२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

गाउँको म्युजियम

माधव सयपत्री

काठमाडौँ — हजुरबा १ म तपाईंको फोटो खिच्छु, यता हेर्नु है त १’ दीक्षाले भनिन् । हजुरबा आँगनमा पिरामा बसेर डोको बुन्दै हुनुहुन्थ्यो ।

गाउँको म्युजियम

नातिनीतिर हेर्दै हजुरबा मुसुक्क हाँस्नुभयो । दीक्षाले मोबाइलले हजुरबाको फोटो खिचिन् । उनले सोधिन्, ‘हजुरबा, तपाईंले डोको बनाउन कसरी सिक्नुभएको ?’ हजुरबाले भन्नुभयो, ‘मैले अरूले बुनेको हेरेर जानेको ।’ दीक्षाले भनिन्, ‘हैन होला । हेरेर यति गाह्रो काम जानिन्छ र ?’


हजुरबाले भन्नुभयो, ‘जानिन्छ नि १’ दीक्षाले लाडे भएर भनिन्, ‘मलाई पनि सिकाइदिनु न है १’ डोकामा चोया कस्दै हजुरबाले भन्नुभयो, ‘एक महिना यतै बस । म सिकाइदिन्छु ।’ उनले भनिन्, ‘एक महिना लाग्छ र हजुरबा ? मलाई एउटा डोको दिनु, म कोठामा लगेर राख्छु ।’हजुरबाले मञ्जन–बुरुस राख्न बनाएको सानो डोको दीक्षालाई दिँदै भन्नुभयो, ‘ई, नातिनीलाई डोको । यै लिएर जाऊ ।’ चिटिक्क परेको, सानो डोको पाएर दीक्षा खुसी भइन् । उनले आँगनमा हेरिन् । हजुरबाले धेरै डोका बुनेर राख्नुभएको रहेछ । थुन्से, डाला, नाङ्ला, चाल्ना, पेरुङगा, फुङ्ला, घुम, भकारी पनि थिए ।


नाङ्ला र चाल्नाको नाम र काम थाह भए पनि उनलाई अरूबारे थाहा थिएन । दीक्षाले तिनको नाम र काम सोधिन् । थुन्सेतिर देखाउँदै उनले भनिन्, ‘यो डोकोजस्तै छ है हजुरबा ? यसको नाम के हो ? डोकामा चैं प्वालैप्वाल छ । यसमा छैन । यसमा किन प्वाल नभएको ?’ हजुरबाले भन्नुभयो, ‘यसको नाम थुन्से हो । डोकामा घाँस काटेर हाल्ने अनि यसमा कोदो टिप्ने । प्वाल भयो भने त कोदाको गेडा झरिहाल्छ नि नातिनी १’ दीक्षाले पेरुङ्गोबारे सोधिन् । भकारी र डालाको कुरा पनि सोधिन् । फुङ्ला र घुमको कुरा पनि गरिन् । सोध्न केही बाँकी राखिनन् । उनले प्रश्न गर्दा पनि हजुरबा काममै लाग्नुचएको थियो । हजुरबाको हात चलेको देखेर दीक्षालाई अचम्मै लाग्यो । उनी चुप लागेर बस्नै सकिनन् । फेरि सोध्न लागिन्, ‘हजुरबा, यति धेरै डोका तपाईं के गर्नुहुन्छ ?’ हजुरबाले भन्नुभयो, ‘बेचेर पैसा लिन्छु नि १’ उनले हाँस्दै भनिन्, ‘वाह १ हाम्रो हजुरबा बिजनेसम्यान १’ हजुरबाले भन्नुभयो, ‘बेच्नु परिगो नि नातिनी । चिया, चिनी, साबुनहरू किन्नुपर्छ । मैले बनाएका चिज बेचेर मैले बनाउन नसक्ने सामान किनेर ल्याउँछु । अनि ठीक भएन त ?’ उनले भनिन्, ‘तपाईं गाउँको ठूलो बिजनेसम्यान हो ।’


