बुद्धका पञ्चशील

अमृता अनमोल

 
भाइबहिनीहरू, तिमीहरूलाई सिद्धार्थ गौतमबारे थाहा छ होला  । उनी शान्तिका अग्रदूत हुन्  ।

बुद्धका पञ्चशील

२५६२ वर्षअघि वैशाख पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भएको थियो । उनी कपिलवस्तुका राजा शुद्धोदन र मायादेवीका छोरा हुन् । राजकुमारका रूपमा जन्मेर पनि उनी शान्तिको खोजीमा हिँडे । २९ वर्षको उमेरमा दरबार छोडे । ४५ वर्षको उमेरमा भारतको बोधगयामा शान्तिको ज्ञान प्राप्त गरे । त्यसपछि गौतमबुद्धका नामले प्रख्यात बने । बुद्धले ज्ञानी र असल मान्छे बन्न सिकाएका छन् । हो, यहीं ज्ञानलाई रुपन्देहीको देवदह नगरपालिकाका सबै विद्यालयमा पढाउन थालिएको छ । देवदह बुद्धमावली क्षेत्र हो । यहाँका कक्षा ६ देखि ८ सम्म बुद्ध शिक्षा पढाइन्छ । विद्यार्थीलाई अनुशासित र नैतिकवान् बनाउन भन्दै यस्तो शिक्षा सुरु गरिएको हो ।

यहाँ कक्षा ६ देखि ८ सम्म ‘बौद्ध शिक्षा र देवदह परिचय’ पाठ्यपुस्तक पढाउन थालिएको छ, नैतिकता र असल कर्म सिकाउन । त्यसमा नैतिक शिक्षा र परोपकारसम्बन्धी ज्ञान छ । बुद्धका पञ्चशीलबारे पाठ छ । पुस्तकमा कथा, निबन्ध र सूत्रका माध्ययमबाट बौद्ध शिक्षा बुझाउन खोजिएको छ । तिनलाई योग र अभ्यासका माध्ययमबाट प्रयोग गर्न सक्नेसमेत बनाइएको छ । लुम्बिनीमा जन्मेका बुद्ध र आफू जन्मेको नगरका बारेमा पढ्न पाउँदा विद्यार्थी निकै खुसी छन् । नियमित ध्यान र योग अभ्यास गर्न पाउँदा फूर्तिला भएका छन् ।
उषा कुँवर केरवानी माविकी कक्षा ८ की छात्रा हुन् । उनले बुद्धशिक्षा पढ्न थालेको ३ वर्ष भयो । पञ्चशील (बुद्धका ५ महत्त्वपूर्ण शिक्षा) सिकेकी छन् । प्राणी हिंसा नगर्नु, झूटो नबोल्नु, चोरी नगर्नु, सदाचारी रहनु र जाँडरक्सी नखानु भन्ने बुद्धका पञ्चशील उपदेश हुन् । यसले उषा निकै प्रभावित छिन् । ‘बुद्धका उपदेशबाट आफूले आफैंलाई चिन्ने मौका पाएका छौँ,’ उनले भनिन्, ‘असल व्यक्ति बन्ने पनि अभ्यास गर्न पाएका छौं ।’ पाठ्यपुस्तकले खराब काम छोड्न सिकाएको छ । सट्टामा असल काम गर्न प्रेरणा दिएको उनले बताइन् ।


देवदहमा ३० वटा आधारभूत तहका विद्यालय छन् । पुस्तकहरू अंग्रेजी र नेपाली दुवै भाषामा छन् । त्यसलाई सामुदायिक र निजी दुवै विद्यालयमा
पढाउने गरिएको छ । बुद्धशिक्षाबाट देवदह माविका मनीष शर्मा पनि निकै प्रभावित छन् । उनको आमाबाबु र गुरुप्रति गर्ने सम्मानको भावना बढेको छ । ठूलालाई आदर गर्न र सानालाई माया गर्न थालेका छन् । दुःखीलाई सहयोग गर्न र साँचो बोल्न पनि सिकेका छन् । किताबबाट जन्मभूमि देवदहको ऐतिहासिक र पुरातात्त्विक महत्त्वबारे पनि जान्न पाएका छन् । ‘मान्छे कसरी असल बन्ने, खराब काम त्याग्ने, दुःखबाट छुटकारा पाउने र सबैको भलो हुने काम गर्ने भन्ने बुद्धशिक्षाको मूल कुरा रहेछ,’ मनीषले भने, ‘यो निकै राम्रो लाग्यो ।’


परीक्षणका रूपमा लागू गरेको पाठ्यक्रमले विद्यार्थीमा निकै राम्रो प्रभाव पार्‍यो । यही प्रभाव देखेर नगरपालिकाले बुद्धशिक्षा माथिल्लो कक्षासम्म पुर्‍याउने योजना बनाएको छ । राज्यले विद्यालय तहसम्म एउटा विषयमा स्थानीय पाठ्यक्रम बनाएर लागू गर्न स्थानीय तहलाई अधिकार दिएको छ । धेरैमा यसबारे बहस चलेको छैन । देवदह नगरपालिकाले भने अनिवार्य पाठ्यक्रमकै रूपमा ‘बौद्ध शिक्षा र देवदह परिचय’ लागू गरेको छ । नगरपालिका प्रमुख हीराबहादुर खत्रीले विद्यार्थीलाई नैतिक शिक्षा दिएर अनुशासित र चरित्रवान् बनाउन बौद्ध शिक्षा सुरु गरेको बताए ।


पाठ्यपुस्तक लेखक तथा शिक्षक निर्मल ढुंगानाले बुद्धशिक्षामा उपदेशसँगै बालबालिकालाई मिहिनेत गर्ने र अनुशासित बन्ने बानीलाई जोड दिएको बताए । यसले किशोर उमेरमा हुने चञ्चलता र कुलतमा लाग्न सक्ने अवस्थाबाट जोगाएको छ । विद्यार्थी मिहिनेती बनेका छन् । आफ्नो काम आफैं गर्न सिकेका छन् । पढाइप्रति लगनशील बनेका छन् । जन्मभूमि र राष्ट्रियतालाई माया गर्न थालेका छन् ।

प्रकाशित : श्रावण १९, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?