कसरी हटाउने सानाका तनाव ?

डा. सुमनराज ताम्राकार

काठमाडौँ — बालबालिकालाई वयस्कको जस्तो घरायसी मामिलामा, घर बाहिर, कार्यालयको चिन्ता हुन्न  । खेतीपाती, व्यवसाय वा कमाउने चिन्ता पनि हुन्न  ।

एक किसिमले बालबालिकामा खासै चिन्ता वा तनाव नहुनु पर्ने हो तर वास्तविकता त्यस्तो हुँदैन । उनीहरूमा पनि उत्तिकै चिन्ता र तनाव हुन्छ । बालबालिकाको तनाव वा चिन्ता कम गर्न अभिभावकले विशेष ध्यान पुर्‍याउनुपर्छ । माध्यमिक तह र त्यसभन्दा माथिका बालबालिकाले भने आफैंले पनि आफ्नो आनीबानी र दैनिकी सुधारेर तनाव कम गर्न सक्छन् ।

बालबालिकामा डर, चिन्ता वा तनाव छ भने त्यसको कारणबाट भाग्न होइन, सामना गर्न सिकाउनुपर्छ । तनावको कारण लुकाउँदैमा तनाव घट्दैन । भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिमा बाहेक जतिसुकै प्रतिकूल समस्या आइलागे पनि ज्यानै जाने हुँदैन । मानौं कि, परीक्षामा कुनै पनि प्रश्नको हल गर्न सकिएन । यसले ज्यानै जाने होइन । कुनै पनि व्यक्ति आफैंमा पूर्ण हुँदैन । सबैमा केही न केही कमी कमजोरी हुन्छन् नै । यो कुरा बालबालिकालाई बुझाउनुपर्छ । साइकल चढ्ने नै त लड्छ । लड्छ भनेर प्रयास नै नगर्ने भन्ने होइन । विश्वमा नाम चलेका व्यक्तिहरूको जीवन कति प्रतिकूल अवस्थाबाट गुज्रेको हामी पढ्न सक्छौं । असफल हुनु नराम्रो होइन तर मिहिनेत भने गर्ने पर्छ । मिहिनेत गर्दागर्दै पनि असफल भइयो भने त्यसलाई पनि स्विकार्नै पर्छ । अभिभावक आफैंमा पनि आफ्ना बालबालिकाका गल्ती स्विकार्ने बानी हुनु पर्दछ । अभिभावकले आफू त्यस्तै सानो भएको भए के गरिन्थ्यो त भनेर सोच्नु आवश्यक हुन्छ ।


बालबालिकाको लागि तिनीहरूका अभिभावक रोल मोडल हुन्छन् । त्यसै पनि तिनीहरूको लागि घर नै पहिलो विद्यालय हो । अभिभावक सुरुवाती शिक्षक पनि । छोराछोरीले आफ्ना अभिभावकको नक्कल गर्ने हुनाले अभिभावकले आफ्ना बालबालिकाबाट गर्न नचाहेका बानी आफूहरूले पनि गर्नु हुँदैन । बालबालिकाले जंकफुड नखाऊन्, मोबाइल धेरै नखेलाऊन्, झूटो नबोलून्, नचिच्याऊन् भन्ने चाहने अभिभावकले आफू पनि त्यस्तै बन्नुपर्छ । कोठामा पुस्तक तथा सरसामान ठाउँमा राख्ने र सरसफाइमा ध्यान दिने कुरा पनि बालबालिकाले अभिभावकबाटै सिक्छन् । आफू टीभी कोठामा बसेर खाना खाने अनि छोराछोरीलाई भान्साकोठामा गएर खाना खाऊभन्दा उनीहरूले मान्ने सवालै आउँदैन । अभिभावक आफैं तनाव वा चिन्तामा परेका बेला कसरी सामना गर्छन् भन्ने कुरा छोराछोरीले अनुभव गरिरहेका हुन्छन् ।


बालबालिकालाई कुनै पनि विषयवस्तु सकारात्मक तरिकाले हेर्न, विश्लेषण गर्न सिकाउनुपर्छ । गिलास आधा खाली छ होइन कि अझै आधा बाँकी छ भन्ने कुरा बोध गराउनुपर्छ । नेपाल खत्तम छ, यहाँका सिस्टमहरू खराब छन् होइन, विदेश जानुपर्छ भनेर ‘ब्रेन वास’ गर्दै लाने होइन कि नेपालमा के कस्ता अवसरहरू छन् त, नेपालमा सेवा पुर्‍याए नेपाली दाजुभाइ नै लाभान्वित हुन्छन् भन्ने बोध गराउनुपर्छ । बालबालिका साँच्चै नै चिन्तित वा तनावमा देखिन्छन् भने तिनीहरूको व्यवहार व्याख्या गरेर सोध्नुपर्छ । जस्तै, तिमी चिन्तित देखिन्छौ, के कति कारणले चिन्तित छौ भनेर सोध्नुपर्छ । जतिसुकै भयानक डर, त्रास वा तनाव भए पनि तिनीहरूलाई बिनासंकोच भन्न प्रोत्साहन गर्नु पर्दछ । त्यही बेला समाधानका उपाय वा विकल्पहरू केके हुन सक्छन्, सोध्ने गर्नुपर्छ । अभिभावक आफैंले समाधान गरिदिने भन्दा तिनीहरूलाई डर, चिन्ता, तनावको समाधान गर्न सक्षम बनाए भविष्यमा तिनीहरूलाई नै सजिलो हुन्छ ।