डोको बुनेको हेर्न छाडेर दीक्षा मतानतिर आइन् । माथ्लोपट्टि पालीमा उनले नौलानौला चिज देखिन् । ती नौला वस्तुबारे पनि जान्न मन लागिहाल्यो । उनी फेरि हजुरबालाई तान्न गइन् । हजुरबाका पाखुरामा समातेर भनिन्, ‘हजुरबा, उ: त्यो ठाउँमा तपाईंले केके राखेको ?’
हजुरबाले भन्नुभयो, ‘म यो डोकाको काम्रो हालिसकेर जान्छु है १’ उनले फेरि सोधिहालिन्, ‘डोकामा किन काम्रो हालेको हजुरबा ?’ उहाँले भन्नुभयो, ‘बलियो बनाउन नि १ काम्रो हालेन भने डोको लुलो हुन्छ । छिटो फाट्छ ।’हजुरबाले डोकामा काम्रो हालुन्जेल दीक्षा हेरिबसिन् । सकिएपछि हजुरबालाई तानेर गोठमा लगिन् । हजुरबाले पालीमा केके बनाएर राख्नुभएको रहेछ । उनले भनिन्, ‘हजुरबा पनि केके बनाएर राख्नुहुन्छ । यिनीहरूको के काम ?’


हजुरबाले पालीमुनि धेरै कुरा बनाएर/सङ्ग्रह गरेर राख्नुभएको थियो । गाउँमा बिजुली आएपछि तिनीहरूको प्रयोग हुन छाडेको थियो । हजुरबाले भन्नुभयो, ‘तिमीले यिनको नाम र काम सोध्न मलाई बोलाएकी हैनौ ? ल, सुन । यो ढिकी हो । यसमा धान कुटेर चामल बनाउँथ्यौँ । यो जाँतो हो । यसले अन्न पिस्ने काम गर्छ । बिजुली गएका बेला यिनीहरूको काम आउँछ । यो निबुवा, कागती पेल्ने कोल हो । योचाहिँ उखु पेल्ने कोल । यो निकै फरक छ । यता हेर, यो खकन लगाएको साना डोकामा हामी नुन बोक्थ्यौँ । नुन, सुर्ती र फलाम लिएर घर आइपुग्न बाह्रपन्ध्र दिन लाग्थ्यो । यो तोक्मामा डोको अड्याएर थकाइ माथ्र्यौँ ।’


हजुरबाका कुरा सुनेर दीक्षा अकमक्क परिन् । हजुरबाका कुरा उनलाई कथाजस्ता लागे । आगो पार्ने चकमक, पत्थरवाला लाइटर, हुक्का, कक्कड, तरबार, डाँडीकाठ, कलश आदि भएभरका पुराना चिज राख्नुभएको थियो ।सबै सामान हेरिसकेपछि उनले सोधिन्, ‘हजुरबा, तपाईंले यस्ता चिज किन जतन गरेर राख्नुभएको ? यिनको के काम आउँछ ?’ हजुरबाले भन्नुभयो, ‘नानी, यस्ता चिज हराउँदै गएका छन् । तिमीजस्तै केटाकेटीले किताबमा पढे भने यी चिज हेर्न कहाँ पाउँछन् ? हो, त्यसकै लागि मैले जोगाएर राखेको हुँ ।’ दीक्षाले खुसी भएर भनिन्, ‘हाम्रो हजुरबाले घरलाई म्युजियम पो बनाउनुभएको रहेछ । हाम्रो हजुरबा बिजनेसम्यान । अनि हाम्रो हजुरबा म्युजियमम्यान १’ दीक्षाले ती सबैको फोटो खिचिन् । उनले भनिन्, ‘हजुरबा, म यी सबै कुरा साथीहरूलाई देखाउँछु । बाबाआमालाई भनेर फेसबुकमा हाल्न लगाउँछु । अनि तपाईंका सामान कति मानिसले हेर्छन् १’ हजुरबाले भन्नुभयो, ‘खै, हेरौँ त नानीले खिचेको फोटो । नातिनीले मेरो कामको प्रचार गर्ने भई ।’ दीक्षाले फोटो देखाइन् । फोटो हेरेर हजुरबा दंग पर्नुभयो ।

प्रकाशित : माघ २७, २०७५ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?