घडीभित्र छडी

कान्तिपुर संवाददाता

ओरालोमा झरी कैले उकालोमा चढी,नथाकेर घुम्छन् सधैं घडीभित्र छडी  ।

कान्छो भाइ जाँगरिलो छिटो फन्का मार्छ,
अल्छी गर्छ माइलो भाइ खुट्टा ढिलो सार्छ ।
जेठो भाइ जैल्यै बस्छ टक्क अडी अडी,
तर आफ्नै सुरमा घुम्छन् घडीभित्र छडी ।

बाह्र वटै देशमा पुग्छन्, हेलो हाई गर्छन्,
बाह्र बजे तीनै भाइ भेट्छन् मक्ख पर्छन् ।
यात्रा यिनको गज्जबको छ, हुन्न गडबडी,
घुम्छन्, घुम्छन्, घुमिरहन्छन् घडीभित्र छडी ।

समयलाई चिन्नुपर्छ भन्ने पाठ पढौँ,
हामी पनि यसरी नै अघि अघि बढौँ ।
भोलि विद्वान् हुनुपर्छ आज धेरै पढी,
मीठो सन्देश दिँदै घुम्छन् घडीभित्र छडी ।
िरमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

प्रकाशित : वैशाख २९, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्

विपत्मा साथ

कान्तिपुर संवाददाता

तराई–मधेसको बारा–पर्सा जिल्लामा हावाहुरी आएर धेरै घरपरिवार बिचल्लीमा परेको खबर हामीले सुनेकै हो  ।

त्यो विपत्ले धेरै बुबाआमाले बेहोरेको कठिनाइ र गाँसबासकै जोहो हुन नसकेको खबरका माझ काठमाडौंका केही स्कुले केटाकेटीले सहयोग गर्ने सोचे । काष्ठमण्डप विद्यालय र युलेन्स स्कुलमा पढ्ने ८ देखि १६ वर्षसम्मका केटाकेटीले आ–आफ्नो सीप देखाएर केही आफन्त र सहयोगीबाट पैसा संकलन गर्ने उपाय निकाले ।

‘हामीजस्तै ससाना साथीहरूको कापीकलम र स्कुले झोलासमेत हावहुरीले उडाएको खबर सुन्यौं, हाम्रो तर्फबाट थोरै भए पनि सहयोग पठाउन सकिन्छ कि भनेर यो काम गरेका हौं,’ युलेन्स ९ कक्षामा पढ्ने झापाका कोविदभूषण पाठकले भने, ‘हामीमध्ये कसैले उद्घोषण गर्‍यौं, कसैले पियानो बजायौं । अतिथि सत्कारमा पनि हामी जुटेका थियौं ।’ ‘सखा’ भन्ने समूह खोलेर भेला भएका ८ जना केटाकेटीले बखुण्डोलको म्युजिकोलोजी रेस्टुरेन्टमा एउटा सानो कार्यक्रम राखेका थिए । त्यहाँ १४ वर्षका कोविदभूषण र उनकी १२ वर्षीया वाणीभूषण पाठकले पियानो बजाएका थिए । अरू साना विद्यार्थीहरू सहिरा प्रसाईं, निष्ठा शर्मा, शुभश्री खड्का, सुदिति खड्का, शुभायु प्रसाईं र आरम्भज्योति शर्माले कार्यक्रममा समन्वयकारी काम गरेका थिए । रेस्टुरेन्टमा खान आएका आफन्त र अभिभावकबाट ५१ हजार ९ सय रुपैयाँ उठ्यो।


अर्को एउटा अवसरमा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई वैशाख २२ गते काठमाडौंमा भेटेर उनीहरूले सहयोग हस्तान्तरण गरे। ‘यो सहयोग रकम बारा–पर्साका हामीजस्तै विद्यार्थी साथीभाइको किताब–कलम किन्ने काममा उपयोग होस् भनेर मुख्यमन्त्रीज्यूलाई भनेका छौं,’ कोविदले खुसी हुँदै सुनाए । मुख्यमन्त्री राउतले पनि ससाना स्कुले विद्यार्थीको सहयोग सही उपयोग हुने वचन दिएका छन् ।

प्रकाशित : वैशाख २९, २०७६ ११:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्