१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रोपाइँ

बिहानैदेखि सिमसिम पानी परिरहेको थियो  । गाउका सबैजना उत्साहित थिए  ।

रोपाइँ

आज गाउँभरिको अन्तिम रोपाइँ सुमनको खेतमा थियो । अरूको घरमा रोपाइँ हुँदा सुमनले स्कुल छोडन् पाउँदैनथे । तर आफ्नै घरमा रोपाइँ भएकाले स्कुलबाट एक दिनका लागि बुबाले छुट्टी लिइदिनुभएको थियो ।


झिसमिसे भएसँगै बुवा तथा छिमेकी पाँच जना काका गोरु लिएर खेतमा जानुभयो । उनी पनि सँगसँगै खेतमा पुगे । कसैले कुलोबाट खेतमा पानी लगाउने, कोही खेत सम्याउने, कोही भने खेत जोत्नतिर लागे । छिमेकी काकीहरूले अगाडि नै आएर आधा बीउ निकालिसक्नु भएछ । धमाधम खेतमा रोपाइँ सुरु भयो । गीत गाउँदै, हिलो छ्याप्दै गोरु जोतेको देख्दा सुमनलाई निकै रमाइलो लाग्यो । उनी घरी सानो बाउसोले माटो सम्याउँथे । घरी कुलोमा पानी खोल्थे । आकाशको पानीमा निध्रुक्कै हुने गरी भिज्न पाउँदा उनलाई यो दिन सधैं आए हुन्थ्यो भन्ने लागिरह्यो ।


एकछिन्मै सुमनकी बहिनी र आमा घरबाट खाना बोकेर आउनुभयो । सबै जनासँगै बसेर आलु, पुरी, दही, चिउरा, आँप, काँक्रोलगायत खानेकुरा खान पाउँदा सुमन पनि दंग थिए । सुमन र उसकी बहिनी सिमानालाई रोप्न भनेर छुट्टै साना दुइटा गरा यसपालि पनि बुबाले ठिक्क पारिदिनुभएको थियो । दुवै जना भाइबहिनी मिलेर पालैपालो दुइटै गरा रोपे । उनीहरू यी गरामा रोपेको धान काट्न पनि आफैं आउँछन् । त्यसलाई सुकाएर चुटेपछि मिलमा लगेर कुटाएर ल्याउँछन् । त्यही चामलको भात उनकी आमाले उनीहरूलाई पकाइदिनुहुन्छ । आफ्नै परिश्रमले उब्जाएको चामलको भात उनीहरूलाई साह्रै मिठो लाग्छ । एक सिता पनि नछोडी खान्छन् ।


सुमनको खेतको छेउमा खर्क छ । दिउँसोको खाना पकाउन सुमनका आमाबुबा खर्क जानुभयो । पकाउन चाहिने सामान हिजो नै सुमन र बहिनी मिलेर ओसारेका थिए । उतातिर काकाकाकीहरू गीत गाउँदै रोपाइँ गरेको यतातिर आमाबुबा मिलेर खाना पकाउँदै गरेको दृश्य सुमनलाई अति मन पर्छ । सुमन बहिनीसगै नजिकै रहेको खोलामा पौडी खेल्न गए । उनीहरूलाई पौडिन राम्रोसँग आउँछ । दाइबहिनी मिलेर खोलाबाट चारवटा माछा मारेर ल्याए । ‘ओहो’ आजको रोपाइँ त मासुभात खाँदै झनै रमाइलो हुने भयो,’ बुबाले भन्नुभयो । दिउँसोको झन्डै तीन बज्न लागेको थियो । सबै जना भोकाएका थिए । सबैभन्दा पहिला खाना सुमन र उनकी बहिनीले खाए । त्यसपछि उनकी आमाले सबैलाई बोलाउनुभयो । दाइबहिनीले सबैलाई खाना थप्न मद्दत गरे ।


खाना खाइसकेपछि एकछिन् आराम गरेर सबै जना खेततिर लागे । सुमनकी आमा भाडा माझ्नतिर लाग्नुभयो । सिमाना भने घरमा दूध दिने भैंसी भोकै भएकाले डोको बोकेर पाखातिर घाँस काटन् गइन् । सुमन पनि बाख्रा हेर्न भनेर पाखातिर जाँदै गर्दा उताबाट बाख्रा म्याँम्याँ गर्दै दौड्दै सुमनतिर आइरहेका थिए ।


यो वर्षको अन्तिम रोपाइँ भएकाले सबै जनाले हिलो छ्यापाछ्याप गर्दै रमाइलो पनि गरे । यसपालि सुमनको खेतको रोपाइँ अँध्यारो नहुँदै सकियो । सबै जनाले खोलामा गएर नुहाइधुवाइ गरे । अनि घरतिर लागे । सुमनको परिवार पनि भैंसीलाई घाँस बोक्दै, गोरु, बाख्रा अगाडि लगाएर वर्षभरि ढुक्कसँग भात खान पाइने खुसीले घरतिर लागे । सुमनलाई भने आफूले रोपेको गराको धान काट्ने दिन चाँडै आइदिए’नि हुन्थ्यो भन्ने लागिरह्यो ।
मञ्जु भट्ट

प्रकाशित : असार २९, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?