तनाव वा डरको विषयमा निद्रा एकदम महत्त्वको औषधि हो । त्यसैले तनावलाई व्यवस्थापन गर्न सिकाउने क्रममा निद्राको फाइदा बुझाइदिनुपर्छ । निद्राजस्तै तनाव कम गर्ने तौरतरिकामा व्यक्तिगत भिन्नता हुन सक्छ । गीत, संगीत सुन्ने, व्यायाम, योग गर्ने, घर पालुवा जनावरसँग खेल्ने, एक्वेरियममा माछा वा बगैंचामा चराचुरुंगीको चालचलन हेर्ने, बाहिर घुम्न निस्कने, खेल खेल्ने, मन तातो पानीमा नुहाउने कार्यले पनि तनाव घटाउन मद्दत गर्दछ भन्ने सिकाउनुपर्छ ।


तनाव वा चिन्ताको सामू
आत्मसमर्पण गर्ने होइन, कुनै न कुनै दिन कसो सफल नहोइला भन्ने सिकाउनुपर्छ । निश्चय पनि मिहिनेत चाहिन्छ नै, काम वा पढाइप्रतिको लगाव हुनुपर्छ भन्ने मनन गराउनुपर्छ । र, बालबालिकामा कुनै समस्या आइपर्‍यो भने अभिभावकले त्यसमा अधिक एवं अनावश्यक प्रतिक्रिया जनाउनु हुँदैन । बालबालिकामा अधिकजसो तनाव पढाइ, लेखाइ खनि परीक्षाकै हुन्छ । विद्यालयमा भोलि पढाइ हुने आजै एकपटक पढ्न वा अभ्यास गर्न लगाउने, समयमै गृहकार्य गर्न लगाउने, पुस्तकका पाठहरू सारांशमा नोट बन्न लगाउने, दिनहुँ पढाइ, लेखाइ नियमित गरेको खण्डमा सफलता हात लाग्छ भन्ने बोध गराउनुपर्छ । बालबालिकालाई घरमा समय दिनुपर्छ । अभिभावक आफू घर फर्किंदा बाहिरको मुडअनुसार बालबालिकालाई व्यवहार गर्नु हुँदैन । जतिसुकै समय अभाव भए पनि, एक क्षणका लागि भए पनि तिनीहरू जस्तै सानै बनेर तिनीहरूकै स्तरअनुसार खेलिदिनुपर्छ । यी कार्य सानोजस्तो लागे पनि बालबालिकाको तनाव, डर हटाउनका लागि महत्त्वपूर्ण हुन्छन् ।

प्रकाशित : फाल्गुन १२, २०७५ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्

हिंसाविरुद्ध कथाहरू

घनश्याम खड्का

काठमाडौँ — हिंसा किन राम्रो होइन ? ‘किनभने यसले दुःख दिन्छ, वर्षौंवर्षसम्म पिरोल्छ,’ पूजा बस्नेत भन्छिन्, ‘हिंसाले फेरि हिंसा जन्माउँछ, त्यसैले यो राम्रो होइन  । ’ गएको बिहीबार बर्दियाका अशोक सोडारीलाई भेटेपछि र उनको कथा सुनेपछि पूजाको मनमा यस्तो विचार आएको हो  ।

खेतीकिसानी गरेर बाँचिरहेका अशोक एक सुखी र तन्दुरुस्त व्यक्ति थिए । तर २०५८ मंसिर २६ गते भने सबै कुरा बदल्ने खालको घटना हुन गयो । त्यस बेला देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । एक हूल मानिस त्यस रात उनको घरमा आए, उनलाई बाहिर निकाले र उनको खुट्टा ढुंगामा राखेर ठूलो ढुंगाले बेस्सरी थिचिदिए । बाँकी पढ्न पृष्ठ “ख” पल्टाऊ ‘त्यसपछि म धेरै बिरामी परेँ र मेरो एउटा खुट्टा काट्नुपर्ने भयो,’ अशोकले कक्षा आठमा पढ्ने पूजा र उनका साथीहरूलाई बितेको कुरा सुनाए, ‘औषधि उपचारमा धेरै पैसा सक्कियो, मैले धेरै नै दुःख पाएँ ।’


