कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

पुतलीको बिहे

किरण पाण्डे

काठमाडौँ — पुतलीको बिहे भयो, जन्ती जान पाएनअँधेरी खोलाले लग्यो बरिलै...

पुतलीको बिहे

यो गीत प्रत्येक वैशाख १ गते तनहुँको बन्दीपुरमा गुन्जिन्छ । यो दिन पुतलीको बिहे हो । अरु ठाउँबाट यहाँ पुग्ने जोकोहीलाई अनौठो लाग्छ, पुतलीको बिहे । कपडाबाट निर्मित पुतलीलाई सिँगारपटार गरी बेहुली बनाई सजाएर डोलीमा राखी मानिसकैझैं परम्परागत ढंगले बिहे गरेको दृश्य देख्न पाइन्छ । बालबालिकालाई लक्षित पर्व भए पनि ठूलाबडा पनि यसमा रमाउने गर्छन् । यो चलन अजी (पुर्खा) हरूले चलाएको हो । नेवारी परम्परामा जसरी बेलसँग बालिकाको विवाह सम्पन्न गरिन्छ, त्यस्तैगरी यहाँ पुतलीको विवाह पुतलीसँगै गराउने परम्परा छ ।

यो पर्वका दिन बिहानैदेखि पुतलीको सिँगारपटार गरेर विधिवत् पूजा गरिन्छ । दिउँसो ताम्दानी (डोली) मा राखेर दुई जनाले बोकी जन्तीहरूले गीत गाउँदै धिमे बाजाको तालमा गाउँ परिक्रमा गर्छन् । अन्तमा गाउँकै तीनधारामा पुतलीलाई बगाएर वनभोज गरेपछि सकिन्छ, पुतलीको बिहे । डोली बोक्नका लागि भने ‘कन्या केटी’ नै हुनुपर्ने चलन छ । स्थानीयका अनुसार बालबालिकाहरू वर्षैभरि कपडाको पुतली बनाई खेल्ने गर्छन् । करिब सय वर्षअघि त्यही कपडाको पुतलीलाई दुलही बनाएर बिहे गर्ने पर्व सुरु भएको मानिन्छ । अहिले सम्म यो चलनलाई स्थानीयले निरन्तरता दिँदै आएका छन् ।


प्रायः बन्दीपुरेहरू भक्तपुरबाट बसाइँसराइ गरी आएको मानिन्छ । भक्तपुरमा मनाइने प्रसिद्व बिस्काः जात्रा यहाँ पनि मनाइन्छ । सोही दिन पुतलीको पनि बिहे गर्ने परम्परा छ । तनहुँको सदरमुकाम कुनै बेला बन्दीपुर थियो । पछि दमौलीलाई बनाएपछि बन्दीपुरका स्थानीय कोही चितवन कोही राजधानीलगायत ठाउँमा बसाइँ सरे । यो पर्व मनाउन भनेर बसाइँसराइ गएकाहरू पनि आउने गरेको स्थानीय छाया श्रेष्ठले बताइन् ।

प्रकाशित : वैशाख ८, २०७६ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?