । ‘बुद्धका उपदेशबाट आफूले आफैंलाई चिन्ने मौका पाएका छौँ,’ उनले भनिन्, ‘असल व्यक्ति बन्ने पनि अभ्यास गर्न पाएका छौं ।’ पाठ्यपुस्तकले खराब काम छोड्न सिकाएको छ । सट्टामा असल काम गर्न प्रेरणा दिएको उनले बताइन् ।


देवदहमा ३० वटा आधारभूत तहका विद्यालय छन् । पुस्तकहरू अंग्रेजी र नेपाली दुवै भाषामा छन् । त्यसलाई सामुदायिक र निजी दुवै विद्यालयमा
पढाउने गरिएको छ । बुद्धशिक्षाबाट देवदह माविका मनीष शर्मा पनि निकै प्रभावित छन् । उनको आमाबाबु र गुरुप्रति गर्ने सम्मानको भावना बढेको छ । ठूलालाई आदर गर्न र सानालाई माया गर्न थालेका छन् । दुःखीलाई सहयोग गर्न र साँचो बोल्न पनि सिकेका छन् । किताबबाट जन्मभूमि देवदहको ऐतिहासिक र पुरातात्त्विक महत्त्वबारे पनि जान्न पाएका छन् । ‘मान्छे कसरी असल बन्ने, खराब काम त्याग्ने, दुःखबाट छुटकारा पाउने र सबैको भलो हुने काम गर्ने भन्ने बुद्धशिक्षाको मूल कुरा रहेछ,’ मनीषले भने, ‘यो निकै राम्रो लाग्यो ।’


परीक्षणका रूपमा लागू गरेको पाठ्यक्रमले विद्यार्थीमा निकै राम्रो प्रभाव पार्‍यो। यही प्रभाव देखेर नगरपालिकाले बुद्धशिक्षा माथिल्लो कक्षासम्म पुर्‍याउने योजना बनाएको छ । राज्यले विद्यालय तहसम्म एउटा विषयमा स्थानीय पाठ्यक्रम बनाएर लागू गर्न स्थानीय तहलाई अधिकार दिएको छ । धेरैमा यसबारे बहस चलेको छैन । देवदह नगरपालिकाले भने अनिवार्य पाठ्यक्रमकै रूपमा ‘बौद्ध शिक्षा र देवदह परिचय’ लागू गरेको छ । नगरपालिका प्रमुख हीराबहादुर खत्रीले विद्यार्थीलाई नैतिक शिक्षा दिएर अनुशासित र चरित्रवान् बनाउन बौद्ध शिक्षा सुरु गरेको बताए ।


पाठ्यपुस्तक लेखक तथा शिक्षक निर्मल ढुंगानाले बुद्धशिक्षामा उपदेशसँगै बालबालिकालाई मिहिनेत गर्ने र अनुशासित बन्ने बानीलाई जोड दिएको बताए । यसले किशोर उमेरमा हुने चञ्चलता र कुलतमा लाग्न सक्ने अवस्थाबाट जोगाएको छ । विद्यार्थी मिहिनेती बनेका छन् । आफ्नो काम आफैं गर्न सिकेका छन् । पढाइप्रति लगनशील बनेका छन् । जन्मभूमि र राष्ट्रियतालाई माया गर्न थालेका छन् ।

प्रकाशित : श्रावण १९, २०७६ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्