उनले कथा भनिरहँदा उनीछेउ उनको काटिएको खुट्टा प्रस्ट देखिने तस्बिर ठूलो होर्डिङ बोर्डमा टाँसिएको थियो र विद्यार्थीहरू त्यो ध्यान दिएर हेरिरहेका थिए । छँदाखाँदाको खुट्टा गुमाउनुपर्दा सुरुमा आफूलाई जिन्दगीदेखि नै वाक्क लागेको र समय बित्तै जाँदा जे हुनु भइहाल्यो भनेर हाँसीखुसी बाँच्न थालेको उनले सुनाए । उनको जीवनको अँध्यारोबाट उज्यालोतिरको यात्राका कथा विद्यार्थी अचम्म मानेर उनलाई सुनिरहेका थिए । अलि पर झनै फरक कथा भनिरहेका थिए, कालिकोटका १९ वर्षीय आनन्द पाण्डे । कुनै समय पाण्डे पनि उनीहरूजस्तै चञ्चले विद्यार्थी थिए । ‘स्कुलबाट आएर म एक दिन बारी खन्न भनेर गएँ, बारीमा एउटा अनौठो खालको पोको रहेछ,’ उनले भने, ‘के होला भनेर चलाएको त पड्किहाल्यो, त्यो बम पो रहेछ ।’द्वन्द्वकालमा कसैले बेवारिसे छाडेर हिँडेको बम यसरी बारीमा पड्कँदा आनन्दका दुवै आँखाका ज्योति गुमे । फेरि लेख्ने पढ्ने हुन उनलाई काठमाडौं आएर ब्रेललिपि सिक्नुपर्ने भयो, उनले सिके पनि । ‘जता हेरे पनि अँध्यारो देख्दादेख्दा म वाक्क भएको थिएँ सुरुमा,’ उनले भने, ‘यस्तो जीवन पनि के जीवन, मरुँ क्यारे भन्ने विचार दिनमा धेरै पटक आउँथ्यो ।’


तर, आनन्दलाई उनका आफन्त र शिक्षकहरूले हरेस खानबाट बचाए र जीवनमा केही बिग्रिएको छैन भन्ने आत्मविश्वास दिलाए । अहिले उनी दृष्टिविहीनहरूको क्रिकेट खेलमा चर्चित खेलाडी भएका छन् । एक वर्षदेखि जुडो पनि सिक्दै रहेछन् आनन्द । पारा ओलम्पिक कमिटीले आयोजना गरेको राष्ट्रिय जुडो प्रतियोगितामा उनले स्वर्ण पदक पनि जिते । ‘म गर्न सक्छु भनेर अघि बढ्यो भने दुःखले छुन सक्दो रहेनछ,’ आनन्द भन्छन्, ‘जीवनमा आपतविपत् आउन सक्छ, तर त्यसबाट हार खान हुन्न भन्ने अचेल मलाई लाग्न थालेको छ ।’ आनन्द र अशोकझैं हिंसाको सिकार भई जीवनमा ज्यादै दुःख पाएका तर पछि उज्यालो पक्षको खोजी गर्दागर्दै अगाडि बढ्न सिकेका अरू १२ जनाको कथा पनि राजधानीमा गएको साताभर यसरी सयौं विद्यार्थीले प्रत्यक्ष सुने र तिनलाई भेटे पनि । आउने पीडिलाई हिंसाले छुन नपाओस् भनी द्वन्द्व पीडितहरूले आफ्नो कथा यसरी बालकालिकालाई सुनाउने अभियान सुरु गरेका हुन् ।


‘हामी जन्मिनुभन्दा पनि अगाडि देशमा हिंसा चर्केको रहेछ, त्यो हामीले स्कुलमा त पढेको हो, तर यसरी प्रत्यक्ष हेर्न पाएका थिएनौं,’ ग्रामर स्कुलमा कक्षा आठमै पढ्ने प्राश्ना राई भन्छिन् ‘आज आफ्नै आँखाले यो हेर्दा र सुन्दा दुःख पनि लागेको छ, जीवनमा दुःख छ भने पनि त्यसलाई जितेर अघि बढ्नुपर्छ भन्ने उहाँहरूलाई भेट्दाजस्तै परे पनि हरेस खानुहुन्न भन्ने विचार पनि आएको छ ।’हिंसाले समाजमा मानिसलाई निकै पिरोल्ने हुँदा आफूहरूले जेजस्तो भेग्न परे पनि नयाँ पुस्ताले यस्तो भोग्न नपरोस् भन्ने लागेर आफू जीवन कथा सुनाउन तयार भएर काठमाडौं आएको अशोकले बताए ।


‘जस्तै कुरा नमिले पनि समाजमा आपसी कुराकानी र छलफल गरेर समाधान निकाल्न सकिन्छ, बन्दुक बोक्नु र बम पड्काउनु कुनै हिसाबले पनि राम्रो होइन,’ कृत्रिम खुट्टाको सहारामा अचेल हिँडडुल गर्न सक्ने भएका उनी भन्छन्, ‘आउने पिँढीले यो सिकोस् भनेर म आफ्नो कुरा सुनाउन अघि सरेको हुँ ।’

प्रकाशित : फाल्गुन १२, २०७५ ११:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्