मामाघर

असारको महिना, वर्षायाम भएकाले छिनछिनमा आकाशबाट पानी पर्नु र रोकिनु स्वाभाविकै थियो  । निर्भिग्न कक्षा २ मा पढ्दै थिए  ।

मामाघर

उनले ५ दिनका लागि विद्यालयबाट बिदा लिएका थिए । सर्लाहीमा बस्नुहुने हजुरबा र हजुरआमाले गाउँको घरमा पूजा लगाउने हुनुभएको थियो । त्यसैले निर्भिग्न पनि आमाबाबासँगै गाउँ जाँदै थिए । लामो दूरीको यात्रामा आफूलाई मनपर्ने खाना खाँदै आमाबाबासँग हिँड्न उनलाई निकै रमाइलो लाग्थ्यो । ६/७ घण्टाको बस यात्रापछि उनी सर्लाहीमा रहेका हजुरबा–हजुरआमाको घर पुगे ।


दुई वर्षपछि गाउँ पुगेका निर्भिग्नलाई निकै रमाइलो लागिरहेको थियो । गाउँमा जताततै हरियाली थियो । रोपाइँ गर्ने समय सुरु भएकाले किसानहरू खेती गर्न व्यस्त थिए । उनका हजुरबा पनि झरीबाट बच्न घुम ओडेर हातमा फर्वा बोकी खेततिर जान लाग्नुभएको थियो । निर्भिग्नले ‘बा म पनि हजुरसँग जान्छु’ भने । हजुरबाले प्लास्टिकको बोराको घुम बनाई उनको टाउकोमा राखिदिनुभयो । खेतमा पुगेपछि निर्भिग्न छक्क परे । गराहरूमा हिलैहिलो थियो । हिलोमा रुझ्दै केही महिला हरियो सानो झार रोप्दै थिए । अर्को गरामा दुइटा गोरुको बीचमा काठको मुडो झुन्ड्याई पुरुषहरू हिलोमा गोरुको पछिपछि हिँड्दै थिए । निर्भिग्नले यस्तो कहिल्यै देखेका थिएनन् ।


उनले हजुरबालाई सोधे, ‘उहाँहरूले यो के गर्नुभएको हजुरबा ?’
हजुरबाले हाँस्दै भन्नुभयो, ‘बाबु, यो हरियो हरियो झार धानको बिरुवा हो । यो हिलोमा नै रोप्नुपर्छ । अरू वनस्पतिभन्दा यसलाई पानी धेरै चाहिन्छ । ऊ, त्यसलाई चैं हलो भनिन्छ ।’ हलोतिर हातको इसारा गर्दै हजुरबाले भन्न थाल्नुभयो, ‘यसरी जोतेपछि मात्र खेतमा धान रोप्न मिल्छ । यही बिरुवा पछि ठूलो हुन्छ । त्यसमा धानका बाला लाग्छन् । त्यही धानबाट चामल बन्छ । अनि मात्र हामी भात खान पाउाछौं, बुझ्यौ ।’ निर्भिग्न दंग परे । उनलाई चामल कसरी बन्छ थाहा थिएन । उनले धान नै देखेका थिएनन् । हामीले खाने भातको चामल बन्न त धेरै मिहिनेत र समय लाग्ने रहेछ । आफूले धेरैपटक आमाले पस्केको खाना नमिठो भनी छाडेको उनले सम्झिए । उनीहरू केही बेरपछि घर फर्किए । घर पुग्दा पानी रोकिएको थियो । करेसाबारीमा हजुरआमा फर्सीको मुन्टा टिप्दै हुनुहुँदो रहेछ । हजुरआमाको मजेत्रोमा झुसुल्किरा टाँसिएको निर्भिग्नले देखे । उनी अत्तालिए, चिच्याए । हजुरआमाले नडराई पत्ताले झुसुल्किरा टिपेर फ्याँक्नुभयो । हजुरआमाका खुट्टा हिलोमा गाडिएका थिए ।


बेलुकी खाना खाने समय भयो । हजुरआमाले भात, फर्सीको मुन्टा, दाल निर्भिग्नका लागि ठिक पार्दिनुभयो । त्यो देख्नासाथ निर्भिग्नले ‘मलाई मन नपर्ने तरकारी, म आज खाना खान्नँ’ भन्नै लागेका थिए, अचानक उनले सम्झिए, ‘हाम्रो अगाडि पस्किएर राखिएको खाना र तरकारी त धेरै दुःख गरेर तयार पारिएको हुँदो रहेछ । यसलाई हेला गर्नुहुन्न रहेछ ।’ उनी केही बोलेनन् । मिठो मानी सबै खाना खाए । निर्भिग्नले मिठो मानी खाएको देखेर हजुरबा, हजुरआमा, आमाबाबा सबै खुसी हुनुभयो ।पाँच दिनको सर्लाही बसाइपछि निर्भिग्न काठमाडौं फर्किए । आजभोलि उनी आमाले पकाउनुभएको सबै खानेकुरा झगडा नगरी खान्छन् । त्यसैले उनी स्वस्थ र फूर्तिला भएका छन् ।

सविता मैनाली

प्रकाशित : श्रावण ५, २०७६ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?