३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नोट चिनौं

नक्कली नोट हेरेर, छामेर र प्रयोग गरेर छुट्याउन सकिन्छ ।
यज्ञ बञ्जाडे

आऊ, यो पल्ट नोटबारे जानौं  । नेपालमा ५, १०, २०, ५०, सय, पाँच सय र हजार दरका नोट छापिन्छन्  ।

नोट चिनौं

यसअघि एक र दुईका नोट पनि छाप्ने गरिन्थ्यो । हाल छापिँदैन । २५ र २५० दरका नोट एकपटक मात्र छापिएका थिए । एक र दुईका नोटको सट्टा सिक्का छापिन्छन् । नेपालमा २००२ सालदेखि नोट छाप्न थालिएको हो । नोट विशेष गुणस्तरको कागजबाट बन्छ । बेलाबखतमा बजारमा नक्कली नोट भेटिएको समाचार सुनिन्छ । अरूले दिएको नोट नक्कली नपरोस् भन्नका लागि हामीले चिन्न सक्नुपर्छ ।


नक्कली नोट हेरेर, छामेर र प्रयोग गरेर छुट्याउन सकिन्छ । हेरेर पत्ता लगाउन नोटमा भएका विभिन्न चित्र, रंग, नम्बर हेर्नुपर्छ । छामेर पत्ता लगाउँदा नोटको खस्रोपन, मोटो, पातलो, डट लगायत विभिन्न विधि अपनाउन सकिन्छ । सक्कली नोट खस्रो हुन्छ । नक्कली नोट चिल्लो हुन्छ । प्रयोग गरेर छुट्याउनका लागि नोटमा पानीको थोपा हाल्नुपर्छ । औंलाले हिर्काउनुपर्छ । सक्कली नोट पानी परे पनि बिग्रिँदैन । नक्कली नोटमा पानीको थोपा पर्‍यो भने रङ पोतिने, कागज गल्ने, छिट्टै लत्र्याकलुत्रुक हुने हुन्छ । नयाँ नोटलाई औंलाले हान्दा ट्वाक्क–ट्वाक्क गरी कडा आवाज आउँछ । नक्कली नोट वा अन्य कागजमा यस्तो आवाज आउँदैन ।


नोटमा अघिल्लो र पछिल्लो भागमा फरकफरक विशेषता हुन्छन् । यसबारे जानेर हामी नोट सक्कली वा नक्कली छुट्याउन सक्छौं ।

अघिल्लो भाग ः यसमा प्रमुख चार प्रकारका विशेषता हुन्छन् ।
१) हामीले हजार, पाँच सय र सय रुपैयाँका नोटमा दायाँ पुच्छर भागलाई उज्यालोतिर ठड्याएर हेर्दा त्यहाँ लालीगुँरासको चित्र देखिन्छ । त्यसलाई पानी छाप भनिन्छ । नक्कली नोटमा त्यस्तो देखिँदैन ।
२) नोटको बीच भागको तलपट्टि अंग्रेजी अक्षरमा राष्ट्र बैंकको छोटकरी रूप ‘एनआरबी’ लेखिएको हुन्छ ।
३) नोटको बीच भागमा एउटा ठाडो टल्किने धर्को हुन्छ । यसलाई सुरक्षण धागो भनिन्छ । उक्त धर्कोलाई उज्यालोतिर फर्काएर हेर्दा त्यहाँ पनि सानो अक्षरमा राष्ट्र बैंकको छोटकरी रूप ‘एनआरबी’ देखिन्छ । यो धर्को हजारमा अलि ठूलो, पाँच सयमा हजारभन्दा सानो र सयको नोटमा पाँच सयको भन्दा सानो हुन्छ ।


४) अगाडिको भागको चौथो विशेषतामा तीनवटा कुरा हेर्न सक्छौं । नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत ।
क) नोटको बीच भागमा ‘श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ...(१ हजार वा ५ सय वा १ सय) तुरुन्त पाइनेछ,’ लेखिएको हुन्छ । त्यसको तलतिर गभर्नरको दस्तखत हुन्छ ।
ख) हजार दरको नोटको दायाँतिर बीच भागमा भगवती, पाँच सयको नोटमा कुवेर र सयको नोटमा मायादेवीको आकृति हुन्छ ।
ग) हजारको नोटको दायाँतिर बीचमा तीनवटा गोलाकार थोप्ला हुन्छन् । यस्ता थोप्ला पाँच सयमा दुइटा र सयको नोटमा एउटा हुन्छ । ती थोप्ला फरक क्षमता भएका दृष्टिविहीनका लागि राखिएका हुन् । यसलाई ‘इन्ट्यागलियो प्रिन्ट’ भनिन्छ । उक्त प्रिन्ट भएको ठाउँमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।
पछिल्लो भाग ः यसमा प्रमुख दुई विशेषता हुन्छन् ।
१) पछिल्लो भाग दुवैतर्फबाट नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा नोटको पूरै चौडाइ भागमा सुरक्षण धागो देखिन्छ । नोटको अग्र भागमा लेखिएका वाक्यांशहरू उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।
२) नोटको पछिल्लो भागबाट हेर्दा पनि पानी छापभित्र लालीगुराँसको चित्र देखिन्छ । हजारको नोटको पछिल्लो भागमा एउटा हात्ती, पाँच सयमा पाटेबाघ र सयको नोटमा एकसिंगे गैँडाको माउ र बच्चाको चित्र हुन्छ । यो दुवैतर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ । हजार दरको नोट पछाडिको दायाँ भागमा गाढा सुनौलो रङ हुन्छ । पाँच सयको नोट पछाडिको दायाँ भागमा हरियो रंग हुन्छ । सयको नोटमा अग्र भागलाई हेर्दा उक्त सुरक्षण धागो रातो रंगको देखिन्छ । नोटलाई केही ढल्काएर हेर्दा हरियो रंगको देखिने हुन्छ । नोट जति पुरानो र मैलो भए पनि यसको रंग बिगि्रँदैन । नक्कली नोटमा रंग बिग्रने हुन्छ भने गाढा रंग पनि हुँदैन ।

प्रकाशित : जेष्ठ २६, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?