कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

माछा र कमिला

 
गाउँनजिकै एउटा सानो पोखरी थियो  । पोखरीमा केही माछा थिए  ।

माछा र कमिला

एउटा रंगीन माछा पनि थियो । माछा पानीमा पौडी खेल्थे । पानीभन्दा माथिसम्म उफ्रिन्थे । पानीमा तैरिएका कीराफट्यांग्रा पनि खान्थे । गाउँका केटाकेटीहरू आउँथे । पोखरीमा माछा खेलेको हेरेर रमाउँथे । कहिलेकाहीं ससाना ढुंगाले हान्थे । माछा पानीमा लुक्थे । केटाकेटीहरू माछालाई कुरेर बस्थे । धेरै बेरपछि माछा फेरि खेल्न आउँथे । अनि फेरि केटाकेटीहरू रमाउँथे । रंगीन माछा देखेर झन् रमाउँथे ।


पोखरीको छेउको भित्तामा कमिलाको गोलो थियो । कमिलाहरू त्यही गोलोमा बस्थे । उनीहरू खानेकुरा खोज्न परसम्म जान्थे । कमिलाहरू मरेका कीराफट्यांग्रा खान्थे । मौका पर्दा कीराफट्यांग्रालाई मारेर पनि खान्थे ।एक दिन, कमिलाहरू खानेकुरा खोजेर फर्कंदै थिए । उनीहरू पोखरीको छेउछेउबाट हिँड्दै थिए । सबै कमिलाले सकेजति खानेकुरा बोकेका थिए । हिँड्दाहिँड्दै कमिलालाई थकाइ लाग्यो । प्यास पनि लागेको थियो । त्यसैले उनीहरूले पोखरीको छेउमा केही बेर विश्राम गर्ने निधो गरे ।


पानीमा खेल्दै गरेको रंगीन माछाले कमिलाको ताँती देख्यो । उसले मनमनै सोच्यो, ‘ती सबै कमिलालाई खान पाए त १’ रंगीन माछाले पानीभित्रबाटै कमिलाको तााती हेरिरह्यो । उसले कतिखेर कमिलाहरू पानी नजिक आउलान् र क्वाप्लाक्क खाउँला भनेर दाउ हेरिरह्यो । एउटा तिर्खाएको कमिला पानी खान पोखरीको किनारमा गयो । लेउमाथि बसेर उसले पेटभरि पानी खायो । पानी खाएर फर्कनै लाग्दा उसको खुट्टा चिप्लियो । ऊ पानीमा खस्यो । अघिदेखि दाउ हेरेर बसेको रंगीन माछाले उसलाई क्वाप्लाक्क एकै गाँस पार्‍यो । अर्को कमिला पनि पानी खान गयो । पानी खाँदै गरेको कमिलालाई त्यही माछाले फेरि क्वाप्लाक्क पार्‍यो ।


फेरि अर्को कमिला पानी खान गयो । उसलाई पनि उसैगरी त्यो माछाले खायो । पानी खान गएका कुनै पनि साथी फर्केर नआएपछि कमिलाहरू चिन्तित भए । किन आएनन् भनेर हेर्न एक हूल कमिला पोखरीको डिलमा गए । त्यहाँ कुनै साथीलाई देखेनन् । पोखरीको छेउमा एउटा रंगीन माछा मात्रै हाँस्दै पौडिरहेको देखे । कमिलाहरूले सोचे, पक्कै यही माछाले खाएको हुनुपर्छ हाम्रा साथीहरूलाई । साथीहरू गुमेकाले कमिलाहरू दुःखी भए । उनीहरू माछासँग रिसाए ।
कमिलाको एक हूल देखेर त्यो रंगीन माछा निकै लोभियो । ऊ पानीभित्र लुक्दै कमिलाहरूको नजिक आयो । लेउमाथि बसेका धेरै कमिलालाई लेउसँगै एकै गाँस पार्‍यो र फेरि पानीभित्र पस्यो । केही कमिलाले भागेर ज्यान बँचाए ।
बाँकी सबै कमिलाहरू पोखरी छेउबाट होसियारीपूर्वक हिँडे । अलि पर उनीहरूको गोलो थियो । गोलोमा पुगेपछि कमिलाहरूले ढुक्कको सास फेरे ।


दिन बित्दै गयो ।
लामो समयसम्म पानी परेन ।
खडेरी पर्‍यो । पानी नपरेपछि पोखरीको पानी घट्दै गयो । एक दिन पोखरीको सबै पानी सुक्यो ।
पोखरीको पानी सुकेपछि माछाहरू भोक र प्यासले छटपटाउन थाले । भोक र प्यासले छटपटाउँदै माछाहरू भकाभक मर्न थाले । कमिला खाने त्यो रंगीन माछा पनि मर्‍यो । त्यो सानो पोखरीमा मरेका माछाको थुप्रो लाग्यो ।
कमिलाहरू फेरि खानेकुरा खोज्न निस्किए । उनीहरू पहिलाजस्तै पोखरी छेउछेउ भएर जाँदै थिए । उनीहरूले डराई डराई पोखरीतिर नियालेर हेरे । अचम्म १ पोखरीमा त पानी नै थिएन । बरु उनीहरूले पोखरीमा केही माछाहरू मरिरहेको देखे । कमिला खाने त्यो रंगीन माछा पनि मरिरहेको थियो ।


कमिला खाने रंगीन माछा मरिरहेको देखेर उनीहरू खुसी भए । ‘खुचिङ १ तैंले हाम्रा साथीहरूलाई खाएको होइन ? ठिक्क पर्‍यो तँलाई,’ कमिलाहरूले एकै स्वरमा भने । कमिलाहरू खानेकुरा खोज्न निस्केका थिए । मरेका माछा देखेर उनीहरूलाई खानेकुराको ठूलै खजाना भेटेजस्तो भयो । खानेकुरा खोज्न धेरै टाढा जानै परेन । अब सबै कमिला मिलेर पोखरीमा मरेका माछा खान थाले । सबैभन्दा पहिला त्यही रंगीन माछा खाए ।
रत्न प्रजापती

प्रकाशित : वैशाख २९, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?