कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सिम्लेवनमा आगलागी

हेल्लो १ वारुणयन्त्र हो ?’‘हो, को बोलेको ?’‘म चतुरे बोलेको, सिमलटारको सिम्लेवनबाट  । यहाँ सिम्लेवनमा आगो लागेको छ  ।

सिम्लेवनमा आगलागी

छिटो दमकल पठाइदिनुपर्‍यो ।’
वरुणयन्त्रका अग्नि नियन्त्रकहरू तयार भए । त्यसपछि साइरन बजाउँदै दमकल सिम्लेवनतिर लाग्यो । सिम्लेवनमा धुवैधुवाँको बादल मडारिएको देखियो । सायद ठूलै आगलागी भएको हुनुपर्छ । साइरन बजाउँदै दमकल सिम्लेवन पुग्यो । तर त्यहाँ कोही मान्छे थिएन । छक्क पर्दै एकजना अग्नि नियन्त्रकले भने, ‘खोई त, यत्रो आगलागी भएर पनि एकजना मान्छे छैन ।’


उनीहरू अलि पर पुगे । त्यहाँ अचम्मको दृश्य देखियो । जनावरहरू मिलेर आगोमा पानी हाल्दै थिए । बाँदरहरू झारपात लिई आगो निभाउँदै थिए । खरायो, जरायो, बाघ, भालु, अर्ना, हरिण सबैले झारपातले आगो निभाउँदै थिए । कोही माटो हाल्दै थिए । बच्चा जनावरहरू डराए परपर बसेर हेर्दै थिए ।
जंगलमा बाघ, भालु, हात्ती, गैंडा देखेर अग्नि नियन्त्रकहरू पनि डराए । ‘ओहो, यहाँ त बाघ, भालु पो रहेछन् । हामी अन्तै आइपुगेजस्तो छ । फर्क्यौं, फर्क्यौं,’ दमकल चालकले भने ।
उनीहरू डराएर फर्कन लागे । यो देखेर जनावरहरू दमकलको अगाडि पुगे । दमकल चालक र अग्नि नियन्त्रक झन् डराए । यत्तिकैमा बाघ दमकल अगाडि आएर बिन्ती गर्न थाल्यो, ‘हामी तपाईंहरूलाई केही गर्दैनौँ । हाम्रो बासस्थल सिम्लेवनमा आगो लागेको छ । आगो निभाइदिनुस् न । तपाईंहरूलाई हामीले नै फोन गरेका हौँ ।’


अरू जनावरले पनि दमकलवरिपरि जम्मा भएर आगो निभाइदिन बिन्ती गरे । फुच्चे जनावरहरू भने दमकल हेरेर रमाइरहेका थिए ।
बाघले बोलेको देखेर अग्नि नियन्त्रकहरू अचम्मित भए । उनीहरू रोकिए । एक जना अग्नि नियन्त्रकले भने, ‘ल ल ठिकै छ । तिमीहरू त मान्छेले जस्तै पो बोल्दा रहेछौ । हामी आगो निभाइदिन्छौँ । बरु अलि परपर हट ।’
केही समयपछि सिम्लेवनमा लागेको आगो नियन्त्रणमा आयो । भर्खरै आगलागी सुरु भएकाले त्यति धेरै फैलिएको थिएन । नत्र त्यसले सारा जंगल नै सखाप पार्थ्यो । आगो निभेपछि जनावरहरू खुसीले उफ्रिँदै कराउन थाले, ‘आगो निभ्यो, आगो निभ्यो ।’
‘तपाईंहरू नआइदिनुभएको भए त हाम्रो घर सखापै हुने थियो । तपाईंहरूले हामीलाई ठूलो सहयोग गर्नुभयो । त्यसका लागि तपाईंहरूलाई सिम्लेवनका सम्पूर्ण जनावरहरूका तर्फबाट धेरैधेरै धन्यवाद दिन चाहन्छौँ,’ बाघले अग्नि नियन्त्रकहरूलाई धन्यवाद दिँदै भन्यो ।


‘तिमीहरूलाई हाम्रो तर्फबाट पनि धन्यवाद । यदि हामीलाई खबर नगरेको भए यो सिंगै जंगल सखाप हुने थियो । त्यसको प्रत्यक्ष असर मान्छेलाई पनि पर्ने थियो । यस्तो बेलामा पनि एकजना पनि मान्छे आएन । मान्छेले गर्नुपर्ने काम तिमीहरूले गर्‍यौ । तिमीहरूले गर्दा यो वन जोगिएको छ । बरु तिमीहरूलाई पो त धन्यवाद भन्नुपर्छ,’ एकजना अग्नि नियन्त्रकले भने । त्यसपछि बाघले अग्नि नियन्त्रकहरूलाई फूलको माला लगाएर बिदाई गर्‍यो । अग्नि नियन्त्रकहरू खुसी भए । जनावरहरू आगो निभेकोमा खुसीले नाच्न थाले । आगो निभाउन आएको दमकल फेरि साइरन बजाउँदै फर्कियो ।

श्यामकृष्ण खुलिमुली

प्रकाशित : जेष्ठ १९, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?